पत्रकारिता क्षेत्रमा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको करेन्ट मिडियाले जनाएको छ ।
काठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दिवंगत पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो ।
भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित कार्यक्रममा करेन्ट मिडिया प्रालिकी अध्यक्ष प्रदीपा गौतम र अग्रज पत्रकार रोचक घिमिरेले सम्पादक श्रेष्ठलाई पुरस्कार र कदरपत्र प्रदान गरे । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।
पत्रकारिता क्षेत्रमा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको करेन्ट मिडिया प्रालिले जनाएको छ । गौतमले अँगालेको निर्भीकता, निष्ठा र सामाजिक उत्तरदायित्वको मूल्यलाई समेत श्रेष्ठले जीवित राखेको मिडियाको भनाइ छ ।
कार्यक्रममा करेन्ट मिडियामा ३६ वर्षदेखि कार्यरत प्राविधिक हरिबहादुर थापा र चाइना न्युज सर्भिसका पत्रकार झाङ छनयीलाई पनि ५०–५० हजार रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरिएको थियो ।
