महापरिनिर्माण सुत्तमा बुद्धले बौद्ध धर्मप्रति आस्थावान् वा शान्ति चाहने कुनै पनि मान्छेले लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगर गरी चार स्थानमा जानू र त्यहाँ जानेले परम शान्ति पाइन्छ भन्नुभएको छ ।
आज विश्वमा रहेको बौद्ध जनसंख्याको सानो हिस्सालाई पनि लुम्बिनीमा आउने वातावरण बन्यो भने लुम्बिनी मात्रै होइन, राष्ट्रको नै पर्यटक भित्र्याउने रणनीतिक योजना सम्पन्न हुनेछ । तर हामी बुद्ध, बुद्ध भनिरहेका छौं तर बुद्धका दर्शनको मनन गरिरहेका छैनौं ।
लुम्बिनीको विकास गर्न पर्यटन पूर्वाधारका रूपमा बौद्ध अध्ययन, बौद्ध दर्शन, कला साहित्यको अध्ययन गर्न जरुरी छ । बौद्ध दर्शनको जानकारी राम्रो भएमा बौद्ध पाहुनाहरू हाम्रा आचरण र व्यवहारतर्फ आकर्षित हुनेछन् र फेरि–फेरि आउनेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कोर बुद्धिजमका विषयमा अध्ययन–अनुसन्धान गरिन्छ र अर्को चाहिँ अप्लाइड बुद्धिजमको विषय पढाइ हुन्छ ।
यसरी अध्यापन गर्दा यहाँबाट विगत ७ वर्षदेखि ट्राभल एन्ड टुरिजमका विद्यार्थी निस्किरहेका छन् । उनीहरूले भैरहवा, बुटवलका होटल, रेस्टुरेन्टमा इन्टर्नसिप गरे र अहिले चीन गएर पढिरहेका छन् । २ सय भियतनामी, बर्मेली, चिनियाँ विद्यार्थी पनि हाम्रोमा आएर पढिरहेका छन् ।
बौद्ध विश्वविद्यालय सक्रिय रूपमा सञ्चालन भएको ११ वर्ष भयो । हामीले देवदहमा १ सय बिघा जग्गा प्राप्त गरेका छौं र देवदह परियोजना भनेर ‘मास्टर प्लान’ बनाएका छौं । त्यसको उद्देश्य भोलिका दिनमा देवदहमा २० हजार विद्यार्थी आवासीय रूपमा बसेर अध्यापन गर्नसक्ने र त्यही अनुसारका अध्यापकलाई राख्ने गरी कार्य गरिरहेका छौं ।
प्राज्ञिक क्षेत्रबाट बौद्ध धर्मको विश्वव्यापी प्रचारप्रसार गर्ने हेतुले हामीले चिनियाँ भाषामा स्नातक डिग्रीको कोर्स सञ्चालन गरिरहेका छौं ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा लुम्बिनी बौद्ध विश्वविद्यालयकी सह–प्राध्यापक पौडेलद्वारा व्यक्त विचार)
