प्वाँख हराएको मयूर र मुसाहरूको सिंहदरबार गीत

एउटा ठूलो प्वाँखविहीन मयूर पुक्क उठेको भुँडी हल्लाउँदै नाङ्गै क्याटवाक गर्दैछ, प्वाँख भएकाहरू पछाडि अँध्यारोमा कोरस भएर उभिएका छन् ।

कार्तिक १८, २०८२

विमल सुवेदी

The Singha Durbar Song of the Peacock and the Mice Who Lost Their Feathers

काठमाडौँ — के सिंहदरबार सिंहजस्तै थियो, हाम्रो सिंहदरबार केको प्रतीक थियो ? पर्यटनको, संस्कृतिको, विकाशको, न्यायको, कलाको, साहित्यको, अन्तर्राष्ट्रिय सम्बन्धको ? आयातको ? निर्यातको ? भूतको, भविष्यको ? सिंहदबारका चारवटा ढोका– पूर्व, पश्चिम, उत्तर, दक्षिण । यी चार ढोकाबाट के के आयात भए, के के निर्यात भए ? 

चारवटा वेद, राजदरबारका चारवटा गेट, पशुपतिनाथका चारवटा ढोका, चार यूग, चार जात, अंग्रेजी क्यालेन्डरका चार ऋतु, चार तत्त्व (पृथ्वी, जल, हावा र आगो) अनि शरीरको बचेका चार इन्द्रिय । 

त्यो सिंहदरबारले कति थान लुगा फेर्यो होला ? के लायो होला ? दौरा–सुरुवाल र ढाकाटोपी लायो कि धोती ?, फरिया–चोलो ? दौरा सुरुवाल लाउने राष्ट्रप्रेमी नै थियो ? घाँटीमा देशको झण्डा बेर्नेहरू देशप्रेमी नै थिए ? या नबेर्नेहरू देशद्रोही ? त्यसले के के खायो, के के लायो ? सत्यमोहन जोशीको कर्णाली बयानमा, के खायो के लायो होला वनैको चरीले भनेजस्तो । 

त्यसले कसरी खायो होला ? डा. सञ्जीव उप्रतीको ‘मकैको अर्के खेती’ मा कृष्णलाल पात्रले आवाज ननिकाली मकै चपाएर घुटुक्क निल्ने विभिन्न तरिका बयान गरेजस्तो । मकै खाने तरिकामाथि कति सभा सेमिनार, अनुसन्धान र गोप्य बैठक भए होला ? ठूला ठूला पर्खालभित्रको त्यो ऐतिहासिक सिंहदरबार इतिहास थियो या विगत ? विरासत थियो या देशको वैभव, समय थियो या सम्पदा ? 

जे होस् बाहिरबाट यो एउटा नेपालीको शान थियो । 

सिंहदरबारभित्र एउटा नाटक हुँदै रहेछ । यहाँका बेजोड नाटकहरूका बारेमा धेरै सुनेको, यहाँको नाटकले जहिल्यै हाम्रो नाटक छायाँमा पार्‍यो, हाम्रा दर्शक उतै तानेर हाम्रो भविष्य नै अन्धकार बनायो, तर हेर्ने अनुमति कहिल्यै पाइएन । जहिल्यै हाउसफुल, केही सिक्न पाइन्छ कि भनेर यो पल्ट चाहिँ धेरै सोर्स फोर्स लगाएर हेर्न जाने निधो गरें । 

सिंहदरबार नेपाली राजनीतिमा यति धमिलो भएको थियो कि भेट्नै गाह्रो, एकातिर काठमाडौं महानगरको प्रदूषण र नेपालको राजनीतिको प्रदूषण अनि भ्रष्टाचारको दुर्गन्धले सबैका नाक (एक इन्द्रिय) निस्क्रिय भैसकेको थियो, अर्कोतिर धेरै अघि नै पर्खालका भित्ताहरू भित्रभित्र धमिराले खाइसकेको तामेलीमा राखेको कानुनका धरहराभन्दा पनि अग्ला चाङ फाइलहरूजस्ता । दिउँसै अन्धकारमय थियो । तर यो अँध्यारो भिन्न थियो । बिचित्रको अँध्यारो थियो । 

महाभारतको युद्धमा कृष्णले अभिमन्यूको मृत्युको बदला लिन कौरब पक्षमाथि युद्धको नियमविपरीत सूर्यलाई छेकेर दिउँसै रात बनाएजस्तो, अलिअलि चीनको रेल भारत जाँदा काठमाडौं नजिकको सुरुङ मार्गमा छिरेजस्तो, भर्खर रात पर्न लागेजस्तो अँध्यारो, उज्यालो हुन खोजेजस्तो अँध्यारो । अलिअलि, मोतीया विन्दु लागेजस्तो, जलविन्दु लागेजस्तो । ठम्याउन गाह्रो थियो, तर अँध्यारोको प्रकृति हेर्दा चन्द्र ग्रहण लागेजस्तो भान हुन्थ्यो । 

बल्लबल्ल छामछुम गर्दै धेरै आवतजावत हुने सिंहदरबारको दक्षिण ढोकामा पुगेर धेरै कुरें तर त्यो बन्द थियो, खोल्न कोही आएन । त्यसपछि उत्तर ढोका पुगें, त्यो पनि बन्द । सिंहदरबारका चारैवटा ढोका बन्द । नाटक छुट्ला भन्ने डरले पर्खाल चढेर हाम्फालेँ तर त्यो पर्खाल मभन्दा पहिल्यै हाम्फाल्यो । मैले ती तामेलीका फाइल पन्छाउँदै, धमिरा टक्टकाउँदै जब उठेँ, तब अद्भुत दृश्यहरू देखियो । के यो सिंहदरबार सधैं यस्तै हुन्थ्यो या आज मात्रै यस्तो भएको ?

जे होस् भित्रबाट सिंहदरबार शान्त थिएन, शमशानजस्तै थियो । 

यत्रतत्र छरिएका आर्यघाटका चिताहरू, केही आनन्दले टिकटक बनाउँदै जल्दै थिए, कोही लाइभमा, सेयर र सब्सक्राइभ गर्दै थिए, केही लाशहरू शररि जलिसकेर जल्दै गरेका हातले हतारहतार भाइरल स्टाटस लेख्दै थिए । 

केही लाशहरू छेउमा लाइनमा कुर्दै थिए जल्नका लागी, केही लाश आफ्नो जल्ने अधिकारका लाीग आमरण अनशनमा थिए र केहीे जिउँदाहरूले जलेर मर्नेहरूको जल्ने पालो वर्षौंदेखि नआएको भनेर आक्रोशित थिए । 

एक छेउमा सगरमाथाजत्रो ठूलो पहाड देखियो, नजिकै गएर हेरें, सेतो एप्रोन लगएर आइन्स्टाइन पहाडबाट केही निकालेर हेर्दै थिए, मैले नजिकै गएर सोधेँ । आइन्स्टाइनले चन्द्रशमशेर देखिकाहरूले खाएर विसर्जन गरेको मलको पहाड भएको र यसमाथि अनुसन्धान गर्दै गरेको जिकिर गरे । 

अलि पर केही फरक प्रकुतिका दृश्य देखिए, यत्रतत्र छरिएका युवाका लाश, केही लाश स्कुले ड्रेस लगाएका बालबालिकाका थिए, हतारहतार आत्तिंदै आफ्नो किताब र कपीमा लागेको रगत सफा गर्दै थिए, कोही साना देखिने लाश खाडी जान माला र टीका लगाएका अनि हातमा ठूलो पासपोर्टमा लागेको रगत सफा गर्दै थिए । केही पूरा शरीर जल्दै गर्दा पनि आफ्ना हातका पासपोर्ट निभाउन दमकललाई फोन गर्दै थिए । केही थान लाश संविधानका तितरवितर भएका पाना बटुल्दै थिए । केही लाश भर्खरै एयरपोर्टबाट झरेका जस्ता, हातमा पासपोर्ट देखाउँदै आफ्नै कफिन तान्दै थिए, सबै हतारमा देखिन्थे । मेरा बचेका चार इन्द्रियले धान्न नसक्ने दृश्य । म एकछिन हराएँछु । झसंग भएँ, जब होस आयो त्यो एकछिन १७ वर्ष भएछ । तर म हराएर झसंग भएर बिउँझिँदा यसबीचमा एउटा जोडीले प्रेम गरेर, बच्चा जन्माएर त्यो बच्चा १७ वर्षको भैसकेछ । 

मलाई नाटक छुट्यो होला भन्ने डर लाग्यो, यताउता हेरेँ । पर ‘कलाले बन्दुकबाट निस्केको गोली त रोक्न सक्दैन तर बन्दुक चलाउने हातलाई अर्को गोली चलाउनबाट रोक्न सक्छ’ भनेर लेखेको ठूलो बोर्ड देखेँ, नाटक देखाउने ठाउँ यही होला भनेर त्यतै दौडिएँ । 

तर गेटमा सुरक्षाकर्मीको ठाउँमा एउटा रोबोट पो रहेछ । त्यो रोबोटले मलाई मान्छे हो भनेर डिटेक्ट नै गरेन । म मान्छे हुँ, म पनि नाटक नै गर्छु भने तर मरिगए पत्याएन, तैँले गर्ने जस्तो नाटकले मान्यता पाउँदैन भन्यो । तँबाट भित्र संक्रमण हुन सक्छ, त्यसैले खोप कार्ड देखाउन भन्यो, मैले कहिल्यै लाएकै थिइनँ, लगाएँ तर हरायो भनेँ तर यो कुरा पनि मरिगए पत्याएन । खोप नलगाइ भित्र छिर्न नमिल्ने भयो । एउटा नाटक हेर्न विश्व इतिहासमा यति संघर्ष सायदै कसैले गरेको होला । 

त्यो रोबोटले मलाई दोस्रो विकल्प दियो, खोप नलगाएकाहरूले परीक्षा पास गरेपछि छिर्न पाउने भएकाले चार प्रश्नको उत्तर मिलाउन भन्यो । 

पहिलो प्रश्न थियो, ‘के तपाईंले आजसम्म पढेका सबै कुरा बिर्सन सक्नु हुन्छ ?’ मैले धेरै बिर्सने कोसिस गरेँ तर सकिन । मैले सक्छु, बिर्सें भनेर झूट पनि बोलेँ तर रोबोटले डिटेक्ट गरिहाल्यो । 

दोश्रो प्रश्न थियो, ‘के तपाईं आँखा खोलेर नदेख्न सक्नु हुन्छ, कान खोलेर नसुन्न सक्नु हुन्छ ?’ मैले कोसिस गरेँ तर त्यो पनि सकिनँ । यहाँ पनि फेल भएँ । 

तेश्रो प्रश्न, ‘देशको बयान गर्नुस् ।’ 

यो प्रश्नचाहिँ सारै सजिलो सोध्यो, मैले आँखा चिम्लेरै उत्तर दिएँ । 

धरोहर बन्न नसकेको धराहरा, मुसाजस्तो अनुहार भएको सिंहदरबार, डोजर आतंकले कुरूप बनाइएको सुन्दर देश, राजनीति सधैं अशान्त हुने अशान्तहरूको शान्त देश । स्वास, चेतना र मासु विदेश बेचेर हाड हावामा हल्लिरहेको कंकाल बहादुरहरूको देश । सुन्दर, शान्त, स्वाभिमानी, समृद्ध मेरो देश... म धाराप्रवाह बोल्दै थिएँ । उसले बोल्दाबोल्दै बीचमै रोकिदियो । 

लगत्तै उसले चौथो प्रश्न सोध्नुअघि नै मैले फरक तरिकाले देशको अझ बयान गरेँ, रामको देश, राम शाहको देश, सीताको देश, सतीले सरापेको देश, बुद्धको देश, बुद्धुहरूको देश, विविधताको देश, यलम्बरको देश, पृथ्वीनारायण शाहको देश, सगरमाथाको देश, पानीको देश, खानीको देश, विदेशीको आँखाको नानीको देश । 

भाषणको व्यापार गर्ने देश । समाजलाई डरको जलप लगाएर त्यो डर जनतालाई नै बेच्ने देश । बुद्ध बेचेर बुद्धुहरू किन्ने मेरो देश । विभिन्न देशका चिहानबाट अस्तु ल्याएर चम्किला बट्टाहरूमा प्याकेजिङ गरी एउटै चिजलाई, फरक–फरक भन्दै वर्षौंसम्म नयाँ नयाँ रंगमा बेचिरहन सक्ने व्यापारी र किनिरहन सक्ने उपभोक्ता भएको अग्रगामी विश्वकै एकमात्र देश । 

पत्रकारिता, कला र सहित्य सधैं सरकारको अ–पोजिसनमा हुनु पर्छ भन्दै खोक्रो सिद्धान्तको व्यापार हुने देश । उपभोक्ता भन्दा व्यापारी अनि जनताभन्दा बढी राजनीतिज्ञ भएको भद्भुत देश । विदेशीहरूको पैसा नदेखिने गरी खैनीजस्तो मुखभित्र दाँतको कुनामा चिपिक्क च्यापेर, आफ्नै जुत्तामा पिचिच्क थुकेर, पुक्क उठेको ओठ उठाउँदै नबुझिने गरी त्यही पैसा दिनेहरूलाई गाली गर्न सक्ने स्वभिमानी, महान्, वीर, नैनिकवान् जनता र नेता भएको विश्वको एक मात्र अद्भुत असाधारण देश । चेतनशील र विज्ञहरू विद्यार्थी अनि अनपढ र चेतनहीनहरू समाजका बौद्धिक अनि गुरु वर्ग भएको देश । 

विश्वमा कसैले नकिन्ने किनिदिने र कसैले बेच्न नसक्ने बेचिदिने, बेचिइने मेरो देश ।

हाम्रो परिवर्तित समाजशास्त्र र राजनीतिक यात्रामा हामीले के के मात्र बेचेनौं ! 

जनताले चेतना बेचे, राजनीतिज्ञले जनतै बेचे । कार्यकर्ताले इमान बेचे, त्यसपछि समाजले आँखा बेच्यो, बेच्ने र किन्ने होडबाजीमा बचेका चारै इन्द्रिय बेच्यो । 

अनि अक्सिजनले रुख बेच्यो, पानीले हिमाल बेच्यो, मुसाले देशको नक्सा बेच्यो, सपनाले सिंगो नेपालीको निन्द्रा बेच्यो, अचेतनाले शिक्षा बेच्यो, धर्मले डर बेच्यो, नेताले पटपटी फुटेको गरिब जनताको पैताला बेचे, विज्ञले अज्ञानता बेचे, मयूरले आफ्नो शरीरको सम्पूर्ण प्वाँख बेच्यो । यसरी नेपाल समृद्ध बन्यो । अनि यस समृद्ध नेपालमा, मैले तपाईंलाई बेचेँ, तपाईंले मलाई । 

त्यससँगै हामीले मानवताकै आश बेच्यौं । 

मेरो कुरामा बल्ल रोबोट सहमत भएछ, ध्यानमग्न भएर सुनिरहेको छ । यो उत्तर चाहिँ मिलेछ । तर हैन रहेछ । बेटरी सकिएछ । यही मौका छोपेर म भित्र दौडिएँ । 

अहिले समय रोकिएको छ । यो समय हिरण्यकश्यपुको वध भएको समय हो । यो न हिजो हो, यो न आज हो, न यो भोलि हो । न दिन हो, न रात हो, यो न पुण्य हो न पाप हो, न आकाश हो न पृथ्वी, न जल न अग्नि । मार्केजको म्याजिकल रियालिजममा साल्भादोर डालीको चित्र मिसाएर किरण मानन्धरले विचित्रको चित्र घोलेजस्तो । 

अहिले रेमिट्यान्सको बोर्डमा बनेको चम्किलो र्‍याम्पमा भव्य क्याटवाक हुँदैछ । 

एउटा ठूलो प्वाँखविहीन मयूर पुक्क उठेको भुँडी हल्लाउँदै नाङ्गै क्याटवाक गर्दैछ, प्वाँख भएकाहरू पछाडि अँध्यारोमा कोरस भएर उभिएका छन् । उसको आफ्नै चाल छ, सान छ । शरीरमा बचेको जम्मा एउटा प्वाँखपछाडि पुच्छरबाट फुत्त तानेर भन्दैछ– म त सबैभन्दा सुन्दर पन्छी हुँ नेपालको, चिन्नु भएन ? म मयूर क्या ! 

दुईपटक डढेर भित्रैबाट जीर्ण भएको सिंहदरबार धूवाँ उडाउँदै, खरानी टकटकाउँदै क्याटवाक गर्दै छ र भन्दै छ– म त इतिहास हुँ, धरोहर हुँ, सम्पदा हुँ, मैले देश बनाएँ । वाणले घाइतेको म अश्वत्थामा हुँ । म साक्षी हुँ, म द्रष्टा हुँ । म पुण्य हुँ, म पाप हुँ । 

खिया लागेको हावा मात्र आउने धारो, पटपट फुटेको तराईको जमिनको जुत्ता लगाएर क्याटवाक गर्दर्र्ैछ र गर्वका साथ भन्दैछ– म त विश्वकै जलस्रोतको धनी देशको धारो हुँ । चिन्नु भएन, म मेलम्ची क्या ! 

अचानक चलिरहेको कार्यक्रम तितरवितर हुने गरी पिकासोको क्युविज्म चित्रजस्ता आकारका मुसाहरू अचानक हेलिकप्टरबाट नयाँ पाँचौं (इसान) ढोकाबाट अवतरण भए र हजारौं चिलहरू जमिनका प्वाल (छैटौं ढोका)बाट निस्किए अनि तिनीहरूलाई सेक्युरिटी दिए । यति ढिलो गरी कार्यक्रमको बीचमा यति शानसँग आएर बस्ने पक्कै ठूलै मान्छे हुनु पर्छ । हो रैछ, पहिलो सिटमै बसे । उनीहरूका अगाडि १७ परिकार राखिए, टेबलमा २ वटा बोतलमा राखिएको पञ्चायतकालमा बनेको ५३ वर्ष पुरानो मदिरा खोले र लियानार्दो दाभिन्चीको चित्र ‘लास्ट सपर’ को पोजमा बसेर ज्युनार गर्न थाले । अनि बेसूरमा गीत गाउन थाले । पछाडि अँध्यारोमा बसेका कोरसले धानेको छ तिनको सूर । क्याटवाक जारी छ । 

पर अँध्यारो कुनाको अन्तिम सिटमा बसेर टाउको तन्काएर केही थान दर्शक हेरिरहेका छन्, जसमा केही थान कर्णालीका गरिब जनता, केही थान तराईका दलित, केही थान निर्मला र केही थान विदेशबाट भर्खरै फर्किएका वीर लाशहरू आफ्नो कफिनको बाक्साबाट टाउको तन्काएर हेर्दैछन् । 

मुसाहरू रेमिट्यान्सको बोर्डको मन्चमा चढे र नाङ्गो मयूरलाई उत्कृष्ट घोषणा गरे, प्वाँखसहितका मयूरहरूले पछाडिबाट ताली बजाए, अवार्ड दिन मञ्चमा सिंहदरबारलाई पनि आमन्त्रण गरियो, विशाल सिंहदरबार पनि तनक्क तन्केर ठिंग उभियो र गर्ल्याम्म ढल्यो । यसरी ढल्यो जसरी महाभारतको युद्धमा कर्ण । अनि सिंहदरबारका रथका पांग्रा वाग्मतीका ढलमा भासियो । प्वाँख भएका मयूरहरू छेकिए, कोरस गाउने उस्तादहरू रोकिए । 

 अब मैले, आँखा खोलेर पनि केही देखिनँ, कान खोलेरै पनि केही सुनिनँ, आजसम्म पढेका सबै बिर्सिएँ ।

टाढा क्षितिजमा रातो हल्का प्रकाश देखियो, त्यो सूर्योदयको थियो या सूर्यास्तको छुट्याउन कठिन भयो । किनकि, मैले आफ्ना शरीरका सबै इन्द्रियहरू बेचिसकेको रहेछु । 

मेरो मुटुको घण्टाघरले १२ बजेको घण्टी हान्यो, शून्य समयमा एउटा भारतीय प्रसिद्ध लेखक, पत्रकार घुवीर सहायको आवाज टाढा मधुरो सुनियो– जब घर, समाज र देश पीडामा टुक्रिरहेको हुन्छ, आदर्शवादी देखिने धेरै मानिस त्यसलाई बचाउने नाममा, बचाउन हैन, त्यसमा आफ्नो हिस्सा स्थापित गर्ने होडबाजीको दौडमा हुन्छन् ।

विमल सुवेदी सुवेदी थिएटर भिलेज नेपालका निर्देशक हुन् ।

Link copied successfully