समाजलाई प्रश्न : के सम्बन्धविच्छेदपछि स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार छैन ?
काठमाडौँ — नाता सम्बन्ध भावनात्मक मात्रै होइन जटिल हुन्छन् । पछि जोडिएको नाता सम्बन्ध जति बलियो गरी कसे पनि व्यवस्थापन गर्न नसक्दा तोडिन सक्छन् । यो परिस्थितिले निर्धारण गर्ने विषय हो । र, सम्बन्ध तोड्न पाउने व्यक्तिको कानुनी अधिकार पनि हो ।
यस्तै नियति भोग्नु पर्यो, कलाकार विष्णु सापकोटा र एलिना चौहानले । गत वैशाखमा उनीहरुको सम्बन्ध विच्छेद भयो । उनीहरुको सम्बन्ध ९ महिना पनि टिकेन । सम्बन्धमा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि सहमतिमै उनीहरुले सम्बन्धमा पूर्णविराम लगाए ।
सम्बन्ध विच्छेदपछि एलिनाले सामाजिक सञ्जाल फेसबुकमा ‘प्रिय विष्णु’ सम्बोधन गर्दै स्टाटस लेखिन् । उक्त स्टाटसमा उनले विवाहको वर्णन गरेकी छन् । विवाह गर्दा लगाएको सात फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता सबै उस्तै रहेको, शारीरिक मिलन मात्रै विवाह नहुने रहेछ भन्दै भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको उल्लेख गरेकी थिइन् ।
उनले आफ्नो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको भन्दै यसै दिनदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी थिइन् । उनी आफ्नो पीडा सहन नसकेर केही दिन परिवारसँग बस्दै आइन् र नियमित काममा फर्किइन् ।
सम्बन्ध विच्छेद भएको केही दिन उनले आफन्त, शुभेच्छुक र नेपाली समाजबाट सहानुभूति पाइन् । सबैले भनेका ‘थिए–जे गर्यौ ठीक गर्यौ ।’ उनलाई यसले साहस दियो । उनमा आफ्नो कामलाई निरन्तरता दिन केही उत्साह मिल्यो ।
उनी नियमित काममा फर्किसकेपछि भने परिस्थिति उल्टियो । उनले पूर्णविराम लगाएको सम्बन्ध कोट्याउन थालियो । सञ्चारकर्मी हुन् या सामाजिक सञ्जाल प्रयोगकर्ता, सबैले उनलाई पुरानै सम्बन्धसँग जोडेर अनेक खालका टिप्पणी गर्न थाले । उही सम्बन्धलाई लिएर निरन्तर प्रश्नको वाण प्रहार गर्न थालियो । यस प्रकारको सामाजिक व्यवहारले उनको सामान्य दैनिकी पुनः बिथोलिन थाल्यो ।
समाजको असामाजिक व्यवहार
केही समयदेखि एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीको वर्षा लागेको छ । अझ भनौं समाज नै उनीमाथि खनिएको छ । अर्कोतिर केही युट्युबरहरु तथा सञ्चारकर्मीले पनि उही पुरानै सम्बन्ध कोट्याएर उनलाई घोचिरहेका छन् । उनीमाथि ‘डिभोर्स ट्याग’ लगाउँदै पीडा बल्झाइरहेका छन् । उनीहरु यही समाजका मान्छे हुन् । तर, व्यवहार असामाजिक गरिरहेका छन् । एउटा व्यक्तिको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा भइरहेका यस्ता भद्दा टिप्पणीले मानिसको डिजिटल संसारमा चेतनास्तर कतिसम्म गिर्दो छ भन्ने देखाउँछ ।
सम्बन्धविच्छेदपछि नयाँ जीवन बाँच्ने कोशिस गरिहेकी एलिनालाई यहि डिजिटल समाजले सहज बनाइदिनुको साटो झन् अनेक लाञ्छना लगाउँदै दुनियाँमा अरु कसैले नगरेर एलिनाले मात्रै सम्बन्धविच्छेद गरेको र यो अपराध जस्तो विचार व्यक्त्त गरिरहेका छन् ।
सामाजिक सञ्जालमा गालीगलौज गर्ने पुरुषहरुलाई नियाल्दा थाहा हुन्छ कि उनीहरु आफूले आफैंलाई उदांगो पारिरहेका छन् । नेपालको कानुनले कसैको पनि व्यक्तिगत जीवनलाई लिएर सार्वजनिक तहमा अनावश्यक टिकाटिप्पणी गर्नु अपराध हो । तर, उनीहरु आफैं यस्तो व्यवहार प्रदर्शन गरिरहेका छन् कि समाज शुद्धीकरणको जिम्मा उनीहरु आफैंले लिएका छन् ।
हामी सबैलाई थाह छ, नेपाली समाज विभेद्कारी छ । घरमा श्रीमती भएका व्यक्तिले बाहिर दुई/चारवटी केटी घुमाउँदा प्रश्न उठ्दैन । केहीले त उनीहरुलाई बहादुर ‘मर्द’ ठान्छन् । यतिमात्र होइन, केही पुरुषहरु त गिन्ती सुनाउने गरेकोसम्म पाइन्छ । तर, महिलालाई परपुरुषसँग बोल्न मात्र त के साथी बनाउँदा पनि अनेक लाञ्छना लगाइन्छ । यो हाम्रो समाजको दुर्भाग्य नै मान्नुपर्छ जहाँ महिलालाई अनेक नियम बनाएर बाँधिएको छ । पुरुषहरु जे गरे पनि ‘छोरा मान्छे न हो अलि अलि त भइहाल्छ नि!’ भन्दै महिलालाई तल झारिन्छ । र यस्तो विभेदमा प्रश्न गर्नेहरु दुर्लभ हुन्छन् । सञ्चारमाध्यमले पनि यस्ता विषयमा भनेजति प्रश्न गर्न सकेका छैनन् । किनकी यहि समाजकै उपज न हो सञ्चार माध्यम पनि !
मुख्य प्रश्न के हो भने, कोही मानिसलाई यो समाजमा स्वतन्त्रतापूर्वक बाँच्ने हक छ कि छैन? हो कानुनले यो हक दिए पनि सामाजिक व्यवहारमा कसैले पनि उपभोग गर्न पाएका छैनन् । अझ महिलालाई त यस्तो हक उपभोग गर्नु हाम्रोजस्तो पुरुषप्रधान समाजमा सोच्न पनि मुस्किल हुन्छ । एलिना मात्र होइन, सम्बन्ध विच्छेद गरेका हरेक महिला मर्यादित जीवन बाँच्न स्वतन्त्र छन् । तर खै हाम्रो समाज र मर्यादा पालनाको रक्षाको जिम्मेवारी लिएका कथित समाजसुधारकले यो विषयमा बोलेको ? के अब महिलाले प्रतिकार गरेपछि मात्र यस्ता आरोप प्रत्यारोप बन्द हुने हुन् ।
पटक–पटक उनीमाथि प्रश्न गरेर यो समाज के प्रमाणित गर्न खोज्दैछ ? यसले के प्रष्ट हुन्छ भने, समाजको लय बिग्रिएको छ । समाज भनेको मानिसहरुकै समूह हो, जहाँ सज्जन र दुर्जन सबै अटाएका हुन्छन् । तर एक सभ्य समाजका लागि सज्जनहरुको बाहुल्यता अनिवार्य हुन्छ । र सज्जनहरु नबोल्दा केही सिमित संख्याका संकिर्ण मानिसको विचारले सामाज दुर्गन्धित हुनपुग्छ । त्यसैले त समाज असामाजिक बनिरहेको छ । अनि त एलिनाहरुलाई बाँच्न मुस्किल बनाउने दुस्प्रयास जारी छ ।
एलिनाको प्रतिरोध
विनाकारण समाजको तिरस्कार बेहोरेकी एलिना अहिले प्रतिरोधमा उत्रिएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउने र अपशब्द प्रयोग गर्नेहरुलाई सार्वजनिक गर्ने अभियान चलाएकी छन् । उनको यो समाजसँगको बाध्यताको लडाइँ हो । र, सबैभन्दा खतरनाक लडाइँ समाजसँगै लड्नु हो । उनले हिम्मत गरिन् र यो अभियान सुरु गरिन् । उनको यो अभियानलाई केही प्रबुद्ध व्यक्तिहरुले साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साहसी छोरी भनेर आफू साथमा रहेको उल्लेख गरेका छन् ।
नायिका रेखा थापासहितको साथ उनले पाएकी छन् । समाजसँगको यस्तै खालको युद्ध जितेकी गायिका समीक्षा अधिकारी उनको साथमा छन् । नेपाली समाजको प्रतिरोधको सुरुआत गर्ने उनै समीक्षा हुन् । साथमा एलिनाले आफ्ना पीडा भाव पोख्दै केही सन्देश दिइरहेकी छन्– जीवन आफ्नो लागि हो, खुलेर जिउनुस् र विवाह बन्धन हैन । विवाह दुई व्यक्तिहरू मध्य (प्रायः एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो । विवाहले दुई परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।
पुरुष र स्त्री वैवाहिक बन्धनमा बाँधिएपछि तिनीहरूबीचको सम्बन्ध घनिष्ठ हुन्छ । त्यसैले आफ्नो वैवाहिक सम्बन्धलाई बलियो बनाइराख्न पति–पत्नीले एकअर्कासित खुलेर कुराकानी गर्नुपर्छ र माया देखाउँदै एकअर्काको लागि सानातिना काम गरिदिन पनि तयार हुनुपर्छ । तिनीहरू एकअर्काप्रति बफादार नहुँदा त्यसले पति पत्नीको सम्बन्धमा गहिरो चोट पुग्छ । यसले एकअर्काको भरोसा तोड्नुका साथै परिवार टुक्र्याउन पनि सक्छ ।
