स्वर्गद्वारीको छायामा किसानको संघर्ष

माघ २३, २०८१

कुमार थापा

Farmer's Struggle in the Shadow of Swargadwari

पटपटी फुटेका पैतालाहरू काठमाडौंमा बजारिएका छन्। अनौ, कोदालो र फरूवा समाउने हातहरू उठेका छन्। र, गर्जिरहेका छन्– ‘रगत पसिना बगायौँ, बदलामा के पायौं!' गाउँ र जिल्लामा आन्दोलन गर्दा सरकारले सुनेनन्। धेरैले आफ्नो आवाज सुनाउने र आक्रोश पोख्ने थलो हो, माइतीघर मण्डला। माघ २० देखि दाङका ३८ जना मोही किसान चिसो सडकमै पलेँटी कसेर आफ्नो आवाज सिंहदबारलाई सुनाइरहेका छन्। आफ्नै पोको पुन्तुरोको गाँस र धर्मशालाको बास बसेर अधिकार प्राप्तिका लागि अनेक प्रयास गर्दै छन्।

‘आन्दोलन’ अपरिचित शब्द होइन। धेरै आन्दोलन र सङ्घर्ष हाम्रो सामु छर्लंगै छन्। आन्दोलनका सकारात्मक तथा नकारात्मक तरंग दौडिरहेकै छन्। त्याग, तपस्या, सङ्घर्ष र बलिदानले ल्याएको उपलब्धिका साक्षी हामी नै हौं। जहाँ अन्याय र अत्याचारले सीमा नाघ्छ, त्यहाँ सङ्घर्ष सुरू हुन्छ। आन्दोलन बुलन्द पारिन्छ। आन्दोलनको ज्वाला दन्किन्छ। कतिपय आन्दोलनमा सीमित स्वार्थका लागि सीमान्तकृत भुँइमान्छे प्रयोग गरिन्छ। तर, कतिपय आन्दोलन आफ्नो अधिकारका लागि आफै जाग्छन्। र, अर्गानिक आन्दोलनको रूपमा स्थापित हुन्छ। जहाँ आर्थिक, सांस्कृतिक, सामाजिक न्यायका लागि सङ्गठित हुन्छन्। र, आन्दोलनको विगुल फुक्छन्। त्यस्तै अर्गानिक आन्दोलनको एउटा उदाहरण हो, स्वर्गद्वारी गुठी पीडित किसानले गरेको अहिंसात्मक आन्दोलन। 

गुठी पीडित बाह्र मौजा (झिगौरा, ढोरेनी, पढ्डा, नैनवार, रामपुर, पलासे, उचानिम्बु, अर्नहवा, चैलाही, सुर्केडाँगी, शाहीपुर र वनगाउँ) का सात सय किसानले जिल्ला प्रशासन कार्यालय, घोराहीमा २०८० फागुन ८ देखि ३१ गतेसम्म गुठी जग्गा रैतानी नम्बरी गरी पुर्जा पाउन भनी धर्ना दिए। त्यो फगत देखावटी धर्ना थिएन। लामो तयारीपछि थारू किसानले गरेको अहिंसात्मक आन्दोलन थियो। आन्दोलनका क्रममा सरकारले वार्ता टोली बनायो। आन्दोलन गर्दागर्दै सरकार परिवर्तन भयो। तर पनि गुठीपीडित किसानले आन्दोलनको स्वरूप परिवर्तन गरेर सङ्घर्ष जारी राखे। 

समस्या लिएर सिंहदरबार धाएका गुठीपीडित किसान समाधान लिएर कहिल्यै फर्कन पाएनन्। आशा निराशामा गएर टुंगिइरह्यो, हरेकपटक। दुःख देखाएर के फाइदा भन्ने पनि लाग्यो। लुकाऊँ कहिलेसम्म लुकाउने? आफ्नै प्रश्नमा घेरिएका गुठीपीडित किसानले आ–आफ्नो मौजामा छलफल गर्न थाले। मौजाका सबै किसानले गाउँदेखि केन्द्रसम्मको आन्दोलन गर्नुबाहेक अरू विकल्प देखेनन्। अन्तत: उनीहरू माइतीघर मण्डलाको चिसो सडकमा पलेँटी कस्न बाध्य भए।  

थारूले नै हो तराइलाई हराभरा बनाएको। बस्ने ठाउँ बनाएको। हिजोको जङ्गल, झोडालाई रगतपसिना बगाएर बस्न र खेती गर्न योग्य बनाएको। प्रत्येक गरामा थारूको पसिना मिसिएको छ। इतिहास नियाल्दा पनि ती जमिन थारूहरूकै पुर्खाले बनाएका थिए। ती जमिनका माटो त्यसै मलिलो भएको होइन। पुर्खाको जीवन त्यही माटोमा बित्यो। जल, जमिन र जङ्गलसँग थारूहरूको गहिरो सम्बन्ध छ। तर पनि उनीहरू त्यही माटोको अधिकारको लागि आज सङ्घर्षरत छन्। उनीहरु स्रोतमाथिको अधिकारबाट वञ्चित छन्। लालाबाला छोडेर काठमाडौंमा आन्दोलन गर्न बाध्य छन्। आशा कुमारी चौधरी भन्छिन्– ‘हर, जुवा, कोदरा, खोङ्घ्या, ढर्‍या, हेल्का, खौकी, पङ्की र जालसँग हामी थारूहरूको घनिष्ट सम्बन्ध छ। तर, हलो बिसाउने ठाउँसम्म आफ्नो छैन। हामी अन्न फलाउन मेहनत गर्छौं। मेहनतअनुसार अन्नका बोट देखेर खुशी हुन्छौं। जब जमिनको कुरा आउँछ, दुःखी हुन्छौं। त्यतिबेला आफैले मलिलो बनाएको माटो आफ्नो नहुँदा पीडा हुन्छ।’ Farmer's Struggle in the Shadow of Swargadwari

आशाले भनेजस्तै साँच्चिकै थारूहरूले ठूला सपना बोकेर आन्दोलन गरेका छैनन्। फुर्सदिला भएर आन्दोलन गरेका पनि होइनन्। उनीहरूले खेती गर्दै आएको जमिनको अधिकार मागेका हुन्। बासुराम चौधरी भन्छन्– ‘राज्यप्रति पनि कुनै भरोसा भएन। दलहरूले पनि बाचा मात्र दिए, पूरा गरेनन्। कुनै दिन जमिन छोड्नुपर्दा हामी के खाने र कहाँ जाने? हामी स्वर्गद्वारी, सामन्त र सरकारबाट समेत चेपुवामा पर्न थालेका छौं। त्यसैले आफ्नै अधिकारको लागि आफै लड्दै छौं।’ 

सबैभन्दा ठूलो गाँस हो। तर बास पनि आफ्नो नामको जग्गामा छैन। कति पीडालाई दबाएर बस्नु। आफ्नो अधिकारका लागि आफै लड्नुपर्छ भनेर उनीहरू राजधानी आए। धर्ना कसे। महिला र वृद्धहरू चिसो भुइँमा चाउरिएर धर्नामा बसेका छन्। त्यो रहर पटक्कै होइन। बाध्यता हो। जमिन नहुँदाको दुःखले हो। दिन बितोस्। रात कटोस्। तर अब माग पूरा नभएसम्म फर्किने वाला छैनन्। 

गाँस, बास र कपासको सपना बोकेर बुह्रान (थलो) छोड्न कसिएका थारूहरूलाई अब जमिन बाँझो हुने भयो भनेर त्यहीँ राखे। जमिनलाई हराभरा बनाउन लगाए। तर, आफ्नै माटोसँग कहिल्यै खेल्न पाएनन्। रमाउन पाएनन्। बीउ छर्न र उमार्न लायक जमिन बनाए। तर, त्यो जमिन आफ्नो स्वामित्वमा भएन। तर पनि आफैले खेतीयोग्य जमिन छोडेर बुह्रान जान सकेनन्। जहाँ गए पनि गाँसको जुगाड गर्नैपर्थ्यो। त्यसैले बाजेका सपनाहरू बाले, बाका सपना छोराले सम्हालेर त्यही गुठी जमिनलाई स्याहार गरे। अहिले पनि उनीहरूको त्यही आवाज छ–  ‘गुठी जमिन हाम्रो हो। त्यसको पूरा अधिकार हामीलाई दिनुपर्छ।’ 

कुनै बेला मलेरिया, औलो, सर्प र बिच्छीसँग जुध्दै अव्यवस्थित जग्गालाई थारूहरूले उर्वर बनाए। मानव बस्न योग्य बनाए। तर उनीहरूको नाममा हुनुपर्ने जमिन विभिन्न जमिनदारका नाममा नापियो र भूमिसुधार लागू भएपछि थारूहरू आफ्नै जमिनको मोही भए। हदबन्दी लागेपछी जमिनदारले त्यो जमिन किसानलाई नदिएर २०३० सालमा स्वर्गद्वारी आश्रमको नाममा दर्ता गरिदिए। किसानलाई स्वर्गद्वारी आश्रमको रैती बनाइयो। यस्तै प्रकारका शोषणका कारण गुठीपीडित किसानले खेतीपाती छाडेर आन्दोलन जारी राखे। मोहियानी हकका लागि विभिन्न चरणमा आन्दोलन भए। सरकारसँग पटकपटक सम्झौता भयो। तर कार्यान्वयन भएन। त्यसैले किसानहरूले यस पटकको आन्दोलन निर्णायक भनेका छन्। 

सर्वोच्च अदालतले २०६२ चैत १४ मा स्वर्गद्वारी विशेष प्रकारको निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परमादेश जारी गरेका कारण किसान मोही हकबाट समेत वञ्चित भएका छन्। दाङमा स्वर्गद्वारी आश्रमअन्तर्गत १०५० बिघा जग्गामध्ये ७ सय ५३ बिघामा मोही लागेको छ। ३ हजार ५ घरधुरीका १६ हजार किसान  यसमा आश्रित छन्।

गुठीपीडित किसानले गरेको यो पीडाको आन्दोलन हो। न्यायको आन्दोलन हो। जमिनको स्वामित्व प्राप्तिको आन्दोलन हो। स्वतन्त्रताको आन्दोलन हो। सुरक्षित जीविकाको आन्दोलन हो। स्वस्फूर्त रूपमा गरिएको माटोलाई माया गर्नेहरूको आन्दोलन हो। जहाँ युवा, ज्येष्ठ नागरिक, महिला अठोटका साथ शान्तिपूर्ण जुटेका छन्। उनीहरूले राज्यसँग अन्यत्र जमिन देउ भनेका छैनन्।

किसानहरू आजित भइसके। दुःखको सपना कुम्लो पारेर सुखको सपना खोज्दै धेरैपटक आन्दोलन गरे। बाचाले मात्र भएन। ओथारो बसेका सपनाहरू मक्किए। धेरैपटक अरूका लागि आन्दोलन गरेका थारूहरूले यो पटक अधिकारका लागि आफ्नै आवाज सङ्गठित गर्दै छन्। लामो समयदेखि आन्दोलनको नेतृत्व गरिरहेका प्रवीण दहित भन्छन्–‘नलडी अधिकार पाइँदैन। पहिला नेतालाई सत्तामा पठाउन लड्यौं। अहिले आफ्नै लागि लड्दै छौं। अधिकार नपाएसम्म सधैं हेपिन्छौं हामी। बाजे हेपिए। बा हेपिए। म हेपिँदै छु। यस्तै हो भने छोराछोरी पनि हेपिने छन् यसरी नै।’

धेरैपटक राजीतिक आन्दोलन भए। आखिर ती आन्दोलनका फाइदा भुँइमान्छेलाई भएन। फाइदा अरूले नै लुटे। टाठाबाठाहरूले भर्‍याङ मात्रै बनाए। लडाइँ लड्ने भुँइमान्छेहरू भए। सत्तामा चढ्ने अरू भए। जसलाई बास र गाँसको पिरलो थियो, उनीहरू प्रयोग मात्र भइरहे। त्यसैले अब भुँइमान्छेहरू आफू र आफ्नो समुदायको अधिकारका लागि सङ्गठित हुन थालेका छन्। 

पटकपटक ठगिएका गुठीपीडित किसानका जिजु बाजेले यही माटोमा रगत–पसिना बगाए। यो माटोलाई छाडेर कतै जान सकेनन्। औलोसँग लडे। मलेरिया र लूसँग जुधे। बिफर र कालाज्वरसँग सङ्घर्ष गरे। विषालु र हिंस्रक जनावरको सिकार भए। सामन्तहरूबाट हेपिए। जे–जेले जसरी सताए पनि आत्तिएनन्। जसरी तड्पाए पनि माटोलाई माया गरिरहे। थाकेर पहाड उक्लिएनन्। हिमाल चढ्ने सपना देखेनन्। सपना देखे त केवल माना, नाना र छानाको। पुर्खाको पसिनाले मलिलो भएको यही धर्ती थियो। गुठीपीडित किसानहरूको आफ्नोपन थियो यही माटोमा। यही माटोको भोगचलनका आधारमा तिनै भूमिपुत्र किसानलाई जमिनको स्वामित्व दिँदा मात्र उनीहरूलाई न्याय हुनेछ।

कुमार थापा लेखक भूमि अधिकार अभियन्ता हुन् ।

Link copied successfully