सुकुमवासी बस्तीमा डोजर चलेपछिका शेष प्रश्नहरू

यो सबै देखेका बालबालिका हुर्किंदै जाँदा कति बिझाउला यो स्मृतिले वा कसरी प्रतिशोधको खिल बन्ला ? म फेरि भावनात्मक बन्छु । तर उत्तिखेरै तर्सिन्छु, यहाँ त संवेदना र भावना पनि निषेध पो हुन्छ कि !

वैशाख २०, २०८३

जनकराज सापकोटा

Remaining questions after bulldozers hit squatter settlements

What you should know

काठमाडौँ — फिल्डमा पुगेका सहकर्मीहरूले सुकुमवासी बस्ती विस्थापनका हृदयविदारक रिपोर्टिङ पठाइरहेका थिए । ती रिपोर्टिङमा तथ्य र तथ्यांक मात्रै थिएनन्, घरबार गुमाएका पात्रहरुका करुणा, भावना र संवेदना पनि मिसिएका थिए । 

त्यही बेला मेरो ह्वाट्सएपमा अडियो म्यासेज आइपुग्यो । त्यो अरु कसैको थिएन, चार वर्षमा हिँडिरहेको छोराले आमाको मोबाइलबाट पठाएको थियो । उक्त अडियोमा प्रहरीले सिट्टी फुकेको, भागदौड चलेजस्तो अवाज सुनिन्थ्यो । त्यसपछि छोरोको आवाज थियो, 'बाबा छिटो घर आऊ, पुलिस अन्टी आउनुभाको छ ।' 

त्यो आवाजबाटै मैले थाह पाएँ, म बसिरहेको घर सामुन्नेमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चल्न सुरु गरेछ । हतारहतार सामान निकालिरहेका मानिस, भयभीत मुद्रामा यताउती गरिरहेका बस्तीका बाबुनानी, डोजरको आवाज, प्रहरीका गाडीका साइरन अनि डाङडाङ र डुङडुङ । यो सबै दृश्यबाट छोरो तर्सियो कि ? मैले लख काटेँ । दिमागमा पनि अनेक सोचाइका भागदौड चलिरह्यो ।

सुकुमवासी बस्ती सामुन्नेको घरमा म बस्न थालेको चार वर्ष नाघिसक्यो । बस्ती र मेरो बसाइबीच केही मिटरको मात्रै दुरी छ । मेरो कोठाको झ्यालबाट बस्तीको चहलपहल मात्रै देखिँदैन, झैझगडा, प्रेम र नोकझोक पनि सुनिन्छ । हिँडदावर्दा मैले यो बस्तीका धेरैसँग आँखा जुधाएको छु । उनीहरुसँग कुनै काम लिएको/दिएको छैन तर समुदायको एउटा सदस्यका रुपमा मैले उनीहरुको केही कुरा, सरोकार र चासो सुनेको छु । सन्चो-बिसन्चोको खैखबर बुझेको छु । चाडपर्वको शुभकामना दिएको छु । 

तर बस्ती सामुन्ने यतिका वर्ष गुजारे पनि मलाई उनीहरुमध्ये एकैजनाको पनि नाम थाहा छैन । थर थाहा छैन । तर उनीहरुको जीवनको सानातिना सुखदु:ख र त्यसको गुणस्तरबारे भने धेरथोर जानकार छु । 

बस्तीका स-साना बाबुनानी घरअघिको चौरमा खेलिरहेका हुन्थे । कहिले झैझगडा गर्थे । कहिले तिनका मुखबाट अज्ञानतवाश अश्लील शब्द पनि फुत्किन्थे । तिनीहरु अक्सर मैलाधैला देखिन्थे र खेलका नाममा झुत्ती मात्रै खेलिरहेका हुन्थे । रोकिराखेका गाडीमा झुण्डीराखेका हुन्थे । चंगा उडाइरहेका हुन्थे । खेल्दा खेल्दै छेउछाउका घरको पर्खालभीत्र छिरेका बल कसरी निकाल्ने भनेर जुक्ति लगाईरहेका हुन्थे । 

त्यो घरभित्र म कहिल्यै छिरेको थिइनँ । किनकि त्यो तहको चिनजान थिएन । तर घरभित्र के थियो मलाई सब थाहा थियो ।गरिबको घरमा जन्मिनु नै उनीहरुको दोष थियो कि वा मदिराले मातेका कतिपय बाबुआमाको झगडा वा छरछिमेकमा हुने यस्तै लफडा देखेर हुर्किनु नियति ! यस्तो किन भइरहेको थियो वा यसमा परिवारको मात्रै जिम्मेवारी हुन्छ कि त्यसभन्दा माथि पनि अरु कसैको जिम्मेवारी हुन्छ ? म आफैलाई सोध्ने गर्थें । 

एकजना दाजु थिए । क्याटरिङमा काम गर्छु भन्थे । तिनका बाबु केही समयअघि प्यारालाइसिस भएका थिए । वृद्ध बाबुलाई थेरापी गराउन उनी रोज कतै लगिरहेका हुन्थे । बाबुलाई हिँडनेसम्म बनाउन पाए हुन्थ्यो भन्ने तिनको कामना थियो । तिनका एक छोरा र सानी पुतलीजस्ती छोरी थिइन् । श्रीमती अरुका घरमा पाएको काम गर्थिन् । निहुरी परेर पनि मुस्किलले छिर्न सकिने घर थियो । घरभित्र म कहिल्यै छिरेको थिइनँ । किनकि त्यो तहको चिनजान थिएन । तर घरभित्र के थियो मलाई सब थाहा थियो । अघिल्लो वर्ष बागमतीको बाढी बस्तीमा छिरेपछि तिनीहरुले घरको पूरै सामान निकालेर घर नजिकैको मन्दिर छेउ राखेका थिए । बाढी सकिएपछि दुईतीन दिनसम्म कपडा धोएर सडक छेउमा डोरी टाँगेर सुकाएका थिए । त्यही सडक, जहाँ हरदिन धुवाँ र धुलो उड्छ । 

नजिकै अर्का बुढा बा-आमा थिए । बुढा बा हरदम कालो चस्मा लगाइरहेका देखिन्थे । रतन्धोको उपचार गरेपछि धुलोबाट जोगिन उनले त्यसो गरेको कुरा मैले धेरै पछि थाहा पाएँ । कुखुराका स-साना चल्ला ल्याएर पाल्थे । उनकी बुढिया कुखुरलाई मकै वा चामल खुवाइरहेको देख्थेँ । कुप्री परेकी बुढीआमा बारम्बार ख्वाक-ख्वाक खोकिरहन्थिन् । कहिलेकाहीँ रगत मिसिकएको खकार पिच्च पार्थिन् । कफ/खकार भुइँमा झर्न नपाउँदै कुखुराका चल्ला त्यसको भोजन गरिहाल्थे । 

अलिक पर एउटा कुप्री परेकी र लौरीको सहारामा सुस्तरी एकाध पाइला चाल्ने बुढीमाउ थिइन् । उनी झुपडीअघि परालबाट बनेको चक्लामा चुपचाप टुसुक्क बसिरहेकी हुन्थिन् । हरबिहान त्यो बाटो हिँड्दा उनी उस्तै चुपचाप देखिन्थिन् । म छोरोलाई लिएर हिँडेका बेला भने उनी बच्चालाई हेर्दै बालसुलभ शैलीमा मुसुक्क मुस्काउँथिन् । उनी परपरसम्म हेरिरहेको देख्दा केही पर्खिरहेकी छिन् झैं लाग्थ्यो । उनी चुपचाप बसिरहेको देख्दा, सहरको हतारोमा उनले बोल्ने मान्छे कुरिरहेकी छिन् जस्तो लाग्थ्यो । 

छोराको भ्वाइस म्यासेज आएको दिन म राति मात्रै घर पुगेँ । सधैं बत्तीहरुले उज्यालो देखिने, मान्छेको चहलपहलले गतिशील बस्ती उजाड थियो । भत्केका घरबाट सामान निकाल्नेहरु हतप्रभ देखिन्थे । स-साना ट्रक र लोडर गाडी सडकभरि थिए । मोबाइलको बत्ती बालेर त कोही अरु प्रकाशको व्यवस्था गरेर खण्डहर घरबाट सामान निकालिरहेका थिए । एकाध भने मन्दिर छेउमा बसेर टोलाइरहेका देखिन्थे । 

घरभित्र पुगेपछि छोराले सोध्यो, 'हामी बसेको घर पनि भत्काउँछन् बाबा ?'

मैलै 'भत्काउँदैनन्' भनेर उसलाई आश्वत पार्ने प्रयास गरेँ । उसको बालसुलभ जिज्ञासा यत्तिमै रोकिएन- अगाडिका घरहरु किन भत्काएको बाबा ?  ती मान्छेहरु अब कहाँ बस्छन् ?  ती कुखुराहरु कहाँ गए बाबा ? 

उसका प्रश्न  मेरा निम्ति अनुत्तरित थिए । तर अप्ठ्यारा प्रश्न, जसलाई अप्ठ्यारो लाग्नुपर्ने हो उसलाई पटक्कै केही लागिरहेको थिएन । 

लत्ताकपडा, भाँडाबर्तन, फर्निचर अनि यस्तैयस्तै सामान सडक छेउमा ससाना थुप्रामा राखिएका थिए । यही बस्तीका मान्छेलाई ग्राहक बनाएर दोकान चलाउँछु भनेर गत वर्ष मात्रै पसल थापेका दाइ गहिरो सुस्केरा हाल्दै भनिरहेका थिए, 'उफ, केही बाँकी रहेन ।' 

Remaining questions after bulldozers hit squatter settlements

म घर छिरे पनि बस्तीबाट उस्तै कलङमलङ आइरहेको थियो । तर त्यो अरु दिनजस्तो थिएन । अत्यास र हतारोको थियो । छटपटी र सास्तीको थियो । अप्ठ्यारो र झन्झटको थियो । अनि के गर्ने र कसो गर्ने भन्ने चिन्ताको थियो । यो बस्ती कसले बसायो ? यहाँभित्र के राजनीति थियो । बस्तीभित्रै भाडा लगाउनेहरु पनि थिए । सस्तो भाडामा ओत लाग्ने ठाउँ पाइयो भनेर सुस्ताउने पनि थिए । यहाँ शोषक को थियो, शासित को थियो । साँच्चै दु:खमा को थियो, छिपछिपे दु:खमा को थियो ? सबैसबै प्रश्नका उत्तर बस्तीसँग भत्किए । 

राती ओछ्यानमा पल्टेपछि पनि म निदाउन सकिनँ । ११ बज्नै लागेको थियो । लुसुक्क बाहिर निस्केँ । बस्तीनजिक गएँ । त्यहाँ केही मान्छे अझै सामान निकाल्दै थिए । छोरालाई बिहान लिएर हिँड्न निस्कँदा यो बस्तीका धेरै कुकुर मैले चिनिसकेको थिएँ । किनकि छोराले ती ४-५ कुकुरलाई रोज बिस्कुट खुवाउँथ्यो । एउटा सानो सेतो रङ लगाइएको घरको पिँढीमा एउटा सानो सेतै कुकुर हुन्थ्यो । त्यो घर पनि बस्तीका अरु घरजस्तै भत्किसकेको थियो । अवस्था यस्तो थियो कि, बिहान देखेका घर कुन कहाँनेर थियो र कुन घरपछि कुन घर आउँथ्यो भनेर अनुमानसम्म पनि गर्न सक्ने अवस्था थिएन । 

त्यो सेतो कुकुर एकदमै भयभीत अवस्थामा थियो । कुइँकुइँ गरेजस्तो स्वर थियो तर नजिक गएमात्रै सुनिने । छिमेकमा घर भएकी एकजना बुढीआमैले उसको सामुन्नेमा दुई पसरजति भात राखीदिएकी रैछिन् । आमैले भनिन्, ‘यसका घरधनी हतारहतारमा सामान जोगाउन थाले । यो यतै छुट्यो । भोलि त यसलाई लिन आउलान् नि ।' 

Remaining questions after bulldozers hit squatter settlements

उनले घर भत्केपछि धेरैबेरसम्म यो कुकुर कुइँकुइँ गरेको र आफू बसेको ठामबाट यताउति सर्नै नमानेको बताइन् । आमैले कुकुरतिर हेरेर भनिन्, ‘यहीँ बस है । नरोईकन बस । भोलि लिन आउँछन् ।' यो सबै देखेर र आमैको कुरा सुनेर म नि:शब्द भए । मनमा कतै गाँठो परेजस्तो भयो ।  

मैले सरसर्ती सामाजिक सञ्जाल नियालेँ । सत्तारुढ दलका केही समर्थकहरु सामाजिक सञ्जालमा लेखिरहेको देख्छु- भावनाको व्यापार नगर । 

म आफैलाई भन्छु, स्मृति र भावना नै त हो मान्छेलाई जिउँदो बनाउने । आफ्ना स्मृतिलाई जोगाउन मान्छे कतिसम्म मरिहत्ते गर्छ । आफूभित्र भावना हुर्काउन मान्छेले कति यत्न गर्छ । 

तिनले के बुझेर यसो भनेका होलान् ? भावना र स्मृतिहरुकै गतिमा त हो मान्छेले भविष्यको पदचाप कोर्ने । यसैको सहारामा त हो मान्छे अरुभन्दा फरक हुने । 

भावना र स्मृति नभएको यो कस्तो सहर बनाउने परिकल्पना हो सरकारको । अनि कोही हुकुमवासी किन सुकुमबासीझैं देखिन बाध्य भयो, कोही किन अन्त कतै थातथलो भएर पनि सुकुमबासी बस्तीमा बस्न आयो ? कुनै युद्धग्रस्त देशमा झैं, कुनै संकटको डिलमा पुगेको राज्यले जसरी बस्ती विस्थापनको काम भयो । यो सबै देखेका बालबालिकाको मनमा सरकार भनेको, शासक भनेको के हो भनेर सोध्यो भने कस्तो उत्तर आउला ? यो वर्तमान जब उनीहरु हुर्किंदै जाँदा स्मृति बन्छ, त्यसले उनीहरुलाई कति बिझाउला वा कसरी प्रतिशोधको खिल बन्ला ? 

सरकार त सधैं शक्तिशाली नै हुन्छ । त्यो शक्ति भनेको जवाफदेही र जिम्मेवारीसहितको शक्ति हो । तर हतारहतार घर भत्काउँदा त्यहाँ बस्ने अपांगता भएका, नवजात शिशु, सुत्केरी, दीर्घरोगी, मनोवैज्ञानिक समस्यासँग गुज्रिरहेका र आफ्नै जीवनसँग जुँधिरहेकाहरु आफैदेखि तर्सिने भएनन् र भन्या !

एउटा समय, इन्द्रबहादुर राईको 'आज रमिता छ' चर्चामा थियो । अहिले अर्का इन्द्रबहादुर राई चर्चामा छन् । तर आफूलाई बागमतीमा सेलाएपछि उनको गरिबी, अभाव र संघर्षको कथासहित मात्रै उनी चर्चामा आए । तर बलशाली सरकारलाई उनको मृत्यु फगत् एउटा नागरिकको मृत्यु मात्रै भयो । यो सब देख्दादेख्दै तिमी भन्दै छौ- भावनाको कारोबार नगर ? 

यो सबै सम्झेर म फेरि भावनात्मक बन्छु । तर उत्तिखेरै तर्सिन्छु, यहाँ त संवेदना र भावना पनि निषेध पो हुन्छ कि !

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully