एक विद्यार्थीको लकडाउन डायरी : मनभित्र डरको अपार्टमेन्ट…

एरिया सिल गरिएको छ। सबै गेट बन्द छन्। कोठाहरु ठप्प छन्। यहाँ कोरोना भेटिनुअघि छतमा निस्किएर हामी मौन संवाद गर्थ्यौं।
सिमाना पौडेल

काठमाडौँ — आफ्नो नजिकको मान्छेलाई संक्रमण देखिनु या आफू बसेको घर नजिकै कोरोना संक्रमित हुनु भनेको डरलाग्दो हुने रहेछ। के हुन्छ र! सुरक्षित छु भन्दाभन्दै पनि कालले बिस्तारै ढोका ढकढक्याउँछ भन्ने किन लागिरहेको छ, थाहा छैन।

कोरोनाले गर्दा डराउनु हुन्न भनेर डायरी भर्नुपर्नेमा आफ्ना डरहरु भरेकी छु। आफ्ना अत्यासलाग्दा यी दिनहरुमा मृत्युको डरबाट गुज्रिरहेको छु। आफूसँग जे छ त्यहीँ बाँड्दो रहेछ मान्छे। मन छ, आशा बाँड्ने। चमत्कारहरु बाँड्ने। कल्पनाका सुनौला कथाहरु बाँड्ने।

त्यस्तो दिन नआऊला र?

एक्काईसौं दिन

वैशाख १ गतेको शुभकामना मैले हजुरहरुलाई दिइसकेकी थिएँ। यो त्यसपछिको कहानी हो। नयाँ वर्षमा भेटघाट गर्ने कुरै भएन। हामी साँझतिर कुनै बहाना (तरकारी किन्ने) ले भेटिने सोचमा थियौं। (सोच मात्रै है।) अर्को के पनि भने त्यो बहानामात्रै थिएन। तर अत्यावश्यक पनि थिएन। त्यो समयमै नभएर केही दिनपछि म त्यता गएको भए पनि हुने थियो। जहिले भए पनि जानुपर्ने थियो। हामीले साँचेको पैसाले तीन दिनभन्दा बढी पुग्ने थिएन। दुई दिन पछि पुग्नुपर्ने त्यो ठाउँमा दुई दिन अघि पुगेकी थिएँ। गल्ती यहीँ थियो। यो गल्तीले गर्दा केके भयो? (अनुमान गर्नुस् त।)

प्रहरीले बिनारोकटोक मलाई सनसिटीभन्दा परसम्म जान दियो। मैले स्कुटी जहाँ रोकेको थिएँ, त्यहाँ फुटबल ग्राउन्ड छ। हातमा पन्जा, मुखमा मास्क अनि गलबन्दी बेरेको थिएँ। रामराम... त्यो चौरमा कति धेरै मान्छे। उत्सव चलिरहेजस्तो। मैले स्कुटीको गति कम गरेँ। एक जना प्रहरीले मैले स्कुटीको गति कम गर्नेबित्तिकै मान्छेको भिडतिर जान आग्रह गर्नुभयो। म त्यहीँ भिड देखेर रोकिएको थिएँ। नभए काम सकेर फर्किहाल्ने मुड थियो। मुडभन्दा पनि कोरोनाको डर।

चौरमा केके भयो मैले खासमा केही सुनिनँ। र खासै कसैलाई देखिनँ। चिनिनँ पनि भनौं। (यसको कारण छ। म पछि कुनैबेला डायरीमा लेख्नेछु।)

म घर आइपुगेँ। साबुनपानीले हातखुट्टा धोएँ। मलाई कताकता भाइरस बोकेर आएँ कि भन्ने मनमा लाग्यो। बाहिर जाँदा लगाएको कपडा सब फेरेँ। बहिनीलाई जिस्काएर छोइहाल्न र उसको छेउमा पर्न डर लाग्यो। बहिनी सानै छ। उसलाई लाग्यो भने...? छ्या! केके सोचेको। दुई हात पर बसेर खाना खायौं। आज बेलुका ऊबाट टाढा रहन सक्दो कोसिस गरेँ। ऊ पनि म बाहिर गएर आएको कुराले सतर्क थिई। हामी च्याटमा कुरा गर्दै थियौं। उसले कान्तिपुरको एउटा लिंक पठाएको थियो। म खङ्ग्रङ्गै भएँ। मैले त्यो समाचारबारे बहिनीलाई अघि बताउनै सकिनँ।

मैले उसलाई बताउनको लागि हिम्मत जुटाउनैपर्छ।

बाईसौं दिन

सबै बिहानी उस्तै स्फूर्ति बोकेर आउँदैनन्। पानी पर्लाजस्तो मौसम छ। चिसो... म खाटमै थिएँ। योग गर्नका लागि ऊ मलाई उठाउन आउँछे तर म उठ्दिनँ। (यस्तो सोचिरहेको थिएँ।) ऊ ९ बजे बल्ल किचेनमा छिरी। अनि मलाई उठाउन आई। ‘मलाई चक्कर लागेर गाह्रो भयो। सुक्खा खोकी पनि लागिराछ। मलाई कोरोना भयो।′ मलाई उसको वाक्यले आफैलाई चक्कर लाग्लाजस्तो भयो। के भनेकी? कोरोनाको लक्षण एक सातापछि देखिन्छ। हिजोको आजै? अँ हिजो ऊ चोकसम्म निस्केर तरकारी किन्न गएकी थिई।

आजको दिन हामी दुवै आआफ्नो कोठामा थुनियौं। हामीलाई कोरोना सार्नु थिएन। मैले जे महसुस गरेको थिएँ। उसले त्यही महसुस गरिरहेकी थिई। बेलुकातिर बल्ल कोरोनाले दिएको मानसिक धङधङी उत्रियो। कमजोरीले होला है? फेरि हामी खाइरहेका छौं। कुन भिटामिनको कमी भयो?

’मैले खाना खाँदै गर्दा हिम्मत गरेर उसलाई भनेँ, 'सनसिटीमा तीन जनालाई कोरोना भेटियो नि। हिजो कान्तिपुरमा पढेकी थिएँ। डर लागेर मैले त्यो समाचार सेयर गर्न पनि सकिनँ।’ ऊ केही बोल्न सकिनँ। हामी मौनतामै हरायौं।

मैले भन्न हुँदैनथ्यो। गल्ती गरिहालेँ।

तेईसौं दिन

सनसिटीमा कोरोना भेटिएको समाचार यति फैलिएको थियो कि कहिल्यै कुराकानी नभएका मानिस पनि मलाई 'स्टे सेफ' भन्दै म्यासेज गरिरहेका थिएँ। मलाई कोरोनाले लगिहाल्छ भन्ने लाग्यो। आज सनसिटीमा रहेका दुई जनामा कोरोना भएको पुष्टि भयो। यो समाचारले अझै मेरो छटपटी बढायो। बहिनीको कुरा अहिले गर्छु।

नयाँ वर्षसँगै काठमाडौंमा कोरोना भित्रियो भनेर फेसबुकमा लेखिरहेका छन्। यताको पसल बन्द छ। कर्फ्युझैं लागिरहेको छ। तरकारी पसलमा पन्जा र मास्क लगाएर अनि पसललाई डोरीले बारेर अलग्गै तरकारी किनबेच गरिएको छ। मलाई त झ्याल खोल्दामात्रै पनि कोरोना भाइरस हाम्रो कोठामा छिर्ला भन्ने डर लागिरहेको छ। त्यति ठूलो बिल्डिङमा कोरोना छ। यता आउन के बेर? कोरोना हावामा फैलने होइन तर डरले त्यसो भन्दैन। मनले मान्दैन। बुद्धिलाई मनले जितेपछि कोरोनाको बारेमा जति जानकारी राखे पनि केही नहुने रहेछ । मानसिक डर। केही नभइन्जेल केही हुँदैन। केही भएपछि भई त हाल्यो। हामीले रोक्नै सक्दैनौं। तर कहाँ यसरी मान्छ मन।

बहिनीले आज पटक्कै छोडिन मलाई। उसले बलियो साथ खोजिरहेकी थिई। उसले कोरोनाको बारेमा कुरा गरेर मलाई अत्याउन चाहिरहेकी थिइन। तर उसलाई डर लागिरहेको थियो। पटकपटक हात धोइराख्थी। मलाई पनि धुन लगाउँथी। युट्युब हेरेर उसले प्रभावकारी तरिकाले हात धुने तरिका सिकेकी थिई।

मनभरि डर र अत्यास थियो उसमा। बेलाबेला ममीलाई फोन लगाइरहन्थी। उसको मनमा यति धेरै डर थियो तर उसले भन्न चाहिन। आफै बलियो हुनपर्छ भनेर ढाडस दिँदै थिई आफैलाई। म छेउमा बसेर चुपचाप उसलाई नियालिरहेकी थिएँ। एकछिन चुप लागेर बस्दैनथी। कहिलेकाहीँ मेरो नजर छलेर यसरी हेर्थी, मैले भाइरस बोकेर बोकिरहेको छु। अब म मर्दै छु। हामी मर्नुअघि साथमा धेरै समय बिताउन चाहन्छौं। यस्तो भइराख्यो सुत्नुअघिसम्म। हामीले एकले अर्कालाई मायाले नियालिराख्यौं। ऊ म खुसीले हाँसोस् भन्ने चाहन्थी। म पनि ऊ मुस्कुराओस् भन्ने चाहन्थेँ। हामी मुस्कुराउन नसकेकोमा खिन्न भयौं। (मौनताको भाषा सिक्दै छु।)

ऊ बाथरुम जाँदा पनि बाथरुमबाटै चिच्याइराखी। 'दिदी, मेरो मोबाइल चार्जमा राखिदिनु न।' (चार्ज आवश्यक थिएन। तर उसले आफ्नो एक्लोपन र अत्यास सबै लुकाउन चाहन्थी। ऊ आफ्नो आँसु पनि लुकाउन चाहन्थी। उसको डर लुकाउन चाहन्थी।)

मैले चुपचाप केही नभएको, केही नबुझेको जस्तो नाटक गरिराख्नुपर्‍यो।

कस्तो सकस...

म उसलाई कोरोनाको बारेमा कुरा गरेर, उसको साथमा म छु भनेर झन् कमजोर देख्न चाहन्नथेँ। ऊ मेरो अगाडि रोइदिई भने या डरले थरथर काँपी भने म उसलाई कसरी सम्हाल्न सकूँला।

उसलाई थाहा छ, म ऊभन्दा कमजोर छु। ‘तपाईं मेरो बहिनीजस्तै लाग्छ। कति डराएको?’

उसले कसरी थाहा पाई?

चौबीसौं दिन

हामी कोठाभित्रै हराउने कोसिसमा थियौं। अझ ओछ्यानमै।

ओछ्यान छोड्यो कि कोरोना आउँछ जस्तो। आज बिहान ९ बजेतिर प्रहरीको भ्यान साइरन बजाउँदै आयो। बरन्डामा निस्किएँ। ८ बजेपछि पनि पसलहरु बन्द नगरेकोमा कारबाही गर्न आएका रहेछन्। सटर तानेको आवाज आयो। उनीहरु एकछिन डुले अनि फर्किए होलान्। मैले धेरैबेर बरन्डामा बसिरहने आँट गरिनँ। त्यहाँबाट सनसिटीको बिल्डिङ देखिन्थ्यो। अहिले त्यो आलिसान भवन होइन, भाइरसको भवनजस्तो लाग्छ। भाइरसले सनसिटीको टुप्पोमा बसेर नियालिरहेजस्तो। म भित्र पसेँ।

उसले मलाई हात धुन लगाई। मुख धुन लगाई। ताकि भाइरस नसरोस्।

दिन उस्तै धुम्म परेको छ। हामीले सनसिटीलाई भाइरसको घर ठान्यौं भनेर पो हो कि? त्यहाँ बस्नेहरुलाई कति डर लागिरहेको होला। हामी अलिक परबाट सनसिटी नियाल्नेको हालत त यस्तो छ।

यो एरिया सिल गर्ने गरिएको छ। सबै गेट बन्द छन्। कोठाहरु बन्द छन्। सनसिटीमा कोरोना भेटिनुअघि छतमा निस्किएर हामी (छिमेकीहरु) मौन संवाद गर्थ्यौं। अहिले त्यो पनि छैन। हामीले जस्तै झ्यालबाट बाहिरको दृश्य नियाल्ने अनि सनसिटी सम्झेर पर्दा लगाउनेहरु पनि होलान्। भने नि बुद्धिभन्दा बलवान् डर हुन्छ। मनभित्रको डर। अझ भनूँ, मर्नुपर्छ भन्ने डर। मर्ने डर हुँदैनथ्यो भने कुरा अर्कै हुने थियो।

उसले आज पनि एकछिन छाडेकी होइन, टिकटक बनाउने बहानामा होस् या मेकअप गर्ने बहानामा। खाजा, खाना बनाउने बहानामा या अरुकेही बहानामा। ऊ नजिकै बसिरहन चाही। म ल्यापटपमा व्यस्त भएको उसलाई फिटिक्कै मनपर्दैन। ‘मसँग नबोलेर फेसबुकमा अरुसँग बोल्ने?’ ऊ जानीजानी मलाई अप्ठ्यारो पार्ने गरी प्रश्न गर्छे। मैले उसलाई ध्यान कम दिएजस्तो लाग्यो। ऊ रिसाएर एक्लै कोठामा चुकुल लगाएर धुमधुम्ती बसी।

लगभग एक घन्टापछि मैले थाहा नपाउने गरी ढोकाको चुकुल खोली। उसको कोठामा छिरे। ऊ रिसाइरहेकी थिई। फकाउन सकिनँ। म उठेर हिँड्न खोज्दा मेरो हात समाती र छेउमा बस्नको लागि संकेत गरी। (दिदीलाई फकाउन पनि आउँदैन। उसले यस्तै सोची। मलाई रिसाउनचाहिँ आउँछ है।)

मिलेर खाना बनायौं। खायौं। उसले बत्ती ननिभाई पल्टिन चाही।

उसलाई निद्रा आएकै छैन।

पच्चीसौं दिन

मरिहालिन्छ। किन योग, ध्यान गरिरहने? किन पढिरहने? अवचेतनमा गढेको कुरा कहिलेकाहीँ सपना भएर आउँथ्यो। निद्रा बिथोल्थ्यो र फेरि उसैगरी मनको पिँधमा गएर बस्थ्यो। कोरोनाले मरिँदैन। यस्तो धेरैबेर सोच्नै सकिन्न। थोरै मरेका मध्ये मै परेँ भने? मृत्युजस्तो अनिश्चित कुरामा ठोकुवा गर्न सकिँदैन। सक्ने थिएँ भने यसरी को आत्तिन्थ्यो?

‘सबैभन्दा समस्या हामीलाई छ है?’ मैले पुलुक्क उसलाई हेरेँ। केही समस्या छैन भनेर उसलाई आश्वस्त बनाउनुपर्ने थियो।

‘के भएको छ र हामीलाई? मान्छेहरु हिँडेर घर गइरहेका छन्। पेटमा बच्चा बोकेका, भर्खर तातेताते गर्न लागेका बच्चाहरु पिठ्युँमा भिरेर गाउँ पुग्न हतारिएका छन्। भोकै मर्नुभन्दा बहुलाउनु निको भनेर मान्छेहरु कोरोनाको डरसँगै भोकको राप बोकेर हिँडिरहेका छन्। हामी कम्तीमा कोठाभित्र बसेर खान पाइरहेका छौं। पोखरा कत्ति नै टाढा छ र हिँडेरै जाने भए पनि। उनीहरु नेपालगन्ज, बर्दिया पुग्नका लागि हिँडेका छन्।’

लकडाउनमा लभ-टाउनको यात्रा

‘सरकारले केही गर्दैन?’

मसँग यसको जवाफ थिएन। उसले गरिरहेको छ तर जति गर्नुपर्ने या जति हुनुपर्ने थियो त्यति भएकै छैन। के भन्नु?

स्वास्थ्यकर्मीहरु खटिएको खटियै छन्। प्रहरीहरु उस्तै दौडधुपमा छन्। प्रहरीको जागिर आनन्दको भन्ने ऊ आफै अहिले प्रहरीलाई कति गाह्रो है भनिराख्छे। हामी घरभित्र बस्दा उनीहरु सडकमा गस्ती गरिरहेका छन्। आफ्नो जिन्दगी दाउमा लगाएर सेवा दिइरहेका छन्। तर पर्याप्त भइरहेको छैन। कता गुनासो गर्ने?

अहिले पोखरामा भएको भए...

ममीसँग बोल्यो। बुवासँग बोल्यो। घरकै काम गर्यो। भुल्ने बाटोहरु कति थिए। सेती नदी हेर्दैमा पनि दिन बित्थ्यो। यो भित्तो हेरेर बस्न सकस छ। हामी परिवारबाट पनि टाढा छौं। मेरा साथीहरु बाउआमासँग छन्। मलाई ममीको एकदम याद आइराख्छ। उसलाई ममीको अत्यार लागिरहेको रहेछ। हुन त बाहिरी दुनियाँ भेट्न नपाउनुको पनि अत्यार पनि मनमा होला।

उसलाई एक्लो नबनाउने कोसिस गरिरहँदा पनि मैले सकेकै छैन ऊभित्रको अत्यास, छटपटी मेटाउन। म आफै पनि निस्सासिएकी छु। घरी बुवाको फोटो फेसबुकमा पोस्ट गरेर मिस यु बुवा भनेर लेख्न मन लाग्छ। घरी नानी, मेरो र ममीको फोटो फेसबुकमा राख्न मन लाग्छ। अत्ति भएपछि बहिनीलाई बुवाको फोटो देखाएँ। हामी बुवाको कुरा गरेर भुल्यौं।

‘मैले पहिलोपटक कुन केटामान्छेको जुठो खाएको भनूँम्?’ (म सम्झँदै थिएँ।)

‘म भन्दिन्छु। सबभन्दा पहिला तपाईंले बुवाको जुठो खानुभयो। छि: कस्तो घिनलाग्दो।’

‘अनि तैंले नि।’

‘अँ है। हामीले बुवाकै जुठो खाएर हुर्केम्। उहाँको रगत हाम्रो शरीरमा बग्छ। हाम्रो माया त्यहीँ भएर लाग्ने होला। बुवा भन्नु हामी। हामी भन्नु बुवा।’

केके आउँछ है बोल्न थालेपछि?

आज उदयपुरमा १२ र चितवनमा २ जना गरेर १४ जनामा कोरोना भेटियो। अनलाइन पोर्टलहरुले समाचार बनाइरहका छन्।

पछिल्लो अपडेटअनुसार नेपालमा कोरोना संक्रमितहरु ३० जना पुगेका छन्। विश्वमा कोरोनको कारण मृत्यु हुने एक लाख ५० हजारको हाराहारीका पुगे। धन्न नेपालमा कोरोनाको कारण मर्नेहरु छैनन्। तर लकडाउन लम्बिने हो भने भोकले आत्तिएर काठमाडौं छाड्नेहरु लम्बिनेछन्। ‘हामी हिडेर पोखरा जाऊँ,’ उसले भनी।

कोरोना जतिजति नजिक आयो। उति डर बढ्दो रहेछ।

‘मेरो साथीमा कोरोना देखियो।’ ऊ त्यस दिन एकदम तनावमा थिई। उसको तनावले मलाई पनि तनाव दिएको थियो। म डराएकी थिएँ। तर यत्ति धेरै होइन। सनसिटीमा कोरोना भेटिएको समाचारले भने आजसम्मै अत्याएको छ।

झ्याल खोल्यो कि सनसिटी देखिन्छ।

रातमा झन् कोरोनाको डर प्रगाढ भएर आउँछ। कोरोना राति आएर मेरो हातमा बस्यो भने। या साससँगै भित्र छिर्‍यो भने...

रातको सन्नाटा....

