दलहरूको अहिलेको गतिविधिबाट आजित जनता कति छन् भनेर ठ्याक्कै भन्न सकिन्न । तर नेताका टिकाटिप्पणी र कामगराइबाट भने जनता सन्तुष्ट छैनन् भन्नलाई कुनै सर्भे गर्नुपर्ने आवश्यकता छैन ।
चैत महिना यसै पनि हावाहुरी र डढेलोको जोखिम हुने महिना हो । चैते हुरीले घरका छाना उडाएको खबर पनि यही महिनामा धेरै सुनिन्छ । तर यसपाला त चैत सुरु नहुँदै राजनीतिक असन्तुष्टिका झिल्का आइरहेको छ । यस्तो असन्तुष्टिको झिल्का चारैतिर फैलाउने काम त सत्तासीन दलबाटै भइरहेको छ । त्यसैको धूँवाको रङमङाइमा दलका नेता आफैं अलमलमा फसिरहेको दृश्य देख्दा सत्ताको शक्तिले मात्रै सामाजिक वैधता निर्माण गर्न सक्दैन भन्ने पुष्टि हुन्छ ।
सत्ताकै चुल्होबाट पुत्ताइरहेको धूँवा बुझेरै सत्तासीन दलका केही नेताले फरक मत राख्ने यत्न पनि गरिरहेकै छन् । तर सत्तामा पनि रहने अनि सामाजिक सञ्जालबाट पृथक मत दर्शाएर आफूलाई फरक देखाउने उनीहरूको यत्नलाई आम मानिसले एउटा मिति गुज्रिइसकेको चलाखीको नयाँ संस्करणका रूपमा मात्रै बुझिरहेका छन् । सरकारमै रहेकाहरू यतिबेला आफ्नो उपस्थितिको बोध गराउन नसकेर हरेक दिन बोलीमात्रै राख्नुपर्ने चक्करमा फसिरहेका छन् । भलै हरेक दिन मन्त्रीहरूले अनेक माध्यमबाट सरकारको गरिमा कायम राख्न भगिरथ यत्न त गरिरहेका छन् । तर त्यसको परिणाम के छ, जनता भुक्तभोगी नै छन् ।
हरेक दिन सडक अशान्त छ । सदनमा पनि उस्तै अशान्ति र कोलाहल छ । तर जवाफ दिनुपर्ने सदन छलेर हिँड्नुपर्ने वा गोलमटोल जवाफ दिनुपर्ने अवस्थामा पुगेका छन् । साना–ठूला समूह विरोधी स्वरसहित प्रकट भइरहेका छन् । यस्ता जुलुसमा कति मान्छे जम्मा भइरहेका छन् भन्ने कुरा गौण हो । के कुरामा विरोध भइरहेको छ भन्नेमा सरकारको ध्यान दिनुपर्छ । विरोधलाई निरन्तर अनदेखा गर्नु त लोकतन्त्रकै निम्ति हितकर हुँदैन । भलै सत्तासीनहरूको मत र दर्शनभन्दा ती फरक किन नहुन, तिनीहरूलाई सुन्नु सरकारको सामान्य कर्तव्यभित्रकै कुरा हो । अनि आफूले चालिरहेका कदमको निर्मम समीक्षा गर्नु र आफैंलाई सच्याउँदै अघि बढ्नु लोकतन्त्रको सामान्य नियम नै हो । तर सरकार चलाउनेहरूले आफूलाई सत्ययुगका सत्पात्र ठान्छन् र आफ्ना कदमलाई पवित्र र वैध ।
बढ्दो गर्मी र हुरीको मौसमको सन्निकट राजावादीको स्वर पनि सडकतिर सुनिन थालेको छ । भलै अझै पनि राजा आउँछन् कि आउँदैनन् भन्ने प्रश्नको त उत्तर दिन उतिसारो माथा घुमाउनुपर्ने भइसकेको छैन । दशतिर मुख फर्काएर बसेका र अनेक समूहमा विभक्त राजावादीको उभार चैते गर्मीसँगै बढ्दै जानेमा शंका नै छ । यस्तो शंकालाई उनीहरू आफैं सार्वजनिक गरिदिएर आम मान्छेलाई विश्लेषण गर्न झनै सजिलो पारिदिएका छन् । तर योभन्दा चर्को विषय त संसद्को सोपानमा सबैभन्दा उपल्लो सिँढीमा रहेका दुई दलले आफ्नो सारा ऊर्जा र मेहनत आफ्नै प्रतिरक्षामा खर्चिनुपर्ने उदेकलाग्दो परिस्थितिबाट निर्माण भइरहेको छ ।
