लालीबजारः समाज चिहाउने ऐना

फिल्ममा केही कमजोरी पनि छन् । कथा दुई दिशामा छरिएको अनुभूति हुन्छ । एकातिर बादी समुदायको मुद्दा, अर्कोतिर व्यापक सामाजिक अन्याय ।

वैशाख २८, २०८३

तृप्ति शाही

Lalibazar: A mirror of society

सुर्खेत — म खासै हलमा गएर फिल्म हेर्दिनँ । टेलिभिजनमा समेत नियमित फिल्म हेर्ने बानी छैन । सायद बिजुली नपुगेको गाउँमा जन्मिएर हुर्किएको प्रभाव पनि हुन सक्छ, फिल्मप्रति कहिल्यै विशेष आकर्षण जागेन । सुर्खेत आएपछि मात्रै ‘हल’ भन्ने संस्कृतिसँग नजिक हुन थालेँ । म कार्यरत बुलबुले एफएम नजिकै रहेको लक्ष्मी चलचित्र हल देखेपछि ‘यहाँ फिल्म लाग्ने रहेछ’ भन्ने कुराको पहिलो पटक हेक्का भएको थियो । तर, वर्षौंसम्म पनि हलमा गएर फिल्म हेर्ने मेसो मिलेन । पछिल्ला तीन वर्षमा मात्रै सुर्खेतमै तीन वटा फिल्म हेरेँ, अरू दुई फिल्म हेटौँडामा ।

केही दिनअघि बजारतिर निस्कँदा फेरि लक्ष्मी हलको बाटो पर्‍यो । अचानक फिल्म हेर्ने मन लाग्यो । कुन फिल्म हेर्ने भन्ने कुनै योजना थिएन । गफैगफमा म साथीहरूसँग हलभित्र छिरेँ । मेरो हातमा ‘लालीबजार’को टिकट थियो ।

हलमा बसेपछि भने मेरो ध्यान फिल्मको कथाभन्दा पनि त्यस वरिपरि उठेको बहसतिर गइरहेको थियो । बादी समुदायका केही व्यक्तिले फिल्मले आफ्नो समुदायलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै विरोध गरेको र यो विषय अदालतसम्म पुगेको अनि केही समय प्रदर्शन रोकिएर अदालती आदेशपछि फिल्म प्रदर्शनमा आएको जानकारी थियो । त्यसैले पनि म फिल्ममा वास्तवमा के छ भन्नेमा कौतूहल थिएँ ।

फिल्म हेर्दै जाँदा कताकता कथा लामो तानिएको अनुभूति भयो । केही दृश्य अनावश्यक रूपमा फैलाइएका जस्तो पनि लाग्यो । तर, त्यसबीचमा आउने भावनात्मक दृश्यहरूले मलाई बाँधी नै राख्यो, प्रेमको डोरोले बाँधेझैँ । धेरै पटक आँसु बग्यो । कतिपटक खुसीले मनभित्रै चिच्याएँ पनि । हलबाट निस्कँदा लागिसकेको थियो–यो फिल्मको समीक्षा मात्र होइन, यसले सम्झाइदिएका समाजका वास्तविक कथाहरू लेख्नुपर्छ ।

‘लाली बजार’ हेर्दा मलाई यो बादी समुदायको मात्रै कथा लागेन । यो त हाम्रो समाजका धेरै महिलाहरूले भोगेका पीडा, अपमान र संघर्षहरूको प्रतिनिधि कथा जस्तो पो लाग्यो । फिल्मका केही दृश्यमा अतिरञ्जना पक्कै छ । विशेषगरी राजा साहेबको भूमिकामा देखिएका कलाकार रविन्द्रसिंह बानियाँको । तर, मुख्य पात्र मधुबाला अर्थात् स्वस्तिमा खड्काले देखाएको एक आमाको पीडा, संघर्ष र छोरीप्रतिको समर्पण अत्यन्त प्रभावशाली र जीवन्त लाग्यो । कठिन परिस्थितिमा पनि छोरीलाई आफ्नो दलदलबाट बाहिर निकाल्ने आमाको संघर्षले मन छोयो । छोरीका लागि बाबु बनेर समाजसँग लड्ने पात्रमा देखिएका विशाल देवकोटाको अभिनय पनि सशक्त लाग्यो । अन्त्यतिर छोरीले आमाको सपना पूरा गर्दा लागिरहेको थियो–हरेक छोरी यस्तै सक्षम र सफल बन्न सकोस् ।

तर, फिल्म हेर्दै गर्दा म बारम्बार आफ्नै गाउँ पुगेकी थिएँ । अछामको दुर्गम गाउँमा ठकुरी समुदायकी छोरी भएर हुर्किएकी म यस्ता धेरै घटनाहरू नजिकबाट देखेर आएकी छु । महिलालाई प्रयोगका वस्तुजस्तै ठान्ने सोच समाजमा कसरी गहिरोसँग जरा गाडेर बसेको छ भन्ने मैले बाल्यकालबाटै अनुभूत गर्दै आएकी छु । त्यसैले फिल्मले देखाएका धेरै दृश्यहरू मलाई काल्पनिक लागेनन् ।

