विद्यार्थीहरू केवल औषधि वा रोगको उपचार केन्द्रित अध्ययनमा सीमित रहन्छन् भने उनीहरूले बिरामीको भावना, पृष्ठभूमि वा सांस्कृतिक संवेदनशीलतालाई पर्याप्त रूपमा बुझ्दैनन्। तर जब उनीहरू कविता, कथा, नाटक, कला, वा व्यक्तिगत अनुभवहरूमार्फत सिक्छन्, उनीहरूको दृष्टिकोण फराकिलो हुन्छ, र उनीहरू अझ जिम्मेवार र समानुभूति सम्पन्न स्वास्थ्य पेशाकर्मी बन्छन्
स्वास्थ्यको समग्र धारणा भनेको शरीर मात्र होइन, मानिसको मन, समाज र संस्कृति सबैको अन्तर्सम्बन्धित अवस्था हो। यदि हामी स्वास्थ्य सुधार गर्न चाहन्छौं भने, सामाजिक न्याय, सांस्कृतिक संवेदनशीलता र भावनात्मक सन्तुलन सबै पक्षलाई ध्यान दिनुपर्छ।
यसकारण स्वास्थ्य नीति, सेवा वा शैक्षिक पाठ्यक्रम बनाउँदा यी सबै आयामहरूलाई समेटेको अवस्थामा मात्र प्रभावकारी र न्यायोचित स्वास्थ्य प्रणाली सम्भव हुन्छ।
विगत केही दशकदेखि विश्वभर मानवीय चिकित्सा वा स्वास्थ्यको अवधारणा विस्तार हुँदै आएको छ। यसको मुख्य उद्देश्य स्वास्थ्य शिक्षालाई अझ मानवीय, संवेदनशील र समग्र दृष्टिकोणबाट हेर्ने अभ्यास विकसित गर्नु हो। नेपालजस्तो सांस्कृतिक रूपमा विविध, असमानता र जनस्वास्थ्य चुनौतीहरूले भरिएको देशमा यो अवधारणा अझ सान्दर्भिक देखिन्छ।
मानवीय स्वास्थ्य शिक्षा भन्नाले स्वास्थ्य, बिरामी अनुभव, स्वास्थ्य प्रणाली, जीवन र मृत्युका आयामहरूलाई साहित्य, कला, दर्शन, इतिहास, समाजशास्त्र, मानव व्यवहार र संस्कृतिको माध्यमबाट बुझ्ने र सिकाउने अभ्यासलाई जनाउँछ। यसले विज्ञान र प्रविधिमा केन्द्रित परम्परागत जैविक-चिकित्सकीय दृष्टिकोणमा मानवीय संवेदना, आलोचनात्मक सोच, र नैतिक विवेक थप्छ।
नेपालमा यसको प्रारम्भिक प्रयोग
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालीन उपकुलपति राजेशनाथ गोंगलको निर्देशन र अगुवाईमा यो अवधारणालाई सन् २०१८ देखि स्नातक तह चिकित्सा शास्त्रका विद्यार्थीहरूका लागि लागू गर्यो भने सन् २०२१ देखि प्रतिष्ठानको स्नातक नर्सिङमा समेत यो अवधारणा अनुसार शिक्षण सिकाईको विस्तार गरिएको छ।
जीवन, भोगाई, बुढोपन, अपाङ्गतासँग जुधिरहेको व्यक्ति तथा परिवार, स्वास्थ्यकर्मीसँग बिरामी र उनीहरूको परिवारले राख्ने अपेक्षा तथा जीवनको अन्तिम घडीमा जुधिरहेका व्यक्तिहरूका सपना र स्वस्थ्यकर्मीका जिम्मेवारीहरूको मानवीय स्वास्थ्य शिक्षाका मुख्य विषयवस्तुहरू हुन्। यो विधा सबै व्यक्तिहरूलाई उत्तिकै महत्त्वपूर्ण भएपनि स्वास्थ्यकर्मीहरूको लागि अतिनै आवश्यक हो ।
यसको अध्ययनको विधि सहभागितामुलक हुन्छ। जहाँ जीवन र जगत्का विभिन्न परिस्थितिलाई अनुभव आदानप्रदान, स्वचिन्तन वा कृतिम अवस्था सिर्जना गरी त्यसको माध्यमबाट विद्यार्थीहरूलाई बिरामी, उसको आफन्तसँग कसरी बोल्ने र व्यवहार गर्ने, समाजमा बिरामीलाई हेर्ने दृष्टिकोण, सामाजिक वास्तविकता र मानव अधिकार सम्बन्धी आयामहरू तथा व्यक्तिको आत्मसम्मानको बारेमा छलफल र बहस गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा मान्छेले निभाउनुपर्ने पर्ने भूमिका सिकाउने गरिएको छ।
यसको सिकाईको क्रममा विद्यार्थीहरूलाई विभिन्न साहित्य, कला, अभिनय एव अन्तरक्रिया गराइन्छ। आफैँ अपाङ्गता भएको अभिनय गरी व्यस्त सडकमा निस्केका विद्यार्थीप्रति समाजबाट पाउने प्रतिक्रियाले उनीहरूको जीवन शिक्षा पाउँछन्।
आफ्नो एक घन्टाको भोगाईसँग अपांगता भएका व्यक्ति तथा परिवारले भोग्नुपरेको सामाजिक बहिस्करण, आर्थिक समस्या, कठोर शव्द आफैँलाई पर्दा कस्तो हुन्छ भन्ने बारेमा आत्मबोध गराउनु यो विधाको महत्त्वपूर्ण पक्ष हो। त्यसका साथै विद्यार्थीहरूलाई समाजमा भए गरेका अमानवीय गतिविधिहरूको निराकरण गर्ने सम्बन्धमा छलफल गराइन्छ।
आज सम्मको हाम्रो अनुभवले देखाएको छ कि विद्यार्थीहरू केवल औषधि वा रोगको उपचार केन्द्रित अध्ययनमा सीमित रहन्छन् भने उनीहरूले बिरामीको भावना, पृष्ठभूमि, वा सांस्कृतिक संवेदनशीलतालाई पर्याप्त रूपमा बुझ्दैनन्। तर जब उनीहरू कविता, कथा, नाटक, कला, वा व्यक्तिगत अनुभवहरूमार्फत सिक्छन्, उनीहरूको दृष्टिकोण फराकिलो हुन्छ, र उनीहरू अझ जिम्मेवार र समानुभूति सम्पन्न स्वास्थ्य पेशाकर्मी बन्छन्।
मेडिसिन तथा नर्सिङका विद्यार्थीहरूले लेखेका रिप्लेक्सन, सामुहिक छलफल, आत्मसमीक्षाले यो विषयको महत्वलाई थप बलियो बनाएको छ । नयाँ शैक्षिकसत्र देखि जनस्वास्थको स्नातकोत्तर तहमा पनि यसको अभ्यास थालनी गर्दै छौ किनभने स्वास्थ्य सेवा केवल औषधि वा अस्पतालमा सिमित छैन; यो समुदाय, विश्वास, संस्कार, र सामाजिक व्यवहारसँग गाँसिएको विषय हो।
उदाहरणका लागि, महामारीका बेला समुदायको विश्वास, संचारको शैली, वा सामाजिक दूरीबारेको बुझाइ कस्तो थियो? यही प्रश्नहरूको जवाफ मानवीय स्वास्थ्यबाट आउन सक्छ। जनस्वास्थ्यका विद्यार्थीहरूले यदि सृजनात्मक लेखन, वास्तविक घटना, कला वा चित्रमार्फत स्वास्थ्य असमानता, लैङ्गिक विभेद, वा विकृति बुझ्ने मौका पाउँछन् ।
अवसरहरू
नेपालजस्तो सामाजिक विविधता भएको देशमा चिकित्सक वा स्वास्थ्यकर्मीले केवल शारीरिक रोगको उपचार मात्र होइन, बिरामीको जीवन अनुभव, आर्थिक अवस्था, सामाजिक अवस्थिति, र मानसिक पाटोलाई पनि बुझ्न आवश्यक हुन्छ। मानवीय स्वास्थ्य मार्फत विद्यार्थीहरू कथा लेखन, आत्मकथा अध्ययन, बिरामीको कला-आधारित अभिव्यक्ति। जस्तै: पिडाको चित्रण वा नाटकको माध्यमबाट बिरामीको अनुभूति प्रत्यक्ष रूपमा अनुभव गर्न थाल्छन्।
यस्ता अभ्यासहरूले स्वास्थाकर्मीमा समानुभूति, सुन्ने सीप, र संचार गर्ने शैलीमा सकारात्मक परिवर्तन ल्याउँछ। यसबाट प्रभाबित स्वास्थ्यकर्मीले सेवाग्राहीलाई केवल संख्या होइन, समवेदना भएको आफूजस्तै मान्छेको रूपमा हेर्ने अभ्यास गर्छन्, जसले सेवा गुणवत्तामा सुधार ल्याउँछ।
नेपालका विभिन्न समुदायहरूमा स्वास्थ्यसम्बन्धी विश्वास र व्यवहार संस्कार, धर्म, मिथक र मौखिक इतिहाससँग गहिरो रूपमा गाँसिएको हुन्छ। उदाहरणका लागि, सुत्केरीको बेला गरिने परम्परागत प्रथा, रोगबारेको जनविश्वास (जस्तै: कुपोषणलाई कसैको आखा लागेको मान्ने), वा विभिन्न समुदायमा हुने परम्परागत उपचार पद्धतिलाई बुझ्न पनि प्रभावकारी माध्यम हुन सक्छ।
जस्तो स्थानीय कला, गीत, कथा वा लोक नाटक जस्ता सांस्कृतिक अभिव्यक्तिहरू स्वास्थ्य शिक्षाको सन्देश प्रवाह गर्ने सशक्त माध्यम पनि बन्न सक्छन्। यो विधिको शिक्षण प्रक्रिया स्वयं समुदायले पनि सहज स्वीकार गर्ने हुँदा विद्यार्थीहरूमा संस्कृतिप्रतिको आदर, संवाद सीप र विश्वास निर्माणको क्षमता विकास हुन्छ।
नेपालका चिकित्सा र अन्य स्वास्थ्य विषयका शिक्षण संस्थाहरूमा आजसम्म मुख्य रूपमा विज्ञान केन्द्रित शिक्षा हुँदै आएको छ। तर बहुआयामिक स्वास्थ्य समस्याहरू (जस्तै: मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा, वृद्ध स्वास्थ्य, आपतकालीन मानसिक आघात) लाई बुझ्न एकल विषय पर्याप्त हुँदैन। त्यस्तो अवस्थामा मानवीय स्वास्थ्यको समावेशले भविष्यका स्वस्थकर्मीहरूलाई आलोचनात्मक सोच, नैतिक निर्णय क्षमता, र व्यापक दृष्टिकोणले युक्त बनाउँछ, जसले अन्ततः नीति निर्माण र व्यवहारगत हस्तक्षेपमा समेत योगदान पुर्याउँछ।
अर्को तर्फ, कला मानिसको अनुभूति र विचारको गहिरो अभिव्यक्तिको माध्यम हो। बिरामी, अपांगता भएका व्यक्ति, वृद्ध वा मानसिक स्वास्थ्यका अनुभवहरूलाई कथा, कविता, चित्रकला, चलचित्र, वा रंगमञ्चमार्फत प्रस्तुत गर्दा त्यो सन्देश बढी सजीव र प्रभावशाली हुन्छ।
नेपालमा अझै पनि मानसिक रोग, अपांगता वा वृद्धावस्थालाई पूर्वजन्मको पापको रूपमा हेर्ने प्रवृत्ति छ। तर यदि विद्यार्थीहरूले तयार पारेका यस्ता विषय केन्द्रित कला प्रदर्शनी वा डकुमेन्ट्रीले स्थानीय समुदायमा समस्याप्रति संवेदना र सामाजिक न्यायको दृष्टिकोण विकास हुन्छ। यस प्रकारले कला र चिकित्सा बीचको सम्बन्धले सार्वजनिक संवाद बढाउने, कलङ्क हटाउने र नीति निर्माणका लागि नयाँ सन्दर्भ सिर्जना गर्ने काम गर्न सक्छ।
