म अपांगता भएको व्यक्ति पनि हुँं । त्यसैले अपांगता भएका व्यक्तिहरूप्रति राज्यको दायित्व केवल दया देखाउनु हैन, उनीहरूको मौलिक अधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ । सबै सार्वजनिक स्थान, यातायात, शिक्षण संस्था, सरकारी कार्यालयहरू अपांगता व्यक्तिका लागि सहज र अनुकूल बनाइनुपर्छ ।
नेपालको इतिहासमा जेन–जी आन्दोलन एक सानदार विद्रोह त बन्यो । के यो आन्दोलन साँच्चै सफल भयो त ? अन्तरिम सरकार नै बनाउनका निम्ति यो आन्दोलन गरिएको हो र ? यति धेरै मानिसको हत्या भएको हो त ? नयाँ सुधारिएको नेपालका लागि यी ज्यान जानुलाई बलिदान भनिएला । म भन्छु, यो सबै हत्या थियो । पहिले सरकारबाट भएको हत्या । त्यसपछि अराजक भीडले गरेको हत्या ।
कोही पनि मानिस यो शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउन सकिन्छ भनेर सडक आएका थिएनन् । यहाँ सबै निर्दोषहरूको अकालमा ज्यान गएको छ । जुन तरिकाले ती निर्दोषहरूको ज्यान गयो, त्यसका आधारमा यो आन्दोलन सफल भयो भनेर रमाउने ठाउँ कसैलाई छैन । सायद केही मानिसहरूको आडम्बर पूरा भयो या अहंकार शान्त भयो होला ।
यो प्रस्ट थियो, जेन्जी आन्दोलन भ्रष्टाचार, सरकारको अहंकार, खराब राजनीतिक प्रवृत्ति र पूरै राजनीतिक समूहहरूलाई खबरदारी गर्न । यो सम्पूर्ण नेपालीलाई थाहा भएको तर केही गर्न नसक्ने स्थितिबीच हामी चुप बस्दैनौं भनी खबरदारी थियो । त्यो पनि युवाहरू जो कुनै दलहरूमा लागेका थिएनन् । जो खुला थिए र जसलाई थाहा थियो देशमा जे भइरहेको छ, त्यो ठीक छैन ।
सरकार र राजनीति जनता र देशका लागि हो, कुनै पनि आफ्ना वरिपरिका सीमित व्यक्तिहरूका लागि हैन । त्यसैले पनि यो आन्दोलन कुनै पनि ठोस नेतृत्व, सिद्धान्त, संगठन र कार्यशैलीविना थियो । खबरदारीका लागि मात्र त त्यो जरुरी पनि थिएन । जो आएका थिए, हरेक व्यक्ति सुशासन र भ्रष्टाचारविरुद्ध उभिएका थिए । सरकारको रबैया र सबैतिरको खराब राजनीतिक प्रवृत्तिबाट सबै आजित पनि भइसकेका थिए ।
जेन–जी आन्दोलन सुशासन र भ्रष्टाचारविरुद्व जारी नै छ । यो सक्किएको भन्नै मिल्दैन । पावर र पदमा जोसुकै आओस्, ती सबै राष्ट्र र जनताप्रति जिम्मेवार हुनैपर्छ । जहाँ भीड त्यहाँ ठीक्क भएर हुँदैन । नेताहरूलाई विनासित्तिमा टाउकोमा टेकाएर हुँदै हुँदैन । हामीसँग हाम्रो प्रजातान्त्रिक अधिकार छ ।
युवाहरूले परिवर्तनपछि रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा सुधार आशा गर्छन् । देशमा युवाहरू नेतृत्व, नवीनता र समाज सेवामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । समस्याहरू समाधान गर्न शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रहरूमा व्यापक सुधार गर्नुपर्छ ।
अपांगता भएकाहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष व्यवस्था गर्नु आवश्यक छ । युवा नै देशमा नयाँ विचार, स्टार्टअप र सामाजिक उद्यमहरू ल्याउने मुख्य शक्ति हुन् । टेक्नोलोजी र रचनात्मकताको प्रयोग गरेर समस्याको समाधान गर्न सक्नुपर्छ । शिक्षा, स्वास्थ्य, महिला अधिकार, पर्यावरण जस्ता क्षेत्रमा युवाहरू सचेतना फैलाउने, आन्दोलन चलाउने र सकारात्मक परिवर्तनको माग गर्ने मुख्य हतियार हुन् ।
राष्ट्र निर्माणका स्तम्भ देशको भविष्यका लागि स्ट्रक्चर निर्माण, शिक्षा, प्रविधि र स्वास्थ्य जस्ता क्षेत्रहरूमा काम गर्ने मुख्य श्रमशक्ति युवा नै हुन् । युवाहरूले पुरानो सोच र भ्रष्टाचारमा आधारित राजनीतिलाई अस्वीकार गरी पारदर्शिता, योग्यता र विचारमा आधारित नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्न सक्छन् । राष्ट्रिय एकताको सेतु जात, भाषा, धर्म, क्षेत्रीयताभन्दा माथि उठेर राष्ट्रिय एकता र साझा पहिचान कायम गर्ने काम युवापुस्ताले नै गर्न सक्छ ।
म एउटा खेलाडी पनि भएको नाताले खेलकुदमा पनि थुप्रै परिवर्तन आवश्यक छ । खेलकुदलाई योग्य ढाँचामा लैजान राजनीतीकरण हटाइनुपर्छ । खेल संस्थाहरूमा हस्तक्षेप गर्ने र दलगत आधारमा नियुक्ति गर्ने प्रचलन पूर्ण रूपमा बन्द हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता खेल संघहरूको कार्यविधि, आय–व्यय पारदर्शी हुनुपर्छ । एथलिटहरूलाई पनि आफ्नो प्रदर्शनका लागि जवाफदेही बनाइनुपर्छ ।
देशभरि अन्तर्राष्ट्रिय मानकको मैदान, प्रशिक्षण केन्द्र, वैज्ञानिक प्रशिक्षण विधि र खेल चिकित्साको व्यवस्था हुनुपर्छ । युवा प्रतिभा पहिचान र विकास स्कुल र स्थानीय स्तरबाटै प्रतिभा पहिचान गरी दीर्घकालीन योजनाअन्तर्गत उनीहरूको विकास गर्ने कार्यक्रम ल्याइनुपर्छ । खेलकुदलाई उद्योगको रूपमा विकास गर्न खेलकुदमा निजी लगानी, प्रायोजक, मिडिया कभरेज र एथलिटहरूको करियर सुरक्षित बनाउने प्रबन्ध गर्नुपर्छ ताकि खेलाडीहरूले यसलाई एउटा व्यवसायको रूपमा हेर्न सकुन् ।
रटन्ते विद्या र परीक्षामध्ये केन्द्रित शिक्षालाई व्यावहारिक, रोजगारमूलक र नवाचार बनाउनुपर्छ । देशभित्रै रोजगारी सिर्जना गर्न आर्थिक नीति, उद्यमशीलतालाई प्रोत्साहन र योग्यतामा आधारित नियुक्ति प्रणाली लागू गर्नुपर्छ । हरेक क्षेत्रमा योग्य, इमान्दार र दूरदर्शी नेतृत्व आवश्यक छ । युवाहरूले आफैंले नेतृत्व गर्ने सोच बनाउनुपर्छ । यो हुन्न, यस्तै चल्छ, घुस दिएर काम गर जस्ता नकारात्मक मानसिकतालाई परिवर्तन गरी सकारात्मक, समाधानमूलक र नैतिक सोच प्रोत्साहन गर्नुपर्छ ।
म अपांगता भएको व्यक्ति पनि हुँं । त्यसैले अपांगता भएका व्यक्तिहरूप्रति राज्यको दायित्व केवल दया देखाउनु हैन, उनीहरूको मौलिक अधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ । सबै सार्वजनिक स्थान, यातायात, शिक्षण संस्था, सरकारी कार्यालयहरू अपांगता व्यक्तिका लागि सहज र अनुकूल बनाइनुपर्छ ।
सबै विद्यालयहरूमा विशेष शिक्षक, सामग्री र वातावरण उपलब्ध गराएर अपांगता भएका बच्चाहरूलाई मूलधारको शिक्षामा समावेश गर्ने वातावरण बनाइनुपर्छ । आर्थिक सशक्तीकरणमा उनीहरूका लागि रोजगारीको आरक्षण, स्वरोजगारका लागि सहज ऋण, प्रशिक्षण कार्यक्रम र व्यावसायिक परामर्शको व्यवस्था हुनुपर्छ । स्वास्थ्य सेवा र पुनर्स्थापना उचित चिकित्सा, भौतिक चिकित्सा, कृत्रिम अंग आदि सहज र सस्तो मूल्यमा उपलब्ध गराउनुपर्छ ।
अपांगता भएका व्यक्तिहरूविरुद्ध हुने भेदभावलाई कडाइको साथ रोक्ने कानुन बनाउनुपर्छ र समाजमा उनीहरूप्रति सकारात्मक सोच विकास गर्न जागरूकता कार्यक्रम चलाउनुपर्छ । सामूहिक रूपमा सोच्ने, योजना बनाउने र कार्यान्वयन गर्ने आवश्यकता छ । पारा खेलकुदलाई विशेषगरी अपांगता भएका व्यक्तिहरूका लागि शारीरिक, मानसिक र सामाजिक विकासको महत्वपूर्ण माध्यम मानिन्छ । नेपालमा यसलाई विस्तार र बृद्धि गर्न बहुआयामिक परिवर्तन आवश्यक छ ।
पारा खेलकुदलाई प्रवर्द्धन गर्ने विशेष नीतिहरू बनाउनु आवश्यक छ । यसका लागि खेलकुदसम्बन्धी सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने र अपर्याप्त नीतिहरू निर्माण गर्ने राष्ट्रिय खेलकुद परिषद्लाई पारा खेलकुदको विकासका लागि अलग संस्थागत ढाँचा विकास गर्नुपर्छ । यसले खेलाडीहरूको वृत्तिविकासमा थप योगदान पुर्याउन विशिष्ट रंगशाला र खेल मैदानहरू पारा खेलाडीहरूका लागि पहुँचपूर्ण डिजाइन गरिएको खेल पूर्वाधारको निर्माण गर्नुपर्छ ।
यसका लागि नेपालगन्ज, पोखरा रंगशाला, बेलझुण्डी रंगशाला, च्यासल रंगशाला जस्ता परियोजनाहरूमा पारा खेलकुदका लागि विशेष व्यवस्था मिलाउनु आवश्यक छ । आधुनिक प्रविधि र सहायक उपकरणहरूको प्रयोग गरेर पारा खेलाडीहरूका लागि खेल्ने वातावरण सुधार्नुपर्छ । पारा खेलकुदलाई बढावा दिनका लागि सरकारले कर छुट, अनुदान र अन्य आर्थिक प्रोत्साहनका कार्यक्रमहरू ल्याइनुपर्छ । खेलकुद क्षेत्रमा लगानी वृद्धि गर्न निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्छ, सीआरएसको माध्यमले पनि यसलाई सहयोग गर्न सकिन्छ ।
पारा खेलकुदको महत्व र आवश्यकता बारेमा सामाजिक जागरूकता बढाउन अभियानहरू चलाउन आवश्यक छ । पारा खेलकुद प्रतियोगिताबारे मिडियामा पनि स्थान पाउनुपर्छ र यसलाई प्रमुखताका साथ प्रस्तुत गर्नुपर्छ । खेल कूटनीतिमार्फत् अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्छ ।
यसले आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा गर्न मद्दत गर्छ अन्तर्राष्ट्रिय स्तरबाट पारा खेलकुदको प्रविधि र प्रशिक्षणका लागि आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । पारा खेलाडीका लागि मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । यसले खेलाडीहरूमा आत्मविश्वास बढाउन मद्दत गर्नेछ । नियमित शारीरिक उपचार र पुनर्स्थापना सेवाहरू प्रदान गर्नुपर्छ ताकि खेलाडीहरूले आफ्नो शारीरिक क्षमताअनुसार प्रदर्शन गर्न सकुन् ।
पारा खेलकुदसम्बन्धी शिक्षण कार्यक्रमहरू शैक्षिक संस्थाहरूमा समावेश गर्नुपर्छ । पारा खेलकुदको विकासका लागि अनुसन्धान र विकासलाई प्रोत्साहन गर्नुपर्छ । यसबाट नयाँ तरिका र उपकरणहरू विकास गर्न सकिन्छ । पारा खेलाडीका लागि विशेष पुरस्कार योजना स्थापना गर्नुपर्छ ।
पारा खेलाडीहरूलाई समाजमा उचित सम्मान दिनुपर्छ । पारा खेलकुदका विभिन्न पहलहरूको नियमित मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्छ । यसबाट आवश्यक सुधारहरू लगाउन सकिन्छ । खेलकुदलाई राष्ट्रिय एकताको साधनको रूपमा प्रयोग गर्नुपर्छ ।
यसले देशको बहुआयामिक विकासमा सहयोग गर्छ । नेपालमा पारा खेलकुदलाई वृद्धि गर्न यी बहुआयामिक परिवर्तनहरू आवश्यक छन् । यसले न केवल अपांगता व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने मात्र नभई देशको समग्र विकासमा पनि योगदान पुर्याउने छ ।