दुई व्यक्तिबीचमा माया, हौसला, आत्मीयतालाई साझा गर्दै सुख–दुःखमा साथ दिने हेतुले गरिएको विवाहले सम्बन्धमा सुमधुरता कायम राख्छ । यही हुन नसक्दा सम्बन्ध विच्छेद हुन्छ । जुन कानुनी अधिकार हो । र, त्यसपछि सम्मानपूर्वक बाँच्न पाउनु संवैधानिक अधिकार । त्यसैका लागि एलिना अहिले समाजसँग लडिरहेकी छन् ।
विवाहको समाजशास्त्र र कानुन
मानव जीवनलाई आदर्श रूपमा व्यवस्थित गर्नका लागि विवाहको चलन सुरु गरिएको मानिन्छ । परम्परागत तरिकाबाट हेर्ने हो भने महिला–पुरुषबीच समय अवधि र सन्तान उत्पादनको किटान गरी मौखिक सम्झौताअनुसार सम्बन्ध स्थापित गरिन्थ्यो र सम्झौता सकिएपछि स्वतः दुवै स्वतन्त्र हुने परिपाटी थियो । विवाहको चलन बसाल्ने प्रमुख श्रेय ऋषि उदालकका पुत्र श्वेत केतुको रहेको विश्वास गर्नेहरु पनि छन् ।
श्वेत केतुको आमालाई आफ्ना बाबुसँगको सम्झौता भंग भइसकेपछि कसैले उनको आमालाई जबर्जस्ती तानेर लैजान खोज्दा अपमान बोध भई प्रतीकार गर्दा सभाबाट छोडिदेऊ भन्ने आदेश सुन्छन् । र, यो किन भयो भन्ने कुराबारे उनी अध्ययन गर्छन्, तत्पश्चात् उनलाई ज्ञात भएपछि एक पुरुष र एक महिलाका लागि सागै बस्नुपर्ने रहेछ, विवाह जरुरी रहेछ, गर्नुपर्छ भन्ने नियम बनाए र प्रचलन सुरू भयो भन्ने मान्यता छ ।
हाल आ–आफ्नो धर्म, संस्कृति, जात भूगोलअनुसार विवाह विधि फरक–फरक छन् । विवाह बन्धन हैन सृष्टि बचाइराख्ने माध्यम मात्र हो । हालसम्म आइपुग्दा नयाँ कानुनी व्यवस्थामा विवाहलाई स्पष्ट रूपमा व्याख्या गरिएको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ६८ अनुसार विवाह अनतिक्रम्य सामाजिक बन्धन हो ।
दफा ६८(१) विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन भनी परिभाषित गरिएको छ । परम्परागत, दर्ता, गन्धर्व वा प्रेम विवाहको परिकल्पनाअनुसार विवाहलाई कानुनी रूपमा वर्गीकरण गरिएको छ । विवाह गर्ने प्रक्रिया धेरै प्रकारका हुन्छन् तर कस्तो विवाहलाई कानुनले मान्यता दिने र कस्तो विवाहलाई कानुनी मान्यता प्रदान नगर्ने, बदर गर्नेबारे मुलुकी देवानी संहितामा प्रस्ट रूपमा व्यवस्था गरिएको छ ।
यदि, पुरुष र महिलाले एक अर्कालाई पति/पत्नीको रूपमा स्वीकार गरेका छन् भने यसरी गरिएको विवाह मान्य हुन्छ । हाडनाता विवाहलाई कानुनले अपराध मानेको छ र कडा सजायको पनि व्यवस्था गरेको छ । यदि, कुनै पुरुष र महिला उनीहरू विवाहित छैनन् वा विवाह गर्ने समयमा उनीहरूको पहिलेको वैवाहिक सम्बन्ध अन्त्य भइसकेको छ भने त्यस्तो विवाहलाई कानुनले मान्यता दिन्छ ।
जुन विवाह कानुनअनुसार मान्यता प्राप्त गर्न सक्दैन त्यस्तो विवाहलाई कानुनले मान्यता दिँदैन र त्यसरी रीत नपुर्याइ गरिएको विवाहलाई कानुनले बदर गर्न सक्छ ।
सम्बन्ध विच्छेद हुनु, अर्को विवाह गर्नु कुनै अपराध होइन कानुनी व्यवस्था हो । तसर्थ वैवाहिक जीवन टुक्रेकाहरुले पनि संवैधानिक व्यवस्था अनुसार सम्मानपूर्वक बाँच्न पाउनुपर्छ, ता कि समाजको अवहेलनामा होइन ।