चुनौतीहरू
नेपालको चिकित्सा र अन्य स्वास्थ्य शिक्षा प्रणाली अझै पनि रटन्ते ज्ञान, निश्चित पाठ्यक्रम र परीक्षामुखी मूल्याङ्कनमा आधारित छ। यसले विद्यार्थीलाई सिर्जनात्मक रूपमा सोच्न, प्रश्न गर्न वा बहुआयामिक दृष्टिकोणबाट समस्या बुझ्न प्रोत्साहित गर्दैन। मानवीय स्वास्थ्य जस्तो अन्तर्विषयगत सिप वा क्षमता बिकासले सहानुभूति, नैतिक सोच, र सामाजिक सन्दर्भप्रति उत्तरदायी बनाउँछ, जुन वर्तमान संरचना र त्यहाँका सहकर्मीहरूबाट असहयोग हुन् सक्ने चुनौती सधैँ रहछ।
शिक्षकहरू पनि पाठ्यक्रमको बोझ, समयको अभाव, र विद्यार्थीको परीक्षा-केन्द्रित मानसिकताका कारण यस्तो विषयप्रति उत्साहित हुँदैनन्। उदाहरणका लागि, कुनै औषधि वा परिक्षण पद्दतीको बारेमा पढ्न, उक्त औषधि वा परिक्षण पद्दतीको प्रयोग गर्ने विधि जान्नु मात्र ठुलो कुरा होइन। बरु बिरामीको डर, पीडा वा सामाजिक अवस्था बुझ्ने क्षमता त्यो जत्तिकै महत्त्वपूर्ण हुन्छ । जुनकुरा शिक्षालाई पूर्ण बनाउन थप महत्त्वपूर्ण हुनेछ ।
प्रयाप्त मानवीय स्वास्थ्य सिकाउने प्रशिक्षित जनशक्ति, नेपाली भाषामा पाठ्यसामग्री, र यस सम्बन्धि अध्ययनको अभाव पनि चुनौती छ। अधिकांश सामग्री पश्चिमी सन्दर्भमा आधारित छन्, जुन नेपाली सामाजिक संरचना वा सांस्कृतिक संवेदनशीलतासँग त्यति मेल खाँदैनन्। उदाहरणस्वरूप, जातीय भेदभाव, लैङ्गिक हिंसा, गरिबी, वा जड सामाजिक विश्वासहरूले नेपाली बिरामीको अनुभवलाई आकार दिन्छन्।
यस्ता विशिष्ट सामाजिक सन्दर्भबिना सिर्जना गरिएको पाठ्यक्रम विद्यार्थीलाई सतही समझ मात्र दिन्छ। त्यस्तै, नेपाली शिक्षण संस्थाहरूमा साहित्य, दृश्यकला, संगीत वा कथाशिल्पमार्फत सिकाउने अभ्यास पनि कमजोर छ। यस्तो विषय पढाउन साहित्यकार, नाटककार वा मानवशास्त्रीसँग सहकार्य गर्नुपर्छ – तर यो प्रवृत्ति अझै विकसित भएको छैन।
अर्को तर्फ, स्वास्थ्य शिक्षा प्रणालीमा एउटा बलियो धारणा रहँदै आएको छ – गम्भीर कुरा भनेको एनाटोमी, फिजियोलोगी, फार्माकोलोगी, सर्जरी जस्ता विषय पो पढ्नुपर्छ, बाँकी कुरा त त्यसै सिकिन्छ । त्यहीभएर मानवीय स्वास्थ्यलाई अझै पनि धेरैले भावनात्मक, गैर-प्राविधिक, वा अनुत्पादक विषय भन्ने गर्छन्।
कतिपय शिक्षक पनि यस्तो सिकाइले विद्यार्थीको समय खेर गइ पढ्ने पर्ने हार्ड साईन्सका विषयमा पर्याप्त ध्यान दिन नसक्दा विद्यार्थीहरू आन्तरिक वा बाह्य परीक्षामा बिगार्ने पो हुन् कि भन्ने चिन्ता लिएको देखिन्छ। तर यथार्थ के हो भने, स्वास्थ पेशा एक सामाजिक, नैतिक र सांस्कृतिक अभ्यास पनि हो, जसमा ‘अर्काको पीडा बुझ्न सक्ने क्षमता’ अत्यन्त महत्त्वपूर्ण हुन्छ।
उदाहरणस्वरूप, एक जनाको आत्मकथा सुन्दा विद्यार्थीले मानसिक स्वास्थ्यको गहिराइ बुझ्न सक्छ, जुन पुस्तकका ठेलीमा नसमेटिएको हुन सक्छ। यस्ता कुरा वा घटनाले ब्यक्तिको व्यवहारमा गहिरो प्रभाव पार्छन्।
शिक्षाको चर्चा गरिरहँदा, शिक्षा प्रणालीको मूल तत्त्व हो– मूल्याङ्कन। अहिलेको स्वास्थ शिक्षा परीक्षा प्रणालीले बहुउत्तर प्रश्न, पूर्व निर्धारित अभ्यास विधिबाट लिइने व्यवहारिक परीक्षा वा सिद्धान्तिक परीक्षाको आधारमा विद्यार्थीको सिकाई मापन गर्छ। तर मानवीय स्वास्थ्यले सिकाउने कुराहरू – सुनुवाइ गर्ने सीप, मानवता, नैतिकता, र दृष्टिकोणमा आएको परिपक्वता – यी कुनै पनि सामान्य मापन प्रणालीले समात्न सक्दैन।
त्यसैले यसको लागि वैकल्पिक मूल्याङ्कन विधि विकास गर्नुपर्छ। जस्तैः प्रतिबिम्बात्मक भोगाईको डायरी जीवन कथात्मक निबन्ध; कला वा दृश्य प्रस्तुति; समूह वा व्यक्तिगत प्रतिक्रियामा आधारित मूल्याङ्कनलाई आधार मान्नु पर्ने हुन्छ । तर बिडम्बना, स्वास्थ केन्द्रित शिक्षालयहरूले सजिलै मापन गर्न सकिने, विषयहरू मात्र सिकाउने हो भने अबको शिक्षा अपुरो अधुरो हुने छ जहाँ मानवीय स्वास्थ्य जस्ता संवेदनशील तर अमूर्त विषयले ठाउँ पाउन सक्दैन।
निष्कर्षमा,
नेपालमा मानवीय स्वास्थ्यको प्रयोग अझै प्रारम्भिक चरणमा भए पनि यसको सम्भावना व्यापक छ, विशेष गरी जब हामी विद्यार्थीहरूलाई स्वास्थ्यको बहुआयामिक र मानवीय पक्षबारे गहिरो अनुभूति गराउन यो सिकाई निक्कै प्रभावकारी हुन्छ । यो सिकाई बिधिले शैक्षिक ज्ञान र सिप बिकासका अलावा स्वास्थ्य प्रणालीको मानवीयकरण, सेवाको पहुँच र स्वीकार्यतालाई समेत परिवर्तन गर्न सक्छन्।
नेपालमा स्वास्थ्य शिक्षाको भावी रुपान्तरणका लागि मानवीय स्वास्थ्य एक महत्त्वपूर्ण आधार बन्न सक्छ। हामीले विज्ञानसँगै मानवता सिकाउनुपर्छ – ताकि हाम्रो स्वास्थ्य प्रणालीले केवल रोग होइन, मानिसलाई पनि उपचार गरोस्। प्रतिष्ठान ले देखाएको मार्गदर्शन अन्य स्वास्थ्य संस्थाहरूका लागि पनि प्रेरणा बन्न सक्छ। अब समय आएको छ– सार्वजनिक स्वास्थ्य शिक्षामा पनि हामी मानवीय स्वास्थ्यलाई औपचारिक रूपमा स्थान दिऊँ, ताकि भावनात्मक बुद्धिमत्ता, सामाजिक न्याय र सांस्कृतिक सुसंवेदनशीलता भएका स्वास्थ्यकर्मीहरू उत्पादन गर्न सकियोस्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालीन उपकुलपति राजेशनाथ गोंगलको निर्देशन र अगुवाईमा सुरु भएको मानवीयता सहितको स्वास्थ्य सेवा, बिरामी र उनका परिवारको आत्मसम्मानलाई ध्यान दिनुपर्ने शिक्षा नेपालका अन्य प्रतिष्ठान र विश्वविद्यालयमा लागू गर्न ढिलो गर्नुहुँदैन।