अब म निदाउनैपर्छ। चार दिनदेखिका आधाआधा निद्रा आज पूरा गर्नुपर्छ।

गुड नाइट।

छब्बीसौं दिन

आज काठमाडौंमा पानी पर्‍यो।

कोरोना भेटिएदेखि काठमाडौंको आकाश सफा छैन। मोबाइल छ। इन्टरनेट छ। सजिलो छ। नभए कोठाभित्र के गरिबस्थ्यो होला मन? बहिनी र म एकअर्कासँग बोलेरै थाक्दैनौं। कहिलेकाहीँ, कसले बोल्ने भनेर दुवै कुरिबस्छौ। आफूमात्रै होइन, अरुलाई पनि सुन्नुपर्छ भन्ने लागेको छ। अरुले आफूलाई सुनिदिँदा मनभित्रको अत्यास र छटपटी कति शान्त हुन्छ भन्ने कुरा महसुस गरेका छौं।

ममीबुवा, अंकलआन्टी, दिदीभिनाजु, हजुरबाहजुरआमा.... सबको कुरा गरेर भ्यायौं। उसका स्कुलका साथीहरु, मेरा साथीहरु अनि हाम्रा झगडा सबसब कुरा गरेर सकिए। अब कुरा पनि कति गर्नु। मान्छेसँग सुनाउनलाई थोरै कुरा हुने रहेछ। यत्ति थोरै कुरा सुन्ने र सुनाउने मौका कुर्न पनि यही लकडाउन कुर्नपर्‍यो। मनका गुनासा पखालिएर सफा भएको मन र मान्छेको फोहोरले धमिल्याउन छोडेर सफा भएको प्रकृतिबीचको मित्रता अब फेरि कहिल्यै धमिलो हुन्न होला नि है?

सधैं हतारमा हुने हाम्रो मन र शरीरलाई कोठाभित्रै थुनेर कोरोनाले शुद्ध पार्न खोजिरहेको छ। यो कोरोना होइन, करुणा हो भनेर पत्रुदासले तमोसोमा ज्योर्तिगमय भन्ने इन्टरभ्युमा भन्नुभएको कुराले निकै छोयो।

हामी दु:खका कथा लेख्छौ भने त्यो कथा लेख्न छुट छ। तर कसैले यही अवस्थामा आनन्दको धुन बजाउन चाहन्छ भने त्यसले पनि हामीलाई आकर्षित पक्कै गर्छ। यही गर्नुपर्छ भन्ने कहाँ छ र?

केके खेलेको मनमा कुराहरु सुत्ने बेलामा पनि।

सकियो होला अब भन्ठान्यो, विचारका उभारहरु माथिमाथि आइपुग्छन्।

आकाशले वर्षा गराएर प्रकृतिलाई अझ सुन्दर बनाएको छ।

भोलिको सुन्दरता हेर्न पनि आज सुत्नैपर्छ। तर हरेक मान्छेको भोलि ब्युँझने सपना पूरा नहुन पनि सक्छ। बोल्दाबोल्दै बोल्न छोड्छ मान्छे। हिँड्दाहिँड्दै कतै ढल्छ मान्छे।

भनिन्छ, दिमागमा एक मिनेटमा ६० वटा विचार आउँछ। म त्यो सबलाई पक्रेर लेख्न बसेँ भने के होला है।

सत्ताईसौं दिन

आज बिहानै बहिनीले उठाई। हजुरआमाले मामाघरबाट फोन गर्नुभएको रहेछ। सपना राम्रो देख्नुभएन रे। उहाँको सपना नराम्रो भयो भने हामी नातिनातिना सबलाई फोन आउँछ। उहाँलाई हामीसँग बोल्न मन भएर हो कि सपना नराम्रो देखे। फोन लगाइदेओ भन्नुभएको?

आमाहरुको मन विचित्रको हुन्छ। सिधा भन्न नसक्ने। सम्झनाका गाँठाहरु पारिरहने। घरबाट फिटिक्कै ननिस्कनु। चोकमा भाइरस बसेको हुन्छ भन्दै हुनुहुन्थ्यो।

आज दिनभर बहिनी र म मिलेर कविता वाचन गर्‍यौं। अनि म अहिलेसम्मै आफ्नो वाचन आफैले सुनिरहेको छु। मेरो स्वर यति मिठो होला भन्ने कहिल्यै लागेन। कति मिठो। झर्को नमानीकन सुनेको सुन्यै छु। मैले आजसम्म आफूले लेखेको कुरा यत्ति धेरैचोटि दोहोर्‍याएको छैन। तर सुन्नमा कति आनन्द रहेछ। त्यो पनि आफ्नै स्वर। मैले थाहा पाउन बाँकी अझै कति कुराहरु होलान्।

‘तपाईंले किन आफ्नो फ्यामिलीको फोटो आफ्नो फेसबुकमा नराख्नुभएको?’

‘अबेर भयो। भोलि भन्छु ल।’ उहाँ फेसबुकबाट अफ भइहाल्नुभयो।

किन होला? कतै... (होइन, होइन। त्यस्तो हुन सक्दैन।)

भोलिको प्रतीक्षामा सिंगो रात बिताउनुपर्छ मैले।

अट्ठाईसौं दिन

‘सोसल मिडिया लिटरेसी’ भनेर बाहिरतिर पढाइ पनि हुन्छ। हामीलाई यहाँ केही थाहा छैन। फेसबुकमा जे पनि पोस्ट गर्छौं। लन्डनमा एक जना १४ वर्षकी फुच्चीले बुवाआमा हुनुहुन्न घरमा। कति मज्जा भनेर फेसबुकमा पोस्ट गरेको आधा घन्टामा ऊ रेप भई।

कस्तो डरलाग्दो हुन्छ। सोसल मिडियाबाट हामीलाई कतिले हेरिरहेका हुन्छन्। हामीले त्यसको मतलब गर्दैनौं। खासमा व्यक्तिगत सम्बन्धहरु राख्नहुन्न। केही रिसिबीहरु यस्ता पनि हुन्छन्, जसले घरपरिवारलाई पनि आक्रमण गर्न सक्छन्। त्यही भएर नराखेको हो। तर हामी सोसल मिडियामा घरपरिवारको फोटो राखेनौं भने डिभोर्स भयो कि? राम्रो सम्बन्ध छैन कि? यस्तै केके सोच्छौं। यो हाम्रो गल्तो होइन। हाम्रो बुझाइको स्तर यस्तै छ। सोसल मिडियाबारे हामीलाई पर्याप्त ज्ञान नभएको कारणले यस्तो भएको हो। कुन तस्बिर राख्ने? कस्तो खालको राख्ने? कति बेला राख्ने? यस्ता कुराले पनि फरक पार्छ ।

हामी कति हेलचेक्रयाइँ गर्छौं। त्यसपछि दिनभरि मैले टाइमलाइन हेरेर बिताएँ। सफा गरेर भनुम् न। कस्तो हावाहावा कुरा पोस्ट गर्दो रहेछु। डिप्रेसनले भरिएको। आजभन्दा तीन वर्षअघिको पोस्ट हेरेर छक्क परेँ। गहिरो डिप्रेसनमा भएको जस्तो लाग्यो। कति दु:खलाग्दा पोस्ट। ब्रेकअपपछिका रिस, आक्रोस, छटपटी सबसब पोख्ने माध्यम फेसबुकलाई बनाएको रहेछु। घरपरिवारको जानकारीदेखि मेरो मनको जानकारीसम्म पोस्ट गर्ने रहेछु। कस्तो लाजलाग्दो काम। मैले केके खाएँ। कहाँ गएँ। सबसब।

'ट्याउँट्याउँ' त कोरोनापछि गरे भइहाल्यो नि !

ती सब पोस्टहरु डिलिट गरिदिएँ। अर्को आइडी बनाऊँ कि सोचिराथेँ। भो! कति फेर्नु। मैले यही आइडीमा पनि मेरो नाम मुडअनुसार चेन्ज गरिरा हुन्थेँ। ६०–६० दिनमा नाम चेन्ज। आफैलाई लाज लाग्ने काम। टिन एजमा मान्छेले कहाँ अरुको चिन्ता लिएर बस्छ र? अब गल्ती नगरे भइहाल्यो।

भोलिचाहिँ दिनभर नेपाली युट्युबरहरुको च्यानल सब्स्क्राइब गरेर बस्छु। सब्स्क्राइब गर्दा, पेज लाइक गर्दा हामीलाई के हुन्छ र? उनीहरुलाई पैसा आउँछ। उनीहरुले अझै मेहनत गरेर भिडियो बनाउने, गीत रेकर्ड गर्ने काम गर्छन्। यत्ति सहयोग मैले गर्नैपर्छ। धेरै भए मेल भरिने हो। त्यो डिलिट गरौंला। भइहाल्यो नि।

उनन्तीसौं दिन

अघि मैले नेटफ्लिक्सको आइडी पाएँ। रोमान्टिक मुभी हेरेर मुड रोमान्टिक बनाऊँ भनेको। आज मज्जाले पानी परिरहेको छ। उतापट्टि घरको टिन बजिरहेको छ। ढलान घर भए पनि माथि टपमा गारो उठाएर छानोमा टिन राखेर किचेन बनाएका छन्। कस्तो असुहाउँदो देखिने। ढलान गर्नको लागि बजेट अभाव भएर हुन सक्छ।

लकडाउनको तेस्रो दिन बाँझो बारीमा मकै छरेका थिए। त्यो पनि अहिले माटोबाट निस्किएर लकडाउन चिहाइरहेको छ।

उदयपुर जिल्ला पूरै सिल गरिएको छ भन्ने समाचारमा आइरहेको छ। आजसम्म कोरोना संक्रमित ४५ जना पुगे। ७ जना निको भएर फर्किए। फाट्टफुट्ट कलकारखाना खुलिएको समाचार पनि आइरहेको छ।

वैशाख १५ गतेसम्म मात्रै भनिएको लकडाउन वैशाख महिनाभरि हुने देखिन्छ।

तीसौं दिन

असिनापानीले घरतिर तरकारी, अन्नबाली सब सखाप पारेछ।

हामी बिहानै एकछिन बाहिर निस्किन्छौं। तरकारी किन्छौं अनि फर्किन्छौं। बाहिर निस्किएर उडूँजस्तो पनि लाग्न छाडिसक्यो। यत्तिकै बानी परिराछ। आज चाउचाउ र कुरमुरे खाएको। कति नमिठो लाग्यो। पहिला जंक फुड भनेपछि हुरुक्कै भइन्थ्यो। सब कुरा बानी रहेछ। बाफ रे कति धेरै मुभी। कुन हेर्नु। कुन नहेर्नु। अलमल्लमा परेँ। मनी हेइस्ट भन्ने सिरिज हेरेको। मलाई चाहिँ फिटिक्कै मन परेन। आठ वटा सिरिजसम्म हेरेँ। अहँ सकिए पो। घुमाएको छ। घुमाएको छ। कहिल्यै नसकिने जस्तो। नसकिने पनि के हेरिरहनु।

सबै मुभी नेटफिलिक्समा पाइन्छन् जस्तो लाग्थ्यो। त्यो पनि मेरो भ्रम रहेछ। थ्रिलर मुभी हेरेर डराउनपर्‍यो भनेको अहँ डर लागे पो। यो सब नाटक हो जस्तो लाग्दो रहेछ।

मुभीको भन्दा किताबमा लेखेको शब्दहरुसँग बढी विश्वास लाग्छ। किन होला है?

मेरो यो डायरी छापिनुपर्ने थियो। छापिएन। साथीले मलाई गाली गर्दैथ्यो। तिमीले लेख्नै छोड्यौ है? मैले नराम्रो भयो भनेर हो? (कुरा त्यस्तो थिएन, तर उसले सोच्न त पायो नि।)

उसलाई मैले नराम्रो लेखेकोमा सधै पीर पर्छ। यस्तो साथी पाउनु पनि भाग्यको कुरा हो। अचेल राम्रो छ भन्नेहरु भेटिन्छन् तर गल्ती देखाइदिने भेटिँदैनन्। गल्ती औंल्याउन सक्नु पनि कला हो। ऊसँग त्यो कला छ। त्यसैले भाग्यमानी पनि छु।

लकडाउन भएको पनि एक महिना पुग्यो। बाफ रे समय फुत्किहाल्दो रहेछ।

एकतीसौं दिन

आज आमाको मुख हेर्ने दिन रहेछ। फेसबुक खोल्दा पो थाहा पाएँ। सबैले आमाको फोटो हालेका छन्। सँगै कविता र कोट्स पनि राखेका छन्।

हामी लकडाउनमा लक भएका छौं। ममीलाई फोन गरिछ बहिनीले बिहानै उठेर। उसले चाहिँ कसरी थाहा पाई? ममीलाई अनौठो लाग्छ होला, वर्ष दिनमा एकदिन छोरीहरुले बिहानै आँखा मिच्नेबित्तिकै फोन गरे भनेर। अरुबेला जतिबेला सम्झ्यो त्यतिबेला गर्ने हो। आजको दिन भने सकेसम्म उठ्नेबित्तिकै। बहिनी ममीसँगै हुँदा भने मलाई ममीलाई फोन गर्नुपर्छ भन्ने होस पनि हुँदैनथ्यो। कहिले त बेलुकातिर फोन गर्थें। ममी हाँस्नुहुन्थ्यो। ममीलाई थाहा छ, म कति बेपरबाही छु भन्ने।

‘ममी म तपाईंलाई के ल्याइदिम्?’

‘मलाई केही ल्याइदिन पर्दैन। तिमारुले आफूलाई पुर्‍याए भयो। तिमीहरुको लागि दु:ख गर्न नपरे हुन्थ्यो।’

ममीले बैंकमा जागिर खा भनेको धेरै भयो, आजसम्म मानेको छैन। आफ्नो लागि आफैले पुर्‍याउन सके ममी कति खुसी हुनुहुने थियो। म किन यस्तो गर्न सकिरहेको छैन। जतिबेला काम गर्न ठिक्क पर्‍यो, अनेक व्यावधान आइपर्छ। कहिले अप्रेसन गरेर घरमै थन्किनुपर्छ। कहिले काम गरेको ठाउँमा चित्त नबुझेर छाड्नुपर्छ। स्थिर खालको काम गरेर अडिरहने काम गर्न सकिरहेको छैन। मनअनुसार छिनछिनमै बदलिराख्छु। मनमा कहिले यो गरुम् हुन्छ। कहिले त्यो। मभित्र कति धेरै कन्फ्युजन छ। मभित्र कति धेरै महरु छन्। सबको आआफ्नै अहम् छ।

जे होस्। यो लकडाउनले गरेर म सधैं डायरी लेख्ने भएँ। यो बानी सकेसम्म छुटाउँदिन। हेरुम्।

सुन्नुस् न, हजुरहरु सबैलाई मातातीर्थ औंसीको शुभकामना है।

बिहानै ममीलाई समातेर फोटो खिच्ने त गर्नुभएन नि। (लकडाउनले गर्दा घरमा आमासँग हुनुहुन्छ होला। आमालाई सघाउनुस् है।)

बत्तीसौं दिन

‘नेटफ्लिक्स भनेको युट्युबजस्तो होइन। सिनेमा हल हो। यहाँ सबै मुभी सधैं चल्दैनन्। करेक्ट योर जीके। मैले तिम्रो ब्लग पढेपछि भनेको।’ म लाजले केही बोल्ने सकिनँ। यति धेरै मुभीहरु थिएँ कि मैले कुनै छानेर हेर्न सकिनँ। छान्न सक्नु पनि कला हो। मैले मेरो लागि आजसम्म केही छानेको छैन। हुन सक्छ, यसरी धर्तीमा जन्मनु पनि मेरो छनोट थिएन।

‘मेरो लागि मुभी छानिदिनु न प्लिज। यहाँ कति धेरै मुभी। म त कुन हेरुँ? कुन नहेरुँ भएँ।’ मेरो म्यासेज हेरेर एकचोटि मुसुक्क हाँस्नुभयो होला। (अनुमान मात्रै।)

आज पानी बेस्सरी दर्केर परिरहेको छ।

कोरोना संक्रमित ४९ जना पुगिसके। लकडाउन थपियो। बहिनीले १० कक्षा पढ्दै गरेकी एक जना नानीको सेक्स भिडियोबारे भनी। उसको स्कुलका साथीहरुका ग्रुपका केटाहरुले कसले बिहे गर्ला अब यसलाई भन्दै भिडियो सेयर गरिरहेका रहेछन्। साइबर क्राइम बढिरहेको छ। लक डाउनले गर्दा एकले अर्कालाई भेट्न नपाएर कतै.... (कुरा जे भए पनि, प्राइभेसी भन्ने कुरा प्राइभेट नै राखिरहन हामीले नै किन सकिरहेका छैनौं? हामी आफैले लौ, यस्तो भएछ नि भन्दै उत्सुकताकासाथ अरुलाई पठाउनाले त्यो नानीले आत्महत्या गरी भने.... त्यसको जिम्मा कसले लिने? कसलाई कारबाही गर्ने? जानेर या नजानेर त्यो भिडियो हेर्ने या सेयर गर्ने सबैको गल्ती हो नि हैन?)

'दिदी मान्छेको नियत गलत छ भने प्रेमीले मात्रै होइन, बिहे गरेपछि श्रीमान्‌ले पनि त श्रीमतीको सेक्स भिडियो भाइरल गराउन सक्छ नि हैन?'

उसलाई के जवाफ दिऊँ? मसँग केही छैन उत्तर।

‘तिमीहरुले महिनाको चार दिन आफ्नी श्रीमतीलाई बुझ्नुपर्छ अनि मात्रै उनीहरुले महिनाको बाँकी दिन तिमीहरुलाई बुझ्छन्।’ लक्ष्मण सरले केटाहरुलाई भनेको सम्झिरहन्छु। त्यतिबेला शुसिना मेन्सुरेसनको पीडाले छटपटाइरहेकी थिई। सबैको शरीर एउटै हुँदैन। उसलाई मिन्स भएपछि पेन किलर दिनैपर्थ्यो।

हामीले सबै कुरा स्टक राखे पनि सेनेटरी प्याड स्टकमा रहेनछ। आफूलाई आवश्यक पर्दा मात्रै थाहा हुने।

तेत्तीसौं दिन

‘मान्छे यसै इमोसनल हुने रहेछ। म हिजो त्यत्तिकै रोएँ। आज सम्झेर हाँसो उठिराछ,’ उसले बिहानै उठ्नेबित्तिकै सुनाई। मेरो मुडको बदलावको कारण पनि उसले मलाई त्यो कुरा सुनाएकी थिई। मलाई मिन्स भएपछि जहिल्यै नजिकको मान्छेसँग झगडा गर्न मन हुन्छ। झर्कोफर्को गरिरहेकै हुन्छु। बहिनीसँग उसै रिसाएँ। ऊ पनि रिसाई। अघि भने हामी आफ्नै मुड सम्झेर हाँस्यौं।

अहिले काठमाडौंको आकाश पनि बडो इमोसनल भएको छ। जतिबेलै रोइदिइहाल्ला जस्तो।

असाध्यै सुन्दर मुभी हेरेँ। सिनेमाहरु पनि कति बनेका हुन् कति। किताब उस्तै। रातभरि मुभी हेरुम् भन्यो। निद्राले आँखा बन्द हुने बेला भएपछि आफै बन्द गरिदिन्छन्। सधैंभर यस्तै मिठो निद्रा आऊला?

निद्रालाई डिस्टर्ब गर्न हुन्न। नभए निद्राले आफ्नै जिन्दगीलाई डिस्टर्ब गरिदिन्छ।

यो पनि पढ्नुहोस्ः

हजुरआमा भन्नुहुन्छ– मुखमा के जाती लगाओ है ! प्रकाशित : वैशाख १३, २०७७ १९:१८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आरडीटी पोजिटिभ देखिएका दुवैको पीसीआर रिपोर्ट नेगेटिभ

भवानी भट्ट

कञ्चनपुर — आरडीटी किटबाट गरिएको परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका कञ्चनपुरका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । महाकाली अस्पतालको आइसोलेसनमा रहेका दुवैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।


भीमदत्त नगरपालिकाले किटद्वारा परीक्षण गर्दा एक सुरक्षाकर्मी र नगरपालिकाकै एक कर्मचारीमा एन्टीबडी पोजिटिभ देखिएको थियो । तत्पश्चात स्वाव संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको हो ।

‘दुवैजनाको रिपोर्ट नेगेटिभ रहेको मौखिक जानकारी आएको छ,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘लिखित जानकारी भने आउन बाँकी छ ।’ उनका अनुसार दुवैजना अस्पतालको आइसोलेसनमै छन् । लिखित रिपोर्ट आएपछि मात्रै उनीहरुलाई घर पठाइने डा. आचार्यले बताए ।

भीमदत्त नगरपालिकाले किटद्वारा परीक्षण गर्दा सुरक्षाकर्मीको बिहीबार र नगरपालिकाकै कर्मचारीको शुक्रबार एन्टिबडी पोजिटिभ देखिएको थियो । रिपोर्ट पोजिटिभ देखिने बितिक्कै उनीहरुलाई आइसोलेसनमा राखेर स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको थियो ।

प्रकाशित : वैशाख १३, २०७७ १९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×