मेरै गाउँमा दलित समुदायका मानिसहरूले ठकुरीहरूलाई ‘दर्शन हजुर’ भन्ने चलन थियो । हामी ठकुरी समुदायका छोरीहरूले अन्य समुदायका पुरुषसँग बोल्न नपाउने, तर ठकुरी पुरुषहरूले अरू समुदायका महिलासँग जे गरे नि हुने अवस्था थियो । समाजको नियम महिलामाथि मात्र लागू हुन्थ्यो ।

त्यति मात्र होइन, कुनै महिलाको नाम कुनै पुरुषसँग जोडियो भने पनि उसैको चरित्रमाथि प्रश्न उठ्थ्यो । पुरुष सहजै उम्किन्थे, महिलाको जीवन बर्बाद हुन्थ्यो । ‘लाली बजार’ हेर्दा मेरो गाउँका दुई घटना बारम्बार सम्झनामा आइरहे ।

मलाई ‘लाली बजार’को विरोध गर्नुपर्ने आवश्यकता महसुस भएन । बरु यस्तो समाज किन बनेको छ भन्ने प्रश्न उठाउनुपर्ने देखियो ।पहिलो घटना, ठकुरी समुदायका एक पुरुषले दलित समुदायकी महिलासँग सम्बन्ध बनाए । महिला गर्भवती भइन् । गाउँभरि भुसको आगोझैँ हल्ला सल्कियो । त्यसपछि पुरुष भारततिर भागे । महिलालाई भने परिवारले ‘अरूको बच्चा बोकेकी’ भन्दै घरमै बस्न दिएन । पुरुषले जिम्मेवारी लिनुपर्ने कुरा उठेन, किनकि ऊ कथित ‘उच्च जात’को थियो । अहिले ती महिलाको अवस्था के छ, मलाई थाहा छैन । तर, फिल्ममा छोरीको जन्मदर्ता र विद्यालय भर्नाका लागि बाबुको नाम खोजिएको दृश्य आउँदा मैले बारम्बार त्यही बच्चालाई सम्झिएँ । उसले नागरिकता पायो कि पाएन, थाहा छैन । विद्यालय जान पायो होला त ? कहाँ फिल्मजस्तो विद्रोह र संघर्ष गरेर सफल बन्ने अवसर थियो उसलाई ?

अर्को घटना पनि उस्तै दर्दनाक थियो । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा एक महिलालाई उनका श्रीमानले छाडिदिए । केही वर्षअघि रिपोर्टिङका क्रममा सुर्खेतको मानवसेवा आश्रम पुगेकी बेला मैले ती महिलालाई त्यहाँ भेटेकी थिएँ । मानसिक अवस्था कमजोर भएपछि उनलाई आश्रममा राखिएको रहेछ । समाजले उनलाई दोषी ठहर गर्‍यो, तर परिस्थितिको वास्तविकता कसैले बुझ्न चाहेन ।

त्यसैले मलाई ‘लाली बजार’को विरोध गर्नुपर्ने आवश्यकता महसुस भएन । बरु यस्तो समाज किन बनेको छ भन्ने प्रश्न उठाउनुपर्ने देखियो । हामीले आफ्ना छोरीहरूलाई कसरी सुरक्षित राख्ने, उनीहरूलाई कसरी सम्मानित जीवन दिने भन्ने बहस आवश्यक देखियो ।

सानोमा गाउँतिर बादी समुदायका महिलाहरू र बालबालिकाहरू गाउँगाउँ घुम्थे । पुरुषहरू गीत गाउँथे, महिलाहरू नाच्थे । समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण अत्यन्त खराब थियो । बादी समुदायका महिलालाई ‘जसले पनि प्रयोग गर्न मिल्ने’ साधन ठान्ने मानसिकता गहिरो थियो । सुर्खेत आएपछि पनि यो समुदायबारे धेरै समाचार पढेँ । उनीहरूको अवस्था अझै दयनीय छ । भूमिहीनता, गरिबी र सामाजिक विभेद अझै उस्तै छ । पछिल्लो पुस्ताले बल्लतल्ल पढ्ने अवसर पाउन थालेका छन् । अभियन्ता हिक्मत बादीले छात्रावास सञ्चालन गरेर बादी समुदायका बालबालिकालाई पढाउने काम गरिरहनुभएको छ । भर्खरै सीता बादी मन्त्री बन्नुभएको छ । यस्तो प्रयासले आशा जगाउँछ, तर समुदायमाथिको सामाजिक दृष्टिकोण अझै परिवर्तन नभएको देख्दा चाहिँ दिक्क लाग्छ ।

यो समस्या बादी समुदायको मात्रै ठान्ने हाम्रो प्रवृत्ति छ । फरक स्वरूपमा भए पनि महिलाले भोग्ने शोषण धेरै समुदायमा छ । पत्रकारिताकै क्रममा बैतडी बस्दा मैले देउकी प्रथाबारे बुझ्ने अवसर पाएकी थिएँ । सानै उमेरमा मन्दिर चढाइएका देउकी महिलाहरूलाई समाजका प्रभावशाली पुरुषहरूले कसरी यौनकर्मको माध्यम बनाएका हुन्छन् भन्ने त्यही बेला बुझ्न पाएको थिएँ । उनीहरूबाट जन्मिएका सन्तानले नागरिकता पाउन संघर्ष गर्नुपर्थ्यो । ‘देउकीको बच्चा’ भनेर समाजले गर्ने तिरस्कारको त कुनै लेखाजोखा नै छैन । स्थानीय तहले प्रमाणित गरेपछि मात्रै नागरिकता पाउने अवस्था थियो । जवानीभरि पुरुषहरूको नजरमा परे पनि वृद्धावस्थामा एक्लिएर बाँच्न बाध्य महिलाहरूको पीडा सुन्दा मन भतभती पोल्थ्यो ।

यही कारण ‘लाली बजार’ले उठाएको मुद्दा एउटा समुदायको कथा मात्रै हो जस्तो मलाई लागेन । यो समाजले महिलालाई कसरी हेर्छ, कसरी प्रयोग गर्छ र अन्ततः कसरी एक्लै छोडिदिन्छ भन्ने कथा पनि हो जस्तो लाग्यो ।

फिल्मको मुख्य पात्र मधुबालाले छोरीको जन्मदर्ताका लागि बाबु खोज्दै हिँडेको दृश्य अत्यन्त मार्मिक छ । वास्तविक श्रीमानको मृत्यु भइसकेपछि उनी आफूलाई प्रयोग गर्ने पुरुषहरूलाई ‘बाबु बनिदिन’ आग्रह गर्छिन् । तर, कोही किन तयार होस् ? त्यहाँ समाजको असली चरित्र प्रकट हुन्छ–शरीर प्रयोग गर्न तयार हुने समाज जिम्मेवारी लिन तयार हुँदैन । अन्ततः आफ्नै भाइले ‘म बाबु बन्छु’ भन्ने दृश्यले दर्शकलाई भावुक मात्र बनाउँदैन, सोच्न बाध्य बनाउँछ ।

‘लाली बजार’ हेरेपछि मलाई लाग्यो–हामीले अझै पनि महिलालाई स्वतन्त्र व्यक्तित्वका रूपमा स्वीकार गर्न सकेका छैनौँ ।फिल्मको अर्को शक्तिशाली पक्ष भनेको मधुबालाले छोरीलाई आफूजस्तै जीवन भोग्न नदिन गरेको संघर्ष हो । छोरीलाई यौन व्यवसायको दलदलबाट बचाउन उनले गरेको संघर्षले आमाको ममताको गहिराइ देखाउँछ । ट्रेलरमा देखाइएको ‘छोरी बेच्ने आमा’को भाष्यलाई फिल्मले अन्ततः आत्मआलोचना गर्छ । वास्तवमा मधुबाला छोरी बेच्न होइन, जोगाउन लडिरहेकी विद्रोही महिला हुन्छिन् ।

यद्यपि, फिल्ममा केही कमजोरी पनि छन् । कथा दुई दिशामा छरिएको अनुभूति हुन्छ । एकातिर बादी समुदायको मुद्दा, अर्कोतिर व्यापक सामाजिक अन्याय । यदि एउटै विषयमा केन्द्रित भएर कथा अघि बढेको भए अझ कसिलो बन्न सक्थ्यो । पोस्टर र प्रचार सामग्रीले पनि अनावश्यक विवाद निम्त्याएको देखिन्छ । गर्भवती महिलालाई ढोकामा उभ्याइएको पोस्टरले ग्राहक पर्खिरहेको सन्देश दिन खोजेजस्तो देखिन्थ्यो । सायद बादी समुदायको आपत्ति पनि त्यहीँ नै थियो । जबकि फिल्मको वास्तविक कथा त्यस्तो थिएन । बरु यो त एउटी आमाले छोरीलाई दलदलबाट बाहिर निकाल्न गरेको संघर्षको कथा हो । यदि प्रचार सामग्रीले पनि यही सन्देशलाई प्राथमिकता दिएको भए, सायद फिल्म विवादभन्दा बढी संवादको विषय बन्न सक्थ्यो कि ।

‘लाली बजार’ हेरेपछि मलाई लाग्यो–हामीले अझै पनि महिलालाई स्वतन्त्र व्यक्तित्वका रूपमा स्वीकार गर्न सकेका छैनौँ । समाजले पुरुषका गल्ती बिर्सिन्छ, महिलाको जीवनभर हिसाब राख्छ । बाबुको नाम बिना बच्चाले पहिचान पाउन नसक्ने समाजमा आमाको संघर्ष अझै सकिएको छैन । त्यसैले ‘लाली बजार’ एउटा फिल्म मात्रै होइन, हाम्रो समाजको ऐना हो । त्यो ऐनामा बादी समुदाय मात्र होइन, हामी सबैको अनुहार छ्याङ्ग देखिन्छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully