जगदुल्ला ताल पुग्दा लाग्यो, प्रकृतिको जादू यही रहेछ

वैशाख ११, २०८२

रामचन्द्र न्यौपाने

When I reached Jagdulla Lake, I felt that this is the magic of nature

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट मोटरसाइकलमा हिँडेको एक घण्टामै म र कलाकार साथी लक्ष्मण देवकोटा लिकु, मुहु, बन्तडी हुँदै बलाङ्रा लेक पुग्यौँ। एकैछिनमै बेंसीबाट लेक उक्लेकाले होला, हामीलाई चिसो लागेजस्तो भयो।

नलागोस् पनि किन, डोल्पाको अग्लो स्थानमा पर्ने बलाङ्राबाट हिउँले सेताम्मे हिमाल नजिकै देखिन्थ्यो। त्यही हिमाल छोएर आएको हावाले चिसो नबनाउने कुरै थिएन।


सुन्दर गाउँबस्ती, हरिया फाँटमा फुलेका रंगीबिरंगी फूलहरू हेर्दै एघार बजे त काइगाउँ बजार पुगियो। कुनै बेला त्रिपुराकोटबाट दुई दिनमा पुगिने काइगाउँ, आजभोलि बाटोको सुविधाले मोटरसाइकलमा दुई घण्टामै पुग्न सकिने भएको छ।


हामी हिँडेका थियौँ- शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने जगदुल्ला तालको सौन्दर्य नियाल्न। काइगाउँबाट हामी हुरिकोट पुग्यौँ। त्यसपछि सुरु भयो पैदल यात्रा।

When I reached Jagdulla Lake, I felt that this is the magic of nature


झमझम पानी परिरहेको थियो। तर हामी रोकिने सुरमा थिएनौँ। वर्षा ओढेर, ‘खुई खुई’ गर्दै दुई घण्टा हिँडेपछि तोइजुम पुग्यौँ। भिजेका कपडा फेर्छौँ भन्ने थियो, तर जतनसाथ राखिएका झोलाका कपडा पनि भिजिसकेका रहेछन्। चिया र तातोपानी पिएपछि जिउमा तातो बढ्यो। तर मौसम भने चिसो नै थियो।


हाम्रो योजना थियो, माथिल्लो डंसिलेसम्म पुग्ने। घना जंगलको बाटो। जगदुल्ला नदीको एकोहोरो सुस्केरा। यात्रा सुरु गरिसकेपछि किन रोकिने भन्ने जोसमा हामी पानीमा भिज्दै हिँडिरह्यौँ। अनि पाँच बज्नै लाग्दा तल्लो डंसिले पुग्यौँ।


त्यहाँ बास बस्नका लागि कुनै होटल थिएन। माथिल्लो डंसिले नपुगी बास नपाइने भएपछि हिँड्नुको विकल्प थिएन। तर निरन्तरको झरीले चुटेर थकित शरीर अनि बढ्दो चिसो। हामीसँग केही उपाय थिएन।

When I reached Jagdulla Lake, I felt that this is the magic of nature


म पुरै थाकिसकेको थिएँ। प्रत्येक पाइला कठिन बन्दै थियो। लगाएका कपडाहरू पनि भारी लाग्न थालेका थिए। चिसो, भोक अनि उकालो बाटो—दुःखका निम्ति यहाँभन्दा बढी के चाहिन्थ्यो र! त्यसमा पनि मलाई सास फुलेर हैरान बनायो। टाउको बेस्सरी दुख्न थाल्यो।


अन्धकार बढ्दै गएको थियो। पिठ्युँको झोला पनि कतै फालिदिऊँ जस्तो लागेको थियो। भित्र कतै लुकी बसेको आँट ल्याएजस्तै गरेर मैले पाइला चालिरहेँ। हामी आठ बजे माथिल्लो डंसिले पुग्यौँ। राति आएका नौला मान्छे देखेर पशुबस्तु हेर्ने भोटे कुकुरहरू एकनासले भुकिरहे। याक, चौँरी र झोपाका घण्टीहरू बज्न थाले।


वडाध्यक्ष शेरबहादुर लामाको गाई राख्ने गोठ त्यही रहेछ। लामा दाइको आफ्नै होटल पनि रहेछ। ४५ सय मिटर उचाइमा रहेको उनको होटलमा हामीले रात बितायौँ। लामो सास तानेर ‘धन्न बाँचियो’ भनेर सुस्तायौँ।

When I reached Jagdulla Lake, I felt that this is the magic of nature


बिहान बाहिर निस्कँदा त हाम्रो स्वागतमा सेताम्मे हिमाल हाँसिरहेजस्तो । जगदुल्ला खोला सुसाइरहेको । छेउछाउमा बुकीलगायतका घाँस बयली खेलिरहेको । सबै दृश्यले हिजोको थकान पूरै हराएजस्तो भयो।


फाँटमा चरिरहेका घोडा, याक, चौँरी र भेडाहरू हेर्दै, चिसो हावा खाँदै हामी हिँड्न थाल्यौँ। तीन घण्टा सरासर हिँडेपछि हामी राक्षस तालको वारिपट्टि पुग्यौँ। पानको आकारजस्तो देखिने भएकाले यसलाई ‘प्रेम ताल’ पनि भन्ने रहेछन्।


ताललाई पृष्ठभूमिमा पारेर मनग्य फोटो र भिडियो खिच्यौँ। अनि प्रेम तालको सौन्दर्य दिलमा खिचेर अघि बढ्यौँ। करिब दुई घण्टा सरासर हिँडेपछि पुग्यौँ—जगदुल्ला ताल। यही त थियो हाम्रो गन्तव्य! यसैको सौन्दर्य खिच्ने धोकोले त यति लामो बाटो हिँड्ने र सारा हैरानी उठाउने हुटहुटी पलाएको थियो।


कञ्चन पानी अनि हावामा पानीको ताल। अनि तालपारि सुरक्षा गार्डझैँ उभिएका सेता हिमालका लस्कर। हामी खुसीले यसै यसै चिच्यायौँ।


यो ताल धार्मिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेछ। प्रत्येक वर्षको साउन पूर्णिमामा विभिन्न जिल्लाबाट हजारौँ तीर्थालु यहाँ आउने रहेछन्। तालमा स्नान गर्ने चलन रहेछ। यो ताल प्राचीन तिब्बती ग्रन्थमा नौ लाख देवी–देवताहरूको पवित्र धार्मिकस्थल भएको स्थानीयहरूको बुझाइ रहेछ।

When I reached Jagdulla Lake, I felt that this is the magic of nature


स्थानीयले फोक्सुन्डो तालझैँ यस तालले पनि रंग परिवर्तन गर्ने बताए। हामीले नियालेर हेर्‍यौँ। ताल निलो थियो। एकछिनमै फिक्का सेतो देखियो। किनभने आकाशमाथि सेताम्मे बादल थिए। त्यसैको प्रतिबिम्ब तालमा परेको थियो।


तालको सौन्दर्य नियाल्दा नियाल्दै डेढ घण्टा बितेको पत्तो भएन। असिना पानी पर्न सुरु नगरेको भए अझै केहीबेर त्यहीँ सुस्ताउने मन थियो। तालको सौन्दर्य मनभित्र खिचेर हामी वडाध्यक्षकै होटलमा बास बस्न फर्कियौँ। एउटा ठूलो उद्देश्य पूरा भएजस्तो लाग्यो। प्रकृतिको सबैभन्दा सुन्दर दृश्य हेरेर मन अघाएको अनुभव भयो।


When I reached Jagdulla Lake, I felt that this is the magic of nature

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully