अहिले कांग्रेसभित्र एकताको बाधक को हो ? यो प्रश्नमा संस्थापन इतर र संस्थापनभित्रकै मध्यमार्गी नेताहरूको औंला सिधै कृष्णप्रसाद सिटौलातर्फ ठडिएको छ ।
What you should know
झट्ट हेर्दा कांग्रेसको शिरमाथि पुत्ताइरहेको विवादको धुवाँको अन्तर्यमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा देखिन्छन् ।
तर यसको पहेली केलाएर हेर्दा विवादको जरामा कृष्णप्रसाद सिटौला छन् । सिटौला तीनै पात्र हुन्, जसले असोज २५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै क्रमशः सक्रिय राजनीतिबाट अलग भइसकेका देउवालाई पार्टीभित्रैबाट (बाहिरबाट अरू पनि होलान्) पुनः सक्रिय बनाउने भूमिकामा आफूलाई तल्लीन बनाए ।
कांग्रेसको जारी विवादको एउटा किनारमा ‘सात भाइ’ छन् । तीमध्ये गोपालमान श्रेष्ठ अहिले विशेष महाधिवेशनको नेतृत्व गरिरहेको गगन–विश्वको कित्तामा आइपुगेका छन् । बाँकी ६ भाइमा देउवामाथि सिटौला नै हाबी देखिन्छन् । उनकै अनुदार भूमिकाले सभापति देउवा न त सक्रिय राजनीतिबाट अलग हुन सके, न त सम्मानजनक बहिर्गमनको बाटो नै हिँड्न पाए । यतिबेला वयोवृद्ध उमेरका सभापति देउवा सिटौलासहितको ६ भाइको चंगुलबाट बाहिर निस्कन सकेनन् भने २३ वर्षपछि पार्टी विभाजनको अर्को अपजसको भारी उनी एक्लैले जीवनभर र जीवनपछि पनि बोक्नुपर्नेछ ।
अहिले कांग्रेसभित्र एकताको बाधक को हो ? यो प्रश्नमा संस्थापन इतर र संस्थापनभित्रकै मध्यमार्गी नेताहरूको औंला सिधै सिटौलातर्फ ठडिएको छ । नियमित महाधिवेशनदेखि विशेष महाधिवेशनसम्मको बहस होस् वा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएका बाध्यात्मक जोखिमदेखि सभापति शेरबहादुर देउवाको निर्णय क्षमतासम्मका सवाल—कांग्रेसभित्रको राजनीतिक गाँठो सिटौलाको वरिपरि नै जेलिएको देखिन्छ । सार्वजनिक जीवनमा भेटिँदा हँसिलो र मिजासिलो देखिने आवरणभित्र सिटौला यतिबेला महामन्त्रीद्वय थापा र शर्मामाथि बदला लिने एक मात्र मिसनमा उद्धत देखिन्छन् । त्यसका निम्ति उनले सभापति देउवालाई उपयोग गरिरहेका छन् ।
२०५८/०५९ सालतिर नै सिटौला राजनीतिको केन्द्रमा उदाएका हुन् । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले झापाबाट उनलाई आफ्नो ‘किचन क्याबिनेट’मा ल्याएपछि उनको प्रभाव ह्वात्तै बढेको थियो । त्यसअघि कोइरालाका किचन क्याबिनेटमा एकेजीबीको नाममा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार थिए । उनीहरूको घेरामा कोइराला रहुञ्जेल सिटौला छिर्नसमेत पाएका थिएनन् । जब 'एकेजीबी'भित्र कलह सुरु भयो, विभिन्न काण्ड, मुद्दा र विभाजन आए, तब सिटौला किचन क्याबिनेटमा प्रवेश गरे ।
कोइरालाको प्रभाव प्रयोग गरेर झापाबाट विश्वप्रकाश शर्मालाई केन्द्रमा आउन छेकबार लगाउने काममा पनि सिटौलाले ठूलो समय खर्चेका थिए । सुशील कोइरालाको निधन नहुँदासम्म कांग्रेसभित्र उनको एकछत्र प्रभाव रह्यो । जब तत्कालीन सभापति सुशील कोइरालाको निधन भयो, त्यसपछि कोइरालाको विरासत कसले लिने भन्ने विषयमा समूहभित्र विवाद चर्कियो । १३औं महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेल र सिटौलाबीच विरासतको लडाइँ भयो । यी दुईबीचको प्रतिस्पर्धाकै कारण शेरबहादुर देउवा सभापति बने र कांग्रेसभित्र तेस्रो समूह खडा भयो ।
त्यसैबेला महामन्त्री गगन थापा सिटौलाकै प्यानलबाट पहिलोपटक महामन्त्रीको चुनाव लडे । सिटौला र थापा दुवै पराजित भए । सिटौलासँग थापा रहुञ्जेल तेस्रो धार कायम रह्यो । जब थापाले सिटौला छाडे, त्यसपछि सिटौलाले थापालाई ‘धोकेबाज’को संज्ञा दिए ।
निश्चित अवधिभित्र मुलुकको प्रधानमन्त्री र पार्टीको सभापति बन्ने लक्ष्यसहित राजनीति गरिरहेका थापाले समयको बहाव नचिन्ने कुरै थिएन । सिटौला छाडेपछि उनले शेखर कोइरालासँग चुनाव लडेर महामन्त्री जिते । अहिले शेखर र थापाबीच पनि दरार देखिएको छ । तर सिटौला अहिले पनि धोका दिएको आरोप लगाउँदै थापामाथि बदला भाव राखेर सभापति देउवालाई चलायमान हुन दिइरहेका छैनन् । परिणामतः आज कांग्रेसमा सभापति देउवा जीवनको उत्तरार्द्धमा अपमान खेप्नुपर्ने अवस्थामा पुगेका छन् ।
जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीहरूले पार्टी सञ्चालन र नीतिगत दृष्टिकोणमा परिवर्तन ल्याए । तर सिटौला भने पार्टीलाई यथास्थितिमै राखेर दुई महामन्त्रीलाई अनुशासनको कारबाहीदेखि पार्टीबाटै निष्कासनसम्मको योजनामा देखिन्थे । संस्थापन पक्षभित्रै रहेका केन्द्रीय सदस्यहरू– रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नैनसिंह महरलगायत मध्यमार्गी प्रस्तावमार्फत पार्टीलाई निकास दिन कसरत गरिरहेका छन् । तर संस्थापन पक्षकै नेताहरूका अनुसार सिटौला ६ भाइको नेतृत्व गर्दै निरन्तर अवरोध खडा गरिरहेका छन् ।
टाढा जानै पर्दैन । सिटौलालाई ५२ वर्षसम्म साथ दिएका विश्वासपात्र सुधीर शिवाकोटीलेसमेत अन्तिम बेला उनको साथ छाडे । आइतबार विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले भने, ‘जेन–जी आन्दोलनअघिसम्म म उहाँसँगै थिएँ, तर त्यसपछि पनि पुरानै चेतना र भावमा अघि बढेपछि मैले साथ छाडेँ ।’
उनीसँगै रहेका अन्य पाँच भाइको भूमिका पनि पार्टी एकताको पक्षमा देखिएन । तर सभापति देउवालाई सहज निर्णय गर्न नदिने मुख्य भूमिकामा सिटौला नै देखिए । ‘महामन्त्रीहरू निस्केर जाऊन्, तर उनीहरूको योजनामा जानु हुँदैन भन्ने सिटौलाको सुरुदेखिकै हठले यहाँसम्म ल्याइपुर्याएको हो,’ संस्थापन पक्षकै एक नेताले भने, ‘जेन–जी आन्दोलनपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशनको तालिकासहित सम्बोधन गर्न चाहिएको थियो, तर मुख्यतः सिटौला र अरू ६ भाइको दबाबले रोकियो । कालान्तरमा त्यसैबाट सिर्जित विवादले कांग्रेस आजको अवस्थासम्म आइपुग्यो ।’
भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने बाटो तय गरेको छ । यदि देउवा वा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बीचमै विशेष महाधिवेशनलाई स्वीकार गरेर साथ दिएनन् भने पार्टी फेरि अर्को दुर्घटनातर्फ जाने निश्चित छ ।
अन्तिम घडीमा कांग्रेस सभापति शेरबहादुर देउवा ६ भाइको चंगुलबाट बाहिर निस्कन्छन् कि एकताको नाममा निरन्तर अवरोध खडा गर्नेहरूकै पक्षमा उभिन्छन्—यसले उनको राजनीतिक बहिर्गमन कुन दिशातर्फ जाने भन्ने निर्णायक मोड तय गर्नेछ । मध्यमार्गी प्रस्तावलाई निष्क्रिय बनाउने र निर्णायक क्षणमा अनिर्णयको वातावरण सिर्जना गर्ने झुन्डबाट बाहिर निस्कन सकेनन् भने उत्तरार्द्धको यस क्षणमा देउवाले आफ्नै इतिहासमाथि समेत अन्याय गर्नेछन् ।
