पछिल्लो समय समाजमा नयाँ भाष्य स्थापित हुँदै गएको देखिन्छ । जसले अन्टसन्ट बोल्न सक्यो, जति चर्को र सतही कुरा गर्न सक्यो, उसैले बजार पिटिरहेको छ ।
What you should know
अछाम — केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल माध्यममा गायिका इब्सल सञ्ज्यालले टेलिभिजन अन्तर्वार्ताका क्रममा बोलेका कुरा भाइरल भइरहेको छ । वार्ताका क्रममा उनले अमेरिकामा बसोबास गरिरहेका अछामीले घरमा अलग्गै छाउ गोठ बनाउने गरेको बताएकी थिइन् । त्यसपछि उनको भनाइलाई लिएर सामाजिक सञ्जालमा आक्रोश र गालीगलौजको बाढी नै आयो । फेसबुक भित्तामा प्रत्येक अछामीले गायिकाको भनाइ लक्षित शब्द प्रहार गर्दै भिडियो सेयर गरिरहेको देखिन्छ ।
चारैतिरबाट कडा आलोचना र प्रहार सहनु परेपछि अन्ततः गायिकाले गल्ती स्वीकार गर्दै आफ्नो बचाउमा फेसबुकमा लामो स्टाटस लेखेर अछामका बासिन्दासित माफी मागिन् । यो घटना सामाजिक सञ्जालका लागि केही दिनको मसला हुन सक्छ । तर, यसले समाजको डरलाग्दो चरित्रलाई फेरि एकपटक बहसमा ल्याइदिएको छ ।
पछिल्लो समय समाजमा नयाँ भाष्य स्थापित हुँदै गएको देखिन्छ । जसले अन्टसन्ट बोल्न सक्यो, जति चर्को र सतही कुरा गर्न सक्यो, उसैले बजार पिटिरहेको छ । संसद्को रोस्टमदेखि सामाजिक सञ्जालका भित्ता र चोक चौराह चहार्ने हो भने केही चर्चित व्यक्तिहरू पनि पटक–पटक चुकिरहेको र चिप्लिरहेको देख्न सकिन्छ । यस्तो अवस्था दुःखद र विडम्बनापूर्ण अवस्था हो । सार्वजनिक वृत्तमा स्थापित भएपछि व्यक्ति पब्लिक फिगर बन्छ, त्यसपछि उसले कहाँ, कसरी र के बोल्ने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । किनभने समाजले उसलाई सुनी र हेरिरहेको हुन्छ । अध्ययन र धरातलीय ज्ञानबिना हल्लाका भरमा बोल्नु अक्षम्य गैरजिम्मेवारीपन हो ।
अछाममा जस्तै अमेरिकामा छाउगोठ पक्कै छैनन् होला । हुन सम्भव पनि छैन । इब्सलको उक्त अभिव्यक्तिप्रति मेरो टिप्पणी यति मात्र छ । किनकि, उनको भनाइमा कुनै सत्यता र तुक थिएन । तर, यो आक्रोशको भीडभित्र लुकेको हाम्रो असली अनुहार कस्तो छ त ? अब मूल प्रसंग र आफ्नै आँगनको तीतो यथार्थतर्फ ध्यान मोड्न लागेकी छु ।
गत जेठ १६ र १७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक कार्यक्रमको आयोजना गरिएको थियो । ‘कर्णाली छोरी सम्मेलन’मा कर्णाली प्रदेशअन्तर्गतका ७९ वटै स्थानीय तहबाट आएका छोरीहरूको सहभागिता थियो । त्यहीँ मलाई पनि सहभागी हुने अवसर मिल्यो । त्यहाँ कर्णालीका कुनाकाप्चाबाट आएका निर्दोष र पीडित छोरीले जब मञ्चमा उभिएर आधुनिक युगमा पनि आफूहरूले छाउगोठमा बस्दा भोग्नुपरेको दर्दनाक सास्ती, अपमान र मानसिक तथा शारीरिक यातनाको कथा सुनाउन थाले, तब हलमा उपस्थित भएहरूको आँखा रसाए । उनीहरूको कारुणिक आवाज सुन्दै गर्दा म आफैं पनि धेरै पटक भावुक बनेँ ।
