कोही हौसिन जरुरी छैन

फाल्गुन २५, २०८१

जनकराज सापकोटा

No one needs to be happy

देशैभर यतिबेला मौसमको अदलीबदली भैरहेको छ– पानी पर्ला पर्ला जस्तो हुने तर चरक्क घाम लाग्ने । मुसलधारे वर्षा होला जस्तो हुने अनि थोप्लाथोप्ली मात्रै पानी पर्ने । मौसम जस्तै त छ राजनीति पनि । दुवैले जनतालाई झुक्याइरहेछन् । यही झुक्यानमा परेर त होला केही भने को आएर देश बचाउँछन् भनेर रनभुल्लमा परिरहे जस्ता देखिन्छन् । 

घाम जस्तै छर्लङ्ग छ, हरदिन विश्वास गरेकै नेताहरु हिजोआज आफ्ना वचनमा स्खलित भइरहेका छन् । आशा गरेकैहरू हर घडी अविश्वासको धूवाँ ओकलिरहेछन् । सुध्रेलान् कि भनेर जनताले विश्वास गरेकाहरु नै फेद न टुप्पाका विषय ओकेलेर समाजमा फोहोर बढाइरहेछन् । अनि किन प्रकट नहोस् त राजा आउm देश बचाउm भन्नेहरुको सानोतिनो होहल्ला । भलै यस्तो ध्वनि कति प्राकृतिक र कति कृत्रिम हो भन्ने समयक्रममा प्रकट भइजाला । त्यसो त यसका केही छनक त सामाजिक सञ्जालमा यसै पनि छ्यालब्याल भइरहेकै छन् । 

राजा हटाएर गणतन्त्र ल्याएकै दलका शीर्ष नेताहरू हिजोआज पूर्वराजाबारे दिन बिराएर टिप्पणी गरिरहेका भेटिन्छन् । जब कि बोल्न र छलफल गर्नका निम्ति अरु पनि पर्याप्त विषय छँदै थिए । केही विषय नभएका बेला उनीहरू प्रतिस्पर्धी दलका नेताहरुबारे र कहिलेकाहीँ आफ्नै दलभित्रका तर फरक मत राख्ने नेताविरुद्ध फेद न टुप्पाका विषयमा आलोचना गरेर छारो उडाइरहकै थिए । अनि आफ्नो ‍औकात देखाइरहकै थिए । 

तर जे जति कमजोरीहरुले भरिएका भए पनि यी नेताहरुका विकल्प छन् । त्यसैका लागि त आवधिक निर्वाचन प्रणाली छ । कुरा मात्रै के हो भने, तमाम कमजोरीहरूले भरिएका यी नेताहरु पटक्कै नसुध्रने र ससाना झुण्डहरूमै रमाइरहने बानीबाट समाजले कति क्षति बेहोर्छ भन्ने विषय भने साँच्चै सोचनीय हो । तर त्यसका निम्ति नागरिक तहमा प्रश्न र खबरदारी गर्ने बलियो शक्तिको जरुरी हुन्छ । न कि राजा आउm देश बचाउल भन्दै दासत्व स्विकार्ने अनेक समूह र ससाना अनेक झुन्ड । 

आम जनमा दलहरुप्रति गुनासो मात्रै छैन, आक्रोशसहितको प्रश्न पनि छ । उनीहरुसँग पोखरामा हाइड्रोजन भरिएको बेलुनमा आगलागी भएको घटनामा बेलुन बेच्नेलाई किन प्रहरी लगाएर पक्रिएको होला भन्ने प्रश्न छ । किन सार्वजनिक जग्गा दोहनमा संग्लन व्यक्तिउपर सरकारले नरम व्यवहार गरिररहको होला भन्ने जिज्ञासा छ । किन सार्वजनिक लेखा समितिकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी मुद्दामा अरु यस्तै प्रकृतिको मुद्दामा भन्दा धेरै सहुलियत दिइएको होला भन्ने प्रश्न छ । अनि अन्तरजातीय बिहे गरेका एक जोडीलाई छुटाउन प्रहरीको टोली मुम्बईसम्म पठाउन सकिने व्यवस्था कसको के शक्तिका कारण सम्भव भएको होला भन्ने खुलदुली छ । प्रहरी कुट्न तम्सिने दलका भ्रातृसंगठनमा नेता प्रकाउ पर्दै नपर्ने र परिहाले पनि सहजै छुट्न किन र कसरी सम्भव छ भन्ने प्रश्न पनि उत्तिकै छ । कुलमानले किन र कसरी योग्यताको परीक्षामा जिरो नम्बर पाउँछन् र के यस्तो नम्बर दिनेहरू आफैं पास भएको योग्यताका थिए भन्ने प्रश्न पनि छ । 

हर घटनामा शक्ति र सत्ताले दुरुपयोग गरेको शक्तिका अनेक उदाहरण छन् । यो किन सम्भव छ भने यहाँ शाहीकालमा जस्तो कसैलाई प्रश्न गर्न बन्देज छैन । शाहीकालमा जस्तो सत्ता र शक्तिउपर प्रश्न त परै जाओस्, असहमति पनि व्यक्त गर्न वर्जित छैन । हर नागरिक कम्तीमा प्रश्न गर्न स्वतन्त्र छन् । भलै समाजमा होहल्ला यति चर्को छ कि प्रश्नहरू कतै हराइरहे जस्तो प्रतीत हुन्छ । तर सधैं यस्तै भैराख्छ भन्ने पटक्कै हैन । 

हर दिन समाचारमार्फत सार्वजनिक भइरहेका अनेक बेथिति र त्यसमा सत्ता शक्तिको प्रत्यक्ष–परोक्ष साइनो र यसका पहलुबारे आमजनमा अनेक खालका आक्रोश छन् । अनि जैरे यो व्यवस्था नै खराब रैछ कि भन्ने संशय पनि छ । यही संशयको मौसम बुझेर कहिले दुर्गा प्रसाईं प्रकट हुन्छन् र भन्छन्– यो देश म जोगाउँछु । कहिले राजावादी दलका अनेक फुटका एक भाइ निस्केर भन्छन्– देश त बेच्नै लागे । जोगाउन कोही चाहियो । अनि कोही भने आफ्ना अतृप्त इच्छा र आकांक्षाको दोकान वर्तमान व्यवस्थामा पटक्कै नचलेर छटपटाएका बेला उपयुक्त मौसम आयो भन्ठानेर उत्साहित देखिन्छन् । 

पूर्वराजा यसो टहल्नका लागि बेलाबखत यताउति गरिरहन्छन् । बेलाबखत बेतुकका विज्ञप्तिबाजी पनि गरिराख्छन् । तर देश यतिसम्म बिग्रेको र हामी यतिसम्म पछि परेको उनकै र उनका पूर्ववर्ती शासनकालमा हो भनेर उनी पटक्कै स्विकार्दैनन् । ज्ञानेन्द्रको जस्तै छटपटी उनी राजपाठबाट बेदखल भएपछि उनका कैयौं अनुयायीको पनि थियो । भलै उनीहरू चुपचाप देखिन्थे । उनीहरुको बेचैनीपुर्ण मौनता लामो समय सुषुप्त अवस्थामा थियो । तर गणतन्त्र ल्याएका दलहरूले पछिल्ला दुई दशकमा फजुलमा यति धेरै समय खर्चिए कि सुषुप्त रहेका राजावादीहरूलाई राजा आऊ देश बचाऊ भनेर सडकसम्म आइपुग्नका निम्ति अनुकूल तापक्रम सिर्जना गरिदिए । यो तापमान त्यतिन्जेल चल्नेछ, जब सत्ता र शक्तिमा रहेका दल र यसका चालक बोलेर मात्रै सबै कुरा फत्ते हुन्छ भन्ने भ्रमबाट बाहिर निस्कनेछैनन् । त्यतिन्जेल चल्छ, जब कामबाट नभएर बोलीबाटै सबै कुरा ठीक हुन्छ भन्ने भ्रममा विश्वास राख्छन् । त्यतिन्जेल चल्छ, जबसम्म दलहरू सुध्रिन्छु भन्दै झनै दलदलमा भासिनका निम्ति तयार हुन्छन् । 

तर केही छैन, यी दल र नेताको विकल्प छ । त्यसैले त हर चुनावमा उनीहरू छटपटिन्छन् । बडेबडे नेता पनि हारको चिसो पानीमा डुबेर कैयौं महिनासम्म हराउँछन् र कुनै दिन फुत्त प्रकट भएर नयाँ दाउको दोकान सुरु गर्छन् । सत्तामा छँदा मैमत्त देखिएका पनि सत्ताबाहिर छँदा अनुसन्धानमा तानिन्छन् । हर सार्वजिनक मञ्चमा कठोर प्रश्नहरूको झटारो भेटछन् । तर राजा भएको भए यो सबै हुन्थ्यो र । उनीहरु त प्रश्नभन्दा माथि नै हुन्थे । नागरिकहरू रैतीमा बदलिन्थे र दासत्व स्विकार्न उनीहरूलाई बाध्य बनाइन्थ्यो । 

नेताहरूले देश त खत्तमै पारे भन्ने भाष्यमा शतप्रतिशत विमति राख्न जरुरी पनि छैन । किनकि देश कति सुध्रिएको छ कति बिग्रिएको छ भन्ने प्रश्नको उत्तर व्यक्तिका अनुभूतिजन्य बुझाइबाट अनुमान गर्न सकिन्छ । तर ठ्याक्कै नाप्न सकिन्न । तर यति चाहिँ भन्न हिचकाचाउनुपर्दैन– २४० वर्षको शाहकालमा नै हो यो देश यति तन्नम भएको, देशले आत्मविश्वास गुमाएको र यहाँका नागरिकलाई भाडामा लगाएर सीमित मानिसले रैदालो गरेको । 

विस्मृतिको रोगले नेपाली समाजलाई बेलाबेला नराम्रोसँग गाल्ने गरेको विगत छ नै । जब सत्तामा रहेका र भुइँतहसम्म सञ्जाल बनाएका दलहरू आफ्ना प्राथिमकता र जिम्मेवारीबाट हराउँछन्, त्यति बेला यस्तो रोगले समाजलाई अलिक बढी गाल्छ नै । यति बेला भएको त्यही हो । न राजावादीहरू हौसिन जरुरी छ, न दलका नेताहरू आत्मविश्वास गुमाए झैं गरेर हरेक मञ्च पाएपिच्छे प्रतिक्रिया जनाइहाल्न ।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully