हामी हुर्कियौं । जिम्मेवारीहरू थपिए । पढाइ सकियो, जागिर सुरु भयो, व्यवसाय सुरु भए, परिवारका जिम्मेवारी आए । पहिले विश्वकपको खेल हेर्न रातभर जागा बस्न सकिन्थ्यो, आज एउटा रातको निद्रा बिग्रिँदा अर्को दिनको काम प्रभावित हुन सक्छ ।
What you should know
काठमाडौँ — विश्वकप फेरि आएको छ । सामाजिक सञ्जालमा समर्थकहरूका तस्बिर देखिन्छन्, जर्सी बिक्री भइरहेका छन् र मनपर्ने टोलीका समर्थकहरूले आफ्नो पक्षमा अनुमान लगाइरहेका छन् । तर यसपटक विश्वकप हेर्दै गर्दा मनमा एउटा प्रश्न उठ्छ- के हामी पहिले जस्तो फुटबलप्रति पागल अझै छौँ ?
हाम्रो बाल्यकाल र किशोरावस्थामा फुटबल केवल खेल थिएन । त्यो भावना थियो, पहिचान थियो, साथीभाइसँगको सम्बन्ध थियो र कहिलेकाहीँ त परिवारसँगको सानो युद्ध पनि ।
त्यो बेला विश्वकप आउनु भनेको उत्सव आउनु जस्तै थियो । रातभर जागा बस्ने योजना केही दिन अगाडिदेखि नै बन्न थाल्थ्यो । घरमा सबै सुतेपछि टिभीको आवाज कम गरेर खेल हेर्ने, आमाबाबुले थाहा पाए गाली खाने, कहिलेकाहीँ पिटाइसमेत खाने अवस्था हुन्थ्यो । तर पनि खेल हेर्न छोडिँदैनथ्यो ।
मनपर्ने खेलाडीले गोल गरेपछि खुसी थाम्न सकिँदैनथ्यो । चिच्याएर खुसी मनाउँदा रातको निन्द्रा बिग्रियो भन्दै फेरि गाली खानुपर्थ्यो । तर त्यो गालीभन्दा ठूलो खुसी गोलको उत्सव हुन्थ्यो । त्यसबेला फुटबल हेर्नु एउटा जोखिम थियो तर त्यो जोखिम लिन हामी सधैं तयार हुन्थ्यौं ।
विद्यालय र कलेजका दिनहरूमा त फुटबलको चर्चा झन् रोचक हुन्थ्यो । हिजो रातिको खेलबारे अर्को दिन पूरा कक्षा र साथीहरूको जमघट तात्थ्यो । कसैले आफ्नो टोलीको समर्थन गर्थ्यो, कसैले अर्को टोलीको । बहस हुन्थ्यो, विवाद हुन्थ्यो, कहिलेकाहीँ त बोलाचाली नै बन्द हुने अवस्था पनि आउँथ्यो । तर ती सबै प्रतिस्पर्धा खेलप्रतिको प्रेमका कारण थिए ।
एउटा पास किन गलत भयो, प्रशिक्षकले त्यो खेलाडी किन मैदानमा उतारेन, कुन रणनीति राम्रो हुन्थ्यो, यी सबै विषयमा हामी आफूलाई अनुभवी विश्लेषक ठान्थ्यौं । आजको भाषामा भन्नुपर्दा, हामी सबै 'फुटबल पण्डित' थियौं । तर त्यो विश्लेषणमा कुनै स्वार्थ थिएन, केवल खेलप्रतिको मोह थियो ।
तर समयसँगै धेरै कुरा बदलिएका छन् ।
हामी हुर्कियौं । जिम्मेवारीहरू थपिए । पढाइ सकियो, जागिर सुरु भयो, व्यवसाय सुरु भए, परिवारका जिम्मेवारी आए । पहिले विश्वकपको खेल हेर्न रातभर जागा बस्न सकिन्थ्यो, आज एउटा रातको निद्रा बिग्रिँदा अर्को दिनको काम प्रभावित हुन सक्छ ।
