विश्वभरि नै शिक्षकलाई विद्यार्थीको असफलता, घट्दो परीक्षा अंक र उनीहरूले सिर्जना नगरेका प्रणालीगत समस्याका लागि दोष दिने गरिन्छ
एक पटक फेरि नेपालमा शिक्षण पेसामाथि प्रहार गरिएको छ । शिक्षकहरूको तलब वा सुविधा कटौती गरेर होइन, शब्दहरूका माध्यमबाट उनीहरूमाथि प्रहार गरिएको हो । राजनीतिक तहबाट पछिल्ला केही महिनामा शिक्षण पेसाबारे हल्का टिप्पणी भएका छन् ।
हालै मात्र सार्वजनिक भएको एक टिप्पणीले शिक्षकको योगदान र कार्यसम्पादनलाई अन्य पेसासँग तुलना गर्दै उनीहरूको भूमिकामाथि प्रश्न उठाएको छ । यो एउटा चिन्ताजनक प्रवृत्तिको पछिल्लो कडी हो ।
यस्ता भनाइ असावधानीपूर्वक भनिएजस्तो देखिए पनि तिनको प्रभाव गहिरो र दीर्घकालीन हुन्छ । यी अभिव्यक्तिले व्यक्तिगत रूपमा शिक्षकलाई मात्रै अपमानित गर्दैनन्, बरु समग्र सार्वजनिक शिक्षा प्रणालीमाथि प्रश्न उठाउँछन् र एक यस्तो आदर्श पेसालाई कमजोर बनाउँछन्, जसको शक्ति ज्ञानप्रति समर्पण, मूल्यप्रतिको प्रतिबद्धता र सामाजिक न्यायप्रतिको आग्रहमा निहित हुन्छ । शब्दहरूको संवेदनशीलता केवल शिष्टाचार होइन, यो पेसाप्रतिको सम्मान र सार्वजनिक विश्वासको अनिवार्य अंश हो ।
सुरुमै यो कुरा स्पष्ट गर्न जरुरी छ कि, नेपालका सबै तहका सबै प्रकारका स्कुलमा काम गर्ने शिक्षकले कम काम गरिरहेका छैनन् । उनीहरू फरक ढंगले काम गरिरहेका छन् र प्रायः मानसिक र भावनात्मक रूपमा धेरैले सोचेभन्दा बढी काम गरिरहेका छन् । बार–बार शिक्षण पेसालाई निजामती सेवासँग तुलना गर्ने प्रवृत्ति छ । यदि देशका निजामती कर्मचारीले राज्य संयन्त्रलाई कायम राख्छन् भने शिक्षकले राष्ट्रको कल्पनालाई प्रज्वलित गर्छन् । कक्षाकोठा ९ देखि ५ बजेसम्मको कार्यालय होइन, यो निरन्तर निर्णय लिनुपर्ने, गहिरोसँग समर्पित हुनुपर्ने तर कहिल्यै जस नपाउने त्यागको एउटा क्षेत्र बनेको छ ।
शिक्षण एउटा नियमित काम होइन, यो एउटा यस्तो शिल्प हो– जसलाई उपस्थिति, निर्णय, भावनात्मक नियमन र तयारी चाहिन्छ । शैक्षिक मनोवैज्ञानिक फिलिप डब्ल्यू ज्याक्सनको महत्त्वपूर्ण अध्ययन ‘लाइफ इन क्लास रुम्स’ (१९६८) मा उल्लेख भएअनुसार शिक्षकले कक्षाकोठाको समयमा प्रतिमिनेट लगभग चारवटा र प्रतिदिन लगभग १५ सय निर्णय लिन्छन् । यी निर्णय शैक्षणिक विधिहरूको छनोटदेखि कक्षा व्यवस्थापन, द्वन्द्व समाधान, विद्यार्थीको प्रतिक्रियामा आधारित सूक्ष्म भावनात्मक समायोजनसम्मका हुन्छन् । यो निरन्तर, उच्च दाउको निर्णय लिने प्रक्रियाले मनोवैज्ञानिकहरूले भनेझैं शिक्षकलाई ‘निर्णय थकान’ को अवस्थामा पुर्याउँछ, जसले मानसिक थकान निम्त्याउँछ । छोटो समयमा धेरै निर्णय तीव्र रूपमा लिनुपर्ने अवस्थामा मानसिक तनाव सिर्जना हुन्छ, जसले अरू समस्या उत्पन्न नगर्ला भन्न सकिन्न ।
तर शिक्षणको संज्ञानात्मक भार एउटा मात्र आयाम हो । शिक्षकहरूले कक्षाकोठाबाहिर पनि पाठ तयार गर्न, गृहकार्य जाँच्न, अभिभावकसँग कुराकानी गर्न, तालिममा भाग लिन र विद्यालयस्तरका प्रशासनिक कार्य सम्हाल्न घण्टौं बिताउँछन् । नेपालमा, उनीहरूलाई नियमित रूपमा गैरशिक्षण कार्यहरू पनि तोकिन्छ, जसमा निर्वाचनका बेला मतदान अधिकृतको भूमिका निभाउने, जनगणना सर्वेक्षणमा सहयोग गर्ने वा स्वास्थ्य वा शिक्षा अभियानका लागि समुदायलाई परिचालन गर्ने जस्ता कार्यहरू पर्छन् ।
शिक्षकको कार्यभार साँझ र सप्ताहन्तमा पनि लम्बिएर फैलिन्छ र कार्यालयको वातावरणमा जस्तो, उमेर र अनुभवसँगै यो बोझ कम हुने होइन । शिक्षकप्रति कामका भावनात्मक र बौद्धिक माग सधैंजसो एकैखालको रहन्छ ।
आज नेपालका धेरै भागमा शिक्षकले एउटा जटिल र विरोधाभासी वास्तविकताको सामना गरिरहेका छन् । ग्रामीण र दुर्गम क्षेत्रमा कम जन्मदर, बढ्दो आन्तरिक गतिशीलता र व्यापक बाह्य बसाइँसराइका कारण विद्यार्थी भर्ना तीव्र गतिमा घटिरहेको छ । परिवार राम्रो अवसरको खोजीमा सहर वा विदेशमा सर्छन् । धेरै ग्रामीण विद्यालयमा अब विद्यार्थी संख्या तीव्र रूपमा घटेको छ, जसले शिक्षकमा विद्यालय बन्द हुने, जबरजस्ती सरुवा हुने र समुदायको समर्थन घट्ने चिन्ता बढाएको छ । यो यथार्थलाई नबुझी शिक्षकलाई प्रायः उनीहरूको नियन्त्रणभन्दा बाहिरका प्रवृत्तिका लागि अनुचित रूपमा दोष दिने गरिन्छ ।
यसैबीच, सहरी क्षेत्र र तराईका केही जिल्लामा शिक्षकले यसको विपरीत चुनौतीको सामना गर्छन्, भीडभाड भएका कक्षाकोठा जहाँ प्रायः ५० वा त्यसभन्दा बढी विद्यार्थी हुन्छन् । उनीहरू प्रायः कम स्रोतसाधन भएका विद्यालयमा काम गर्छन्, जहाँ विद्यार्थीको सिकाइ स्तर र आवश्यकता व्यापक रूपमा भिन्न हुन्छन् । शिक्षण कार्यका साथसाथै शिक्षकले विद्यार्थी अनुशासन र मानसिक स्वास्थ्यसँग सम्बन्धित बढ्दो चुनौतीलाई सम्हाल्नुपर्छ । यी मुद्दा विश्वव्यापी रूपमा शिक्षकका लागि तनावका महत्त्वपूर्ण कारक बन्न पुगेका छन् ।
सन् २०२२ को ओईसीडी शिक्षण र सिकाइ अन्तर्राष्ट्रिय सर्वेक्षणले सहभागी देशहरूमा ६० प्रतिशतभन्दा बढी शिक्षकले जागिरसम्बन्धी उच्चस्तरको तनाव भोग्नुपरेको कुरा पत्ता लगाएको थियो । यो तनाव प्रायः कक्षाकोठा व्यवस्थापन र भावनात्मक श्रमसँग जोडिएको थियो । बेलायतमा एजुकेसन सपोर्टद्वारा प्रकाशित टिचर वेलबिइङ (शिक्षक कल्याण) इन्डेक्स २०२१ ले ७७ प्रतिशत शिक्षकले कार्यभार, समर्थनको कमी र निरन्तर निगरानीका कारण आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको बताएका थिए । क्यानडामा राष्ट्रिय सर्वेक्षणले शिक्षकको एक महत्त्वपूर्ण अंशले विशेष गरी कोभिड–१९ महामारीपछि मानसिक थकान वा बर्नआउटको रिपोर्ट गरेको देखाउँछ ।
नेपालमा, गरिबी, पारिवारिक कठिनाइ, आघात वा सामाजिक बहिष्कारसँग संघर्ष गरिरहेका विद्यार्थीले प्रायः भावनात्मक र व्यावहारिक कठिनाइ भोगिरहेका हुन्छन् । शिक्षकहरूले यी चुनौतीलाई कुनै परामर्शदाताबिना, मानसिक स्वास्थ्य सेवाबिना र प्रायः आधारभूत कक्षाकोठा समर्थनबिना नै व्यवस्थापन गर्नुपर्ने अपेक्षा गरिन्छ । उनीहरूले आफ्नो सक्दो प्रयास गर्छन्– प्रायः एक्लै, कुनै पनि बच्चा पछाडि नपरोस् भनेर । जबकि केही शिक्षक घट्दै गएका गाउँहरूमा खाली कक्षाकोठासँग जुझिरहेका छन्, अन्य शिक्षकलाई भीडभाड, विद्यार्थीको पीडा र अनुशासनका मुद्दाले थकाएको छ ।
हरेक विद्यार्थीको प्रगतिको पछाडि शिक्षकको नदेखिने श्रम परेको हुन्छ । यसलाई अनुसन्धानकर्ताहरूले ‘भावनात्मक श्रम’ को संज्ञा दिएका छन् । यो यस्तो प्रक्रिया हो– जसमा व्यक्तिले आफ्ना भावनालाई व्यवस्थापन गर्दै अरूका भावनाप्रति करुणापूर्वक प्रतिक्रिया दिने काम गर्छ । सार्वजनिक विद्यालयका शिक्षकहरू दुर्व्यवहारको सिकार बनेका, भोक–भोकै विद्यालय आउने वा पारिवारिक बिछोड वा आघातका कारण पीडित बनेका विद्यार्थीबारे चिन्तित हुन्छन् । फिनल्यान्डका एक प्रमुख शिक्षा विशेषज्ञ पासी साहलबर्गले फिनल्यान्डजस्ता देशले शैक्षिक गुणस्तरका लागि शिक्षकको कल्याणलाई कसरी प्राथमिकता दिन्छन् भन्नेबारे विस्तृत रूपमा लेखेका छन् (फिनिस लेसन, २.०, २०१५) । फिनिस शिक्षकलाई, विश्वव्यापी रूपमा उनीहरूका धेरै समकक्षीभन्दा फरक, स्वायत्तता, सानो कक्षाकोठा र मानसिक स्वास्थ्य सेवाहरूमा पहुँच दिइन्छ । उनीहरूलाई यी उपायले तनाव कम गर्न र पेसामा टिकाइराख्न मद्दत गर्छन् ।
नेपालमा शिक्षकहरूले अरूको हेरचाह गरुन् भन्ने कुरा अपेक्षा गरिन्छ, जबकि शिक्षकको हेरचाह विरलै गरिन्छ । यो देख्न पनि नाप्न पनि नसकिने भावनात्मक थकानले शिक्षकलाई कमजोर बनाउँछ, जसलाई समाजले भविष्यको आधारस्तम्भ निर्माण गर्ने जिम्मेवारी सुम्पेको हुन्छ ।
शब्दहरूको महत्त्व हुन्छ । जब राजनीतिज्ञहरूले शिक्षकले ‘पर्याप्त काम गर्दैनन्’ भन्छन्, उनीहरूले भ्रमपूर्ण मिथकलाई मात्र फैलाउँदैनन्– शिक्षकको व्यावसायिक मर्यादालाई पनि क्षति पुर्याउँछन् । यस्तो बयानबाजीले जनविश्वासलाई कमजोर बनाउँछ, शिक्षकलाई हतोत्साहित गर्छ र उज्ज्वल, उत्प्रेरित व्यक्तिलाई यस पेसामा आउनबाट रोक्छ ।
यो नयाँ कुरा होइन र यो नेपालमा मात्र सीमित पनि छैन । विश्वभर शिक्षकलाई विद्यार्थीको असफलता, घट्दो परीक्षा अंक र उनीहरूले सिर्जना नगरेका प्रणालीगत समस्याका लागि दोष दिने गरिन्छ । संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियामा मिडिया र राजनीतिक नेताहरूले बारम्बार शिक्षकमाथि धावा बोल्ने गर्छन्, जसले शिक्षकलाई शैक्षिक गिरावटको मूल कारणका रूपमा चित्रण गर्छ । तर, संसारले यसो गर्छ भन्दैमा यो सही हुन्छ भन्ने होइन । नेपालले हानिकारक विश्वव्यापी प्रवृत्तिलाई पछ्याउनु आवश्यक छैन ।
