लकडाउनमा लभ-टाउनको यात्रा- ब्लग - कान्तिपुर समाचार

लकडाउनमा लभ-टाउनको यात्रा

एक स्‍नातक विद्यार्थीको लकडाउन डायरी- ३
सिमाना पौडेल

काठमाडौँ — डायरी प्रत्येक दिनकै लेख्नु राम्रो हुन्छ। लकडाउनको बेलामा मात्रै होइन।
म डायरी लेखुँ ? 

अचेल सेड्युल पनि ठिकठाक चलिरहेको छ। बिहानै उठ्नेबित्तिकै योग, ध्यान अनि नुहाइधुवाइ। भान्साको काम अनि बेलुकातिर फेरि योग अनि खानपान। सुत्नुअघि डायरी मेन्टेन। बस्, कहिलेकाहीँ त स्केच बनाऊँ कि भन्ने पनि लाग्छ। तर मलाई राम्रो फूल पनि बनाउन आउँदैन। होइन, होइन। राम्रो बनाउने प्रयास आजसम्म गरिनँ। यस्ता कति कुरा छन्। जुन मैले गरेकै छैन। मेरो मेहनत नपाएर ओइलाएका कति प्रतिभाहरु मभित्रै मरिरहेका होलान्!

सत्रौं दिन

आजको गते मलाई याद भयो। योभन्दा अघि गुगल सर्च गर्नुपर्थ्यो। मान्छेले समय, दिन, बार, महिना सब भुल्दा पनि जीवन रहँदो रहेछ। कस्तो अचम्म!

आज २७ गते हो। भोलि २८। भोलि र पर्सि काठमाडौंबाट बाहिर जानेलाई घर जान दिने भनेर समाचार आइरहेको थियो। बेलुका एकाएक निर्णय उल्टियो। ट्रोल बनाउनेहरुले प्रधानमन्त्री केपी ओलीको फोटो राखेर भोलि र पर्सि घर जाने भनेको होइन। 'भोलिपर्सि' जाने हो भनेर बनाउन भ्याए। कतिले निर्णय उल्टो बनाएर राखे। सरकारले रमाइलो गर्न नपाउने? भनेर उडाउन भ्याए।

अनि हामी...

बहिनी र म घर जाने कि नजाने भनेर सल्लाह गरिरहेका थियौं। हामी काठमाडौमा छौं। विचल्ली होला भनेर चिन्ता गर्नेहरुले घर गइहाल्न सल्लाह दिनुभयो। घरमा नेट र नेटवर्क दुवै हुन्न। ल्यापटप लैजाने कुरा भएन। एउटा मात्रै मोबाइल छ। त्यो बहिनीलाई चाहिन्छ। (‘दिदी’ शब्द र साइनोमात्रै होइन। जिम्मेवारी पनि हो। बहिनीलाई खुसी बनाउने। फेरि लकडाउनको बेलामा उसैलाई दु:खी बनाएर के गर्नु।)

मोबाइल बहिनीका लागि भएपछि म त एक्लै। तर किताब हुन्छ। किताबसँगको सम्बन्ध कस्तो छ भने किताब पढ्न थालूँ, सब राम्राराम्रा मुभीहरुको याद आउँछ। मुभी हेरुँ पढ्न मन लाग्छ। पढ्न बसूँ लेख्न मन लाग्छ। लेख्न बसूँ फेरि खानेकुरा बनाउन। उफ्! किताबको कारण मैले मुभी हेर्न र लेख्न बन्द गरिदिएँ। एउटा कामको कनेक्सन कतितिर हुन्छ भन्ने कुरा मैले यही लकडाउनमा महसुस गरेँ।

सब कुरा भ्याउन मन लाग्छ। यता हाम्फाल्यो। उता हाम्फाल्यो। बस्! पुगेको कतै छैन। मनमा बेचैनी र छटपटीमात्रै।

