क्षयरोग र यसको व्यवस्थापनका लागि नेपालको प्रयास

नेपालमा क्षयरोग नियन्त्रणका प्रयासहरू उल्लेखनीय भए तापनि कार्यान्वयनका क्रममा विविध संरचनात्मक, सामाजिक तथा आर्थिक चुनौती विद्यमान छन् ।

चैत्र १०, २०८२

कपिलप्रसाद तिमल्सेना

Tuberculosis and Nepal's efforts for its management

What you should know

काठमाडौँ — क्षयरोग माइको व्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट हुने एक सङ्क्रामक रोग हो, जसले प्रायः फोक्सोलाई प्रभावित गर्ने भए पनि शरीरका अन्य अङ्गमा समेत असर पार्न सक्छ । खकारमा क्षयरोगका किटाणु भएका व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा ती किटाणु हावामा फैलिन्छन् र उक्त दूषित हावा स्वस्थ व्यक्तिले साससँगै लिँदा सङ्क्रमण सर्न सक्छ। क्षयरोग मुख्यतः सुसुप्त र सक्रिय गरी दुई प्रकारका हुन्छन् । सुसुप्त अवस्थामा ब्याक्टेरिया शरीरमा भए तापनि रोग सक्रिय हुँदैन, कुनै लक्षण देखिँदैन र अरूलाई सङ्क्रमण पनि हुँदैन तर आइग्रा वा मन्टक्स छाला परीक्षणमा पोजिटिभ देखिन सक्छ । सक्रिय अवस्थामा भने ब्याक्टेरिया सक्रिय भई बिरामीलाई असर पार्छ र अत्यधिक सङ्क्रामक हुन्छ, जसमा लगातार खोकी लाग्नु, छाती दुख्नु, खकारमा रगत देखिनु, तौल घट्नु र साँझपख ज्वरो आउने जस्ता लक्षणहरू देखा पर्छन् ।

सामान्यतयाः कमजोर प्रतिरक्षा भएका व्यक्ति, एचआईभी सङ्क्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला तथा कुपोषित व्यक्तिहरू क्षयरोगको उच्च जोखिम समूहमा पर्छन् । समयमै परीक्षण, चिकित्सकको परामर्श तथा उचित उपचार अपनाउँदा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिन्छ ।

हरेक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइन्छ । नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यस वर्ष 'हो! हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान, हाम्रो योगदान'  भन्ने मूल नाराका साथ विसं २०८२ चैत १० मा क्षयरोग दिवस संघ, प्रदेश र स्थानीय सबै तहमा मनाइँदैछ । यस नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्त्वलाई स्पष्ट रूपमा उजागर गर्दछ ।

कानुनी/संस्थागत/सहभागितामूलक व्यवस्था

हरेक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइन्छ । नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यस वर्ष 'हो! हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान, हाम्रो योगदान'  भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ ।नेपालमा क्षयरोग नियन्त्रणका लागि कानुनी, संस्थागत तथा सहभागितामूलक व्यवस्थाहरू समन्वयात्मक रूपमा विकास गरिएका छन्, जसले रोगको रोकथाम, उपचार, निगरानी तथा स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । कानुनी व्यवस्थाअन्तर्गत जनस्वास्थ्य ऐन, २०७५ ले क्षयरोगजस्ता सङ्क्रामक रोगलाई प्राथमिकतामा राख्दै सङ्क्रमित बिरामीको अनिवार्य दर्ता, गोपनीयताको संरक्षण तथा निःशुल्क वा सहज उपचारको व्यवस्था सुनिश्चित गरेको छ । साथै डट्स कार्यक्रममार्फत औषधि वितरण, उपचार अनुगमन र अनुपालनलाई व्यवस्थित गरिएको छ । सरसफाइ, सुरक्षित व्यवहार तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी प्रावधानहरूलाई पनि कानुनी आधार प्रदान गरिएको छ ।

सहभागितामूलक व्यवस्थाअन्तर्गत स्वास्थ्य स्वयंसेवक, स्थानीय समुदाय, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सक्रिय सहभागिताले क्षयरोग नियन्त्रणमा थप प्रभावकारिता ल्याएको छ । स्वयंसेवकहरूले घरदैलोमै बिरामी पहिचान, औषधि सेवनमा सहयोग र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका छन् । समुदायको संलग्नताले उपचार अनुपालन र सफलता दर बढाएको छ ।  डब्लूएचओ र ग्लोबल फण्डलगायतका विकास साझेदारहरूले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध  गराउँदै आएका छन् । यसरी कानुनी, संस्थागत र सहभागितामूलक व्यवस्थाको एकीकृत कार्यान्वयनले नेपालमा क्षयरोग नियन्त्रण प्रयासलाई सुदृढ र प्रभावकारी बनाएको छ ।