नेपालले शिक्षकलाई कसरी बुझ्छ, कदर गर्छ र समर्थन गर्छ भन्ने कुरालाई मौलिक रूपमा पुनर्गठन गर्नुपर्छ । सर्वप्रथम, राजनीतिक नेताहरू, शिक्षा अधिकारीहरू र नागरिक समाजद्वारा सार्वजनिक रूपमा स्वीकार गरिनुपर्छ कि शिक्षण सबैभन्दा बौद्धिक र भावनात्मक रूपमा माग गर्ने पेसामध्ये एक हो । यो मान्यता वास्तविक नीति र प्रणालीगत परिवर्तनसँगै अगाडि बढ्नुपर्छ । निजी र सामुदायिक विद्यालयमा काम गर्नेसहित सबै शिक्षकले अन्य पेसासरह सेवा र सुविधा प्राप्त गर्नुपर्छ ।
शिक्षकको मानसिक स्वास्थ्य र कल्याणमा वास्तविक लगानी हुनुपर्छ, जसमा परामर्श सेवा, सहकर्मी सल्लाह प्रणाली र उनीहरूलाई भावनात्मक श्रम र आफ्नै आत्म–हेरचाहबीच सन्तुलन कायम गर्न सहायक हुने कार्यक्रम समावेश हुनुपर्छ । प्रशासनिक बोझ कम गरिनुपर्छ र व्यावसायिक विकास उत्तरदायी, समयसापेक्ष र कक्षाकोठाको वास्तविकतासँग प्रत्यक्ष रूपमा जोडिएको हुनुपर्छ । शिक्षकलाई असुरक्षित, करार र मनोमानी निर्णयबाट सुरक्षित गरिनुपर्छ– विशेष गरी विकसित हुँदै गरेको संघीय शासन प्रणालीको सन्दर्भमा– जहाँ धेरै क्षेत्रमा अझै स्पष्ट मापदण्डको अभाव छ ।
नेपालले हरेक वर्ष अक्टोबर ५ मा अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाएर मात्र हुँदैन, शिक्षकलाई सम्मान गर्न र शिक्षण पेसाको महत्त्व बढाउन हाम्रै गुरुपूर्णिमाले पनि उपयुक्त अवसर प्रदान गर्छ । यो एउटा परम्परा हो, जसले शिक्षकलाई मार्गदर्शक, पालनपोषणकर्ता र ज्ञानवाहकका रूपमा चिनाउने अवसर दिन्छ र यो सामाजिक जीवनको अभिन्न अंग बन्नुपर्छ । एसिया र बाहिरका धेरै देशले आफ्ना शिक्षकलाई राष्ट्रिय गर्वका रूपमा सम्मान गर्छन् । हामीले पनि त्यसको सिको इमानदारीपूर्वक गर्नु जरुरी छ ।
यदि निजामती कर्मचारीले राज्य चलाउँछन् भने शिक्षकले नागरिकलाई हुर्काउँछन् । हरेक डाक्टर, इन्जिनियर, कलाकार र राजनीतिज्ञले आफ्नो ज्ञानको सुरुवात शिक्षकको कक्षाकोठाबाट गरेका हुन् । यदि हामीले शिक्षकलाई अनादर गर्छौं भने हरेक पेसाको जगलाई कमजोर बनाइरहेका छौं ।
शिक्षकहरूले काम गरिरहेका छैनन् भन्नु गलत मात्र होइन, यो अन्यायपूर्ण पनि छ । यो विचारले उनीहरूको श्रम, उनीहरूको थकान र उनीहरूको आशालाई इन्कार गर्छ । यसले कक्षाकोठा र भविष्यलाई जीवित राख्ने शिक्षकको अदृश्य तर अनमोल श्रमलाई मूल्यहीन बनाइदिन्छ । आखिर, एउटा जीवनलाई परिवर्तन गर्ने मानसिक र बौद्धिक बोझ राष्ट्र चलाउने बोझभन्दा बढी बोझिलो हुन्छ । अब शिक्षकको कामको मूल्यलाई चिन्ने र त्यसअनुसार व्यवहार गर्ने समय आएको छ । – विष्ट त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा युनेस्को शिक्षा विशेषज्ञ हुन् ।
