के हामी चोर्ने मान्छे हौँ ?

बेरोजगारी, महँगी वा निराशा, के कारणले तिनीहरू चोर्न उद्यत भएका होलान् ?

वैशाख ८, २०८२

विवेक पोख्रेल

Are we thieves?

काठमाडौँ — प्रसंग राजावादीले चैत १५ मा काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनीमा गरेको लुटपाटबाट सुरु हुन्छ । अहिले प्रहरीले क्लोज सर्किट टेलिभिजन(सीसीटिभी)ले खिचेका फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोका आधारमा लुटपाटमा संग्लनलाई एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ ।

यस्तै घटना २०७९ फागुन १ गते काठमाडौंकै नयाँ बसपार्कको ल्होत्से मलमा पनि भएको थियो । यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीडले महल तोडफोडसँगै मोबाइल लगायतका सामान लुटपाट गरेका थिए ।

पछिल्ला लुटपाटका घटनाले हामीलाई अचम्मित मात्र बनाएको छैन, बरु हाम्रो समाजको नैतिक धरातलमा प्रश्न चिह्न खडा गरेको छ । हाम्रो सामाजिक चेतना र नैतिकतासँग यो बहस जोडिएको छ । व्यक्तिलाई हानी गर्ने र लुटपाटको अस्विकार गर्ने नेपाली समाजको स्वभाव हो भनेर हामीले बुझिआएको हो । तर, प्रतिनिधि दुई घटनाले हाम्रो स्वभाव, संस्कार र सामाजिक चेतना केही समस्या त देखिँदै छैन ? भन्ने प्रश्न उब्जाइदिएको छ । 

विगतका भूकम्पीय विपत्तिमा मानिसहरू ज्यान जोगाउन घर र आफूले वर्षौँदेखि जोडेका सामान असरल्लै छोडेर खुला चौरतिर भागेका थिए । कैयन घर र पसल भत्किएको बेला थियो । तर त्यतिबेला पनि घर र पसलका सामान लुटपाट भएका खबर सार्वजनिक भएका थिएनन् । व्यक्तिका घरभित्रका सामान हुन् कि पसल वा मार्टका सामान हुलका हुल मान्छे पसेर लुटपाट गरिरहेका दृश्य हामीले देख्नुपरेको थिएन ।

आन्दोलन त नेपाली समाजको पहिचान र परिचय नै भइसकेको छ । किनकि २००७ सालदेखि अहिलेसम्म समयका हरेक घुम्तीमा नेपाली समाज आन्दोलित छ । सानादेखि ठूला र संगठितदेखि असंगठित आन्दोलन समयका अनेकन बिन्दुमा भइ नै रहेका छन् । तर यस्ता आन्दोलनमा पनि आन्दोलनकारीले, प्रर्दशनकारीले संयमता गुमाएका थिएनन् । 

तर, तीनकुने घटनामा धेरैले विवेक गुमाए । अचम्मलाग्दो त यो छ कि भाटभटेनीका सामान हातभरि बोकेर घरतिर कुद्नेले सीसीटिभीले हामीलाई खिचेको छ भन्ने सामान्य हेक्का किन राखेनन् होला ? जबकि अहिले प्रविधिको विकासले धेरै फड्को मारेको छ । सहरका ठूला महलमा मात्र हैन गाउँका पान र चटपटे पसलमा समेत सिसिटिभी राखिएको जगजाहेरै छ । सार्वजनिक स्थानदेखि चोकसम्म अनि सडकका छेउकुना जहिँतहीँ सिसिटिभी भेटिन्छन् । यस्तो निगरानीमार्फत प्रहरीले अनेकन घटना र दुर्घटनामा संग्लनलाई पत्ता लगाउने गरेको खबर पनि नौलो विषय होइन । तर पनि भाटभटेनी लुटनेले यस्ता कुरा हेक्का नै राखेनन् ।

बेरोजगारी, महँगी वा निराशा । के कारणले तिनीहरू चोर्न उद्यत भएका होलान् ? मनोविद यस्तो बेलामा मानिसले सामाजिक रुपमा नै नैतिकता गुमाउने गरेको बताउँछन् । हुलमुलमा अरुले लगे, हामी नि लगौं भन्ने सोच मानिसमा आउँछ भन्ने तर्क पनि छ । कुनै चिटिक्क सडकमा हामी चक्लेटको खोल समेत फाल्न डराउँछौं तर फोहोर देखेको ठाउँमा फोहोर फाल्न डर हुँदैन भनेको जस्तै यो घटनामा भएको हुन सक्छ त ? सबैले चोरे मैले पनि चोर्छु भन्ने भाव अनयासै आएको हुन सक्छ । अनि यस्तो भावलाई ज–जसले नियन्त्रण गरे तिनीहरू आ–आफ्नो बाटो लागे । ज–जसले नियन्त्रण गर्न सकेनन् तिनीहरू भाटभटेनीभीत्र लुट्न पसे । 

चिकित्सकहरु क्ल्पटोमिनिया रोगको विषयमा पनि चर्चा गर्छन् । यो रोग लागेका व्यक्तिले नचाहँदा नचाहँदै पनि चोरी गर्नुपर्छ भन्ने मानसिक दबाब महसुस गर्छन् । धेरैजसो अवस्थामा उसले चोरेको सामानको खासै आर्थिक मूल्य हुँदैन, न त उसको त्यसमा आवश्यकता नै हुन्छ । केही लुटपाट गर्ने मानिसमा क्लेप्टोमेनियाको लक्षण देखिन पनि सक्छ, तर अधिकांश घटना त्यसबाट प्रेरित हुँदैनन् । आन्दोलनको बीचमा हुने चोरी प्रायः भीडको मानसिकता, परिस्थिति, आवेग र ‘अब त मौका मिल्यो’ भन्ने भावनाबाट प्रेरित हुन्छ । लुटपाटमा आर्थिक लाभ, आक्रोशको अभिव्यक्ति वा अवस्था दुरुपयोग गर्ने नियत हुन सक्छ ।

नेपालीमा समाज चोर्ने प्रवृत्तिको बाहुल्य भएको समाज हैन । त्यसमाथि आन्दोलनमा चोरी हुनु थप अचम्म लाग्ने कुरा हो । जनताले प्रतिनिधित्त्व गर्ने प्रर्दशनमा जनतामा अनुशासन, मर्यादा र नैतिकता हुनुपर्छ भन्ने मान्यता हो । हामी रमितामा रमाउन थालेको हौ त ? लुटपाटका भिडियो सामाजिक सञ्जालमा छिटो भाइरल भएको पनि पाइयो । कतिपयले लुटपाटलाई सामाजिक सञ्जालमा समर्थन गरेको देखियो । कतिले रमाइलो माने र मजाक बनाए । अन्तत सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा हाम्रो सामूहिक संवेदनशीलतामा कमी हुँदै गएको देखिन्छ । यस्तो गम्भीर विषयमा पनि नेताहरूको स्पष्ट अभिव्यक्ति नआउनु, लुटपाटप्रति भर्त्सना नहुनुले पनि नेतृत्वसँग प्रश्न गर्ने ठाउँ धेरै छन् । 

हामी आन्दोलनमा सहभागी हुँदा हामीसँग विचार हुन्छ । लुटपाटले आन्दोलन होइन, अराजकता बोल्छ । आन्दोलन गर्ने भनेको त बोल्नका लागि हो । न्यायका लागि पो हो । यत्ति कुरा खै बुझाएको ? खै बुझेको ?

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully