काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक रुपा मुनाकर्मीले प्राडा कोइरालाको पुस्तकले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिएको बताए ।
काठमाडौं — प्राडा विद्यानाथ कोइरालले लेखेको पुस्तक ‘शिक्षामा बेलाको बोली’ सार्वजनिक भएको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्रका डिन प्राडा वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा शिक्षा शास्त्रका डिन आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा काम गर्नका लागि र शिक्षामा सुधार गर्नुपर्ने कार्यहरू कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताए । यसैगरी, पूर्वसचिव डा. लम्सालले पुस्तकले शिक्षा क्षेत्रमा नीति निर्माण गर्न, कार्य योजना बनाउनेलगायत शिक्षा क्षेत्रका सबैका लागि अति नै उपयोगी भएको बताए ।
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक रुपा मुनाकर्मीले पुस्तकले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिएको बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पुस्तकले शिक्षकसँगको दूरी कम गरेको बताए । पुस्तकमा आइतबारे बिदा, कसले जिम्मा लिए शिक्षा सुध्रेला, विदेशिने युवा कसरी रोक्ने जस्ता समसामयिक लेखहरूका संकलन छ ।
