के नेपाली कन्टेन्ट क्रिएटर प्रभावशाली छन् ? 

इन्फ्लुएन्सर भन्नु केवल नाम होइन जिम्मेवारी हो ।आजको डिजिटल दुनियाँमा भ्युज, लाइक र कमेन्टलाई नै सफलता मानिन्छ। तर नाच्ने भिडियो, ट्रेन्डिङ रिल वा फेस देखाएर भ्युज कमाउनु मात्र इन्फ्लुएन्सर हुनु होइन ।

श्रावण ४, २०८२

महेश गौतम

Are Nepali content creators influential?

What you should know

नयाँ पुस्तामा एउटा जुनुन देखिन्छ त्यो हो, कन्टेन्ट क्रिएटर बन्ने अनि इन्फ्लुएन्सर मार्केटिङ गर्ने । तर के यो काम त्यति सजिलो छ ? अनि यो काममा जे भइरहेको छ त्यो सबै ठिक तरिकाले भइरहेको छ ? यसबारे छलफल र बहसको खाँचो छ । 

नेपालमा कन्टेन्ट क्रिएटर कति होलान् ? यसको ठ्याक्कै यकिन जवाफ त छैन । तर यति चाहिँ भन्न सकिन्छ, युवा पुस्ताको एउटा भीडमा तपाईंले एउटा ढुंगा हान्नुभयो भने कम्तीमा एकाध कन्टेन्ट क्रिएटरलाई त पक्कै लाग्छ । तर तिनले भनेजस्तो ती खासमा कन्टेन्ट क्रिएटर नै हुन् कि हैनन् भनेर भन्न चाहिँ थप बहस गर्नैपर्छ । 

तपाईंले सामाजिक सञ्जाल स्क्रोल गर्दा ध्यान दिनुभयो भने बायोमा पब्लिक फिगर लेखिएको रिङ लाइटसहित भिडियो बनाउने, ट्रेन्डिङ अडियोलाई पछ्याउने मान्छेका अनुहार देखिहाल्नु हुन्छ । 

तर के उनीहरूले साँच्चै कसैलाई प्रभाव पारिरहेका छन् ?

आजभोलि कन्टेन्ट बनाउनेको संख्या त बढेको छ, तर सार्थक कन्टेन्ट र प्रभावशाली उपस्थिति भने हराउँदै गएको छ । इन्फ्लुएन्सर भन्नु केवल नाम होइन जिम्मेवारी हो ।आजको डिजिटल दुनियाँमा भ्युज, लाइक र कमेन्टलाई नै सफलता मानिन्छ। तर नाच्ने भिडियो, ट्रेन्डिङ रिल वा फेस देखाएर भ्युज कमाउनु मात्र इन्फ्लुएन्सर हुनु होइन ।आज धेरैले आफूलाई 'इन्फ्लुएन्सर' भनेर चिनाइरहेका छन्, तर उनीहरूको कन्टेन्टबाट कोही प्रभावित भएको छैन, ब्रान्डले व्यापार पाएको छैन, समाजमा कुनै सन्देश पुगेको छैन।

सरसर्ती हेर्दा इन्फ्लुएन्सर इकोसिस्टममा यस्ता समस्या देखिन्छन्:

- एकता छैन, सबै आ-आफ्नै दौडमा छन् । 

- ब्रान्डको लगानीबाट ठोस नतिजा आउँदैन । 

- घमन्ड धेरै छ, तर प्रभाव कम । 

- देखावट धेरै छ, तर वास्तविकता शून्य । 

इन्फ्लुएन्सर मार्केटिङ र कन्टेन्ट क्रिएसनमा सानादेखि ठूला सबै खाले ब्रान्ड र कम्पनीले लगानी गरिरहेको देखिन्छ । तर के यो लगानीबाट उपलब्धि पनि छ ? नेपालका धेरै व्यवसाय, विशेषतः एफएमसीजी (फास्ट–मुभिङ कन्जुमर गुड्स) जस्ता छन् । अर्थात् यो शब्दले ती उपभोग्य वस्तु जनाउँछ जुन सस्तो मूल्यमा बजारमा उपलब्ध हुन्छन्, छिटो छिटो बिक्री हुन्छन्, र कम समयमा उपभोग गरिन्छन् । यी वस्तुहरू हाम्रो दैनिक जीवनको अनिवार्य हिस्सा हुन्छन्–  जसको उपभोग मानिसहरूले निरन्तर रूपमा गरिरहन्छन्।

सजिलो भाषामा भन्नुपर्दा, एफएमसीजी भन्नाले यस्तो सामान जसलाई तपाईँले आज किनेर भोलि वा केही दिनमै प्रयोग गर्नुहुन्छ। यी वस्तुलाई धेरै पटक दोहोर्‍याएर किनिन्छ, किनभने आवश्यकता दैनिक वा हप्ताको आधारमा हुन्छ। नेपाल जस्तो देशमा, एफएमसीजीका उदाहरण हाम्रो घरको भान्सादेखि बाथरुमसम्म सहजै भेटिन्छन्। जस्तै: चाउचाउ, बिस्कुट, चिनी, नुन, मसला, चिया, तेल, कोल्ड ड्रिंक्स, जुस, साबुन, स्याम्पु, टुथपेस्ट, फेस वास, डिटर्जेन्ट) क्षेत्रका ब्रान्ड । यस्ता सबै सामानका उत्पादकले अहिले इन्फ्लुएन्सरमार्फत मार्केटिङ गरिरहेका छन्। तर सोध्नुपर्छ– के उनीहरूले त्यसबाट लाभ उठाएका छन् ?

कन्टेन्ट क्रिएटरहरुले भ्युज त बटुलिरहेका छन् तर के त्यसबाट व्यापारमा वृद्धि भइरहेको छ ? यो प्रश्नको उत्तर खोज्ने हो भने उज्यालो तस्बिर देखा पर्दैन । भ्युज त छ तर त्यसले व्यापारमा सकारात्मक असर पारिरहेको छैन । भ्युज त छ तर त्यो उपभोक्तामा बदलिएको छैन । किनकि धेरैजसो भिडियोमा देखिने भ्युज भारत, पाकिस्तान वा अन्य देशका दर्शकबाट आइरहेको देखिन्छ । यसबारे विस्तृत अध्ययनको खाँचो भने देखिन्छ । 

भ्युज कहाँबाट भइरहेको छ भनेर मैले एक जना चर्चित इन्फ्लुएन्सरको भिडियोको इन्साइट (दर्शक विवरण) अनुमति लिएर हेरेँ । जसबाट निष्कर्ष निस्कियो नेपाल बाहिर रहेकाले भिडियो हेरिरहेका छन् तर उनीहरू यहाँको बजारको हिस्सा होइनन् । मैले इन्फ्लुएन्सरको भिडियोको इनसाइटमा नेपाली र भारतीय दर्शकको अनुपात स्पष्ट रूपमा देख्न सकेँ । हरेक हप्ता एकभन्दा बढी ब्रान्डसँग सहकार्य गर्ने यी इन्फ्लुएन्सरबाट नेपाली ब्रान्डले के फाइदा लिइरहेका छन् भन्ने सोचेर म चिन्तित भएँ । 

यदि तपाईंको उत्पादन वा सेवाका ग्राहक नेपालभित्र रहेका नेपाली हुन भने यस्ता  इन्फ्लुएन्सरबाट तपाईँलाई केही फाइदा हुनेछैन । आज पनि धेरै ब्रान्ड इन्फ्लुएन्सर छान्दा यस्ता प्रश्न सोध्दैनन्:

- उनीहरूको मुख्य दर्शक को हो?

- कन्टेन्ट कहाँ-कसलाई लक्षित गरिएको छ?

- उनीहरूले कुनै उत्पादन बिक्रीमा मद्दत गरेका छन्?

यस्तो प्रश्न सोध्ने अभ्यास नै नभएकाले के हुन्छ भने, पैसा खर्च हुन्छ, प्रचार देखिन्छ, तर प्रभाव हुँदैन। नेपालका कन्टेन्ट क्रिएटरमा आफ्नै खाले समस्या छन् । तीमध्ये सबैभन्दा ठूलो समस्या भनेको ट्रेन्ड पछ्याउने तर सिर्जनात्मक काम पटक्कै नगर्ने मुख्य हो । 

धेरै कन्टेन्ट क्रिएटर अहिले ट्रेन्ड पछ्याउनमै व्यस्त छन्। जस्तो कि उनीहरू भारतमा ट्रेन्ड भएको अडियो, नाच वा स्टाइल भोलिपल्ट नेपालमा भित्र्याउँछन् । 

नेपालको कन्टेन्ट इकोसिस्टम अहिले मौलिक सोचभन्दा ट्रेन्ड पछ्याउने प्रवृत्तितर्फ बढी आकर्षित भएको देखिन्छ। विशेष गरी जब हामी स्थापित इन्फ्लुएन्सरका प्रोफाइल हेर्छौँ, त्यहाँ पनि नयाँपनको खोजभन्दा भारतीय ट्रेन्डको नक्कल बढी देखिन्छ।

उदाहरणका लागि, तपाईँले प्रियंका कार्की, जो नेपालकै सबैभन्दा धेरै ब्रान्ड डिल गर्ने सेलेब्रिटी हुन्, उनको फेसबुक रिल्स भिडियो हेर्नुभयो भने थाहा पाउनुहुन्छ । भारतमा केही दिनअघि भाइरल भएको अडियो र आईडियाको प्रतिलिपि उनको सामाजिक सञ्जालमा बढी देखिन्छ । यस्तै चित्र चर्चित इन्फ्लुएन्सर सिम्पल खरेलको सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ । उनको सामाजिक सञ्जालमा पनि भारतीय ट्रेन्डिङ अडियो प्रयोग भएको देखिन्छ । त्यसैले भन्नैपर्ने हुन्छ कन्टेन्ट क्रिएटरमा मौलिकता र नयाँपनको खडेरी पर्दै गएको छ । 

मौलिकताको सट्टा ट्रेन्ड पछ्याउने सजिलो बाटोले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने चिन्ताको विषय हो । यसले नेपालको डिजिटल कन्टेन्ट स्पेस भीड उत्पादन गर्ने कारखाना बन्ने तर त्यहाँबाट नयाँ कुरा सिर्जना निर्माण नहुने जोखिममा पर्छ।

हिजो आज नयाँ सोच, मौलिकता, अनुसन्धान, स्थानीय विषयवस्तुमा आधारित कन्टेन्ट– दुर्लभ बनिसकेको छ। यस्तो अवस्थाले गर्दा कन्टेन्ट अल्पकालीन मात्रै हुँदैन दर्शकको मनमा कुनै प्रभाव छोड्न नसक्ने पनि हुन्छ । अनि त क्रिएटरको वास्तविकता धुमिल हुन्छ । 

एकाध क्रिएटर यस्ता पनि छन्, जो काम गर्न अघि रिसर्च गर्छन्, मौलिक विषय निकाल्छन्, र नेपाली समाजका लागि उपयोगी कन्टेन्ट बनाउँछन्  । तर यिनीहरूको संख्या सारै नगन्य छ । त्यसैले अहिलेको आवश्यकता भनेको भ्युजका लागि नक्कल होइन, विश्वासको लागि मौलिकता निर्माण गर्नु हो।

नेपालको क्रिएटर इकोसिस्टम अहिले जहाँ पुगेको छ– त्यो धेरै हल्ला, थोरै प्रभाव को स्थिति हो। अब हामी यो अवस्थाबाट कसरी पार पाउने त ? त्यसका लागि केही काम गर्न सकिन्छ । 

-  सार्थक प्रभाव–जानकारी दिने, उत्प्रेरणा जगाउने, वा बिक्री बढाउने कन्टेन्ट

-  पेसागत अनुशासन–समयमै काम, स्पष्टता, पारदर्शिता

-  सहकार्य र समुदाय–प्रतिस्पर्धा होइन, सहकार्यको भावना

-  दर्शक केन्द्रित सोच–भ्यु होइन, 'दर्शकमा परेको असर' हेर्ने दृष्टिकोण

इन्फ्लुएन्सरको उपाधि मागेर होइन, काम गरेर कमाउने हो । त्यसका लागि क्रिएटर र ब्रान्ड दुवैका जिम्मेवारी छन् । क्रिएटरहरूले ट्रेन्डभन्दा पनि आफ्नो मौलिक शैली निर्माण गर्न प्रयास गर्ने, आफ्ना दर्शक को हुन् र मैले कसका लागि किन काम गरिरहेको छु भनेर सोच्ने अनि भ्युअर्सको संख्याभन्दा पनि त्यसबाट ब्रान्डले के फाइदा लिन सकेको छ भनेर विश्लेषण गर्ने शैलीको निर्माण गर्नुपर्छ । इन्फ्लुएन्सरहरुलाई पछ्याइरहेका ब्रान्डले पनि केही कुरामा विचार गर्नैपर्ने देखिन्छ । त्यो हो, इनफ्लुएन्सरको अनुयायी संख्या मात्र नहेर्ने । बरु उनीहरूले कस्ता कन्टेन्ट बनाइरहेका छन् र उनीहरूका कन्टेन्ट कस्ता दर्शकले हेर्छन् भने र जान्ने वा बुझ्ने ।  अनि कन्टेन्टले आफूले खोजेअनुसार कुनै सोच बदल्ने वा सन्देश दिने क्षमता छ कि छैन भनेर त्यो मूल्यांकन गर्नुपर्छ ।

त्यसैले केवल भ्युज होइन, प्रभाव खोज्नुपर्छ । नेपालमा प्रतिभा छ, कथा छन्, सुनाउने तरिका पनि छन् । तर त्यसलाई भ्युजको पछाडि लुकाउने होइन, सार्थक रूपमा प्रस्तुत गर्ने समय हो । अब हामीले सोध्नुपर्ने प्रश्न  भनेकै कति भ्युज आयो होइन, कसलाई कस्तो असर पर्‍यो भन्ने नै हो ।

महेश गौतम लेखक कन्टेन्ट क्रिएटर एनालिस्ट हुन् ।

Link copied successfully