विशेषगरी अहिलेको विश्वकपका खेलहरू नेपालमा मध्यरात वा बिहानपख प्रसारण हुँदा धेरै समर्थकहरू चाहेर पनि प्रत्यक्ष हेर्न सकिरहेका छैनन् । खेल सुरु हुने समयमै भोलिपल्टको मिटिङ, कार्यालय, व्यापार वा अन्य जिम्मेवारीहरूको सम्झना आउँछ । मनले खेल हेर्न खोज्छ तर दिमागले आराम गर्न भन्छ ।
सायद यही कारणले पनि पहिले जस्तो फुटबलको ज्वरो कम महसुस हुन थालेको हो ।
अर्को कारण समाजको बदलिँदो जीवनशैली पनि हुन सक्छ । पहिले फुटबल, क्रिकेट वा केही सीमित मनोरञ्जनका विकल्प थिए । आज मानिसहरूको ध्यान खिच्ने सयौं माध्यम छन् । मोबाइल, सामाजिक सञ्जाल, स्ट्रिमिङ प्लेटफर्म, छोटा भिडियो र अनगिन्ती डिजिटल सामग्रीले हाम्रो ध्यान विभाजित गरिरहेका छन् ।
पहिले विश्वकप आउँदा पूरा महिनाभर त्यसैको चर्चा हुन्थ्यो । अहिले विश्वकपकै बीचमा पनि मानिसहरू अर्को ट्रेन्डिङ विषयमा व्यस्त देखिन्छन् ।
अझ एउटा कुरा, पहिले जस्तो समर्थकबीचको स्वस्थ प्रतिस्पर्धा पनि कम भएको जस्तो लाग्छ । अर्जेन्टिना र पोर्चुगलका समर्थकबीच हुने मजाक, स्पेन र जर्मनीका समर्थकबीच हुने बहस, कलेजको क्यान्टिनमा घण्टौं चल्ने फुटबल चर्चा अहिले कम देखिन्छ । सामाजिक सञ्जालले बहसलाई डिजिटल बनाइदिएको छ तर त्यसमा पहिलेको आत्मीयता हराएको महसुस हुन्छ ।
तर यति भन्दैमा फुटबलप्रतिको प्रेम समाप्त भएको भने होइन ।
आज पनि विश्वकप सुरु हुँदा पुराना सम्झनाहरू फर्केर आउँछन् । पुराना साथीहरू सम्झिन्छन् । कुनै समय सँगै खेल हेरेका क्षणहरू याद आउँछन् । मनपर्ने टोलीको खेल हुँदा अझै पनि मन उत्साहित हुन्छ । समय नभए पनि हाइलाइट्स खोजेर हेरिन्छ । बिहान उठ्नेबित्तिकै नतिजा जाँचिन्छ । कामको बीचमा पनि स्कोर अपडेट हेरिन्छ ।
सायद फुटबलप्रतिको प्रेम घटेको होइन, त्यसलाई व्यक्त गर्ने तरिका मात्र बदलिएको हो ।
हामी पहिले जस्ता निश्चिन्त किशोर छैनौं । जिम्मेवारी बोकेका वयस्क भएका छौं । तर मनको कुनै कुनामा अझै पनि त्यही बच्चा बाँचेको छ, जो राति अबेरसम्म फुटबल हेर्न चाहन्छ, मनपर्ने खेलाडीले गोल गर्दा चिच्याउन चाहन्छ र अर्को दिन साथीहरूसँग खेलको विश्लेषण गर्न चाहन्छ ।
विश्वकप हरेक ४ वर्षमा आउँछ । नयाँ खेलाडी आउँछन्, नयाँ च्याम्पियन बन्छन्, नयाँ कथा लेखिन्छन् । तर हाम्रो पुस्ताका लागि विश्वकप केवल फुटबल प्रतियोगिता होइन । यो बाल्यकालको सम्झना हो, साथीहरूको साथ हो, परिवारको गाली हो, रातभरको जाग्राम हो र जीवनको एउटा सुन्दर अध्याय हो ।
सायद अहिले हामी सबै खेल हेर्न समय निकाल्न संघर्ष गरिरहेका छौं । तर जब मैदानमा बल गुड्न थाल्छ, मनको कुनै कुनामा पुरानो फुटबल प्रेम फेरि जागिहाल्छ ।
किनकि उमेर बढ्न सक्छ, प्राथमिकता बदलिन सक्छ तर फुटबलसँग जोडिएका ती सम्झनाहरू कहिल्यै बुढा हुँदैनन् ।
