‘बौद्ध दर्शनको ज्ञानले पर्यटक आकर्षण बढाउँछ’

चैत्र १९, २०८१

शारदा पौडेल

”Knowledge of Buddhist philosophy increases tourist attraction”

महापरिनिर्माण सुत्तमा बुद्धले बौद्ध धर्मप्रति आस्थावान् वा शान्ति चाहने कुनै पनि मान्छेले लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगर गरी चार स्थानमा जानू र त्यहाँ जानेले परम शान्ति पाइन्छ भन्नुभएको छ । 

आज विश्वमा रहेको बौद्ध जनसंख्याको सानो हिस्सालाई पनि लुम्बिनीमा आउने वातावरण बन्यो भने लुम्बिनी मात्रै होइन, राष्ट्रको नै पर्यटक भित्र्याउने रणनीतिक योजना सम्पन्न हुनेछ । तर हामी बुद्ध, बुद्ध भनिरहेका छौं तर बुद्धका दर्शनको मनन गरिरहेका छैनौं ।

लुम्बिनीको विकास गर्न पर्यटन पूर्वाधारका रूपमा बौद्ध अध्ययन, बौद्ध दर्शन, कला साहित्यको अध्ययन गर्न जरुरी छ । बौद्ध दर्शनको जानकारी राम्रो भएमा बौद्ध पाहुनाहरू हाम्रा आचरण र व्यवहारतर्फ आकर्षित हुनेछन् र फेरि–फेरि आउनेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कोर बुद्धिजमका विषयमा अध्ययन–अनुसन्धान गरिन्छ र अर्को चाहिँ अप्लाइड बुद्धिजमको विषय पढाइ हुन्छ ।

यसरी अध्यापन गर्दा यहाँबाट विगत ७ वर्षदेखि ट्राभल एन्ड टुरिजमका विद्यार्थी निस्किरहेका छन् । उनीहरूले भैरहवा, बुटवलका होटल, रेस्टुरेन्टमा इन्टर्नसिप गरे र अहिले चीन गएर पढिरहेका छन् । २ सय भियतनामी, बर्मेली, चिनियाँ विद्यार्थी पनि हाम्रोमा आएर पढिरहेका छन् ।

बौद्ध विश्वविद्यालय सक्रिय रूपमा सञ्चालन भएको ११ वर्ष भयो । हामीले देवदहमा १ सय बिघा जग्गा प्राप्त गरेका छौं र देवदह परियोजना भनेर ‘मास्टर प्लान’ बनाएका छौं । त्यसको उद्देश्य भोलिका दिनमा देवदहमा २० हजार विद्यार्थी आवासीय रूपमा बसेर अध्यापन गर्नसक्ने र त्यही अनुसारका अध्यापकलाई राख्ने गरी कार्य गरिरहेका छौं । 

प्राज्ञिक क्षेत्रबाट बौद्ध धर्मको विश्वव्यापी प्रचारप्रसार गर्ने हेतुले हामीले चिनियाँ भाषामा स्नातक डिग्रीको कोर्स सञ्चालन गरिरहेका छौं । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा लुम्बिनी बौद्ध विश्वविद्यालयकी सह–प्राध्यापक पौडेलद्वारा व्यक्त विचार)

शारदा

Link copied successfully