आक्रोश र सम्भावना ओकल्दै कर्णालीका ‘छोरी’

आफ्नै अभिभावक र राज्यका नीति निर्मातालाई अगाडि राखेर छोरीहरूले जसरी आँखामा आँखा जुधाई आफ्ना सवाल राख्न सके, त्यो दृश्य गौरवपूर्ण र भावुक थियो । सुदूरका चेलीका प्रश्न उठाउँदा कहिलेकाहीँ एक्लो महसुस गर्ने मलाई त्यहाँ साथहरू थपिएको अनुभूति भयो ।

जेष्ठ २०, २०८३

मेनुका ढुंगाना

Karnali's 'daughters' vomiting up anger and possibilities

What you should know

सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलको कार्यक्रम हल दुईदिने सम्मेलनको साक्षी मात्र बनेन, उक्त जमघट कर्णाली प्रदेशका ‘छोरी’का आवाज मुखरित गर्ने थलो बन्यो । त्यहाँ डोल्पाको हिउँद ओढेर, मुगुको उकालो काटेर, हुम्लाको भञ्ज्याङ नाघेर अनि रुकुम, कालिकोट, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका पहाड छिचोलेर १० जिल्लाका ७९ स्थानीय तहबाट २ सयभन्दा बढी ‘छोरी’ भेला भएका थिए । भूगोल र कर्मका हिसाबले म पनि सुदूरपश्चिमबाट समाचार लेख्दै आएकी छु । सुदूरपश्चिम र कर्णाली भौगोलिक रूपमा मात्र होइन– विकटता, परम्परागत नातागोता र सामाजिक चुनौतीका हिसाबले समानजस्तै छन् । 

जेठ १६ र १७ गते ज्योति फाउन्डेसद्वारा वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करणमा हिमाल/पहाडबाट आएका किशोरी र युवाका अनुभव र आवाज सुन्ने अवसर मिल्यो ।

उनीहरूको नजरमा काठमाडौंको सिंहदरबारमा बसेर नीति बनाउनेदेखि राजधानी केन्द्रित मूलधारका मिडियाले कर्णालीलाई सधैं एउटै पावरको चस्माले हेर्ने र ब्रान्डिङ गर्ने गर्छन् । कर्णालीका सफलता र सम्भावनाभन्दा गरिबी, विकटता, बालविवाह, छाउपडी र सधैं सहायता पर्खिरहेको प्रदेशका रूपमा चित्रण गरिन्छ । तर, दुई दिने वीरेन्द्रनगर मन्थनले भने त्यस्तो स्थापित मान्यतालाई गलत साबित गरिदिएको छ । कर्णाली हेर्न चस्मा बदल्न दबाब दिएको छ । ‘दया’ मागिरहेको निरीह कर्णाली मात्र छैन, आफ्ना अधिकारका लागि सिंहदरबारको जग हल्लाउन सक्ने र भविष्यको मार्गचित्र कोर्न सक्ने नागरिक तयार भइरहेको त्यहाँ प्रस्ट हुन्थ्यो । 

सम्मेलनमा सुगम र पहुँच क्षेत्रका छोरी मात्र सहभागी थिएनन्, वर्षौंदेखि राज्यको मूलधारबाट किनारा लगाइएका राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका रैथाने छोरीको पनि त्यहाँ बाक्लो उपस्थिति थियो । उनीहरूसँगै समाजमा दोहोरो विभेद र सास्ती खेपिरहेका अपाङ्गता भएका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू पनि दृढताका साथ आफ्नो मत राखिरहेका थिए । उनीहरू अस्तित्व र पहिचानको लडाइँ लड्न मञ्च उक्लिएका जस्ता देखिन्थे । Karnali's 'daughters' vomiting up anger and possibilities

दुई दिने सम्मेलनमा १० जिल्लाका ‘छोरीका मनका कुरा’ राख्न १० वटा छुट्टाछुट्टै विशेष सत्र सञ्चालन गरिएका थिए । यी विमर्शमा भुइँतहका धेरै कुरा र यथार्थ सतहमा आए । जसले नीति निर्मातालाई सोच्न बाध्य तुल्यायो । समग्र सम्मेलनमा एक/दुई जना प्रतिनिधि पात्र मात्र बोलेनन्, ८७ जना छोरीले सिधै मञ्च (स्टेज)मै गएर माइक्रोफोन समात्दै आ–आफ्नो भोगाइ, आँसु, आक्रोश र अद्भुत अनुभव सुनाउने अवसर पाए ।

छोरीहरूका आवाज कुनै बन्द कोठा वा एक आपसमा मात्र सीमित थिएनन् । उनीहरूका तिखा प्रश्न र आवाज सुन्न मञ्चको अगाडि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू र उच्च पदस्थ सरोकारवाला उपस्थित थिए । आफ्नै अभिभावक र राज्यका नीति निर्मातालाई अगाडि राखेर छोरीहरूले जसरी आँखामा आँखा जुधाई आफ्ना सवाल राख्न सके, त्यो दृश्य गौरवपूर्ण र भावुक थियो । सुदूरका चेलीका प्रश्न उठाउँदा कहिलेकाहीँ एक्लो महसुस गर्ने मलाई त्यहाँ साथहरू थपिएको अनुभूति भयो । मन्त्रीहरूले छोरीहरूले सोधेका तिखा प्रश्न, गुनासा र सपनालाई डायरीमा नोट गरेका थिए । साथै ध्यान दिएर उनीहरूका सवाल र सशक्त आवाज सुनिरहेका देखिन्थे । अरू बेलाजस्तो सम्मेलनमा बोल्ने र हिंडिहाल्ने गरेको पनि देखिएन । त्यहाँ जनप्रतिनिधिले पूरै समय छोरीहरूका लागि दिएर उनीहरूका कुरा सुनेको देखियो ।

विभिन्न सत्रमा जब छोरीहरूले मञ्च सम्हाले, तब हलको वातावरण नै बदलियो । उनीहरूले आफ्ना कथा मात्र सुनाएनन्, कर्णालीको भविष्यको खाका पनि कोरे । ‘हामी सधैं पछाडि परेका, विकट र दुर्गम मात्र हौं भन्ने पहिचान अब हामी छोरी पुस्ताले सधैंका लागि मेटाउन चाहन्छौं,’ रुकुम पश्चिमको आठबिसकोटकी विजय पुनमगरले मन्त्रीहरूकै अगाडि माइक समातेर दृढताका अभिव्यक्ति राखेपछि हलमा तालीको गडगडाहट गुञ्जियो । उनले थपिन्, ‘आँगनदेखि आकाशसम्म र राष्ट्रदेखि परराष्ट्रसम्म हामी पुग्न सक्छौं । कर्णालीका छोरी नेपाल सरकारको सचिवसम्म भइसकेका छन् । संविधानले दिएका हक–अधिकार राज्यले सहजै दिएन भने खोसेर भए पनि लिन्छौं । तर, अब हामीलाई सधैं गरिब र विकट भनेर ब्रान्डिङ नगरियोस् ।’

परिवर्तन र आत्मसम्मानको यस्तो लहरमा कालिकोटको रासकोट नगरपालिकाकी दीपा बरालले थपेको दृष्टिकोण झन् मननयोग्य र व्यावहारिक थियो । विकटतालाई बहाना बनाउनुको साटो आफैं जुर्मुराउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘छोरी आत्मनिर्भर बन्न, आफैं सक्षम बन्ने हो । अभाव छ, दुर्गम क्षेत्रमा छौं भनेर मात्र हुन्न, सुरुवात आफ्नै घरबाट गर्ने हो ।’ 

चीनको सिमानासँग जोडिएको हुम्लाको विकट हिमाली गाउँबाट आएका छोरीहरूको भोगाइ कहालीलाग्दो र चुनौतीपूर्ण सुनियो । हुम्लाकै नाम्खा गाउँपालिकाकी नामु तामाङले आधारभूत आवश्यकताकै अभाव ओकलिरहँदा हल गम्भीर बन्यो । उनले भनिन्, ‘हाम्रोतिर स्वास्थ्य र रोजगारीकै ठूलो अभाव छ । त्यसमाथि सानो उमेरमै बिहे गर्न समाजले दबाब दिन्छ । हामी छोरीहरूलाई सधैं भान्साको काममा मात्र सीमित राख्छन् ।’ हुम्लाकै जोङ तामाङले पनि पितृसत्तात्मक सोच कति कडा छ भन्ने उदाहरण दिँदै थपिन्, ‘हाम्रोतिर छोरीले पढ्नु हुन्न भन्छन् तर अब हामी नपढी छोड्दैनौं ।’ उनीहरूको यो अठोटले परम्पराको नाममा छोरीहरूको उडान रोक्ने पुरातनवादी समाजलाई सिधै चुनौती दिइरहेको थियो ।Karnali's 'daughters' vomiting up anger and possibilitiesतस्बिर सौजन्य : ज्योति फाउन्डेसन

कालिकोटको तिलागुफा नगरपालिकाकी नमुना रोकायाले पनि त्यही आत्मविश्वास दोहोर्‍याइन् । दोस्रो पटक सम्मेलनमा भाग लिन आइपुगेकी उनले भुइँतहको बदलिँदो तस्बिर मन्त्रीहरूलाई सुनाउँदै भनिन्, ‘हामीले कुनै काम गर्न सक्दैनौं भन्ने छैन, अब त समाज बिस्तारै छोरीप्रधान भइराखेको छ । हाम्रा गाउँमा छोरीहरू धेरै सक्रिय भइरहेका छन् । सामाजिक विकृति कम गर्न भने चुनौती छन् । महिला र छोरी सहनशील भएर हिंसा धेरै सहनु परेको छ ।’ काठमाडौंबाट घर पुग्नै पाँच दिन लाग्ने मुगुको ‘अपर मुगु’ क्षेत्र अर्थात् कर्मारोङकी शिक्षादेवी बुढा र खत्याडकी रमना शाहीले भूगोलको विकटताका बाबजुद छायानाथ रारा एक्सप्रेस चल्न थालेको र अवस्था सहज हुँदै गएको सुनाउँदा कर्णालीमा दौडिरहेको समृद्धिको नयाँ सम्भावनाको महसुस हुन थालेको बताइन् ।

