प्रधानमन्त्रीबाटै मतदाता र जनप्रतिनिधिको अपमान [टिप्पणी]

फाल्गुन ६, २०८१

किशोर दहाल

Insulting voters and people's representatives from the Prime Minister [Comment]

काठमाडौँ — सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गरेर दाङको घोराहीमा एमालेद्वारा आयोजित आमसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई मात्रै होइन, मतदातालाई पनि कटाक्ष गरे । दाङका जनताप्रति उनको असन्तुष्टि थियो, ‘शंकर पोखरेललाई चुनाव हराएर अरु ‘आधा न साधा’ का मान्छेलाई जिताएर पठाउनु तपाईंहरूको गल्ती त भयो नि ।’

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ-२ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग एमाले उम्मेदवार शंकर पोखरेल पराजित भएका थिए । निर्वाचनमा शर्माले २६ हजार ८८० र पोखरेलले २६ हजार ६८७ मत पाएका थिए । एमाले महासचिव समेत रहेका पोखरेलको पराजयले एमालेपंक्ति स्तब्ध भएको थियो । ओलीले दाङ पुगेर सोही निर्वाचन परिणामलाई पुनः चर्चा गरेका हुन् ।

ओलीको अभिव्यक्तिलाई केही कोणबाट केलाउनु सान्दर्भिक हुन्छ ।

पहिलो, निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने र कस्तालाई हराउने भन्ने मतदाताको सार्वभौम अधिकार हो । उनीहरूको आफ्नै विश्लेषण हुने गर्छ । उम्मेदवारका विगतका भूमिकाको मूल्यांकन हुन्छ, भविष्यको भूमिकाको आकलन हुन्छ । दाङमा पनि त्यही भयो । उनीहरूको रोजाइमा शर्मा अब्बल ठहरिइन्, जितिन् । तर ओलीले मतदाताको त्यही अधिकार र छनोटलाई अपमान गरेका छन् ।

दोस्रो, निर्वाचनमा सबै उम्मेदवारको हैसियत बराबर हुन्छन् । सम्बन्धित पार्टीमा कसलाई कुन पदको टीका लगाइएको छ भन्ने विषयले उम्मेदवारबीचको समान धरातललाई प्रभावित बनाउँदैन, बनाउनु हुँदैन । मतदाताले जुन उम्मेदवारलाई रोज्छन्, उही लोकप्रिय हो, उही जनादेशको बाहक हो । निर्वाचनको अर्थ पनि यही हो । कतिपय अवस्थामा संदिग्ध व्यक्तिले पनि निर्वाचन जित्न सक्छन् । त्यस्तो बेलामा सार्वजनिक प्रश्न उठ्नुपर्छ, न्यायिक परीक्षण हुनुपर्छ । दाङ-२ बाट निर्वाचित शर्मामाथि त्यस्तो प्रश्न उठेको छैन । तर ओलीले निर्वाचनमा जनताले विजयी बनाएका उम्मेदवारलाई अमूर्त शब्दावली प्रयोग गरेर अपमान गरेका छन् ।

तेस्रो, उनले भनेका छन्- ‘यति सक्रियता त्यतिबेला देखाइदिएको (शंकर पोखरेललाई जिताएको) भए अलि सजिलो पर्थ्यो । मलाई सजिलो पर्थ्यो । नेकपा एमालेलाई सजिलो पर्थ्यो ।’ उनको अभिव्यक्तिमा शर्मालाई जिताएकैले आफूलाई अप्ठ्यारो परेको सन्देश छ । निर्वाचित सांसदलाई अस्वीकार र अर्कोले जितेको भए सजिलो हुन्थ्यो भन्ने अभिव्यक्तिमा निश्चित सांसद र संसदीय क्षेत्रप्रति प्रधानमन्त्रीको अनावश्यक प्रतिशोध झल्किन्छ । यसबाट निर्वाचनको आधारभूत मूल्य मान्यताकै पनि अपमान भएको छ ।

प्रधानमन्त्रीले मतदाताको चयनप्रति प्रश्न उठाउनु सही नभएको राजनीतिक विश्लेषक उद्धव प्याकुरेल बताउँछन् । ‘उहाँको अभिव्यक्तिले मतदाता, निर्वाचन र लोकतन्त्रकै अवमूल्यन गर्छ’, कान्तिपुरसँग उनले भने ।

निर्वाचनअघि आफ्नो पार्टीको उम्मेदवार योग्य भएको भनेर मतदातालाई विश्वस्त तुल्याउन खोज्ने प्रयत्नलाई अस्वाभाविक ठानिँदैन । अर्को, उम्मेदवारको कमजोरीलाई बढाइचढाइ मतदातामाझ प्रस्तुत गर्ने अभ्यास पनि छ । तर निर्वाचन सम्पन्न भइसकेपछि र परिणाम आइसकेपछि प्रधानमन्त्रीले मतदातालाई नै ‘किन अर्कोलाई जितायौ ?' र ‘गल्ती गर्‍यौ’ भनेर आलोचना गर्नुचाहिँ निर्वाचन परिणामको अप्रत्यक्ष अस्वीकारोक्ति हो । यसबाट प्रतिस्पर्धामा आफैंले जित्नुपर्थ्यो भन्ने अहंको उजागर गर्छ । साथसाथै, आफ्ना कमजोरीलाई सुधार गरेर अर्को निर्वाचनमा राम्रो नतिजा प्राप्त गर्ने अठोट गर्नेभन्दा पनि आफ्नो कमजोरीमा पनि अरुलाई नै लाञ्छित गर्ने प्रवृत्तिलाई बल दिन्छ ।

दाङमा प्रधानमन्त्री नै आइपुगेका बेलामा विकास निर्माणको कामको उद्घाटन होला र धन्यवाद भनौंला भन्ने लागेको तर उनले मतदातालाई अपमान गर्ने अभिव्यक्ति दिँदा दुःख लागेको सांसद् शर्माले बताइन् । निर्वाचनमा कुन पार्टी र उम्मेदवारलाई जिताउने वा हराउने भन्ने विषय मतदाताको विवेकको विषय भएको उनको भनाइ छ ।

‘निर्वाचित जनप्रतिनिधि र त्यहाँको मतदाताको अपमान हुने गरेर बोल्न देशको प्रधानमन्त्रीलाई सुहाउँदैन,' शर्माले कान्तिपुरसँग भनिन्, ‘यो उहाँको गैरजिम्मेवारीपना हो । उहाँमा रहेको अहं र दम्भको परिणाम हो । त्यसले उहाँलाई नै नोक्सान पुर्‍याउँछ ।’

२०७९ को निर्वाचनमा सिंगो दाङ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको प्रतिनिधित्व हुन सकेको थिएन । त्यतिबेला प्रतिनिधिसभातर्फ दाङका तीन निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारले जितेका थिए । प्रदेशसभातर्फ चार वटा क्षेत्र कांग्रेस र दुई वटामा माओवादी केन्द्रले जितेका थिए । सिंगो जिल्लाबाट आफ्नो प्रतिनिधित्व नहुनुको चिढचिढाहट पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा पाइन्छ ।

जहाँसम्म शंकर पोखरेलको सहयोगको प्रसंग छ, त्यो ओलीलाई जहिल्यै प्राप्त छ । तत्कालीन नेकपाभित्रको विवाद चर्किँदा पोखरेल लुम्बिनी प्रदेशमा भन्दा बढी काठमाडौंमा दौडधुप गरेका पाइन्थे । त्यसको एउटै मनशाय थियो- आफू नेतृत्वको प्रदेशमा जतिसुकै भद्रगोल होस्, नेकपाको अध्यक्ष र प्रधानमन्त्रीको कुर्सीमा ओलीलाई संकट नआओस् ।

पोखरेलको सहयोगको कदर गरेरै हुनुपर्छ, सौराहा महाधिवेशनमा ओलीले उनैलाई महासचिवबाट पुरस्कृत गरे । पोखरेल पनि ओलीको बचाउमा झन् प्रतिबद्ध भएर लागेका छन् ।

सार्वजनिक मञ्च मात्रै होइन, फेसबुकमा दैनिकजसो स्टाटस पोस्ट गरेर ओलीकै अभिव्यक्ति वा निर्णयको प्रतिरक्षा गरिरहेका हुन्छन् । जस्तो कि, ओली अमेरिका पुगेर ‘डाँफेज्’ र ‘गैँडाज्’ भनेर दुनियाँ हँसाए । पोखरेल फेसबुक स्टाटसमार्फत प्रतिरक्षा गरे- ‘उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्दछ ।’

ओलीको कुनै अभिव्यक्ति वा निर्णय जब विवादमा पर्छ, बचाउका लागि सबैभन्दा पहिले पोखरेलको स्टाटस सार्वजनिक हुन्छ । त्यसैले त उनका आलोचक भन्छन्- शंकर पोखरेल एमालेका महासचिव कम, ओलीका ‘रफु मास्टर’ ज्यादा भए ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully