रञ्‍जना किन रोइन् ? 

रञ्जना यूसीआई पारासाइक्लिङ विश्वकपमा सहभागी बन्नु नै विशेष विषय हो । यस क्रममा उनले कति हौसला, उत्प्रेरणा प्राप्त गरिन् ? कति बलियो बनिन् ? कति साहसिक बनिन् ? कति गर्वबोध गर्लिन् ? उनको आँसुभित्र प्रश्नको पुञ्ज देख्न सकिन्छ ।

फाल्गुन २८, २०८२

तारालाल श्रेष्ठ

Why did Ranjana cry?

२०८२ फागुन २७ गते बुधबार । जावलाखेल बिहान दिदीबहिनी साइकल सिक्दै थिए । साइकल दायाबाया राखेर कोही योगा गर्दै थिए । हामीहरु साइकल खेलाडी रञ्जना धामीलाई सगुन दिई विश्वकप यात्राको शुभकामना आदानप्रदानमा जुटेका थियौँ ।

महिला साइक्लिङका अगुवा अस्मिताले राजवंशीले अघिल्लो दिन मलाई रञ्जनाको विश्वकप यात्राबारे जानकारी गराएकी थिइन् । अस्मिताका अनुसार नेपालबाट इतिहासमै पहिलो पटक यूसीआई पारा साइक्लिङ विश्वकप प्रतिस्पर्धामा रञ्जना थाइल्यान्ड जाँदै थिइन् । 

एक नेपाली यूसीआई पारा साइक्लिङ विश्वकप प्रतिस्पर्धामा छनोट हुनु सामान्य समाचार थिएन । यस कुराको जानकारी पाउनेबित्तिकै  रञ्जितासँग चिनजान बढाएँ । साइकल कल्चर कम्युनिटीसँग आबद्ध गराएँ । भर्खरै चिनेको रञ्जना लामो समयदेखि चिनजान भएझैँ साइकल साथी बोध भयो । विमानस्थल जाँदाजाँदै जावलाखेल चोकको खुला क्षेत्रमा रोकेर रञ्जनालाई सामूहिक सूचनासहित सगुन दिई बिदाई गर्ने कार्यक्रम तय भयो ।

बिहान ७ बजे जावलाखेल पुग्दा, रञ्जना पहिल्यै पुगिसकेकी थिइन् । लगेजका साथ उभिइरहेकी थिइन् । साइकल साथीहरू आउँदै थिए । योगा सकिएपछि एक अनौपचारिक जमघटमा हामीले रञ्जनालाई आफ्नो परिचय दिन अनुरोध गर्‍यौँ ।

Why did Ranjana cry?

दिदीबहिनीले पैसा दिँदै शुभकामना दर्शाउन थाले । रञ्जना रुन थालिन् । थप दिदीबहिनी उनको वरिपरि आए । कहिल्यै नदेखेको, नभेटेको दिदीबहिनीले उनीप्रति सद्‍भाव दर्साउन थाले । एक जना दिदीले भनिन्, ‘यदि तिमीले जितेर आयौँ भने म क्याटरिङसहित कार्यक्रम आयोजना गर्ने छु ।’ साइकल खेलाडी उषा, हर्क, अजय, ज्ञानेन्द्र लगायत महिला साइकल अगुवा उर्मिला, तिमीला लगायतले रञ्जनालाई खादा, अबिर, माला, फूलगुच्छा र सगुनले स्वागत गर्न थाले । रञ्जनाको आँखाबाट आँसु थामिएन । 

रञ्जनालाई विमानस्थल पुग्न ढिला भइसकेको थियो । रञ्जना ट्याक्सी चढ्न तयार भइन् । मैले सोधेँ, ‘अनि आफन्त खोई त ?’ रञ्जनाले रोदनपूर्ण भावमा भनिन्, ‘तपाईंहरू हुनुहुन्छ मेरो आफन्त, होइन ?’ सहभागी साइकल साथीले भने, ‘हामी हौं तिम्रो आफन्त, हामी छौं तिम्रो साथमा ।’

रञ्जना विमानस्थलतिर लागिन् । मलाई विश्वविद्यालय पुग्नु थियो । साइकल हाँक्दै जावलाखेलबाट त्रिभुवन विश्वविद्यालय आउँदा मनमा एउटा प्रश्न साइकलको चक्का जस्तै घुमिरह्यो : रञ्जना किन रोइन् ? उनको कथाभित्र कस्ता कथा होलान् ? उत्तर अनेक हुन सक्ला । त्यहाँ ‘किन रोएकी रञ्जना ?’ भनेर सोध्दा, उनी बोलिनन् । अरूहरू नै उत्तर दिए : ‘हर्षको आँसु हो । रञ्जान कहाँ रोएकी हुन् र ?’  

साइकल साथीहरूलाई रञ्जना रोएको कारण के होला भनेर जान्न चाहेँ । कफी गफमा स्थापित साइकल साथीहरूले भन्न थाले : नेपालमा साइकल खेलाडीलाई कसले सम्झन्छ र ? साइकल संघसंस्थालेसमेत सम्मान गर्न आनाकानी गर्छ । साइकल समूहरू बढी मनोरञ्जनमुखी छन् । साइकल खेलाडीलाई राज्य, साइकल संघसंस्था, समाज, संस्कृति सबैले विरलै सम्झन्छन् । अदृश्यझैँ उनीहरू रित्तो खल्ती महँगा साइकलको पेडल पेलिरहेका हुन्छन् । अन्य खेल जस्तो सहज छैन साइकल खेल । सामान्य साइकलबाट साइकल प्रतियोगितामा सहभागी हुन सहज हुन्न । घरपरिवार, समाजले महँगो साइकल चढ्नेलाई कामविहीन व्यक्ति जसरी बेवास्ता वा खिसी गर्ने गर्छन् ।

Why did Ranjana cry?

रञ्जना यूसीआई पारासाइक्लिङ विश्वकपमा सहभागी बन्नु नै विशेष विषय हो । यस क्रममा उनले कति हौसला, उत्प्रेरणा प्राप्त गरिन् ? कति बलियो बनिन् ? कति साहसिक बनिन् ? कति गर्वबोध गर्लिन् ? उनको आँसुभित्र प्रश्नको पुञ्ज देख्न सकिन्छ । उनको आँसुभित्र नेपालको साइकल खेलकुदका कथा सलबलाइरहेको भान भयो । यस्तो कथा जुन निरपेक्षतामा होइन सापेक्षतामा बुनिन्छन् ।

सामाजिकता, सांस्कृतिकता, भौगोलिक अवस्थिति, आर्थिक तथा अन्य अवस्थाअनुसार व्यक्तिगत कथाहरू बन्छन् । हाँसो, आँसु, रोदन, सुस्केरा, आशा, आकांक्षासँग जोडिएर निश्चित समयमा अलग-अलग कथाहरू अस्तित्वमा आउँछन् । कति कथा सुनिन्छ, सुनाइन्छ । कति कथा अमूक बस्छ । रञ्जना साइकल संस्कृतिको कथा जन्माउँदै थिइन्, प्रश्नको पुञ्जबीच । 

समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी रञ्जना कुन परिस्थितिमा साइक्लिङ संसारमा संघर्ष गरिरहेकी थिइन् ? अपांगता(अ)मैत्री कस्तो परिवेशमा यूसीआई विश्वकपमा प्रतिस्पर्धा गर्न जाँदै थिइन् ? विश्वकप प्रतियोगिता सुहाउँदो साइकल र साइकलका सामान उपलब्ध छन् कि छैनन् ? प्रतियोगितामा सहभागी बन्ने क्रममा उनले कस्तो संघर्ष गरिन् ? छनौटपछि कस्तो तयारीको वातावरण बन्यो ?

यूसीआईले पाँच दिन तालिम दिँदै रहेछ, साइकलसहित । रञ्जनाको लागि स्विजरल्यान्डबाट आयोजक यूसीआईले थाइल्यान्ड साइकल ल्याइपुर्‍याएको कुरा सुनेर खुसी लाग्यो । नेपाली साइकल खेलाडीलाई स्वदेशले भन्दा विदेशले बढी सघाइरहेको देखिन्छ । नेपाल राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । शक्तिशाली नयाँ सरकार गठन हुने तयारी जारी छ । प्रतियोगितापश्चात् रञ्जना जस्ता खेलाडीका लागि देशभित्र कस्तो वातावरण बन्ला ? कसले बनाइदेला ? अनेकौँ प्रश्न उनको आँसुका थोपाहरूसँगै सलबलाइरहेको भान भयो । 

रञ्जनाको अनुभूति, अनुभव, संघर्ष सबै अदृश्य कथा बनेर उभिरहेको थियो । हिजोका कथा अलग थिए, आज अलग कथा बन्दै थियो । भोलि अझ अलग कथा बन्ने छन् । अखिर कसैको अनुभव पनि कथामै बाँच्छ । कसैले आफ्नो कथा आफैं भन्छन् । धेरैले भन्न सक्दैनन् । हामी कसैको कथा भन्न सक्छौँ । कथावाचक बन्न सक्छौँ । रञ्जनाले आफ्ना कथाभित्रका कथा हामीलाई नभने तापनि उनको आशुमयी अनुभूतिमा सहानुभूति र सहकार्य जोडन सक्छौँ । दिदीबहिनीबीचको स्नेहमाझ रञ्जनाको आँखाबाट तप्किरहेको आँसुले सायद भन्दै थियो : हरेकको सत्य अलग हुन्छ । अवस्था अलग हुन्छ । अनुभूति अलग हुन्छ । ज्ञान अलग अनुभूतिबाटै उत्पन्न हुन्छ । विशेष सत्य विशिष्ट अनुभूतिमै प्रकट हुन्छ ।  

Why did Ranjana cry?

रञ्जना रोएको दृश्यमा घोत्लिँदै सोच्दै छु : नेपालको साइकल खेलकुदको विगत र वर्तमानबीच विद्यमान सीमा र सामर्थ्य उनको आँसुबाट बोध गर्न सकिन्छ कि ? धेरै खेलाडी खेल क्षेत्रबाट किन विस्थापित हुन्छन् ? अधिकांश खेलाडी कि बिदेसिन्छन् नभए खेल क्षेत्रबाट बिलाई जान्छन् ।

अपांगता भएका आदिवासी महिलाप्रति पनि समर्पित रञ्जना पारा तेक्वान्दो प्रतिस्पर्धाका क्रममा विश्वका विभिन्न देश पुगेको देखिन्छ । एक दशकबीच चीन, यूएई, बेलायत, अस्ट्रेलिया, कोरिया, जोर्डन, फिलिपिन्स, रसिया, पोल्यान्ड पुगेर उनी विजेता बनेको रेकर्ड भेटिन्छ । यति सशक्त खेलाडी रञ्जना किन रोइन् ? उत्तर अनुत्तरित छ । रञ्जनालाई साइकल खेलकुदमा रम्ने, जम्ने वातावरण बनिरहोस् । बौद्धिक जगतसँग पनि जोडियोस् । बस्, यति कामना गर्छु । उनको आँसुले साइकल खेलाडीले नेपालमा साइकल संस्कृति विकासमा सामूहिक अपनत्व खोजिरहेको भान भयो ।            

तारालाल

Link copied successfully