कर्णालीका मुगु, हुम्ला, जुम्ला, दैलेख, कालिकोट र सुर्खेतका छोरीले अहिले पनि महिनावारी हुँदा पशुसरह गोठमै बस्नु परिरहेको र समाजले त्यसलाई धर्म र संस्कृतिको नाममा वैधता दिइरहेको भोगाइ स्पष्ट रूपमा त्यहाँ सुनाएका थिए । सदूरपश्चिममा मात्र होइन, छिमेकी कर्णाली प्रदेशमा समेत छाउपडी जस्तो कुप्रथा र कुसंस्कारले कतिसम्म बलियो र गहिरो गरी जरा गाडेर बसेको रहेछ भन्ने कुरा उक्त सम्मेलनमा बस्दै गर्दा अझ बढी महसुस भयो ।
यो दृष्टान्त उल्लेख गरिसकेपछि फेरि आफ्नै अछाम जिल्लातर्फ फर्किन चाहन्छु । एक जना व्यक्तिले, त्यो पनि सतही हल्ला सुनेको भरमा, अमेरिकामा बसोबास भएका अछामीले छाउगोठ बनाउँछन् भनिदिँदा सारा जिल्लाबासीको चित्त दुख्यो । आत्मसम्मानमा ठेस पुग्यो र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत भयो भन्दै कोलाहल मच्चियो । मलाई पनि उक्त भनाइ अनौठो र हास्यास्पद लाग्यो । तर, मेरो मनमा उब्जिएको प्रश्नको उत्तर खोज्न अब ढिला भइसकेको छ ।
जिल्लाबाहिरकाले कुरा उठाउँदा दुख्ने अछामीको मन आफ्नै घरआँगनमा ठडिएका र जीवित रहेका कथित छाउगोठ दिनदिनै आँखाअगाडि देख्दा चाहिँ किन दुख्दैन ? ती छाउगोठका विषयमा किन मौन रहन्छन् ? किन सुधारका लागि अग्रसर हुँदैनन् ? आफू अनि आमा, श्रीमती, दिदीबहिनी र छोरीहरू महिनामा ५/६ दिन गोठमा निस्सासिँदा, असुरक्षित, चिसो र दर्दनाक अवस्थाका छाउगोठमा रात काट्न बाध्य हुँदा अछामी स्वाभिमान र पुरुषार्थ कहाँ हराउँछ ? त्यतिबेला हाम्रो चित्त दुख्नुपर्ने होइन र ?
अछामको कुरा गर्दा समाजलाई चेतना बाँड्ने र उज्यालोतिर डोर्याउने भनिएका ९ जना शिक्षक, ७ जना सरकारी कर्मचारी र जनताबाट चुनिएका र आफ्नो क्षेत्रलाई कुप्रथामुक्त बनाउने सपथ खाएका ६ जना वडाध्यक्षदेखि कार्यपालिका सदस्यका घरमा अहिले पनि छाउगोठ रहेका छन् ।हुन त मलाई अछाममा व्याप्त छाउपडी र त्यसले निम्त्याएका विपत्तिका विरुद्ध निरन्तर कलम चलाएबापत समाजको एक तप्काले ‘अछामको बेइज्जत गरेको र जिल्लाको बद्नाम गराएको’ भन्दै ट्याग झुन्ड्याइदिएको छ । सत्य ओकल्नु र समाजको कुरूप पाटोलाई ऐनामा देखाइदिनु पत्रकारिताको धर्म हो । तर, यहाँ पेसागत धर्म निभाउँदा सामाजिक सञ्जालमा तल्लो स्तरको गाली खानेदेखि लिएर गाउँघरमा हिंड्दा शारीरिक आक्रमणसम्मका धम्की मैले नियमित रूपमा झेलिरहनु परेको छ । गाली र धम्की दिनेलाई पनि भन्न चाहन्छु, ‘अरूतिर औँला ठड्याउनु र अरूको आलोचना गर्नुभन्दा अगाडि हामीले ऐनामा आफ्नो अनुहार हेर्नुपर्दैन र ? आफूभित्रको फोहोर सफा नगरी अरूले फोहोर देखाइदियो भन्दैमा कराउनुको के अर्थ रहन्छ ?