नेपालमा क्षयरोगसम्बन्धी अभ्यासहरू

रोगको पहिचानदेखि उपचार, रोकथाम, जनचेतना र निगरानीसम्मका सबै पक्षलाई समेट्ने गरी नेपालमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रभावकारी अभ्यासहरू लागू गरिएका छन् । यी अभ्यासहरू मुख्यतयाः राष्ट्रिय क्षयरोग नियन्त्रण रणनीति, डट्स रणनीति, द्रूत परीक्षण सेवा, निःशुल्क औषधि, बीसीजी खोप तथा सामाजिक-आर्थिक सहयोगमा आधारित छन् । विश्व स्वास्थ्य सङ्गठनको क्षयरोग अन्त्य रणनीतिलाई मार्गदर्शनका रूपमा लिँदै नेपालले २०३५ सम्म क्षयरोगबाट हुने मृत्यु र नयाँ सङ्क्रमण घटाउने लक्ष्यका साथ काम गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमले देशभरि सेवा विस्तार गर्दै आएको छ । प्रदेशदेखि स्थानीय तहसम्मका स्वास्थ्य संस्था र स्वास्थ्य चौकीहरूले बिरामी पहिचान, परीक्षण र उपचार सेवा उपलब्ध गराउँछन् । डट्स रणनीतिअन्तर्गत बिरामीले औषधि सेवन गर्दा स्वास्थ्यकर्मी वा स्वयंसेवकले प्रत्यक्ष निगरानी गर्ने व्यवस्था भएकाले उपचार बीचमै छुट्ने समस्या कम भएको छ र सफल उपचार दर बढेको छ ।

द्रूत परीक्षण प्रविधि, विशेष गरी नयाँ प्रविधिको प्रयोगले छिटो र सही रूपमा रोग पहिचान गर्न सहयोग पुर्‍याएको छ । यसैगरी क्षयरोगका सबै औषधि निःशुल्क उपलब्ध हुनु र आपूर्ति प्रणाली व्यवस्थित हुनुका कारण उपचारमा पहुँच सहज बनेको छ । बालबालिकालाई गम्भीर प्रकारका सङ्क्रमणबाट जोगाउन र रोकथामका लागि बीसीजी खोप दिने कार्य प्रभावकारी रूपमा सञ्चालनमा छ ।

त्यसैगरी उपचार पूरा गर्न प्रेरित गर्ने अभिप्रायले कमजोर आर्थिक अवस्थाका बिरामीलाई पोषण, यातायात तथा मनोसामाजिक सहयोग उपलब्ध गराइने गरिएको छ । जनचेतनामूलक कार्यक्रम, सञ्चार माध्यमको प्रयोग र समुदायस्तरका गतिविधिले रोगबारे बुझाइ बढाउन र सामाजिक लाञ्छना घटाउन मद्दत गरेका छन् । बिरामी केस दर्ता, उपचार प्रगति, औषधि अनुपालन र रोगको प्रवृत्ति नियमित रूपमा अनुगमन गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय क्षयरोग कार्यक्रम सूचना व्यवस्थापन प्रणाली प्रयोगमा रहेको छ । फलस्वरूप तथ्याङ्कमा आधारित योजना तर्जुमा, स्रोत परिचालन र अनुगमन कार्यमा प्रभावकारिता बढाएको छ ।

वर्तमान अवस्था

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन्  २०२४ मा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी (प्रति लाख जनामा २ सय २७ जना) रहेका छन् । हरेक वर्ष  करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु (प्रति लाख जनामा ५३ जना) हुने अनुमान गरिएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधि संवेदनशील क्षयरोग ३९ हजार १ सय ५१ जना बिरामी पहिचान गरी उपचार गरिएको थियो । तीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए ।

उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशतमा अन्य अङ्गमा हुने क्षयरोग देखिएको थियो । त्यसैगरि औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६ सय २५ जना पहिचान गरिएको थियो । औषधि संवेदनशील क्षयरोग र औषधि प्रतिरोधी क्षयरोगमा उपचार सफलता दर क्रमशः ९२ प्रतिशत र ७६ प्रतिशत रहेको छ । विद्यमान अवस्थामा देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७ सय ८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रूत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन् । साथै औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेका छन् । १ सय ४९ स्थानीय तहमा 'क्षयरोग मुक्त नेपाल अभियान' विस्तार गरिएको छ भने एआई जडित डिजिटल एक्स-रेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य उच्च जोखिम क्षेत्रमा निरन्तर भइरहेको छ ।

