चीन यात्रा : विकासको भव्य चित्र, साटिएको लगेज अनि जुत्ताको दु:ख

चीन साँच्चै अचम्मको देश रहेछ- अनुशासित, गतिशील र सुव्यवस्थित । विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै देखियो ।

श्रावण २४, २०८२

पर्वत पाेर्तेल

Travel to China: A grand picture of development, the sorrow of swapped luggage and shoes

What you should know

झापा — भारतको अहमदाबादबाट लन्डन उडेको जहाज ३२ सेकेन्डमै दुर्घटनामा परेको खबर सार्वजनिक भएको तीन दिन मात्रै भएको थियो । यो घटनाभन्दा अघि पनि म यस्तै जहाज दुर्घटनाको साक्षी बनेको थिए ।

गत वर्ष साउन ९ गते । भद्रपुर जानका लागि म काठमाडौंस्थित विमानस्थल पुगेको थिएँ । सौर्य एयरलाइन्स दुर्घटनाको खबर विमानस्थलभित्रै सुन्दा म अत्तालिएको थिएँ ।

यी दुवै घटनाबाट मानसिक रुपमा बाहिर निस्कन सकिरहेको थिइनँ । यही बेला मलाई चीन पुग्नुपर्ने थियो ।

असार १ गते । मध्यरात । म सहितका दुई सय यात्रु बोकेर चाइना साउदर्नको विमान काठमाडौंको आकाश चिर्दै चीनको राजधानी बेइजिङतिर उड्यो । हाम्रो ट्रान्जिट सहर थियो, ग्वान्जाओ ।

पहिलो लामो अन्तर्राष्ट्रिय यात्रा भएकाले मभित्र डरका अलावा उत्साह पनि थियो । निदाउने कोसिस गरेँ,  तर टर्बुलेन्स र यात्रु अनि एयर होस्टेसको कल्याङमल्याङले निद्रा बिथोलिरह्यो । तर मसँगैका केही सहयात्री भने मस्त निदाए । इलामका पत्रकार सटेन्द्र जबेगु ठट्टा गर्दै थिए, ‘म त गाडी होस् या जहाज चढ्नासाथै निदाउँछु ।’

झन्डै ४ घण्टाको उडानपछि बिहान ६ बजे ग्वान्जाओ ट्रान्जिट आयो । त्यहाँबाट बेइजिङको अर्को उडान दिउँसो १२ बजे थियो । तर,  मौसम बाधक बन्यो । भारी वर्षा र चट्याङले विमानस्थल आधा जलमग्न थियो । अनि  उडानहरू अवरुद्ध ।

दिउँसो १२ बजे उड्नुपर्ने विमान राति ९ बजे मात्र उड्यो । मध्यराततिर बेइजिङको डाक्सिङ एयरपोर्टमा अवतरण गर्दा थकानको कुनै सिमाना थिएन । फटाफट होटलमा पुगेर आराम गर्नुपर्ला भनेको त विमानस्थलमा लगेज साटासाट भएपछि अर्को डेढ घण्टा हैरानीमा बिते ।

विमानस्थलबाहिर दुई जना चिनियाँ युवती हामीलाई लिन आयोजकको तर्फबाट आएका थिए । कोठामा पुगेर निदाउँदा रातको ३ बजिसकेको थियो ।

भोलिपल्ट बिहान अर्को हैरानी आइलाग्यो । म साथीहरु कहाँकहाँ छन् भनेर खोज्न थाले । तर खोज्ने पो कसरी ? मैले वीच्याट डाउनलोड गर्न भुलेको रहेछु । चीनमा अरु माध्यमबाट सम्पर्क गर्न कहाँ सजिलो छ र ? साथीहरु खोज्ने सुरमा मेरा नास्ता छुट्यो । अनिदो रात, भोको बिहान । 

रगत र पसिनाले ठडिएको महापर्खाल

चीनको वाणिज्य मन्त्रालयको निमन्त्रणामा १७–३० जुनसम्म आयोजित ‘चाइना–आसियान साइबर सुरक्षा सेमिनार’ मा नेपालसहित कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसिया र लाओसका प्रतिनिधि सहभागी थिए । बेइजिङमा सम्पन्न यस अन्तर्राष्ट्रिय सेमिनारमा वैश्विक साइबर सुरक्षा परिदृश्य, राष्ट्रपति सी चिनफिङको ‘साझा भविष्यसहितको साइबरस्पेस समुदाय’ अवधारणा, डेटा सुरक्षा र गोपनीयता संरक्षण, चिनियाँ संस्कृतिको सिर्जनात्मकता र प्रभाव तथा चीनको समकालीन कूटनीतिक नीतिका विविध पक्षहरूमा विज्ञहरूले गहिरो विश्लेषणात्मक प्रस्तुति दिएका थिए ।

प्रत्येक दिन बिहान तीन घण्टा लामो लेक्चर सत्र चल्थ्यो । कहिलेकाहीँ भने हामीलाई बेइजिङमै रहेका साइबर सुरक्षा प्रविधिमा अग्रणी कम्पनीहरूको भ्रमणमा लगिन्थ्यो । यस्ता भ्रमणहरू अनुभवात्मक रूपमा निकै ज्ञानवर्धक र रोमाञ्चक हुन्थे ।

चौथो दिन हामी ‘ग्रेट वाल अफ चाइना’ अर्थात् चिनियाँ महापर्खाल घुम्न पुग्यौं । विशाल ढुंगाका खाल्डाखुल्डी भरिएका सिँढी चढ्दै हामी पर्खालको एक अंशमा पुग्दा, हाम्रो आँखा अगाडि फैलिएको दृश्य साँच्चिकै मनमोहक थियो । त्यो ऐतिहासिक पर्खाल पर क्षितिजसम्म फैलिएको थियो, मानौं कुनै शक्तिशाली सभ्यताको मौन साक्षी बनेर उभिएको छ ।

Travel to China: A grand picture of development, the sorrow of swapped luggage and shoes२१ हजार किलोमिटरभन्दा लामो ग्रेट वाल अफ चाइना 

विश्वकै सबैभन्दा लामो मानव निर्मित संरचना मानिने यो पर्खाल करिब २१ हजार किलोमिटरभन्दा धेरै लम्बाइमा फैलिएको छ । यसले चीनका थुप्रै प्रान्त, पहाड, मरुभूमि र नदीहरू पार गर्छ । प्राचीनकालमा उत्तरी आक्रमणबाट राष्ट्रलाई सुरक्षित राख्न यो पर्खाल निर्माण गरिएको इतिहास पाइन्छ । ग्रेटवालको निर्माण आजभन्दा करिब २,३०० वर्षअघि सुरु भएको मानिन्छ, जुन बेला चीन हान र मिङ राजवंशहरूद्वारा शासित थियो ।

‘यो पर्खाल ढुंगामाटोको संरचना मात्रै हैन,’ चिनियाँ  टोली नेता झाङ ज्हाओले गर्वसाथ भने, ‘यसमा हजारौं श्रमिक, सैनिक र कैदीहरूको रगत र पसिना मिश्रित छ । यो चीनको साहस, एकता, सभ्यता र इतिहासको सजीव प्रतीक हो ।’

समयको सीमाले गर्दा हामी बढीमा तीन किलोमिटरभन्दा टाढासम्म मात्र जान सक्यौं, तर त्यो छोटो यात्रा पनि स्मरणीय बन्यो । पर्खालको उकालो चढ्दा चिच्याउँदै हाँस्ने पर्यटक, झन्डा फहराउँदै फोटो खिच्ने टोली, अनि हरिया डाँडामाथि एनाकोन्डाझैं लमतन्न तन्किएको पर्खालको दृश्यले यात्रालाई थप रोमाञ्च बनायो । ग्रेटवालको त्यो छोटो भेट साँच्चै अविस्मरणीय रह्यो । 

दाहिने जुत्ताको दुःख

सेमिनार सकिएपछि हामी बेइजिङका मलतिर निस्कियौँ ।  साथीहरू कोट, जिन्स, सुट किन्दै थिए, मचाहिँ जुत्ता खोज्दै । नेपालमै योजना बनाएको थिएँ, चीन पुगेपछि स्पोर्टस् सुज किन्ने । साथमा एउटै छालाको जुत्ता थियो, त्यो पनि औपचारिक ।

ली–लिङ कम्पनीको पसलमा मनपर्ने जुत्ता देखेँ, कालो–सेतो रंग, दमदार डिजाइन, साइज साढे ४० नम्बर । लगाउँदा ठिक लाग्यो । साथी सटेन्द्रले पनि ‘गज्जब सुहायो’ भनेपछि हौसिएँ । नयाँ जुत्ता लगाए अनि झोलामा पुरानो चप्पल हालेर निस्किएँ ।