प्रस्टै छ, चैतको राप र तापले सत्ताधारीलाई नै उकुसमुकुस बनाइरहेको छ । भलै उनीहरू कहिले सामाजिक सञ्जालबाट त कहिले पत्रकार सम्मेलन गरेर चर्का कुरा र अपूरा-अधुरा तर्कबाट आफ्नो उपादेयता सिद्ध गर्ने असफल प्रयत्न गरी नै रहेका छन् । परिणाममा उनीहरूले आक्रोश र घृणाको झटारो भेटिरहेकै छन् । दलका नेताहरूले आ-आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालबाट प्रतिकार गर्न बेला बखत उक्साए पनि यस्तो कदम फलदायी भइरहेको देखिन्न ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कसरी हटाउन सकिन्छ भन्नेमा सत्तारुढ दलभित्रै माथापच्ची देखियो । भलै त्यो देखावटी मात्र पनि हुन सक्छ । कुलमान हटाउनुपर्नाको उपादेयता पुष्टि गर्नका निम्ति मन्त्रीहरू अघि सरहेका छन् । तर उनीहरूको कदम फगत आगोको मुस्लोमा छ्या्पेको एकाध थोप्ला पानी जस्तै भइरहेको छ । अब त समय पनि फेरिइसक्यो । किनकि भाषणका भरमा र सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा बढदो जनअसन्तुष्टि र सरकारप्रतिको अश्विासको दरार पुर्न सकिँदैन ।
कुलमान हटाउनु सरकारको नियमित कामभित्रको विषय हो वा होइन अथवा यसको कानुनी वैधता के हो भन्ने विषयमा अदालतबाट पनि पक्कै कुरा आउने नै छ । तर अहिले भने सरकारले आफ्नो कदमको पुष्टि गर्नका निम्ति पनि विश्वासिलो आधार जुटाउन पनि हम्मेहम्मे परिरहेको प्रस्टै देखिन्छ । त्यसै त उकुसमुकुस भइरहेको समाजमा सरकारले आफ्नै निर्णयको प्रतिरक्षा गर्न नसक्नु बडो उदेकलाग्दो कुरा हो ।
कांग्रेस नेताहरू प्रतिक्रिया दिनुअघि आफैं यता र उता पल्याकपुलुक हेर्ने र हावा बहेअनुसार विचार राख्नुपर्ने परिस्थितिमा खुम्चिएका छन् । अनि एमालेका नेताहरू त यसै पनि लामो समयदेखि शीर्ष नेताको बोलीमा हो मा हो मिलाउनैपर्ने बाध्यतामा च्यापिएका छन् । अनि यो सबै परिस्थितिबाट के निर्माण भइरहेको छ भनेर बुझ्न त अहिलेको समाजको चित्र नै काफी छ । 'तराई-मधेश जागरण अभियान' का क्रममा रौतहटबाटै उपत्यका उक्लिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजाका गतिविधि र राजावादीको कदमप्रति केही आवेगमिश्रित टिप्पणी दिए । उनी त्यतिमै मात्र अडिएनन् । पूर्वराजालाई 'भाइमारा' जस्ता केही विशेषणसहित गाली गरेर दाहालले आफ्नो उपस्थितिको बोध गराउने प्रयत्न गरे । अनि उनी काठमाडौंको एकाध दिनको चिसो खाएर मधेश फर्किए । तर यतिकै भरमा राजनीतिको आकाशमा पुत्ताएको धुँवा शान्त हुने देखिन्न् । उनको मनको डर शान्त भइसकेको छैन भनेर सजिलै बुझन सकिन्छ । किनकि 'राजा आउ'को नारामा राजाकै चाहने कति छन् अथवा दलहरूको अहिलेको गतिविधिबाट आजित जनता कति छन् भनेर ठ्याक्कै भन्न सकिन्न । तर नेताका टिकाटिप्पणी र कामगराइबाट भने जनता सन्तुष्ट छैनन् भन्नलाई कुनै सर्भे गर्नुपर्ने आवश्यकता छैन ।
अशान्त समाजमा विकास र समृद्धिको नाराले मात्रै नागरिक तहमा उब्जिएको असन्तुष्टिलाई शान्त पार्न सक्दैन । सामाजिक सञ्जालमा अनि सार्वजनिक मञ्चमा आफ्ना तर्कको पुष्टि गर्न नसक्ने अवस्थामा दलहरू एकाध वर्षमै कसरी पुगे ? के यो एकाध वर्षमा उनीहरू सत्ताभन्दा पर थिए र ? यही अवधिमा समाजभित्र किन यति धेरै आक्रोशको धुँवा पुत्तायो ? अनि कसले असन्तुष्टिको दाउरा झोस्यो ? अब त यस्ता प्रश्नमा घोत्लिने फुर्सद पनि सत्तासीन दलले नपाउने अवस्था निर्माण हुँदै गएको छ । किनकि आफ्नै प्रतिरक्षामा बोली मात्रै राख्नुपर्ने अवस्था राजनीतिका निम्ति सारै दुःखदायी अवस्था हो । सत्ताको शीरबाट पुत्ताइरहेको धुँवा कतातिर मोडिन्छ भनेर यही एउटा चैत महिनाका भरमा भन्न सकिन्न । तर कतै यो आक्रोश संगठित हुने प्रस्थानविन्दु बन्दै त छैन भनेर विमर्श गर्न भने अब ढिला गर्न हुन्न । भलै सत्तासीन र हालसालै मात्र सत्ताबाट अलिकति पर पुगेकाले यसबारे सोच्न जरुरी नठानून् ।