क्षयरोग नियन्त्रणका चुनौतीहरू

विश्वका क्षयरोग भयावह भएका उच्च ३० देशको सूचीमा नेपाल पनि रहेको छ । नेपालमा क्षयरोग विद्यमान अवस्थामा एक महत्त्वपूर्ण जनस्वास्थ्य चुनौतीको रूपमा रहँदै आएको छ । नेपालमा क्षयरोग नियन्त्रणका प्रयासहरू उल्लेखनीय भए तापनि कार्यान्वयनका क्रममा विविध संरचनात्मक, सामाजिक तथा आर्थिक चुनौतीहरू विद्यमान छन् ।

विशेष गरी दुर्गम तथा हिमाली क्षेत्रहरूमा स्वास्थ्य सेवा पहुँचको सीमितता प्रमुख समस्याका रूपमा देखिन्छ। उदाहरणका लागि कर्णाली प्रदेशका केही दुर्गम गाउँहरूमा बसोबास गर्ने बिरामीको खकार परीक्षणका लागि परीक्षण केन्द्रसम्म पुर्‍याउन समय लाग्ने, नियमित रूपमा डट्स केन्द्रसम्म पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था रहँदा औषधि सेवनमा निरन्तरता कायम राख्न कठिनाइ भएको देखिएको छ । परीक्षण तथा उपचारमा यस्ता कठिनाइ हुँदा औषधि प्रतिरोधी क्षयरोगको जोखिम बढ्ने र रोग नियन्त्रण अभियानमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ ।

त्यसैगरी आर्थिक रूपमा कमजोर तथा दैनिक ज्यालादारी श्रमिक वर्गका बिरामी उपचार अवधिभर नियमित रूपमा स्वास्थ्य संस्थामा उपस्थित हुन नसक्ने अवस्था पनि चुनौतीपूर्ण छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लाका बिरामीहरू रोजगारीका लागि भारत वा सहरी क्षेत्रमा अस्थायी रूपमा जान बाध्य हुँदा उपचार अधुरै छोड्ने घटना देखिएका छन्, जसले व्यक्तिगत स्वास्थ्य मात्र होइन, सार्वजनिक स्वास्थ्य सुरक्षामा समेत जोखिम सिर्जना गरेको छ । अर्कोतर्फ सामाजिक लाञ्छना र सामाजिक विभेद अझै पनि क्षयरोग नियन्त्रणमा गम्भीर अवरोधका रूपमा विद्यमान छन् ।

घना बस्ती रहेको काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा क्षयरोग लागेका व्यक्तिलाई सामाजिक रूपमा अलग गर्ने, विवाह वा रोजगारीमा अस्वीकार गर्ने प्रवृत्तिले धेरै बिरामीलाई समयमै परीक्षण तथा उपचारमा संलग्न हुन निरूत्साहित बनाएको छ । यसरी भौगोलिक पहुँचको समस्या, आर्थिक असुरक्षा र सामाजिक लाञ्छनाजस्ता यथार्थ चुनौतीहरूलाई समग्र रूपमा सम्बोधन नगरी क्षयरोग अन्त्य र निवारणको लक्ष्य प्राप्तिमा कठिन हुने देखिन्छ । तसर्थ क्षयरोग नियन्त्रणमा केवल औषधि उपलब्ध गराउनु मात्र पर्याप्त होइन, समुदाय/परिवारको सहयोग, सहज पहुँच, जागरूकता र आर्थिक सहयोग पनि आवश्यक छ ।

क्षयरोग व्यवस्थापनमा सुधारका उपायहरू

नेपालमा क्षयरोग नियन्त्रणलाई परम्परागत कार्यक्रमबाट परिणाममुखी, प्रविधि-समर्थित र समुदाय-सञ्चालित मोडेलतर्फ रूपान्तरण गर्नु आवश्यक छ । डट्स विधि पालना केवल निगरानीमा सीमित नराखी डिजिटल औषधि ट्र्याकिङ, एसएमएस/मोबाइल रिमाइन्डर र भिडियो-पर्यवेक्षणजस्ता नवप्रवर्तनात्मक उपायहरू अपनाउन सकिन्छ । स्थानीय तह, महिला/आमा समूह, सहकारी संस्था र युवा क्लबलाई 'क्षयरोग च्याम्पियन' का रूपमा परिचालन गरी समुदाय उत्तरदायित्वको भावना विकास गर्न सकिन्छ । यसले उपचार बीचमै छोड्ने दरलाई घटाउने मात्र होइन, रोगप्रति सकारात्मक सामाजिक वातावरण पनि सिर्जना गर्छ ।

औषधि प्रतिरोधी क्षयरोग व्यवस्थापनलाई केन्द्रीकृत सेवा मोडेलबाट विकेन्द्रीकृत र पहुँचमुखी बनाउन आवश्यक छ । द्रुत परीक्षण सेवा जिल्लास्तरमै विस्तार गर्दै मोबाइल डायग्नोस्टिक भ्यान सञ्चालन गर्न सकिन्छ । जोखिम समूह पहिचानका लागि तथ्याङ्कमा आधारित म्यापिङ र सक्रिय बिरामी खोज पडताल कार्यलाई लक्षित रणनीतिसँग जोड्दा लुकेका बिरामी पहिचान गर्न मद्दत मिल्नेछ ।

सामाजिक-आर्थिक अवरोधलाई समाधान नगरी क्षयरोग नियन्त्रण सम्भव हुँदैन । त्यसैले पोषण भत्ता, डिजिटल नगद हस्तान्तरण, यातायात सहायता र मनोसामाजिक परामर्शलाई एकीकृत 'बिरामी सहयोग प्याकेज' का रूपमा कार्यान्वयन गर्न सकिन्छ । निजी क्षेत्र र स्थानीय सरकारसँग साझेदारी गरी कार्यस्थलमा आधारित क्षयरोग स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दा पनि प्रभावकारी हुन सक्छ ।

जनचेतनालाई परम्परागत भाषणमा सीमित नराखी डिजिटल अभियान, सामाजिक सञ्जालको प्रभावकारी परिचालन, विद्यालयस्तरको क्षयरोग क्लब र अन्तरक्रियात्मक समुदाय संवाद कार्यक्रममार्फत सशक्त बनाउन सकिन्छ । क्षयरोग सङ्क्रमितको गोपनीयता संरक्षण र लाञ्छना न्यूनीकरणका लागि 'लाञ्छना हटाऔं, ढिलाइ नगरौं' जस्ता व्यवहार परिवर्तन अभियान सञ्चालन गर्न सकिन्छ ।

समग्रमा नेपालमा क्षयरोग नियन्त्रणलाई नवप्रवर्तन, प्रविधि, समुदायको सहभागिता र सामाजिक संरक्षणको एकीकृत ढाँचामा रूपान्तरण गर्न सकेमा २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्यतर्फ ठोस प्रगति सम्भव हुनेछ । त्यसैले यहाँ प्रस्तुत गरिएका क्षयरोग नियन्त्रण कार्यक्रमलाई 'यथास्थितिबाट सुधारतर्फ' लैजाने ठोस र कार्यान्वयनयोग्य प्रस्तावहरू भएकाले सुधारका उपायको रूपमा उपयुक्त छन् भन्न सकिन्छ ।

निष्कर्ष

नेपालमा लगभग ५० प्रतिशतभन्दा बढी मानिसमा आफ्नो शरीरभित्र क्षयरोग किटाणु सुषुप्त अवस्थामा रहेको छ तर रोग लागेको छैन । रोगसँग लड्ने क्षमता कम भएका जोखिम समूह जस्तै एचआईभी सङ्क्रमित, स्टेरोइड औषधि सेवन गरिरहेका, मिर्गौला डिजिज भएका, मधुमेह लागेका, दम भएका, चुरोट सेवन गर्ने, पोषण अवस्था कमजोर भएका, गरिबीमा जीवन गुजारिरहेका आदि जस्ता बिरामी वा व्यक्तिलाई यो रोग कुनै पनि समयमा सक्रिय हुने सम्भावना उच्च रहेको छ ।

क्षयरोग पूरा अवधिको औषधि उपचारले पूर्णरूपमा निको हुने रोग हो । समयमै पहिचान, परीक्षण, सही उपचार, औषधिको नियमित सेवन, सरसफाइ, पोषण र जनचेतना अपनाउँदा पूर्ण रूपमा निको गर्न सकिन्छ । नेपालमा लागू भएका अभ्यासहरूले क्षयरोग पहिचान, रोकथाम र उपचारमा प्रभावकारी भूमिका खेलेका छन् ।

विश्व क्षयरोग दिवस र जनचेतना कार्यक्रमहरूले क्षयरोग के हो, कसरी हुन्छ, कसरी रोकथाम गर्न सकिन्छ, उपचार र औषधि कहाँ पाइन्छ, औषधि निःशुल्क वा सःशुल्क छ छैन भन्ने सन्दर्भमा जनमानसमा सुसूचित गराउन अहम् भूमिका खेल्छ र क्षयरोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्छ ।

कपिलप्रसाद तिमल्सेना राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव हुन् ।

Link copied successfully