सम्मेलनले कर्णालीका छोरीहरूले भित्रभित्रै भोगिरहेको पीडा र सामाजिक ऐनाको त्यो धारिलो पाटोलाई पनि उत्तिकै साहसका साथ सतहमा ल्यायो, जसलाई सुन्दा जोकोहीको आङ सिरिङ्ग हुन्थ्यो । विशेष गरी हिमाली र दुर्गम भेगमा पढ्नका लागि भोग्नुपर्ने सास्ती, छाउपडी प्रथा र सुरक्षाको चुनौती अझै कति भयानक छ भन्ने कुरा डोल्पाका छोरीहरूले बोल्दा हल निकै भावुक र गम्भीर बन्यो । ‘क्षेत्रफलका हिसाबले ठूलो जिल्ला हो, तर सुविधा छैन । डोल्पाजस्तो चिसो ठाउँमा महिनावारी हुँदा बाहिर बस्नुपर्छ । छाउपडी प्रथा धेरै छ । हामी आफ्नै घरभित्र बुबा र काकाहरूबाट समेत सुरक्षित छैनौं,’ जगदुल्लाकी छाया बस्नेत र काइकेकी शारदा बुढाको यो कहालीलाग्दो भनाइले कानुन, सुरक्षा संयन्त्र र सामाजिक चेतनाको धज्जी उडाइरहेको भान हुन्थ्यो । गर्भवती महिलाले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने डोल्पाली भूगोलको व्यथा र सास्ती पनि छायाको शब्दमा झल्किएको थियो ।

मुगु सोरुकी रबिना मल्ल र खत्याडकी रमना शाहीले अझै पनि सात दिनसम्म छाउपडी गोठमै कुँजिएर सुत्नुपर्ने र स्कुल जान नपाउने तीतो सत्य ओकलिरहँदा मेरो मन सुदूरपश्चिमको अछामतिर पुग्यो । जहाँ छाउगोठ भत्काउने राज्यको नीति र अभियानहरू चले । तर, रमनाले कडा प्रतिप्रश्न गरिन्, ‘छोरीहरूलाई उच्च शिक्षा पढ्न दिनुपर्छ, प्राविधिक शिक्षा पनि दिनुपर्‍यो । अछामतिर छाउगोठ भत्काउने अभियान आयो । तर हाम्रोतिर यो अभियान कहिल्यै किन चलेन ? हाम्रोतिर एकदम दुःख पाएका छौं, लैङ्गिक विभेद छ । यस्तै अवस्थामा कर्णालीका छोरी कसरी माथि उठ्न सक्छन् ? म २१ वर्षकी भएँ, मेरा गाउँका सबै साथीले बिहे गरिसके । मैले किन बिहे गरिनँ भनेर समाजले ममाथि नै प्रश्न उठाउँछ ।’ रबिना मल्लले थपिन्, ‘छाउपडी गोठमा बस्नुपर्ने बाध्यता अझै छ, परिवारले कुरा बुझेको छैन । कानुन छ, तर यसको कार्यान्वयन अब गर्नै पर्छ ।’

कर्णालीका छोरीहरू सामाजिक विकृति र चुनौतीहरूका विरुद्ध लड्न तयार छन् । तर उनीहरूलाई सहनशील बन्ने नाममा हिंसा सहने वातावरणबाट मुक्ति चाहिएको छ । उनीहरूलाई अब दया वा सहानुभूति होइन, उच्च र प्राविधिक शिक्षाको अवसर, छाउपडी र बालविवाहजस्ता कुप्रथाविरुद्ध स्थानीय र प्रदेश सरकारको बजेटसहितको ठोस हस्तक्षेप तथा आफ्नै घरभित्र सुरक्षित बाँच्न पाउने कानुनी प्रत्याभूति चाहिएको छ । एक रिपोर्टरका रूपमा दुई दिनसम्म ती २ सय छोरीहरूको आँखामा तैरिएको आशा, आक्रोश र अठोटलाई नजिकबाट नियाल्दा मलाई बोध भयो- सुर्खेत, दैलेख, जाजरकोट, सल्यानजस्ता पहाडदेखि डोल्पा, हुम्ला र मुगु जस्ता हिमाली भेग समेटिएको कर्णाली पिछडिएको, दुर्गम, विकट र अभावको भूगोल मात्र होइन, कर्णाली त ब्युँझिरहेको छ र आफ्नो भाग्यको फैसला आफैं गर्न जुर्मुराइरहेको छ । लोपोन्मुख राउटे, राजी र कुसुण्डादेखि बादी र बोटे समुदायका ती ८७ जना छोरी जब मञ्चमा उभिएर गर्जिए, तब लाग्यो— कर्णालीको समावेशी र न्यायपूर्ण भविष्यको नयाँ खाका अब कसैले रोकेर रोकिनेवाला छैन ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully