१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चुनावपछि विमानस्थल निर्माण सुरु : चिनियाँ राजदूत

दीपक परियार, बिना थापा

लेखनाथ — चिनियाँ राजदूत यू होङले स्थानीय तहको निर्वाचनपछि पोखरा विमानस्थल निर्माण कार्य सुरु हुने बताएकी छन् । उनले निर्माणाधीन विमानस्थलको सोमबार अवलोकन गर्दै पोखरावासीको प्रतीक्षाको घडी सकिएको बताइन् ।

चुनावपछि विमानस्थल निर्माण सुरु : चिनियाँ राजदूत

‘पोखरावासीको आकांक्षा पूरा गर्न हामीलाई स्थानीयको सहयोग चाहिन्छ,’ उनले भनिन्, ‘स्थानीय सरकार गठनपछि काम गर्न सहज हुन्छ ।’ उनले अनिश्चित भएको समस्या सुल्झिसकेकाले अब काम सुरु गर्न अप्ठ्यारो नभएको बताइन् । नेपाललाई ऋण प्रदान गर्ने चीनको एक्जिम बैंकले लगानी सुनिश्चितताका लागि नेपालका सबै विमानस्थलको आम्दानी संयुक्त खातामा राख्ने सर्त राखेको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नमानेकाले विमानस्थल निर्माण कार्य सुरु हुन सकेको थिएन ।

क्यानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै आम्दानी संयुक्त खातामा राख्ने प्रस्ताव बैंकलाई गरेको थियो । बैंकले वैशाख ८ मा संयुक्त बैंक खाता सञ्चालनसम्बन्धी सर्त संशोधन गरिएको बेहोरा उल्लेख गरेर क्यानलाई पत्र पठायो । संशोधित प्रस्तावअनुसार क्यानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी मात्रै संयुक्त खातामा जम्मा गरे पुग्छ ।

बैंकले उक्त पत्रमार्फत क्यानलाई वैशाख २९ सम्म जवाफ दिन आग्रह गरेको छ । राजदूत यूले नेपालले संशोधित ऋण सम्झौतामा हस्ताक्षर गर्ने मितिबाटै निर्माण कार्य सुरु गर्ने बताइन् । ‘चीनका तर्फबाट अब कुनै बाधा छैन,’ उनले भनिन्, ‘नेपालको अर्थ मन्त्रालयबाट संशोधित ऋण सम्झौतामा हस्ताक्षर हुने बित्तिकै विमानस्थल निर्माणको बाटो खुल्छ ।’ उनले विमानस्थल समयमै सकाउन स्थानीयको सहयोग महत्त्वपूर्ण हुने बताइन् । परियोजनामा खटिएका नेपाली इन्जिनियरहरूलाई पनि स्थानीय सरकार निर्वाचित भएपछि सहकार्य गरेर काम गर्न उनले आग्रहसमेत गरिन् । भनिन्, ‘जुन पार्टी आए पनि भिन्नता नराख्नुस् ।’

समयमै काम सक्न प्रतिबद्ध छौं : सीएएमसीई
तीनदिने पोखरा भ्रमणका क्रममा राजदूत यू होङले विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएएमसीई) का उपाध्यक्षसहितको टोलीसँग पनि सोमबार भेट गरिन् । निर्माणाधीन विमानस्थलमै भएको भेटमा सीएएमसीईका उपाध्यक्ष लिउ सेङचेङले परियोजनाको प्रगति विवरण, कम्पनीले हालसम्म गरेका र गरिरहेको कार्यबारे राजदूत यूलाई जानकारी दिए । उनले विमानस्थलको नक्सा डिजाइन, इन्जिनियरिङ, उडान प्रक्रियाको अध्ययनको कार्य सकिसकेको बताए ।

गत असारबाट नक्सा डिजाइनको काम सुरु गरेको कम्पनीले एक वर्षको अवधिमा सबै कुरा सकेको उनले जनाए । ‘अब हामी भौतिक संरचनाको निर्माण सुरु गर्न तयारी अवस्थामा छौं,’ उनले भने, ‘संशोधित ऋण सम्झौतामा हस्ताक्षर हुने बित्तिकै काम सुरु गर्छौं ।’ उनले काम सुरु गरेपछि समयमै सकाउने प्रतिबद्धता राजदूतसमक्ष गरे । ‘हामी समयमै काम सक्नेमा निर्धक्क छौं,’ उनले भने, ‘स्थानीय र सरकारको साथ र सहयोग रहने अपेक्षा गरेका छौं ।’ सीएएमसीईका उपाध्यक्ष लिउ सेङचेङको नेतृत्वमा शुक्रबार नेपाल आएको टोली आइतबार पोखरा आएको थियो ।

राजदूत भएपछि पहिलोपटक पोखरा आएकी यू होङले शुक्रबार, शनिबार र आइतबार विभिन्न पर्यटकीय स्थलको भ्रमण गरिन् । उनले फेवाताल, विश्व शान्ति स्तुपा, डेभिज फल, गुप्तेश्वर गुफा, सराङोटलगायत स्थानको भ्रमण गरेकी हुन् । उनी चीनको स्वशासित क्षेत्र तिब्बतले पोखरामा सहयोग गरेको १ हजार सौर्य सडक बत्ती हस्तान्तरण गर्ने कार्यक्रममा पनि शनिबार सहभागी भइन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?