लहडमा होइन, यथार्थ र एजेन्डामा आधारित बहस जरुरी छ। मतदाताले फेसबुकमा पाइने लाइक, फलोअर्स हेरेर मतदान गर्ने पनि
What you should know
काठमाडौँ — अबकी बार अर्थात् यसपटक कसको सरकार? अहिले जताततै यही प्रश्न उठिरहेको छ। केही दलले ‘अबकी बार, फलानाको सरकार’ भनेर प्रचार पनि गरिरहेका छन्।
भारतीय निर्वाचनमा देखिने यस्तो परम्परा यसपटक नेपालमा पनि अनुशरण गरिएको देखिन्छ। प्रचार शैली एकातर्फ छ। अर्कातर्फ मुलुकमा पहिलो पटक विभिन्न दलले प्रधानमन्त्रीका उम्मेदवार तोकेर चुनावी अभियान सुरु गरेका छन्। यसले मतदातालाई निर्वाचनपछि कस्तो व्यक्तिलाई प्रधानमन्त्री चुन्ने भनेर छनोटको अवसर दिएको छ। यसलाई सकारात्मक ठान्नुपर्छ।
यसपटक रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह, एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन्। कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेको हो। यससँगै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेका छन्। तर, अहिले भावी प्रधानमन्त्रीको दौडमा शाह, ओली र थापाबारे बहस भएको देखिन्छ। उम्मेदवारको लोकप्रियता भन्दा नीति, कार्यक्रम र मुलुक बनाउने योजनाले प्राथमिकता पाउनुपर्ने बहस भइरहेको छ। साथै आकांक्षीबीच खुला बहसको माग हुन थालेको छ।
जिल्लामा बसेर सञ्चारकर्म गरिरहेकाले विभिन्न कार्यक्रममा पुग्दा अहिले जनसाधारणमा पनि यही विषयमा बहस गरिरहेको देख्न र सुन्न पाइन्छ। यसअघि ‘को सांसद होला?’ भन्ने विषयमा केन्द्रित हुने बहस अहिले ‘को प्रधानमन्त्री बन्ला?’ भन्नेसम्म पुगेको छ। मुलुकको नेतृत्व गर्ने व्यक्तिका बारेमा यसरी सार्वजनिक बहस हुनु आफैंमा सुखद सुरुआत मान्न सकिन्छ। मतदाताहरू भावी प्रधानमन्त्रीका विषयमा पक्ष पोषणभन्दा तर्क–वितर्कसहित आफू अनुकूल व्याख्या गरिरहेका हुन्छन्। हुन त प्रधानमन्त्री चयन हुन लामो प्रक्रिया पूरा गर्नुपर्छ। पार्टीले धेरै सिट जित्नु पर्यो। त्यसपछि पार्टीको संसदीय दलको नेता बन्नु पर्यो। कम्तिमा १ सय ३८ सांसदको समर्थन जुटाउनु पर्यो। खैर यस्ता प्रक्रिया पूरा हुँदै जालान।
पत्रकार टीकाराम यात्रीले शुक्रबार आफ्नो फेसबुक वालमा गगन थापा, केपी शर्मा ओली र बालेन्द्र शाहको फोटो राख्दै एउटा स्टाटस पोस्ट गरे। त्यहाँ उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरूका ठोस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तीनै जनालाई हार्दिक आह्वान गर्दछौं। खुला र स्वस्थ बहसले सही पात्र छनोट गर्न मतदातालाई मद्दत गर्ने भएकाले खुला हृदयले यो आग्रह स्वीकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं।’
चुनावी रिपोर्टिङका लागि म पनि शुक्रबार रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र पुगेको थिएँ। त्यसक्रममा कोटहीमाईको मझगाँवा चोकमा ७५ वर्षीय प्रेम हरिजन भेटिए। करिब २० मिनेट उनका कुरा सुनेँ। घरमा आएर यात्रीको पोस्ट देखेपछि मैले हरिजनले भनेका कुरा सम्झिएँ। हरिजनलाई पनि सधैं एउटै नेता सांसद, एकै व्यक्ति प्रधानमन्त्री र मन्त्री भइरहेको चित्त बुझेको रहेनछ। नेता फेरिने तर, आफ्नो अवस्था नफेरिने कुराले दिक्क बनाएको रहेछ। बच्चाबच्चीले राम्रो स्कूल पढ्न नपाएकोदेखि स्वास्थ्य उपचारबाट बञ्चित हुनु परेको कुराले उनलाई चिमोटिरहेको थियो। गाउँको एउटै सडकमा पनि वर्षामा हिलो र हिउँदमा धुलोले असाध्यै पिरोल्ने गरेको छ। खेतीपातीका बेला मल र सिंचाइको अभाव हुन्छ। यहाँ मजदूरी गरेर पनि नचल्ने भएपछि दुई छोरा साउदी र कतार पठाएका रहेछन्।
