कहाँ सुरक्षित छन् छोरीहरू ?

नेपालमा दैनिक ६ भन्दा बढी बालिका यौन हिंसाको सिकार, पीडितमध्ये ६५ प्रतिशत नाबालिका ।

चैत्र १०, २०८२

रचना रायमाझी 

Where are the daughters safe?

What you should know

काठमाडौँ — क‌ञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तदेखि मोरङ बेलबारीकी १८ महिने बालिकासम्म, खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी ७ वर्षीया बालिकादेखि मोरङको लेटाङकी १२ वर्षीया अंशु गौतमसम्म । सबै बलात्कारको सिकार बनेका छोरीहरू हुन् । जो हामीमाझ सम्झामा मात्रै छन् । सुर्खेतकी १६ वर्षीया इनिसा विक यही शृ‌ङखलाकी पछिल्लो पात्रमात्रै हुन् । 

केही दिनयता सुरजसिंह ठकुरीले संचालन गर्ने भिडियो कार्यक्रम 'इन्साइड दी बंकर'मा बलात्कारको सिकार भएका दुई किशोरीले सुनाएको चीत्कारपूर्ण कहानीले सामाजिक सञ्जालमा धेरैलाई आक्रोशित बनाइदिएको छ । सुदूरपश्चिमकी १४ वर्षीय पुष्पा, जो छाउपडीमा बलात्कारको सिकार भइन् र आफ्नै बाबुबाट बलात्कारको सिकार भएकी अर्की किशोरीले सुनाएका कुराहरू मनै झस्काउने खालमा मात्रै छैनन्, शान्त चित्त भएका धेरैलाई विचलित पार्ने खालका पनि छन् । 

बलात्कारको सिकार भएर धन्न धन्न बाँचेका किशोरी र बालिकाहरूको कुरा सुन्दा र पढ्दा बारम्बार गला अवरुद्ध हुन्छ, मुटुको चाल बढ्छ र आँखा तिरमिराउँछ । यी घटना न त काल्पनिक हुन् न कुनै कथाका पात्र । हाम्रो समाजमा सयौं छोरीले बाँचेको जीवन हो यो । बाहिर आएका र उद्धार नगरिएका सयौं छोरीहरू दिनहुँ छाउपडीमा मात्रै होइन, नजिकका आफन्तबाट नारकीय जीवन बिताइरहेका छन् । तर पनि बारम्बार एउटै प्रश्न सोध्न मन लाग्छ- कहाँ सुरक्षित छन् छोरीहरू ?

यी विषयहरू फगत बहसका लागि बहसको विषय मात्र हैन, समाजकै संवेदनशीलता परीक्षण गर्ने कठोर प्रश्न बनेका छन् । पछिल्लो समय सार्वजनिक भइरहेका घटनाले देखाउँछन्- छोरीहरूका लागि सबैभन्दा सुरक्षित मानिने घर नै सबैभन्दा खतरनाक बन्दै गएको छ । आफ्नै जन्म दिने बाबु, भाइटीका लगाएर दीर्घायुको कामना गरेका दाजु र सुख–दुख बाँडेर सँगै जिउने मर्ने कसम खाएका श्रीमान‍्बाटै छोरीहरूको इज्जत र ज्यान जोखिममा परिरहेको छ । 

आफ्नै बाबुबाट बलात्कार भएका घटना सार्वजनिक भइरहेका छन् । विश्वास र संरक्षणको प्रतीक हुनुपर्ने अभिभावक नै जब हिंस्रक बन्छन्, त्यतिबेला समाजको आधार नै हल्लिन्छ । घरबाहिरको अवस्था पनि फरक छैन । प्रेम सम्बन्धमा रहेका युवतीहरू प्रेमीबाटै यौन हिंसाको सिकार भइरहेका छन् ।

‘माया’ र ‘विश्वास’का नाममा हुने यस्ता हिंसा प्रायः लुकेका हुन्छन् । लाज, डर र सामाजिक दबाबका कारण धेरै घटना बाहिर आउँदैनन् । अझ भयावह त के भने डेढ वर्षकी बालिकासमेत बलात्कारको सिकार भएका खबर सार्वजनिक भइरहेका छन् । यस्तो घटना कुनै एक व्यक्तिको विकृत मानसिकता मात्र होइन, समाजभित्रै गहिरिँदै गएको हिंसात्मक सोच र कमजोर कानुनी कार्यान्वयनको संकेत पनि हो । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक वार्षिक प्रतिवेदनलाई आधार मान्दा कुल बलात्कार तथा यौन हिंसाका उजुरीमध्ये करिब ६५ प्रतिशत उजुरी नाबालिका (१८ वर्षभन्दा कम उमेरका बालिका) सम्बन्धी रहेका छन्। उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी पीडित ११ देखि १४ वर्ष उमेर समूहका बालिका रहेका छन्, जसले कुल उजुरीको करिब २२ प्रतिशत ओगटेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका कुल ३ हजार ४ सय ८९ यौन हिंसा तथा बलात्कारका उजुरीमध्ये २ हजार २ सय ५५ जना नाबालिका पीडित रहेका छन्। तथ्यांक केलाउँदा थाहा हुन्छ- नेपालमा हरेक दिन औसतमा ६ जनाभन्दा बढी बालिका/ किशोरी बलात्कार तथा यौनजन्य हिंसाको सिकारमा पर्छन् । प्रहरीमा नआएका घटना समेत जोड्दा यो संख्या अझै भयावह देखिन्छ । 

किन बढिरहेछन् यौन हिंसा र बालिका बलात्कारका घटना ?

बालिका बलात्कार तथा यौनहिंसाका घटना बढ्नुको कारण व्यक्तिगत विकृतिको परिणाम होइन, यो सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणहरूको जटिलता हो । सबैभन्दा पहिले, निगरानीको अभावले बालबालिकालाई असुरक्षित बनाउँछ । परिवार, विद्यालय र समुदायको कमजोर ध्यानले अपराधीलाई अवसर दिन्छ । गरिबी अर्को महत्त्वपूर्ण कारण हो । आर्थिक अभावका कारण बालिकाहरू एक्लै बस्न, काम गर्न वा जोखिमपूर्ण वातावरणमा जान बाध्य हुन्छन्, जसले उनीहरूको सुरक्षा कमजोर बनाउँछ ।

त्यसैगरी, सानो उमेरका कारण बालिकाहरूलाई सजिलै प्रलोभनमा पार्न सकिन्छ । उपहार, माया वा झूटो आश्वासनले उनीहरूलाई फसाउन सजिलो हुन्छ । साथै, शारीरिक र सामाजिक रूपमा कमजोर ठानिने भएकाले उनीहरूलाई सजिलै नियन्त्रण गर्न सकिने सोच पनि अपराधीमा हुन्छ । वैज्ञानिक रूपमा हेर्दा, केही व्यक्तिमा आवेग नियन्त्रण कमजोर हुनु र सहानुभूतिको कमी र कुलत वा लागूपदार्थको सेवन देखिन्छ । जसले यौन हिंसात्मक सोच र व्यवहार बढाउन सक्छ । त्यस्तै, बाल्यकालमा हिंसा वा दुर्व्यवहार अनुभव गरेका व्यक्तिहरूमा पछि त्यस्तै व्यवहार दोहोरिने जोखिम बढी हुने अध्ययनहरूले देखाएका छन् । विशेष गरेर दण्डहीनता र सामाजिक मौनताले पनि यस्ता घटना दोहोरिन मद्दत गर्छ ।

परिवारले के गर्न सक्छ ? 

आफ्नो बच्चालाई सुरक्षित राख्ने कुरा नियम नियन्त्रणको विषय मात्र होइन, यो गहिरो रूपमा विश्वास, माया र भावनात्मक सम्बन्धसँग जोडिएको हुन्छ । परिवारभित्र विशेषगरी आमा, दिदी, भाउजू, हजुरआमाजस्ता महिला सदस्यहरूले बच्चासँग खुलेर कुरा गर्नुको अर्थ हो- उनीहरूलाई 'तिमी सुरक्षित छौ, तिम्रो कुरा सुन्ने मान्छे छन्' भन्ने अनुभूति दिनु । जब बच्चाले यस्तो भावनात्मक र मनोवैज्ञानिक सुरक्षा पाउँछ, उसले डर, लाज वा अन्योलबिना नै आफ्ना अनुभव र समस्या अरूका सामु व्यक्त गर्न सक्छ । 

धेरै छोरीहरू परिवारका महिला सदस्यसँग यस्ता विषयमा सहज महसुस गर्नुको कारण भावनात्मक नजिकपन हो । बालमनोविज्ञानअनुसार बच्चाहरूले आफूलाई सुरक्षित र बुझ्ने व्यक्तिसँगै आफूभित्रका र संवेदनशील कुरा भन्न रुचाउँछन् ।

विशेष गरेर आमा वा अन्य महिला सदस्यले स्नेह, धैर्य र सहानुभूति देखाउने भएकाले बच्चाले उनीहरूलाई विश्वास गर्न सजिलो ठान्छन् । वैज्ञानिक रूपमा बच्चाको मस्तिष्क विकासमा सुरक्षित सम्बन्ध अत्यन्त महत्त्वपूर्ण हुन्छ । जब बच्चा आफूलाई सुरक्षित महसुस गर्छ, ऊ खुला रूपमा सोच्न, बोल्न र निर्णय गर्न सक्षम हुन्छ । यसले जोखिमपूर्ण अवस्थालाई चिन्न र 'नाइ' भन्न सक्ने क्षमता पनि बढाउँछ ।

यौन शिक्षा पनि यही विश्वासको आधारमा दिनुपर्छ । यौन शिक्षा छोरा र छोरी दुवैलाई दिन आवश्यक हुन्छ । यदि परिवारले यसलाई लाजको विषय बनायो भने बच्चाले जिज्ञासा लुकाउँछ र गलत स्रोतबाट जानकारी लिन सक्छ । तर खुलेर, सरल भाषामा 'सुरक्षित र असुरक्षित स्पर्श' सिकाइयो भने बच्चा आफैं सचेत बन्छ ।

परिवारको माया र विश्वास नै बच्चाको पहिलो सुरक्षा घेरा हो । जब बच्चाले 'मेरो कुरा सुन्ने कोही छ' भन्ने अनुभूत गर्छ, त्यहीँबाट उसको सुरक्षा सुरु हुन्छ ।

विद्यालयको भूमिका 

बलात्कारजस्ता गम्भीर अपराध त्यसभित्र पनि विशेष गरेर नाबालिका बलात्कार कम गर्न विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ । अध्यनसँगसँगै विद्यालयले उमेरअनुसार प्रभावकारी यौन शिक्षा दिनुपर्छ । यो शिक्षा डर देखाउने वा लाजको विषय बनाउने होइन, सरल र स्पष्ट भाषामा 'सुरक्षित र असुरक्षित स्पर्श', सहमति, शरीरको अधिकार र जोखिम पहिचान गर्ने तरिकाबारे केन्द्रित हुनुपर्छ । कक्षा, छलफल, चित्र, कथा र व्यावहारिक उदाहरणमार्फत सिकाइयो भने बालबालिकाले सजिलै बुझ्छन् ।

त्यसैगरी, आत्मसुरक्षा तालिम अत्यन्त आवश्यक छ । यस्तो तालिमले बालबालिकालाई 'नाइ' भन्न सक्ने साहस, अप्ठ्यारो अवस्थामा कसरी बच्ने र विश्वासिलो व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्छ भन्ने चेतनाको विकास गर्छ र उनीहरूको आत्मविश्वास पनि बढाउँछ । 

अर्कोतर्फ, शिक्षकहरूको भूमिका झन् महत्त्वपूर्ण हुन्छ । शिक्षकहरूले केवल पढाउने होइन, बालबालिकाको व्यवहार, डर वा असामान्य परिवर्तनमा ध्यान दिनुपर्छ । निगरानी र जिम्मेवारी बढाएर, कुनै पनि गतिविधिमा शंका लागेमा तुरुन्त कदम चाल्ने, अभिभावकसँग समन्वय गर्ने वातावरण बनाउनु पर्छ । बालिकाहरूका लागि विद्यालय, शिक्षक शिक्षिका वा नजिकका आफ्ना साथीसँग आफ्नो समस्या खुलेर व्यक्त गर्ने सुरक्षित स्थान बन्न सक्नुपर्छ । विद्यालयमा उनीहरूले पाउने सुरक्षित वातावरणले मात्र यस्ता अपराध घटाउन दीर्घकालीन समाधान दिन सक्छन् । 

समुदायको भूमिका 

समुदाय सचेत र जिम्मेवार भएमा धेरै घटना हुनुअघि नै रोक्न सकिन्छ । सबैभन्दा पहिले, छिमेक र वरपर हुने शंकास्पद गतिविधिमा ध्यान दिनु आवश्यक हुन्छ । अपरिचित व्यक्तिको असामान्य व्यवहार, बालबालिकासँग एकान्त खोज्ने प्रयास वा बारम्बार नजिकिने क्रियाकलापलाई समाजका व्यक्ति वा चिनजानका मानिसले बेवास्ता गर्नु हुँदैन । यस्ता संकेत देखिएमा समयमै परिवार वा सम्बन्धित निकायलाई जानकारी दिनु भनेको ठूलो जोखिम र असुरक्षाबाट जोगाउनु हो । बलात्कारजस्तो अमानवीय विषयमा नेपाली समाज अनुदार देखिन्छ । समाजले बलात्कारका मुद्दामा पीडितलाई नै दोष लगाउने परिपाटी विकसित छ । पीडितका बानी व्यवहार र आचरणमै उठ्ने नकारात्मक प्रश्नको त्रासले धेरै घटना बाहिरै आउँदैनन् । पीडितहरू लाज, डर र सामाजिक असुरक्षाका कारण बोल्न सक्दैनन् । जसोतसो बाहिर आएका विषय पनि मेलमिलाप र पीडकलाई नै सहानुभूति दिने परिपाटी बन्द गरिनुपर्छ ।

बलात्कारका घटना न्यूनीकरणका लागि एक-दुई व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । यसमा सिंगो समाज नै सजग भएर लाग्नुपर्छ । समुदाय मिलेर यौन सचेतना कार्यक्रम, निगरानी र सहयोगी वातावरण बनाउनुपर्छ । अनिमात्र छोरीहरूका लागि समाज निर्माण सम्भव हुन्छ । 

छोरीहरूलाई सुरक्षित बनाउन केवल कानुन कडा बनाएर मात्र हुँदैन, तपाईंको, मेरो र हाम्रो समाजको चेतना र सोच बदलिनु जरुरी छ । नत्र, 'छोरी कहाँ सुरक्षित छन् ?' भन्ने प्रश्न अझै लामो समयसम्म अनुत्तरित नै रहनेछ । अनि बारम्बार एउटै प्रश्न दोहोरिरहनेछ- कहाँ सुरक्षित छन् छोरीहरू ?

रचना रायमाझी कान्तिपुर टीभीमा कार्यरत छिन् ।

Link copied successfully