तर, केही बेरमै समस्या सुरु भयो । दाहिने खुट्टामा च्यापेजस्तो पीडा । देब्रे ठिक, दाइनेले सतायो । दुई किलोमिटर टाढा रहेको आवाससम्म चुपचाप हिँडे । भोलिपल्ट पनि पीडा उस्तै । सेमिनारमा त जुत्ता खोलेरै बस्नुपर्‍यो । त्यसपछि मैले पसलमै पुगेर जुत्ता साट्ने निर्णय गरेँ । साथीहरूले डर देखाए, चिनियाँ पसलले एकपटक लगाएको सामान फिर्ता लिँदैनन । तर, आस मारिनँ । सटेन्द्रसहित पसल पुगेँ । सेल्सगर्लले सुरूमा ४१ नम्बर निकालिन्, तर फोनमा कसैसँग परामर्श गरेपछि ‘फिर्ता गर्न मिल्दैन’ भनिन् । धेरै बिन्ती गरेँ, तर, जुत्ता साटिएन ।

निराश भएर आवास फर्किएँ । तर, हरेस खाइनँ । तीन दिन लगाएको जुत्ता सफा गरेर फेरि भोलि पुगेँ । त्यसपटक चाहिँ नयाँ जुक्ति लगाएँ । सेमिनारका संयोजक झाङ झ्याओको सहयोग लिने । उनले  सेल्सगर्ललाई फोन गरेर चिनियाँ भाषामा लामो वार्तापछि उनले नमिलेको जुत्ता साट्न मन्जुर भइन् ।

यसपटक रङ पनि फेरेँ । रातो–कालो, साइज ४१ । तर १८० युआन थप्नुपर्‍यो कुल मूल्य पुग्यो ६०० युआन ।  नयाँ जुत्ता लगाउँदा खुसी लाग्यो, विडम्बना, केहीबेरमै फेरि दाहिने खुट्टा दुख्न थाल्यो । अब त साथीलाई भन्न पनि लाज लाग्यो । उभिँदा गाह्रो, हिँड्दा अप्ठ्यारो, तर मुखमा मुस्कान ।

एकपटक सटेन्द्रजीलाई मुख फोरेँ, ‘जुत्ताले दुखायो, फेरि साट्न जानुपर्ने भयो हौ सर ।’ उनी  हाँसेर झन्डै मूर्च्छा परे । 

यत्तिकैमा अर्को घटना चर्चामा आयो । साथी बालिका शिवाकोटीले किनेर ल्याएको दुवै जुत्ता दाहिने परेछ । अब हाँस्ने पालो हामी दुईको थियो । 

मनभित्र चीन
करिब १६ दिनको चीन यात्राले हाम्रो मन–मस्तिष्कमा एउटा गहिरो प्रभाव छाडेर गयो । सुनेका थियौं, तर देख्दा–अनुभव गर्दा चीन साँच्चै अचम्मको देश रहेछ, अनुशासित, गतिशील र सुव्यवस्थित ।

Travel to China: A grand picture of development, the sorrow of swapped luggage and shoes

विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै । एक सेकेन्ड समय पनि खेर नफाल्ने जीवनशैली । यो सबै देख्दा मैले नेपाल सम्झिएँ अनि हामी किन पछि छौं भनेर घोत्लिएँ ।

पहिलो रातको ढिला उडान, लगेजको झमेला, समयबद्ध तालिका, अव्यवस्थित जीवनशैली, यी सबै अनुभव थिएनन्, जीवनका पाठ थिए ।

चीनबाट फर्किंदा हामीसँग किनमेलका झोला मात्रै थिएनन्, साथमा थियो, विकासको दर्शन, समयको मूल्यप्रतिको सम्मान, अनुशासन र व्यवस्थापनप्रतिको नयाँ बुझाइ ।

हाम्रो समाज पनि यस्तै अनुशासित, समयप्रति गम्भीर र व्यवस्थित भइदिए ? चीनले सिकाएको यही पाठ मनभित्र गढ्यो । हामी स्वदेश फर्कियौं । तर, साँच्चै भन्नुपर्दा, हामीसँग एउटा सानो चीन पनि साथै आयो, अनुशासन, गतिशीलता र व्यवस्थाको प्रेरणा बनेर ।

पर्वत

Link copied successfully