अहँ। म घर नजाने सोचिरहेको थिएँ। बहिनी जाने सोचिरहेकी थिई। होइन, होइन। ऊ त लङ ड्राइभ जानेबारेमा सोचिरहेकी थिई। काठमाडौं मज्जाले चक्कर लगाउनेबारेमा सोचिरहेकी थिई। बच्ची... केके सोच्छे। उसले ममीलाई पनि भन्न भ्याई। भोलि घुम्न जाने खुसीले बेलुका एक्लै खाना बनाई। नभए उसले खाना बनाउन्जेल केही काम नगरे पनि कुरा गरेर आडैमा बस्नुपर्थ्यो।

सरकारले निर्णय फेर्‍यो।

ऊ पनि बदलिई।

अठारौं दिन

मैले लेखेको डायरीको रेस्पोन्स फेसबुकमा नचिनेको मान्छेबाट आयो। त्यो पनि मेरो डायरीजत्तिकै लामो। (टिकटकबारेमा पनि लेखेको थ्यो। म लाजले भुतुक्कै। टिकटक बनाएर समय काट्न सजिलो छ है भन्नेहरु पनि छन्। त्यतिबेला के भन्नुपर्छ मलाई थाहा छैन।) ३ वर्षअघि एउटा आर्टिकल (मानवता बारेमा) लेखेपछि लामो मेल आएको थियो। त्यो आर्टिकल चितवनको कुनै स्थानीय पत्रिकामा छापिएको थियो। मेरो नाम त्यतिबेला अनेकअनेक हुन्थ्यो। त्यही भएर पनि उसले मलाई रिक्वेस्ट पठाउन भनेको थियो। ऊ हिरोभन्दा कम थिएन। मैले उसलाई धेरैचोटि सोधेँ– तपाईं हिरो बन्ने सोच्नुभएको छ? ऊ मेरो तारिफले अचम्म मान्थ्यो।

यसपालि कमेन्ट गर्ने मान्छेलाई के भनूँ? अहँ केही आएन। धन्यवाद मात्रै? नचिनेको मान्छेबाट पाएको प्रशंसा चिनेको मान्छेबाट पाएको भन्दा लाखौं गुणा बढी हुन्छ। त्यही भएर मैले मन पराएका मान्छेहरु सधैं अपरिचित भइराखून्। उनीहरुलाई मैले कति नजिकबाट नियालिरहेकी छु भन्ने थाहा नहोस् भनेर म दुरी बढाइरहेकी हुन्छु। (मैले मन पराएको मान्छे तपाईं पनि हुनुहुन्छ कि?)

हामीले छत सफा बनायौं ताकि बिहान-बेलुका छतमा योग गर्न सकियोस्।

साथी भेट्न आएको थियो बेलुकातिर। हामी कतै एकान्त खोजिरहेका थियौं। (गेस गर्नुस् न। एकान्त किन चाहन्छ मान्छे?) आउन अलि ढिला भयो। बहिनी गाली गरिरहेकी थिई। ऊ नमान्दानमान्दै पनि उसलाई छाडेर म निस्किएकी थिएँ। उसले सजाय दिई– खुरुक्क खाना बनाउनु भन्दै। बाईकमा लगभग १५ मिनेटजति हुइँकियौं हामी। सडकमै हाटमेला लागिरहेको थियो। बाफ रे! मास्क नलगाई हिँडेका मान्छेहरु...। कोरोना भन्ने कुरा भुलेर बाहिर निस्कन पाउनुको 'उत्सव' मनाइरहेका थिए। सरी, मैले पनि हतारमा मास्क भुलेँ। (तपाईंहरु नभुल्नुहोला। हामी अर्ती दिन कति सिपालु छौं है। थाहा छ, तपाईं घर नजिकैको पसलमा जाँदा कहिल्यै कोरोनाको डर मान्नुहुन्न। त्यही भएर कोरोनाको संक्रमण बढिरहेको छ। एउटा जिम्मेवार म पनि हुँ जस्तो लाग्छ। होइन, होइन। गल्ती म कहाँ गर्न सक्छु? तपाईंले पनि गर्न सक्नुहुन्न। गल्ती अरु कसैको हो। अरुलाई दोष लगाउनु हामी नेपालीको टिपिकल स्वभाव हो। कोरोनाले यो स्वभाव बदलिदिए हुने। हामी आफै त बदलिनेवाला छैनौं।)