हामी कतिसम्म ढोंगी र दोहोरो चरित्रका मानिस हौं भन्ने कुरा भर्खरै जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको एउटा आन्तरिक र गोप्य तथ्यांकले पनि छर्लङ्ग पारिदिएको छ । जिल्ला प्रहरीले समाजमा विभिन्न ओहोदा र पदमा बसेका, नीति निर्माण तहमा पुगेका र सामाजिक रूपमा ठूलो प्रतिष्ठा कमाएका व्यक्तिका घरमा पुगेर छाउपडी गोठको अवस्था के कस्तो छ भनेर गरेको नमुना सर्वेक्षण र तथ्याङ्क संकलन गरेको थियो । प्रहरीको उक्त प्रतिवेदन र नामावली हेर्ने हो भने जो कोहीको पनि शिर लाजले निहुरिन्छ ।
अछामको कुरा गर्दा समाजलाई चेतना बाँड्ने र उज्यालोतिर डोर्याउने भनिएका ९ जना शिक्षकका घरमा अहिले पनि छाउपडी गोठ छन् । सरकारको सेवा–सुविधा खाएर कानुन कार्यान्वयन गराउने निकायमा बसेका ७ जना सरकारी कर्मचारीको घरमा अझै यो प्रथा कायम छ । समाजको ऐना मानिने र विकृति विरुद्ध बोल्ने एक जना सञ्चारकर्मीको घरमा समेत छाउगोठ भेटिएको छ । अझ अचम्मको कुरा त, जनताबाट चुनिएका र आफ्नो क्षेत्रलाई कुप्रथा मुक्त बनाउने सपथ खाएका ६ जना वडा अध्यक्षदेखि कार्यपालिका सदस्यको घरमा अहिले पनि छाउपडी गोठ रहेका छन् ।
सबैभन्दा लाजमर्दो त सामाजिक सञ्जाल फेसबुकमा ती गायिकाले बोलेको विषयमा सबैभन्दा बढी राष्ट्रियता, क्षेत्रीयता र अछामी अस्मिताको कुरा गर्दै भित्ता रंग्याउने, स्टाटस लेख्ने र विरोधमा उत्रिने केही व्यक्तिकै घरमा अहिले पनि छाउगोठ रहेको प्रमाण मसित छ । उनीहरूका आमा, दिदीबहिनी छाउगोठमा सुतिरहेको प्रमाणसहितको नामावली मेरो हातमा छ । आफ्नो घरको गोठ भत्काउन नसक्ने, घरका महिला सदस्य महिनावारी हुँदा गोठमा बसाल्नेले सामाजिक सञ्जालमा आएर संस्कृति र स्वाभिमानको गफ दिएको देख्दा कठै भन्नुबाहेक केही बाँकी रहेन ।
अब गम्भीर भएर सोच्ने बेला आएको छ । हामी कस्तो समाज निर्माण गर्दैछौं र कस्तो पुस्तालाई समाज हस्तान्तरण गर्दैछौं ? भाइरल भिडियोमा असत्य, अतिरञ्जित कुरा आउँदा संसारै भत्किएझैं गरी कोलाहल मच्चाउने, तर आफ्नै घरभित्र महिनापिच्छे महिलामाथि हुने अमानवीय विभेद, सास्ती र यातनालाई धर्म, परम्परा र संस्कृतिको बर्को ओढाएर कहिलेसम्म जोगाएर राख्ने ? यो प्रश्न तपाईं-हामीमाथि केन्द्रित छ । यदि कसैले यसबारे बोल्दा, लेख्दा हाम्रो बेइज्जत भयो जस्तो लाग्छ भने हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा उक्त समस्यालाई समाजबाट जरैदेखि उखेलेर फाल्नेतर्फ केन्द्रित हुनुपर्छ । न कि समस्या औंल्याउने व्यक्तिलाई गाली गर्नेतर्फ ? गाली गरेर, धम्की दिएर, सत्यलाई दबाएर समाजको कुरूप यथार्थ छोपिँदैन । बदनामी र लाजबाट बच्ने एउटै मात्र उपाय छ, त्यो हो आफ्नो घरका छाउगोठहरू सदाका लागि भत्काउनु र दिमागमा रहेको पुरातनवादी सोचलाई बदल्नू ।
