कसको हो टीकापुर ?

फाल्गुन २४, २०८१

हरि शर्मा

Whose is Tikapur?

काठमाडौँ — टीकापुर मेरो निम्ति नयाँ ठाउँ होइन ।अझै पनि ८२ वर्षको उमेरमा साइकल चढेर धनगढी र नेपालगञ्ज पुग्ने चन्द्रसिंह भट्टराई यहीँ हुनुहुन्छ ।

सानोमा यस ठाउँबारे रेडियोमा त सुने हुँला । अकस्मात् हेलिकोप्टर चढेर महाराजको सवारी भयो भनेर पनि सुने हुँला । यद्यपि संघर्षको थलोमा चन्द्रसिंह भण्डारीलाई मैले भेटेको ०४२ तिर सत्याग्रहताका हो ।

म राजनीतिज्ञको सेवामा थिएँ । राजनीतिको आफ्नै कामना थियो । तर मैले कहिल्यै राजनीति गरिनँ । सहयोगीको भूमिकामा थिएँ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मुलुकको विभिन्न ठाउँमा जाने मौका पाएँ। त्यसबेला म टीकापुर आएको थिएँ ।

टीकापुर भन्नेबित्तिकै नयाँ सहर, नयाँ बसोबास, नयाँ बस्ती ।

पछिल्लो कालखण्डमा हामीले नेपालको कोल्टे गर्दै गरेको संघीयताको सन्दर्भमा टीकापुरमा उत्पन्न सामुदायिक तनाव बढी सम्झन्छौँ । नयाँ ठाउँ बन्दै गर्दा यसलाई कसरी बुझ्ने हो भनेर जहिल्यै मनमा राखियो । टीकापुर, महेन्द्रनगर, राजविराज भन्नेबित्तिकै नेपालको बसोबास र नगरहरूको विकासको सन्दर्भमा एउटा तस्बिर हाम्रो अगाडि आउँछ ।

टीकापुरमा उभिएर यो कुरा गरिरहँदा टीकापुरवासी को ? टीकापुरको इतिहासमा यो नाम नै धेरै पुरानो होइन । टीकापुर भनेको पूर्वाधार हो, बाटो हो, व्यवस्थित सहर हो भन्दाभन्दै पनि टीकापुर अपूर्ण रहन्छ । कुन सहर र कुन ठाउँ पूर्ण हुन्छ त्यो भन्न सकिन्न । बनारस अझै पनि मोदीले क्योटो बनाउने प्रयासमा छन् । जुन बनारसको कल्पना हामीले गर्छौँ त्यो बनारस अब हामीमाझ छैन । समयअनुसार सहर परिवर्तन हुँदे जाँदो रहेछ । वास्तविक घर हुन समय लाग्छ ।

हाउस र होमको फरक मैले अनुभव गरेँ । हामीले घर बनाउँदा निकै राम्रो बनायौँ भन्छौँ। तर पसेको बिहान भान्छा मिल्दैन । बस्दै जाँदा वास्तु मिल्दैन । पूर्व मिल्दैन, पश्चिम मिल्दैन । एउटा घर साँच्चैको बासस्थान बन्न समय लाग्छ । ६० वर्षको इतिहासमा टीकापुर हाउसबाट होम हुने प्रयासमा छ ।

मलाई लाग्छ, टीकापुरमा बल्ल तीन पुस्ता हुँदै छ । यो बन्ने सन्दर्भमा फेस्टिभलहरूमा प्राण प्रतिष्ठा गर्ने काम गरेका छन् । निर्जीवबाट सजीव समाज बन्ने प्रयासमा छ । तर समाज यति चाँडै परिवर्तन भइरहेको छ ।  पुस्तान्तरणको कारण हाम्रो इच्छा आकांक्षा बढेको छ ।

प्रशासनमा अहिले पनि गुनासो सुनिन्छ । हामीलाई गाह्रो साह्रो पार्न कर्णाली हुम्ला जुम्ला पठाइन्छ भनेर । तर राणाको सन्तानहरूको बीचमा आपसी द्वन्द्व भयो भने पनि विर्ता र मौजा दिइन्थ्यो तर कर्णाली वा पाल्पा पठाइन्थ्यो । मान्छे विभिन्न कारण कहाँबाट कहाँ जान्छ । राजा महेन्द्र धनगढीबाट टीकापुर नआएको भए के हुन्थ्यो । यहाँको मान्छे के हुन्थे ? कुनै पनि घटना ठाउँ र परिवेश जन्माउँछ । व्यक्ति पनि त्यही हो । बाटोमा जाँदा अचम्मको मान्छे भेटिन्छ, संसर्ग हुन्छ ।

कुनै ठाउँमा उभिएर ध्यान गर्नुपर्ने कुराचाहिँ जहाँ हाम्रो अवस्थिति छ जहाँबाट हामी अवलोकन गर्छौँ । हामी अनुभव र व्यवहारको धरातलमा उभिएर कुरा गरिरहेका हुन्छौँ । हामी सबैको दृष्टिकोण फरक छ । लोकतन्त्रको मर्म पनि त्यही हो । हामी सबै एकै ठाउँमा बसे पनि उभिएको ठाउँ अलिकति फरक हुन्छ । जिरो त्यहीँ हुन्छ तर हेर्ने ठाउँको नापले फरक पार्दछ ।

टीकापुरमा उभिएर हेर्दा पहाड कस्तो देखिन्छ ? मधेश कस्तो देखिन्छ ? समुदाय कस्तो देखिन्छ  विगत कस्तो देखिन्छ ? वर्तमान र भविष्य कस्तो देखिन्छ ? त्यो निकै महत्वपूर्ण कुरा छ । यो भेलाको महत्वपूर्ण पक्ष के हो भने यसमा हामीले आ आफ्ना दृष्टिकोणहरू पस्कन्छौँ ।

अहिले फागुनको महिनामा धेरै फेस्टिभल छ । यसलाई मैले मिनी लोकतन्त्र भनेको छु । संसद्‍मा जेसुकै भइरहेको होस् मतलब छैन । तर तपाईं हामी स्थानीय ठाउँमा, सहरमा मेरो भाषा के हो, मेरो अन्तरसमुदाय के हो ? मेरो स्त्रीसँग सम्बन्ध के हो ? जातभातसँग सम्बन्ध के हो ? सिर्जनशीलतासँग सम्बन्ध के हो ? प्रश्नहरू हाम्रा समाजका के हुन् ?

लोकतन्त्र संसद्‌ले मात्र बलियो बनाउँदैन । यस्तै जमघट र कुराकानीले पनि बलियो बनाउँछ । एकजना श्रेद्धय साथीले भन्नुभयो– अब कुरा कति गर्ने हरिजी ?

बल्ल त कुरा गर्न पाएका छौँ । १० वर्ष त भयो । केही समयघि कुरा गर्दै दुवैथरी हरियो लुगा लगाउनेबाट त्रास थियो ।

मान्छेहरू जब ठाउँ थातथलो छाड्छन् अस्तित्वको खोजीमा हुन्छन् । यहाँ जो पहिल्यै बसोबास गर्न आउनुभयो, जाँगर र जोससहित आउनुभयो ।  झाडी फाँड्नसमेत क्षमता भएका मान्छे थिए । तर यहीँ पनि त मान्छे थिए । 

लोकतन्त्रले आएका र गएकाको बीचको संवादलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता हो । को पहिले आयो कहिले आयो भनेर लड्ने होइन । आई त सक्यो । कहीँ न कहीँ रिकन्सिलेसन हुनुपर्छ । यहाँ हरेक भाषाका मान्छेले कुरा गर्न पाउनुपर्छ । तर त्यसको आधारभूत तथ्य समानता हो । लोकतन्त्रको सबैभन्दा ठूलो आधारभूत मूल्य भनेको समानता हो ।

जुन समाजमा इच्छा आकांक्षा र केही गर्छु भन्ने ढुकढुकी हुँदैन, त्यो त मरेको समाज हो । उर्लँदो आकांक्षा नराखेर के गर्नु । इच्छा आकांश कुनै पनि समाजको लागि नौलो होइन । त्यसलाई म्यानेज गर्न सकिन्छ । इच्छा आकांक्षा बढ्यो भने अलिअलि फ्रस्टेसन आउँछ । त्यो पनि म्यानेज गर्न सकिन्छ ।

तर कहिलेकाहीँ समाजमा केही भएन भने समाज नैराश्यतिर लम्कन्छ । कताकता अहिलेको नेपालको पलायन हेर्दा नैराश्यतिर जान लागेको जस्तो देखिन्छ । जुन समाज डाँडाकाँडाबाट झरेर झाडीपाडी गरेर नदीनाला तरेर सारा कुरा गरेर आएर बसेको छ के त्यो समाज पलायन हुन सक्छ ?

