गीत गाउन काठमाडौं आएँ, बनेँ रंगकर्मी

अहिलेको पुस्ता छिटो सफल हुन चाहन्छ । छिट्टै भाइरल हुन चाहन्छ । तर रंगमञ्च धैर्य र निकै अभ्यास गर्नुपर्ने ठाउँ हो ।

फाल्गुन १९, २०८१

संगीता थापा मगर

I came to Kathmandu to sing, I became a painter

काठमाडौँ — रंगमञ्च अभिनय गर्ने ठाउँ मात्रै होइन, यो समाजका कथा सुनाउने र भावना व्यक्त गर्ने शक्तिशाली माध्यम हो । नेपालमा रंगमञ्चले एकातर्फ अवसर बोकेको छ भने अर्कोतर्फ धेरै चुनौती पनि छन् ।

आर्थिक कठिनाइ, स्थिर करिअरको अभाव र सीमित दर्शक जस्ता समस्याका कारण रंगकर्मीहरू संघर्ष गरिरहेका छन् । तर, प्रविधिको विकास, नयाँ पुस्ताको चासो र डिजिटल माध्यमको प्रयोगले यस क्षेत्रमा नयाँ सम्भावना पनि ल्याएको छ । यस्तै अवसर र चुनौतीबीच एक कलाकारले आफ्नो यात्रा कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । 

एसएलसीपछि म काठमाडौं आएँ- गीतकार, गायिका बन्छु भन्ने लक्ष्य लिएर । बच्चाबेलादेखि नै कला क्षेत्रमा मेरो गहिरो रुचि थियो । म्युजिकमा स्नातक गरेँ । स्कुलदेखि नै नाच्ने, गाउने, नाटक गर्ने मेरो रुचि थियो । तर स्नातक पढ्दै गर्दा मेरो भोकल बिग्रिँदै गयो । डाक्टरहरूले स्वरलाई आराम दिन सल्लाह दिए र म संगीतलाई छोड्न बाध्य भएँ । पछि मैले नेपाली साहित्यमा स्नातकोत्तर गरेँ ।

संगीत यात्रालाई छाड्नु मेरो लागि निकै पीडादायी थियो । त्यो रिक्तता भर्नका लागि गजल लेख्न थालेँ । साहित्यतर्फ मेरो झुकाव बढ्यो । 

साहित्यमा लगाव बढेसँगै मैले नाटक हेर्न थालेँ । भाग्यवश, मैले त्यतिबेला नेपालका उत्कृष्ट नाटककारको नाटक हेर्ने अवसर पाएँ । थिएटर यात्राको मेरो सुरुवात नाटक हेरेरै भएको थियो ।

यो सबै चल्दै गर्दा मैले चिनिरहेको एकजना दाइसँग भेट भयो । मैले उहाँलाई एक न एकपटक मञ्चमा चढ्न मन छ भन्ने कुरा सुनाएँ । र उहाँले नै एउटा चलचित्रमा सानो भूमिका निभाउने अफर गर्नुभयो । त्यो चलचित्र सकिएलगत्तै अर्को चलचित्रमा लिड रोल गर्ने अवसर पाएँ । यी दुवै चलचित्र मगर समुदायमा केन्द्रित थिए । प्राविधिक कारणले यो चलचित्र भने पूरा हुन सकेन । त्यसपछि, मैले एक सर्ट फिल्म पनि गरेँ ।

यसैक्रममा, नाटकको यात्रा अनायासै सुरु भयो । मेरो पहिलो नाटक अर्का कलाकारको सब्स्टिट्युटका रूपमा थियो । तर संयोगवश, मैले नै सम्पूर्ण नाटक गर्न पाएँ । यहीँबाट मेरो वास्तविक रंगमञ्च यात्रा सुरु भयो ।

तर एकताका केही कारणले म विदेशिने तयारीमा पुगेँ । जापान जाने योजना बन्दै गर्दा त्यसै समयमा ‘जोखाना’ नाटकको प्रमुख भूमिका निभाउने अवसर आयो । जसले मेरो बाटो पूर्णरुपमा मोड्यो । धेरै जनामाझ मलाई चिनायो ।  

