चीन साँच्चै अचम्मको देश रहेछ- अनुशासित, गतिशील र सुव्यवस्थित । विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै देखियो ।
What you should know
झापा — भारतको अहमदाबादबाट लन्डन उडेको जहाज ३२ सेकेन्डमै दुर्घटनामा परेको खबर सार्वजनिक भएको तीन दिन मात्रै भएको थियो । यो घटनाभन्दा अघि पनि म यस्तै जहाज दुर्घटनाको साक्षी बनेको थिए ।
गत वर्ष साउन ९ गते । भद्रपुर जानका लागि म काठमाडौंस्थित विमानस्थल पुगेको थिएँ । सौर्य एयरलाइन्स दुर्घटनाको खबर विमानस्थलभित्रै सुन्दा म अत्तालिएको थिएँ ।
यी दुवै घटनाबाट मानसिक रुपमा बाहिर निस्कन सकिरहेको थिइनँ । यही बेला मलाई चीन पुग्नुपर्ने थियो ।
असार १ गते । मध्यरात । म सहितका दुई सय यात्रु बोकेर चाइना साउदर्नको विमान काठमाडौंको आकाश चिर्दै चीनको राजधानी बेइजिङतिर उड्यो । हाम्रो ट्रान्जिट सहर थियो, ग्वान्जाओ ।
पहिलो लामो अन्तर्राष्ट्रिय यात्रा भएकाले मभित्र डरका अलावा उत्साह पनि थियो । निदाउने कोसिस गरेँ, तर टर्बुलेन्स र यात्रु अनि एयर होस्टेसको कल्याङमल्याङले निद्रा बिथोलिरह्यो । तर मसँगैका केही सहयात्री भने मस्त निदाए । इलामका पत्रकार सटेन्द्र जबेगु ठट्टा गर्दै थिए, ‘म त गाडी होस् या जहाज चढ्नासाथै निदाउँछु ।’
झन्डै ४ घण्टाको उडानपछि बिहान ६ बजे ग्वान्जाओ ट्रान्जिट आयो । त्यहाँबाट बेइजिङको अर्को उडान दिउँसो १२ बजे थियो । तर, मौसम बाधक बन्यो । भारी वर्षा र चट्याङले विमानस्थल आधा जलमग्न थियो । अनि उडानहरू अवरुद्ध ।
दिउँसो १२ बजे उड्नुपर्ने विमान राति ९ बजे मात्र उड्यो । मध्यराततिर बेइजिङको डाक्सिङ एयरपोर्टमा अवतरण गर्दा थकानको कुनै सिमाना थिएन । फटाफट होटलमा पुगेर आराम गर्नुपर्ला भनेको त विमानस्थलमा लगेज साटासाट भएपछि अर्को डेढ घण्टा हैरानीमा बिते ।
विमानस्थलबाहिर दुई जना चिनियाँ युवती हामीलाई लिन आयोजकको तर्फबाट आएका थिए । कोठामा पुगेर निदाउँदा रातको ३ बजिसकेको थियो ।
भोलिपल्ट बिहान अर्को हैरानी आइलाग्यो । म साथीहरु कहाँकहाँ छन् भनेर खोज्न थाले । तर खोज्ने पो कसरी ? मैले वीच्याट डाउनलोड गर्न भुलेको रहेछु । चीनमा अरु माध्यमबाट सम्पर्क गर्न कहाँ सजिलो छ र ? साथीहरु खोज्ने सुरमा मेरा नास्ता छुट्यो । अनिदो रात, भोको बिहान ।
रगत र पसिनाले ठडिएको महापर्खाल
चीनको वाणिज्य मन्त्रालयको निमन्त्रणामा १७–३० जुनसम्म आयोजित ‘चाइना–आसियान साइबर सुरक्षा सेमिनार’ मा नेपालसहित कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसिया र लाओसका प्रतिनिधि सहभागी थिए । बेइजिङमा सम्पन्न यस अन्तर्राष्ट्रिय सेमिनारमा वैश्विक साइबर सुरक्षा परिदृश्य, राष्ट्रपति सी चिनफिङको ‘साझा भविष्यसहितको साइबरस्पेस समुदाय’ अवधारणा, डेटा सुरक्षा र गोपनीयता संरक्षण, चिनियाँ संस्कृतिको सिर्जनात्मकता र प्रभाव तथा चीनको समकालीन कूटनीतिक नीतिका विविध पक्षहरूमा विज्ञहरूले गहिरो विश्लेषणात्मक प्रस्तुति दिएका थिए ।
प्रत्येक दिन बिहान तीन घण्टा लामो लेक्चर सत्र चल्थ्यो । कहिलेकाहीँ भने हामीलाई बेइजिङमै रहेका साइबर सुरक्षा प्रविधिमा अग्रणी कम्पनीहरूको भ्रमणमा लगिन्थ्यो । यस्ता भ्रमणहरू अनुभवात्मक रूपमा निकै ज्ञानवर्धक र रोमाञ्चक हुन्थे ।
चौथो दिन हामी ‘ग्रेट वाल अफ चाइना’ अर्थात् चिनियाँ महापर्खाल घुम्न पुग्यौं । विशाल ढुंगाका खाल्डाखुल्डी भरिएका सिँढी चढ्दै हामी पर्खालको एक अंशमा पुग्दा, हाम्रो आँखा अगाडि फैलिएको दृश्य साँच्चिकै मनमोहक थियो । त्यो ऐतिहासिक पर्खाल पर क्षितिजसम्म फैलिएको थियो, मानौं कुनै शक्तिशाली सभ्यताको मौन साक्षी बनेर उभिएको छ ।
विश्वकै सबैभन्दा लामो मानव निर्मित संरचना मानिने यो पर्खाल करिब २१ हजार किलोमिटरभन्दा धेरै लम्बाइमा फैलिएको छ । यसले चीनका थुप्रै प्रान्त, पहाड, मरुभूमि र नदीहरू पार गर्छ । प्राचीनकालमा उत्तरी आक्रमणबाट राष्ट्रलाई सुरक्षित राख्न यो पर्खाल निर्माण गरिएको इतिहास पाइन्छ । ग्रेटवालको निर्माण आजभन्दा करिब २,३०० वर्षअघि सुरु भएको मानिन्छ, जुन बेला चीन हान र मिङ राजवंशहरूद्वारा शासित थियो ।
‘यो पर्खाल ढुंगामाटोको संरचना मात्रै हैन,’ चिनियाँ टोली नेता झाङ ज्हाओले गर्वसाथ भने, ‘यसमा हजारौं श्रमिक, सैनिक र कैदीहरूको रगत र पसिना मिश्रित छ । यो चीनको साहस, एकता, सभ्यता र इतिहासको सजीव प्रतीक हो ।’
समयको सीमाले गर्दा हामी बढीमा तीन किलोमिटरभन्दा टाढासम्म मात्र जान सक्यौं, तर त्यो छोटो यात्रा पनि स्मरणीय बन्यो । पर्खालको उकालो चढ्दा चिच्याउँदै हाँस्ने पर्यटक, झन्डा फहराउँदै फोटो खिच्ने टोली, अनि हरिया डाँडामाथि एनाकोन्डाझैं लमतन्न तन्किएको पर्खालको दृश्यले यात्रालाई थप रोमाञ्च बनायो । ग्रेटवालको त्यो छोटो भेट साँच्चै अविस्मरणीय रह्यो ।
दाहिने जुत्ताको दुःख
सेमिनार सकिएपछि हामी बेइजिङका मलतिर निस्कियौँ । साथीहरू कोट, जिन्स, सुट किन्दै थिए, मचाहिँ जुत्ता खोज्दै । नेपालमै योजना बनाएको थिएँ, चीन पुगेपछि स्पोर्टस् सुज किन्ने । साथमा एउटै छालाको जुत्ता थियो, त्यो पनि औपचारिक ।
ली–लिङ कम्पनीको पसलमा मनपर्ने जुत्ता देखेँ, कालो–सेतो रंग, दमदार डिजाइन, साइज साढे ४० नम्बर । लगाउँदा ठिक लाग्यो । साथी सटेन्द्रले पनि ‘गज्जब सुहायो’ भनेपछि हौसिएँ । नयाँ जुत्ता लगाए अनि झोलामा पुरानो चप्पल हालेर निस्किएँ ।
तर, केही बेरमै समस्या सुरु भयो । दाहिने खुट्टामा च्यापेजस्तो पीडा । देब्रे ठिक, दाइनेले सतायो । दुई किलोमिटर टाढा रहेको आवाससम्म चुपचाप हिँडे । भोलिपल्ट पनि पीडा उस्तै । सेमिनारमा त जुत्ता खोलेरै बस्नुपर्यो । त्यसपछि मैले पसलमै पुगेर जुत्ता साट्ने निर्णय गरेँ । साथीहरूले डर देखाए, चिनियाँ पसलले एकपटक लगाएको सामान फिर्ता लिँदैनन । तर, आस मारिनँ । सटेन्द्रसहित पसल पुगेँ । सेल्सगर्लले सुरूमा ४१ नम्बर निकालिन्, तर फोनमा कसैसँग परामर्श गरेपछि ‘फिर्ता गर्न मिल्दैन’ भनिन् । धेरै बिन्ती गरेँ, तर, जुत्ता साटिएन ।
निराश भएर आवास फर्किएँ । तर, हरेस खाइनँ । तीन दिन लगाएको जुत्ता सफा गरेर फेरि भोलि पुगेँ । त्यसपटक चाहिँ नयाँ जुक्ति लगाएँ । सेमिनारका संयोजक झाङ झ्याओको सहयोग लिने । उनले सेल्सगर्ललाई फोन गरेर चिनियाँ भाषामा लामो वार्तापछि उनले नमिलेको जुत्ता साट्न मन्जुर भइन् ।
यसपटक रङ पनि फेरेँ । रातो–कालो, साइज ४१ । तर १८० युआन थप्नुपर्यो कुल मूल्य पुग्यो ६०० युआन । नयाँ जुत्ता लगाउँदा खुसी लाग्यो, विडम्बना, केहीबेरमै फेरि दाहिने खुट्टा दुख्न थाल्यो । अब त साथीलाई भन्न पनि लाज लाग्यो । उभिँदा गाह्रो, हिँड्दा अप्ठ्यारो, तर मुखमा मुस्कान ।
एकपटक सटेन्द्रजीलाई मुख फोरेँ, ‘जुत्ताले दुखायो, फेरि साट्न जानुपर्ने भयो हौ सर ।’ उनी हाँसेर झन्डै मूर्च्छा परे ।
यत्तिकैमा अर्को घटना चर्चामा आयो । साथी बालिका शिवाकोटीले किनेर ल्याएको दुवै जुत्ता दाहिने परेछ । अब हाँस्ने पालो हामी दुईको थियो ।
मनभित्र चीन
करिब १६ दिनको चीन यात्राले हाम्रो मन–मस्तिष्कमा एउटा गहिरो प्रभाव छाडेर गयो । सुनेका थियौं, तर देख्दा–अनुभव गर्दा चीन साँच्चै अचम्मको देश रहेछ, अनुशासित, गतिशील र सुव्यवस्थित ।
विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै । एक सेकेन्ड समय पनि खेर नफाल्ने जीवनशैली । यो सबै देख्दा मैले नेपाल सम्झिएँ अनि हामी किन पछि छौं भनेर घोत्लिएँ ।
पहिलो रातको ढिला उडान, लगेजको झमेला, समयबद्ध तालिका, अव्यवस्थित जीवनशैली, यी सबै अनुभव थिएनन्, जीवनका पाठ थिए ।
चीनबाट फर्किंदा हामीसँग किनमेलका झोला मात्रै थिएनन्, साथमा थियो, विकासको दर्शन, समयको मूल्यप्रतिको सम्मान, अनुशासन र व्यवस्थापनप्रतिको नयाँ बुझाइ ।
हाम्रो समाज पनि यस्तै अनुशासित, समयप्रति गम्भीर र व्यवस्थित भइदिए ? चीनले सिकाएको यही पाठ मनभित्र गढ्यो । हामी स्वदेश फर्कियौं । तर, साँच्चै भन्नुपर्दा, हामीसँग एउटा सानो चीन पनि साथै आयो, अनुशासन, गतिशीलता र व्यवस्थाको प्रेरणा बनेर ।

२१ हजार किलोमिटरभन्दा लामो ग्रेट वाल अफ चाइना