व्यक्ति हार्न सक्छ तर समाज हार्न सक्दैन भन्ने मान्यता छ मेरो । त्यसकारण पुनर्जागरणको सम्भावना हरेक समाजमा हुन्छ । समस्यालाई दबाउने होइन । खुलेर कुरा गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । ०६२/०६३ को आन्दोलनमा सबै एउटै सूत्रमा बाँधिन्छौँ भन्दाभन्दै पनि जसले एजेन्डा बोकेका थिए । उनैले एजेन्डा छाडेका कारण हामीलाई डर लागेको हो । अहिले हामी संशयमा छौँ । परीक्षण हामी सबैलाई दिइएको छ ।

यो डराउने समय होइन विश्वास सिर्जना गर्ने समय हो । जुन व्यक्तिगत कुरा भनिरेहका छौँ । त्यो राजनीतिक कुरा हो । त्यो पावर र सम्बधन्को कुरा हो । तर हामी प्रश्नको कठघरामा छौँ । यो समयमा टीकापुर के हो भन्ने जुन कथार्सिस छ त्यसैबाट केही साहित्यको सिर्जना हुन्छ । टीकापुरमा जुन तनाव देखिरहेको छु । सिर्जनाले तनाव कम गर्छ र बाटो पनि दिन्छ । साहित्यले जोड्छ र मौका पनि दिन्छ ।

टीकापुर बाटो खोजिरहेको छ । ४०/५० वर्ष भइसक्यो अब । हामी भए घर जाओँ सुतौँ भन्ने हुन्छ । तर सहर भएको हुनाले यसले कोल्टो फेरिरहेको छ । सबै सहर एकैनाशको हुन् । त्यसको पहिचान बनाउनुपर्यो । सहरको अर्गानिक इभोलुसन हुन्छ । टीकापुरमा अर्गानिक इभोलुसन भएको होइन । टीकापुर सोचेर सम्झेर रेखा कोरेर बनाइएको सहर हो ।

चण्डीगढ पनि रेखा कोरेर बनाइएको सहर हो । सिटी बनाउने सन्दर्भमा चण्डीगढ पनि फेलियर सिटी भनिन्छ । सबैथोक हुँदा हुँदै पनि त्यो बेलाको इन्डियाको चिन्ता के थियो भने हामीसँग लाहुर छैन । दिल्ली टाढा छ । पञ्जाव विभक्त भएर बाँडिएको छ । सपनाका निम्ति चण्डीगढ सहर बनाइयो । त्यो सहरको अन्तर्द्वन्द्व मैले देखेको छु ।

सहर भनेको पुँजीवादको उत्पत्तिको थलो हो । गाउँ भनेको सामन्तवादको थलो हो । त्यसकारण चण्डीगढमा धोबी कहाँ बस्ने ? धोबीको निम्ति त्यो सहर बनेको थिएन ।

ग्वालाको निम्ति त्यो सहर बनेको थिएन । साइकल ब्वायका निम्ति त्यो सहर बनेको थिएन । त्यो सहर सम्भ्रान्तहरूलाई राख्नका निम्ति ब्यूरोक्र्याक्ट्सहरूको शासन व्यवस्थाका निम्ति बनेको थियो ।

हामी अझै पनि गाउँबाट सहर बन्ने प्रयासमा छौँ । त्यसले उत्पन्न गराउने सामाजिक तनाव अर्को किसिमको छ । भोलिको सहरको कल्पना गर्ने हो भने सार्वजनिक ठाउँ पनि छाड्नुपर्छ ।

विविध गर्ने ठाउँ पनि हुनुपर्छ  । यो लोकतन्त्रको सुन्दर पक्ष हो । भएको माइतीघर मण्डला मास्ने जस्तो काम नगर्नुहोला । चित्त नबुझेको ठाउँ राख्नुहोला । तब मात्र सहरले पूर्णता पाउँछ ।

विश्लेषक शर्माले टीकापुर सहित्य महोत्सवमा शनिबार दिएको विद्वत् प्रवचनको सम्पादित अंश  

हरि शर्मा

Link copied successfully