भुल्नै नहुने कत्ति कुराहरु भुलेको छु। बदल्नैपर्ने कति बानी बदल्न भुलेको छु। भुलभुलैया जिन्दगी...

उन्नाइसौं दिन

गते २९ तर बार? बार थाहा छैन। फेसबुकमा साथीहरुलाई सोधेको सबै कन्फ्युज। मैले 'हाम्रो पात्रो' एप हेरेँ। शनिबार रहेछ। दिनभर छोटाछोटा भिडियो हेरेँ रिलेसनसिपसँग सम्बन्धित। फेरि आज मौसम चिसोचिसो। पानी पर्‍यो। चिसो बतास चल्यो। म कोठाभित्र कुचुक्क। भिडियोको असर हो कि मौसमक ? उसको खुब सम्झना आयो। (कसको? अहँ। यो लेख्दिनँ। यो डायरी बहिनीले पढ्छे। उसले उस्तै परे ममीबुवालाई देखाउँछे।)

मैले सधैं डायरी लेख्ने अनि डायरीमा मन पर्ने, सम्झनामा आइराख्ने मान्छको नाम लेखेको हुन्थेँ भने कम्तीमा .... जना पुग्थे। (कति? गेस गर्नुस् न। मैले उसलाई यही प्रश्न सोध्दा भनेको थियो– जेन्टलमेन डसन्ज काउन्ट । मलाई विगतका मान्छेहरुको सम्झनाले सताउँथ्यो भने म मर्थें होला। सायद तपाईंहरु पनि। मान्छेको दिमागले नचाहिने कुरा, नदोहोर्‍याउने कुरा भुल्दै जाँदो रहेछ। मान्छेको जिन्दगीको ग्यारेन्टी हुँदैन तर मान्छेहरु रिलेसनसिपमा ग्यारेन्टी खोजिरहेका हुन्छन्। किन? (यो मलाई बताउनुस् है। मलाई थाहा भएको भए पक्कै लेख्ने थिएँ।)

झुट्टा। उसले त्यसलाई सच्याउन लगाएर जुत्ता लेख्न लगायो। जुत्ता?

जुत्ताबाट पनि कोरोना सर्न सक्छ है? (रिप्लाई– हो त। हेर, कति केयरिङ जेन्टलम्यान) उसले सानो भिडियो क्लिप पठाएको थियो। घरबाहिर निस्कदा जुत्ता नलगाउनुस् है। गर्मीमा चप्पल नै ठीक हुन्छ। (गर्मीमा कोरोना आउँदैन भनेर ढुक्क नहुनु फेरि।)

बीसौं दिन

आज चैत ३० गते। सबैले नयाँ वर्षको शुभकामना भनिरहेका थिए, बिहानैदेखि। फेसबुकमा फरवार्ड गरिएको शुभकामना चार वटाजति मेरो भागमा पनि आइपुग्यो। वैशाख १ गते नयाँ वर्षको शुभकामना दिनुपर्ने होइन र? हो, भोलि हो शुभकामना दिने भनेर आजै शुभकामना बाँडिरहेछन् मान्छेहरु। फेरि यस्तो पनि हुन सक्छ, भोलि स्पेसल मान्छेलाई दिने अनि आजको दिन भारेभुरेलाई। मेरो जस्तो सबैको एकैदिनमा शुभकामना दिएर सकिने साथीहरु नहोलान् नि। धेरै साथी हुनुको बेफाइदा!

फेसबुकमा यसै पनि नचिनेका धेरै हुन्छन्। नयाँ वर्षमा एकचोटि पशुपति या मनकामनाबाट आएको म्यासेज १५ जनालाई फरवार्ड गर्दा वर्षमा एकचोटि, दसैंमा एकचोटि र क्रिसमस डेमा एकचोटि गरेर वर्षमा चारचोटि म्यासेज गर्नेहरु पनि अद्भुत लाग्छन्। धन्न! सम्झेकै हुन्छन्। चिनेकाहरुले त्यत्ति पनि म्यासेज गर्दैनन् र पो। (लकडाउनले भने कुराकानी भइरहेको छ।)

अघि मेरो कोठामा आउँदा ऊ भिडियो कलमा बोल्दै थिई।

‘कोसँग बोलेकी?'

'भाइसँग हो।’

‘को भाइ बे?’

उत्तर नदिईकन ऊ इयरफोन लिएर फरार भइहाली। म फेरि इयरफोन माग्ने निहुँले कोठामा गएको ढोका बन्द। खोल्न पनि मानिन। अनि मैले पनि आफ्नो कोठाको चुकुल लगाएँ। (किन? गेस गर्नुस्। कोही किन ढोका लगाउँछ? मलाई थाहा छ, तपाईंहरुले पनि ढोका लगाएर कुरा गर्न मन पराउनुहुन्छ। ढोका लगाएर कुरा केके गरिन्छ भन्ने कुरा सम्बन्धको गहिराइ कति छ त्यसमा भर पर्छ। सुरुवाती चरणमा हुनुहुन्छ भने कुराकानी के गर्ने भन्ने अप्ठ्यारोले या घरपरिवारले कुरा गरेको थाहा पाउने डरले पनि ढोका लगाइन्छ। यसपछिका चरणबाट गुज्रनुभएको छैन भने अब आउने नयाँ वर्षदेखि सम्बन्धका चरणहरु पार गर्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु। होइन, होइन। शुभकामना भोलि नै दिन्छु है। तपाईं मेरो लागि स्पेसल मान्छे हुनुहुन्छ। भिपिएन अन गरेको कारणले हो कि? रामराम, तपाईंलाई त्यस्तो पनि थाहा छ। केके गेस गर्नुहुन्छ है। भयो। अब तपाई पनि ढोका बन्द गर्नुस्। कसैले तपाईंले पढेको सुने भने लाजमर्दो हुन्छ।)

बहिनीको कोठाको बत्ती अझै बन्द भएको छैन। कतै लकडाउनमा लभ टाउनको यात्रा त गरिरहेकी छैन?

यो लकडाउन भर्चुअल लभ गर्नका लागि सानदार सुरुवात हुन सक्छ। भोलिदेखि नयाँ वर्ष सुरु हुँदै छ। नयाँ वर्षमा नयाँ साथी अनि नयाँ सम्बन्ध। सम्बन्ध कस्तो बनाउने भन्ने कुरा आफैमा भर पर्छ। अविवाहित हुनुहुन्छ भने विवाहित हुने सपना कत्तिको देख्नुहुन्छ? (सबैको बिहे गर्ने चाहना नहुन सक्छ। फेरि यत्ति छिटो बिहे किन गर्ने भन्ने लाग्न सक्छ। या बिहे ढिलो हुने भयो भनेर तनावमा पनि हुन सक्नुहुन्छ।)

समय र केयरिङ गर्नका लागि तपाईंसँग प्रशस्त समय छ। अहिलेको परिस्थिति हेर्दा वैशाख महिनाभरि लकडाउन हुने देखिन्छ। (मेरो अनुमान है। नमिले राम्रो हुने थियो।) तपाईं घरबाटै काम गरिरहनुभएको भए पनि केही समय निकाल्न सक्नुहुन्छ। या सुत्ने समय कटौती गरेर पनि समय निकाल्न सक्नुहुन्छ। केही पाउनका केही गुमाउन तयार हुनुपर्‍यो नि। फेरि सुरुवाती चरणमा अलिकति बढी समय दिनैपर्छ। दिनुस् न। हामी यही सोच्छौ, सुरुमा समय लगानी गर्नुपर्छ सम्बन्ध बनाउन। त्यसपछि हामी आफ्नो काममा यति व्यस्त हुन्छौं कि सम्बन्ध बिग्रेको समय नदिएर होइन, गिफ्ट नदिएर हो। पर्याप्त धन कमाउन नसकेर हो जस्तो लाग्छ। फेरि उसलाई लाग्छ, म नराम्री लागेर हो। मैले धेरै माया गरेर भाउ खाएको हो। उसले अर्को पायो होला। पहिला लकडाउनमा कोही थिएन र मसँग टाइमपास गर्न बोलेको थियो। तर अब…। उफ्! सपना देखाएर कत्ति नराम्रोसँग बज्रिनुभयो है। हामी सम्बन्ध जोडेको अनि सम्बन्धले दिने मिठास मात्रै सम्झन चाहन्छौं पुरानो सम्बन्ध बनाउनुमा भन्दा नयाँ जोड्नमा बढी दिलचस्पी राख्छौं। यही कारण पनि हामीले सम्बन्ध किन टुट्छ भन्ने कुरा थाहा नपाईकन सम्बन्ध नयाँनयाँ जोडिराख्छौं। टुटाइराख्छौं। तपाईंलाई सचेत बनाएको मात्रै।

के थाहा? तपाईंको सम्बन्ध राम्रो भयो भने मलाई ‘धन्यवाद! तपाईंको टिप्सले मैले सम्बन्धलाई नयाँ उचाइ दिएँ’ भन्दै फेसबुकमा लामो म्यासेज पठाउनुहुन्छ कि? होइन, होइन। धन्यवाद! पाउने लोभले होइन। आफूले जानेको कुरा भन्नुपर्छ भन्ने कुराले मात्रै यत्ति लेखेकी हुँ। यो डायरी पढ्नेले कम्तीमा विगतको सम्बन्ध र नयाँ सम्बन्धको बारेमा थोरै भए पनि सम्झियोस्। गल्ती दुवैको थियो भन्ने त सोचोस् न। ना... ना... तपाईंको गल्ती? अहँ यो हुनै सक्दैन। गल्ती उसैको हो। छाडिदिनुस् यो कुरा।

निन्द्रा लागिसक्यो लेख्ने कुरा सकिँदैन। यो डायरी (वर्थ डे मा गिफ्ट आएको थियो। कसले? अहँ यो भन्दिनँ। यो डायरीको अगाडि उसको सिग्नेचरमात्रै छ। नाम मैले पनि भुलेँ। मैले उसको नाम दोहोर्‍याइन नि त।) को पाना सकिन लागेको छ।

मेरो फेसबुकको पासवर्ड के छ भन्दिम्?

Singleliferocks123

दाइले फेसबुकमा मेरो फोटो माग्नुभयो। केटा खोज्दिने रे। मैले एउटा तक्लु र अर्को लामो कपालवाला फोटो पठाइदिएँ।

‘तक्लु फोटो किन?’

‘विगतदेखि वर्तमानसम्मको जानकारी।’

‘ओई अगतिली। तेरो कति वटा आईडी छ हँ?’

डराइडराईकन लेखेँ, ‘दुई वटा मात्रै हो।’

‘मेरोजस्तै? एउटा पारिवारिक अनि अर्को साथी सर्कलको लागि…’ अनि साथमा हाँसेको इमोजी पठाउनुभयो। सबैको दुई वटा आईडी हुने रहेछ। मेरोमात्रै हो भनेर डराइराखेको थिएँ। तपाईंको कति वटा आईडी छन्? नढाँटी खुसुक्क भन्नुस् है। (तपाईंलाई पनि डर परिवारसँगै हो।)

यसो केही स्टाटस लेख्यो। त्यसको आधारमा घरमा गाली गर्न सुरु भइहाल्छ। पहिला तपाईंको आईडीमा तपाईंको बुवा पनि साथी हुनुहुन्थ्यो है? होइन, होइन। बुवाले फेसबुक नचलाउने पनि हुनुहोला। अंकल या दिदी पक्कै हुनुहुन्थ्यो। जे लेखे पनि, जे सेयर गरे पनि केरकार गरिहाल्ने। अर्को आईडी बनाउनको लागि तपाईंको साथीले सिकाएको थियो। तपाईं कत्ति सोझो। मैले सही भनिनँ र? (उसले म्यासेजमा लेखिराख्छ– यु आर अमेजिङ गेसर टु ।)

पढ्दापढ्दै निन्द्रा लाग्यो है? गुड नाइट।

एक्काइसौं दिन

आज नयाँ वर्ष। २०७७ साल वैशाख १ गते। हामी लकडाउनमै छौं। यो वर्षदेखि तपाईंले आफ्नो भविष्यका पानाहरु आफै भर्नुहोस्। आफ्नै कर्म र निर्णयले रंग्याउनुहोस्। यही शुभकामना! कोरोनाको डर हटेर लकडाउन हटोस्। यो प्रार्थना हामीले गरिरहेकै छौं।

अर्को एउटा प्रार्थना, हामी प्रकृतिसँग अझै नजिक हुन सकौं। गाउँ र सहरको दुरी मेटियोस्। यो कंक्रिट सहरका रुखहरुमा फेरि पालुवा पलाओस्। बरु यसो गर्नुस्, सानै सही। तुलसीको बिरुवा गमलामा गाडिदिनुस् है।

गाउँमा हुनुहुन्छ भने एउटा पिपल रोपिदिनुस्। यसलाई संरक्षण गर्नुपर्दा तपाईंले आफ्नो सपनालाई कसरी मलजल र मेहनत गरेर हुर्काउनुपर्छ भन्ने कुरा जान्नुहुनेछ। तपाईंको प्रेम र सम्बन्धलाई बेलाबेलामा हेरचाह र अनावश्यक कुरा गोडमेल कसरी गर्नुपर्छ भन्ने जान्नुहुनेछ।

आजको दिन शुभ रहोस्। यो वर्ष शुभ रहोस्। स्वस्थ रहनुस्। खुसी रहनुस्।

केही राम्रो कामको सुरुवात गर्न चाहनुहुन्छ? केही नसोच्नुस्। बस्! सुरु गरिहाल्नुस्।

(भने नि तपाईं मेरो लागि स्पेसल मान्छे हुनुहुन्छ। आजकै दिन मैले शुभकामना दिएँ। अनि मलाई पनि शुभकामना भनिदिनुस् न।)

प्रकाशित : वैशाख १, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाको उपचारका लागि सरकारले छान्यो १ सय ११ अस्पताल 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ । कोभिड –१९ को संक्रमण दर बढेसँगै सरकारले अन्तरिम निर्देशिका जारी गरिएको हो ।

प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा कोरोनाका शंकास्पद, सम्भावित र पुष्टि भएका केसहरुको व्यवस्थापनलाई सहज र सरल बनाउन निर्देशिका बनाइएको हो ।
सरकारले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि मुलुकभरबाट एक सय ११ वटा सरकारी तथा निजी अस्पतालका साथै मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ । २५ वटा अस्पताललाई 'हब' अस्पतालको रुपमा तोकिएको छ भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी कोभिड क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् ।
निर्देशिकामा आवश्यकताअनुसार अस्पतालहरु विस्तार तथा परिमार्जित गर्दै लाने भनिएको छ ।

निर्देशिका र कोभिड क्लिनिक सञ्‍चालन गर्ने अस्पतालको सूची

प्रकाशित : वैशाख १, २०७७ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×