खासमा ग्रामीण क्षेत्रका बासिन्दाले यस्ता पीडाबाट मुक्ति चाहेका छन्। यिनै पीडा हल गर्ने प्रधानमन्त्रीको खोजीमा छन्। सञ्चारको बढ्दो उपयोगले सहर–गाउँ, हिमाल–पहाडका नागरिक सचेत भइसकेका छन्। उनीहरू मत र मन दुबै परिवर्तन गर्न चाहन्छन्। ओली परीक्षण भइसकेका छन्। गगन र बालेन्द्र परीक्षण हुन बाँकी छन्। ओलीले आफ्नो कार्यकालमा के गरे/गरेनन् यसबारे जनताले देखे–भोगेका छन्। रास्वपा र कांग्रेसले प्रस्तुत गरेका उम्मेदवारप्रति जनतामा चासो देखिन्छ। गाउँघरका बहसमा नेकपा संयोजक दाहालको प्रवेश उत्तिसारो सुनिँदैन। ग्रामीण क्षेत्रका युवा जमात विदेशमा छन्। स्वदेश/विदेशबाट अहिले प्रधानमन्त्री उम्मेदवारका बारे सामाजिक संजालमा ‘डिबेट’ भइरहेको छ। विदेशमा भएकाले निश्चित व्यक्ति तोकेर समर्थन जनाएको जस्तो देखिन्छ। स्वदेशमा रहेका मतदाताले गुण र दोषका आधारमा समर्थन जनाइरहेका छन्।
लहडमा होइन, यथार्थ र एजेन्डामा आधारित बहस जरुरी छ। मतदाताले फेसबुकमा पाइने लाइक, फलोअर्स हेरेर मतदान गर्ने पनि होइनन्। जनभावना र मुलुकका लागि योगदान दिनसक्ने, क्षमता, नीति, योजना र कार्यक्रम भएको व्यक्ति छनोट गर्न पाउनु पर्छ। हामीले गर्ने सही छनोटले असल नेतृत्व चयन हुनसक्छ। गलत चयनले मुलुकलाई दिशाहीन बनाउन सक्छ। यसतर्फ मतदाता सचेत हुनुपर्छ। बिगतका प्रतिवद्धता किन पूरा गरिएनन् भनेर प्रश्न गर्नुपर्छ। त्यसैले मतदातालाई विवेकपूर्ण निर्णय लिन सहज होस्, भन्नका लागि भावी प्रधानमन्त्रीका उम्मेदवारलाई एउटै मंचमा राखेर बहसका लागि दबाब दिऊँ।
विदेशमा पनि राष्ट्रपति र प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने प्रचलन छन्। भारतमा गत वर्ष सम्पन्न निर्वाचनमा हालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री घोषणा गरेर भाजपा चुनावमा होमिएको थियो। अमेरिकामा पनि राष्ट्रपति उम्मेदवार घोषणा गरेर चुनावमा होमिन्छन्। यहाँ पनि असल अभ्यासको सुरुआत गर्नु राम्रो पक्ष हो। प्रस्तावित प्रधानमन्त्रीका योजना उनीहरूकै मुखबाट सुन्न, बुझ्न पाउनु मतदाताको अधिकार हो।
संयुक्त राज्य अमेरिकामा १९६० देखि पछिल्लो २०२४ सम्मको हरेक चुनावमा राष्ट्रपतिका उम्मेदवारले ‘लाइभ डिबेट’ गरेर मतदातासँग आफ्ना एजेण्डा राख्दै आएका छन्। ताइवान र केन्या जस्ता मुलुकले पनि यसको अभ्यास गरेका छन्। त्यस्तो भए हाम्रा भावी प्रधानमन्त्रीका उम्मेदवारहरू एउटै मंचमा बसेर ‘लाइभ डिबेट’ गर्न तयार छन्? स्वच्छ बहस जरुरी छ। त्यसका लागि गगन, बालेन्द्र र ओली तयार होलान?
राजनीतिक स्थिरता र सुशासन, शिक्षा र स्वास्थ्य, आर्थिक विकास र रोजगारी, पूर्वाधार विकास, वातावरण र जलवायु परिवर्तन, विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे भावी प्रधानमन्त्रीका योजना के हुन्? यसबारे जनताले जान्न नपाउने? कृषि प्रधान देश भनिन्छ, मल, बीउ र सिंचाइ अभावले किसान मारमा छन्। पर्यटनबाटै समृद्धि भनिन्छ, पर्यटन क्षेत्रमा सन्नाटा छ। उद्योगहरूले ३० प्रतिशत हाराहारी मात्र उत्पादन गरिरहेका छन्। रेमिट्यान्सले देश धानेको छ। नवयुवालाई प्रविधिमा जोड्नु छ। जेनजी भावना अनुसार सुशासन कायम गर्नुछ। यस्तो बेला भावी प्रधानमन्त्रीका योजना के हुन्? यी विषयमा जान्न, बुझ्न र सुन्न नपाउने? पक्कै पाउनु पर्छ।
योजनाबिहीन नेता छनोटले आज हामीले कुन अवस्था भोगेका छौं, त्यो छर्लङ्ग छ। अब, त्यो छुट छैन, किनकि हामीले फेरि १० वर्षे सशस्त्र द्वन्द्व, नाकाबन्दी, जेन-जी आन्दोलन जस्ता समस्या भोग्नु छैन। द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना महामारीले हामी त्यसै दशकौं पछाडी परिसकेका छौं। अब, ती दिन भुल्ने गरी हामीलाई सुशासन र विकास चाहिएको छैन। त्यसैले भावी प्रधानमन्त्री एउटै थलोमा बहस गर्न तयार होऔँ। यसमा दबाब दिऔँ। उनीहरूका वास्तविक योजना सुनेर र पढेर बल्ल मत हालौं।