म मूलतः संगीतका लागि काठमाडौं आएकी थिएँ, रंगमञ्चका लागि होइन । तर परिस्थितिले मलाई नाटकतर्फ मोड्यो । त्यही समय मलाई लाग्यो, जब कुनै कुरामा मन लगाएर काम गरिन्छ, सफलता आफैं पछ्याउँदै आउँछ । ‘जोखाना’ नाटकपछि, मलाई स्वतः विभिन्न अवसर आउन थाले । काम खोज्न कतै धाउनुपरेन । मैले संगीतमा करिअर सम्भव नभएपछि हौसला नराखेको भए सायदै मैले आजको जसरी काम गर्न सक्थेँ । मैले 'खजुरे ब्रो' चलचित्रमा काम गर्ने मौका पाएँ । हालसालै मैले 'खुस्मा'मा पनि अभिनय गरेको छु । अहिले 'जेरी अन टप'को छायांकन भइरहेको छ । अहिले नाटकमा 'सहिद बोल्छ' नाटक निर्देशन गरिरहेको छु । रिहर्सलहरु भइरहेका छन् ।

मैले थिएटर क्षेत्रमा प्रवेश गरेको सात वर्ष भइसक्यो । तर कुनै थिएटरसँग पूर्ण रुपमा आबद्ध भएको छैन । म र मेरा केही साथी मिलेर एउटा थिएटर दर्ता गरेका छौं । छिटै नै हल बनाउने काम सुरु गर्ने योजना छ ।

हाल, युवामा थिएटरप्रति आकर्षण केही बढेको छ । चलचित्र क्षेत्रमा प्रवेश पाउनका लागि थिएटरबाट सिक्नुपर्छ भन्ने बुझाइ विकास हुँदैछ । अहिलेका चिनेगुनेका कलाकार थिएटर हुँदै फिल्मसम्म आउनुभएको छ । जताततै उहाँहरुको कामको प्रशंसा । त्यसकारण पनि थिएटर आउन चाहने धेरै हुनुहुन्छ । तर यहाँ धैर्यका साथ काम गर्ने भने निकै कम देखेको छु । यहाँ टिकेर काम गरिरहन चुनौती छ ।

थिएटर आर्थिक रूपमा स्थायित्व दिन सक्ने क्षेत्र होइन । सुरुवातमै काम पाइँदैन, जसलाई कसरी सामना गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिलेको पुस्ता छिटो सफल हुन चाहन्छ । छिट्टै भाइरल हुन चाहन्छ । तर रंगमञ्च भने धैर्य र निकै अभ्यास गर्नु पर्ने ठाउँ हो । यहाँ अभ्यासले कलाकार माझिएर आउने हो । यसको मूल्य समयसँगै विस्तारै प्राप्त हुन्छ ।I came to Kathmandu to sing, I became a painterथिएटरलाई हेर्ने दृष्टिकोण अझै बदलिन सकेको छैन । कतिपयले कलाकार भनेको फिल्ममा मात्रै काम गर्ने हो भने बुझ्नुभएको छ । मेरा आफन्तले पनि कलाकार हो भन्दा ‘के गर्छे, कतै फिल्ममा काम गरेको छैन, देखिएको छैन’ भन्ने प्रतिक्रिया दिन्थे । 

हालसालैको एउटा घटनाको उदाहरण दिन्छु । अहिले सर्वनाम थिएटरमा रिहर्सल चलिरहेको छ । प्राय: म सर्वनाम वरिपरि नै हुन्छु । एकजना १२/१३ वर्षको बाबुलाई लिएर एकजना आइरहनुभएको थियो । त्यो बाबुले 'ममी हेर्नु त थिएटर रहेछ । के हो थिएटर भनेको ?' भनेर सोध्यो । ती महिलाले ‘यो नाटक गर्ने ठाउँ हो, नौटंकी हुन्छ’ भन्नुभयो । मैले आफैले यस्तो सुन्दा निकै नमज्जा लाग्यो । 

थिएटरमा महिला कलाकार हुनुका पनि थप चुनौती छन् । कतिपयले मेरा सुझाव, विचारलाई त्यति महत्त्व दिएनन् । मैले केही नयाँ आइडिया दिँदा वास्ता नगर्ने थुप्रै थिए । अझ म कतैबाट सिकेर नाटक खेल्न आएकी थिइनँ । त्यसले पनि मलाई ‘तपाईं हाम्रो थिएटरमा मात्र काम गर्नुहोस्, अन्त काम नगर्नुस्’ भन्नेहरु पनि धेरै थिए । 

काठमाडौं कन्द्रित थिएटर धेरै छन् अहिले । यसलाई काठमाडौंबाहिर लान आवश्यक छ । ठाउँठाउँमा विभिन्न प्रशिक्षण दिने वा कार्यशाला गर्ने हो भने टाढासम्म प्रभाव पार्न सक्छ । नाटक सिक्न काठमाडौं आउन नसक्नेका लागि पनि अवसर प्रदान गर्छ । 

मण्डला थिएटरले दुई वर्षदेखि सातवटै प्रदेशबाट कलाकार छनोट गरेर, प्रशिक्षण गर्ने गरेको छ । उनीहरुले प्रशिक्षण लिएपछि आफ्नै गाउँठाउँ, समुदायमा रंगमञ्चबारे थाहा दिने, नाटक सिकाउने कार्यको थालनी गरेका छन् । यस्ता अभ्यासलाई अन्य क्षेत्रीय स्तरमा पनि विस्तार गर्न आवश्यक छ । यसरी नयाँ कलाकार पनि आउाछन् । आर्थिक कारणले वञ्चित भएकाहरुले सहयोग पाउँछन् । 

गाउँगाउँमा सानासाना थिएटर हल स्थापना गर्न सकियो भने पनि नयाँ कलाकार सहजै यो क्षेत्रमा आउन सक्छन् । थिएटरमा आउन चाहनेले आर्टका सबै विधा बुझेर र सिकेर आउन जरुरी छ । 

कलाकारले बहुपक्षीय सीप पनि सिक्नुपर्छ । अभिनय मात्र गर्छु भन्दा आर्थिक रुपमा गाह्रो हुन सक्छ । तर बहुआयामिक सीपले नयाँ अवसर सिर्जना गर्न सक्छ । थिएटरमा धेरै काम हुन्छन् । जस्तै: लाइट, प्रप्स, स्टेज, संगीत जस्ता कामबाट पनि आर्थिक आर्जन हुन सक्छ । 

अहिलेको नयाँ पुस्ताले डिजिटल माध्यमको प्रयोग गरी थिएटरलाई अझ बढी दर्शकसम्म पुर्‍याउन सक्छ । उनीहरुमा भएको डिजिटल ज्ञान यहाँ पनि प्रयोग गर्न सकिन्छ । 

धेरैले नाटक सिकेरै पनि काम पाइनँ अथवा अवसर पाइनँ भन्नुहुन्छ । तर उहाँहरुले आफ्नो सीप देखाउन सकिरहनुभएको छैन जस्तो लाग्छ । अवसर पाउन पनि अरुले काम देख्नुपर्छ । एक दुईपटक म काम गर्छु, मेरो काम हेर्नुस् भनेर पनि जान सक्नुपर्छ । आफ्नो सिकाइ बढाउँदै गएर जसले जे काम दिए पनि गर्न सक्छु भन्नुपर्छ । थिएटरमा अलराउन्डर भएर आउन सक्नुपर्छ । 

उसो त यसरी लगनशीलता देखाउने, समर्पित भएर काम गर्ने जो कोहीले यस क्षेत्रमा आफ्नो पहिचान बनाउन सक्छ । यो सजिलो यात्रा होइन, मेहनत गर्नेहरुका लागि रंगमञ्च सधैं खुला छ ।

थिएटरले मलाई नै अभिनयबाहेक पनि धेरै कुरा सिकाएको छ । सबै समस्यालाई सहजै कसरी समाधान गर्ने भन्ने मैले थिएटरमा सिकेँ । यहाँ मैले धैर्यले काम गर्न सिकैँ । 

अन्ततः रंगमञ्च कलाकारका लागि अवसर र चुनौती दुवै हो । तसर्थ, सही दृष्टिकोण, समर्पण र निरन्तर अभ्यासले एक रंगमञ्च कलाकारले सफलता हासिल गर्न सक्छ ।

संगीता मगर रंगकर्मी हुन् ।

Link copied successfully