आधारहीन आत्मश्लाघामा मुग्ध दाहाल [टिप्पणी]

को भेडा र को बाघ भन्ने प्रश्नको उत्तर भविष्यमा लेखाजोखा हुने नै छ । तर, माओवादीले आफ्नो आधार वर्ग भुलेको भने पक्कै हो । दलाल, नोकरशाही वर्ग र आफूहरूबीच भिन्नता नभएको भनेर त दाहाल स्वंयले भनिरहेका छन् ।

माघ २७, २०८१

किशोर दहाल

[Comment]

‘२०६४ मा जहाँ गयो बुढाबुढी, युवायुवती, बच्चाबच्ची एकचोटि [मलाई] छुन पाए हुन्थ्यो भन्ने उभार थियो । २०७० र २०७४ पछि सबै उस्तै हुन् भन्या जस्तो हुन गयो । अहिले जनतामा माओवादी नै रहेछ हाम्रो पार्टी भन्ने भएको छ । म जहाँ गएको छु । फेरि मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने, २०६४ को जस्तै देखेको छु मैले ।’

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति हो, यो ।

आफ्नो र पार्टीको प्रशंसामा पछिल्लो समय निरन्तर बोलिरहेका छन् । जनतामा आकर्षण बढ्दै गएको बताइरहेका छन् । र, २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्दै हिँडेका छन् ।

दाहालले यस किसिमको आत्मश्लाघा गर्नुका मुख्य दुई कारण छन् । पहिलो, गत मंसिर १६ मा सम्पन्न उपनिर्वाचनको नतिजा । त्यतिबेला माओवादी केन्द्रले एउटा अध्यक्ष, दुइटा उपाध्यक्ष, एउटा उपप्रमुख र  सात वटा वडाध्यक्ष गरी ११ स्थानमा जित्न सफल भएको थियो । उसले जितेका ८ स्थानमा उपनिर्वाचन भएकोमा उसले समग्रमा ११ स्थानमा जित्यो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उसले कांग्रेस-एमालेको गठबन्धनको उम्मेदवारलाई समेत पराजित गरेको थियो ।

त्यसपछि दाहालले अब जित्न बाँकी केही नरहेको जस्तो अभिव्यक्ति दिन थालेका हुन् । अब उनी आगामी स्थानीय निर्वाचनमा २५० भन्दा बढी पालिका जित्ने बताइरहेका छन् ।

तर उनी के भुल्दैछन् भने, उपनिर्वाचनमा माओवादी केन्द्रले कांग्रेसबाट ७ (१ अध्यक्ष, १ उपप्रमुख र ५ वडाध्यक्ष) र एमालेबाट १ वडाध्यक्ष खोसेको थियो । जबकि, ऊ स्वयंले यसअघि जितेका ५ स्थान गुमाएको र केबल तीन स्थानमा आफ्नै नेतृत्व यथावत् राखेको थियो । उसले आफ्नो विरासत जोगाएको तीन स्थानमध्ये एक स्थानमा त निर्विरोध निर्वाचित भएको थियो । बाँकी दुई स्थानमा उसले पहिले पाएकोभन्दा मत घटाएको थियो । उसले यसअघि जितेका ८ मध्ये ३ स्थान मात्रै जोगाउन सक्नु भनेको उसका जनप्रतिनिधिले गरिरहेको कामप्रति जनतामा असन्तुष्टि छ भन्ने देखिन्छ । भलै, त्यस्तो असन्तुष्टि अन्य दलका जनप्रतिनिधिको हकमा पनि देखियो । त्यसैले उपनिर्वाचनको परिणामले त्यहाँ नेतृत्व गरिरहेको पूर्ववर्ती पार्टीको कामप्रति उत्साहित भएर होइन, बरु निराश भएर पार्टी परिवर्तन गरेको देखिन्छ ।

दोस्रो, कांग्रेस-एमालेको गठबन्धनले अपेक्षाकृत नतिजा दिन नसक्नु । गत असारमा कांग्रेस-एमालेले जस्ता कारण देखाएर सरकार गठनको अग्रसरता लिएका थिए, त्यसमा अपेक्षित परिणाम दिन सकेका छैनन्, त्यस्तो संकेत पनि स्थापित गर्न सकेका छैनन् । बरु सुशासनमा झनै कमजोर भएको, शक्तिशाली सरकारले पनि विवादास्पद प्रावधानसहितको अध्यादेशबाट शासन गर्न खोजेको, सामाजिक सञ्जालसँग सम्बन्धित रहेर कठोर विधेयक ल्याएको, संविधान/निर्वाचन कानुन संशोधन गरेर अप्राकृतिक बाटोमार्फत् दुई दलीय शासनतर्फ उन्मुख भएको जस्तो आरोप लाग्न थालेको छ ।

एकातिर आफूले सुशासनको पक्षमा अभूतपूर्व काम गरिरहेको थिएँ, त्यही कारण प्रधानमन्त्रीबाट हटाइयो भन्ने दाहालको दाबी छँदैछ । अर्कोतिर केपी शर्मा ओली नेतृत्वको सरकारले लय समात्न नसक्दा उनी झन् हौसिन पुगेका छन् । त्यसैले पनि उनी सरकार कुहिएरै ढल्ने बताइरहेका छन् ।

आमागी दिनमा सरकारले वर्तमान सरकारले जति कमजोर उपस्थिति देखाउँछ, त्यसबाट लाभ लिन खोज्ने वा पाउने एउटा पार्टी माओवादी केन्द्रमा हुनेचाहिँ निश्चित नै छ । सरकारप्रति दाहालको तीखो अभिव्यक्ति र आफ्नो आत्माश्लामा त्यही रणनीति विद्यमान छ ।

मूल विषयचाहिँ दाहालले भाषणैपिच्छे सम्झिने २०६४ को निर्वाचन र २०८४ मा त्यसको पुनरावृत्तिको आधार छ कि छैन भन्ने हो । उनी स्वयंले पनि त्यस्तो आधार देखाउन सकेका छैनन् । उही केवल उपनिर्वाचनका आधारमा त्यस्तो दाबी गरिरहेका छन् ।

२०६४ मा प्रत्यक्षतर्फ २४० सिटका लागि भएको निर्वाचनमा माओवादीले १२० सिट जितेको थियो । समानुपातिकतर्फ ३३५ सिटमध्ये १०० सिट प्राप्त गरेको थियो । मन्त्रिपरिषद्‌बाट मनोनित हुनेमध्ये २६ मध्ये ९ जना उसका तर्फबाट मनोनित भएका थिए । समानुपातिकतर्फ उसले २९ प्रतिशत मत प्राप्त गरेको थियो ।

त्यतिबेला उसले जित्नुको कारण अनेकौं थिए । सकारात्मक पक्षलाई मात्रै चर्चा गर्ने हो भने, ऊ सैद्धान्तिक र वैचारिक लेपयुक्त नयाँ पार्टी थियो । उसको पक्षधरता स्पष्ट थियो । अन्तरिम व्यवस्थापिकामा सदस्य नबन्ने दाहाल तथा बाबुराम भट्टराई लगायतका शीर्ष नेतृत्वको निर्णयका कारण उनीहरूमा पदलोलुप चरित्र रहेनछ भन्ने सन्देश गएको थियो । नेताहरूको व्यक्तित्वमा ओझ थियो । तिनका अभिव्यक्ति र प्रस्तुतीमा नौला थिए । तत्कालीन प्रतिबद्धतापत्रमा नयाँपन थियो । त्यतिबेला माओवादीको एजेन्डा नै देशको एजेन्डा बनिरहेको थियो । जो उसको एजेन्डामा विमति राख्थे, ती स्वत प्रतिगामी कहलिने स्थिति थियो ।

तर विस्तारै उसका वैचारिक र सैद्धान्तिक अडान पातलिँदै गए । लक्ष्य र उद्देश्यप्रति विरोधाभाष सिर्जना भएर पार्टीभित्र विग्रह सिर्जना भयो । दाहाल स्वयं पदलोलुप नेता कहलिन थाले । अपारदर्शी जीवनशैलीले उनको वर्गोत्थानको सन्देश थियो । कार्यकर्तापंक्ति भुत्ते र भ्रष्ट भयो । पार्टीमा अवसरवादीहरू भित्रिए । दाहाल स्वयं जोसुकैको साथ लिएर सत्तामा जान खुट्टा उचालिरहेको मनोदशाबाट गुज्रिरहेका छन् । बुद्ध बन्ने जस्ता अभिव्यक्ति त सायद अब उनलाई पनि सम्झना छैन । यस्ता अनेकौं कारणले पछिल्ला निर्वाचनमा ऊ खुम्चिँदै खुम्चिँदै गइरहेको छ । यसलाई स्वयं दाहालले नै सूत्रीकृत गरेका छन् । भन्छन्, ‘भेडाको संगत गर्दागर्दै हामी पनि अलिअलि भेडाजस्तो भइयो ।’

को भेडा र को बाघ भन्ने प्रश्नको उत्तर भविष्यमा लेखाजोखा हुने नै छ । तर, माओवादीले आफ्नो आधार वर्ग भुलेको भने पक्कै हो । दलाल, नोकरशाही वर्ग र आफूहरूबीच भिन्नता नभएको भनेर त दाहाल स्वंयले भनिरहेका छन् ।

यतिबेला दाहाल लगायतका नेताहरूको विश्वसनीयता रसातलमा पुगेको छ । उनले पटकपटक आफ्नै वर्गतिर फर्किने भनेर भनिरहन्छन् । तर भनिएअनुसार नफर्किएकै हुनाले त्यसो भनिरहनुपरेको प्रष्ट छ । उनको संगत र जीवनशैली अपारदर्शी छ । २०७८ पुस १६ मा आठौं महाधिवेशनअन्तर्गत आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै उनले आफ्नो खुमलटारको बसाइलाई लिएर आलोचना हुने गरेको भन्दै झुपडीमा गएर बस्न तयार रहेको बताएका थिए । तर यसबीचमा तीनवटा ‘पुस १६’ व्यतित भइसकेको छ ।

कुनै बेला पदप्रति आशक्ति नदेखाउने बरु दोस्रो तहका नेतालाई सत्ता जिम्मा लगाएर अभिभावक भएर बस्ने बस्ने सार्वजनिक अभिव्यक्ति दिएका दाहाल आजकाल कतिबेला सरकार ‘कुहिएर झर्छ’ भन्दै कुरिरहेका छन् । बरु उनी स्वयं चारपटक सांसद/संविधानसभा सदस्य भइसकेका छन्, तीनपटक प्रधानमन्त्री । पार्टीका दोस्रो तहका नेता बरु लखेटिन्छन्, अवसर पाउने सम्भावना छैन । यतिबेला उनीसँग न वैचारिक ओझ बाँकी छ, न जीवनशैली तार्किक छ । उनको व्यक्तित्व खुम्चिँदै गएर परिवारमा सीमित बन्दै गएको छ ।

उनी आफ्नै पूर्ववर्ती आदर्शबाट च्युत भइसकेका छन् । भैंसीपूजा, साइत हेराएर बालुवाटार प्रवेशदेखि पितवस्त्रमा महाकालेश्वरमा पूजाअर्चना जस्ता सन्दर्भले उनको आदर्श खुइलिएको सन्देश दिएको छ । दौरा सुरुवालको रहर त उनले सदनबाटै खुलाइसके ।

न पार्टीको संगठन बलियो छ, न बलियो बनाउने कुनै प्रयत्न । खुमलटारमा अन्य पार्टीबाट दिक्दार नेतालाई अबिर लगाएर संगठन बलियो बन्छ भन्ने भ्रममै देखिन्छन् उनी । न कुनै सैद्धान्तिक र वैचारिक नयाँपन छ, न कठोर प्रतिबद्धता र त्यसलाई पूरा गर्ने संकल्प । केबल आफूलाई छुन पाए हुन्थ्यो भन्ने उभार बढेको आधारहीन आत्मश्लाघामा मुग्ध देखिन्छन् । जबकि, यतिबेला दाहालसँगै माओवादी पनि सकिने चिन्तामा इमानदार कार्यकर्ता छन् ।

किशोर दहाल दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully