दल भनेको कुनै शीर्ष नेता मात्र हैन । त्यसभित्र संघर्ष गरिरहेको अर्को पुस्ताको पंक्ति पनि हो भनेर बुझ्नुपर्छ । आशालाग्दा अनुहारहरूलाई पनि सबै खराब हुन् भन्ने दुष्प्रचारबाट प्रभावित हुँदै एउटै डालोमा हालेर हेर्नु हुँदैन ।
नीतिहरूको पनि नीति भनिने राजनीति देश र समाजलाई बृहत् रूपमा गति दिने विचार निर्माणको मञ्च हो । राजनीति यति शक्तिशाली हुन्छ कि यसले जनताको जीवनस्तर उकास्न र दबाउन सक्छ । देश र समाजको अवस्था बनाउन र भत्काउन पनि सक्छ ।
निरंकुश व्यवस्थाको राजनीतिले बिगारेका उत्तर कोरिया र सिरिया, आन्तरिक द्वन्द्वका कारण अस्थिर अफ्रिकी देश र राजनीतिक अस्थिरताका कारण प्रताडित हाम्रै देश पनि केही उदाहरण हुन् । राजनीतिक समझले विकसित भएका देश पनि छन्, जस्तैः अमेरिका, सिंगापुर, दक्षिण कोरिया । राजनीतिमार्फत देश कस्तो बनाउने भन्ने राजनीतिलाई डोर्याइरहेको दल वा नेतामा निर्भर रहन्छ ।
जनतालाई समयबोध गराउने राजनीतिले नै हो भने समयलाई जनचाहनाअनुरूप बनाउने पनि राजनीतिले हो । दोस्रो विश्वयुद्धपश्चात् विश्वभरका देशमा स्वतन्त्रताको लहर चल्यो । हाम्रै छिमेकी मुलुक भारत शताब्दियौं लामो उपनिवेशबाट स्वतन्त्र भइसक्दा पनि एक शताब्दी लामो जहाँनियाँ राणा शासन भोगिरहेको नेपाललाई जागरुक बनाउने काम तत्कालीन चेतनशील युवा जमातले गर्यो । फ्रान्स, अमेरिकाजस्ता देशले कैयौं वर्षअघि नै अंगीकार गरिसकेको सबैखाले स्वतन्त्रता, मानवअधिकार र जनताको सर्वोच्चतालाई निकै पछि नै भए पनि नेपालीजनले अनुभव गर्ने मौका पाए । यस अर्थमा जनतालाई तत्कालीन समयको बोध गराउने काम सात सालको क्रान्ति र त्यसलाई डोर्याउने राजनीतिले गर्यो । सोही समयको क्रमबद्ध निरन्तरताले आज नेपाल संघीय गणतन्त्रसम्म आइपुगेको छ ।
लोकतान्त्रिक व्यवस्थामा हरेक कुराको विकल्प हुन्छ । नागरिक सर्वोच्चता, विकल्पहरूको उपलब्धता, बहुमतको शासन र अल्पमतको संरक्षण नै लोकतन्त्र हो । यसर्थ, लोकतन्त्रमा जनतालाई आफूअनुकूलको विचार र त्यसलाई संस्थागत शक्तिसहित बलियो बनाउने राजनीतिक दल छनोटको अधिकार हुन्छ । नेपालमा आज विभिन्न विचारलाई सैद्धान्तिक रूप दिएर खुलेका दल छन् । जनतालाई आफ्नो विचारको प्रतिनिधित्व गर्ने दलका धेरै विकल्प खुला छन् । के विकल्प मात्रै उपलब्ध हुनुले लोकतन्त्रको सही अनुभूति दिलाउन सक्छ ? कुनै पनि अग्रगामी समाजले विकल्पका लागि मात्र विकल्पको खोजी गर्दैन । यथास्थितिलाई गति दिने उत्तम विकल्पको खोजी गरेको हुन्छ । वर्तमानमा नेपालका हरेक सार्वजनिक मञ्च, चौतारी, चिया पसल, सामाजिक सञ्जाल सबैतिर प्रयोग हुने अत्यन्तै चर्चित शब्दावली हुन् विकल्प र वैकल्पिक राजनीति । यी शब्दावलीको वरिपरि रहेर वर्तमान राजनीतिलाई हेर्नु आवश्यक छ ।
चलिरहेको व्यवस्थाले विकास र सुशासनलाई गति दिन सक्दैन भन्ने निष्कर्ष निकालेर अर्को उत्तम व्यवस्थाको मार्गचित्रसहित जनतामा जाने दल वा आन्दोलनलाई सही अर्थमा वैकल्पिक दल भन्न सकिन्छ । यसमा पुराना दल पनि विकल्प बन्न सक्छन् । २०६२/६३ को आन्दोलनपछि गणतन्त्रमा जाने संकल्पसहित कांग्रेसलगायत दलले राजनीतिलाई वैकल्पिक बाटो दिएका थिए । आजको दिनमा विद्यमान व्यवस्थाले निकास दिन सक्दैन भन्ने ठम्याइसहित पनि राजतन्त्र पुनःस्थापनाको एजेन्डामा राप्रपा क्रियाशील छ । वैकल्पिक राजनीतिको स्पेस खोजेर आएका नयाँ भनिने दलहरू ? यो बुझ्नु जरुरी छ कि स्थापनाको साल हेरेर मात्र दल नयाँ र पुराना हुँदैनन् । कुनै पनि दलाले अपनाउने विचार, लिने कार्यनीति र पार्टी पंक्तिबाट संघर्ष, अनुभव र मेरिटका आधारमा जन्मिने नेतृत्वको कुनै दल ‘नयाँ’ हुने हो ।
सबै पुरानाको विकल्प हामी हौं भन्ने, ‘नो नट अगेन’ भनेर पुरानालाई राजनीतिको दृश्यबाटै पन्छाउने कसम खाएर निर्वाचनमा होमिने र आफूले पाएको संसदीय गणितलाई राज्यसत्ताको लेनदेनका लागि ‘अगेन एन्ड अगेन’ प्रयोग गर्ने दल कसरी, कुन अर्थमा नयाँ भए ? भनाइ र गराइको तादात्म्यता नमिल्ने भए संसद्का कान्छा दल अरूभन्दा कसरी फरक भए ? नैतिक प्रश्नहरूले घेरिएको नेतृत्व र अस्पष्ट नीतिसहितको दलले स्थापित दललाई आरोप लगाएर मात्रै वैकल्पिक शक्ति बन्न सक्छ ? उसले आफ्नो मार्गचित्र दिनु पर्दैन ? जवाफ दिने ठाउँमा भएकै कारण धीमा आवाजले बोलिरहेका स्थापित दल त्यतिसम्म पनि कमजोर होइनन् । आवाजको घनत्वकै आधारमा जनतालाई केही समय दिग्भ्रमित बनाउँदैमा कोही कसरी विकल्प हुन सक्छ ?
दल भनेको त विचार, नीति, प्रणाली, एजेन्डा सबैको सम्मिश्रण भएको संगठन हो । पुरानै अनुहारहरूले पटकपटक सरकारको नेतृत्व गर्ने तर राम्रो डेलिभरी दिन नसकेका कारण जनता नयाँ अनुहार खोजिरहेका छन्, जुन सत्य र स्वाभाविक पनि हो । आशा जगाउने हरकोहीलाई नेपाली जनताले सरकारमा गएर आफूलाई प्रमाणित गर्ने अवसर दिने गरेका छन् । तर जनताको यो निर्दोष अपेक्षा र यथास्थितिप्रतिको असन्तोषलाई कसैले सत्तामा जाने भर्याङ मात्र बनाएका हुन् कि साँच्चिकै सही नियत राखेर आएका छन् भन्ने कुरा जनता आफैंले पनि बुझ्न कोसिस गर्नुपर्छ ।
जनतामा भावुकता र आवेग मात्र हुनु हुँदैन, राजनीतिक सुझबुझ र विवेक पनि हुनुपर्छ । दल भनेको कुनै शीर्ष नेता मात्र हैन । त्यसभित्र संघर्ष गरिरहेको अर्को पुस्ताको पंक्ति पनि हो भनेर बुझ्नुपर्छ । आशालाग्दा अनुहारहरूलाई पनि सबै खराब हुन् भन्ने दुष्प्रचारबाट प्रभावित हुँदै एउटै डालोमा हालेर हेर्नु हुँदैन । जसरी राम्रो बीउ छान्दै जाँदा प्रजातिहरूका गुणमा शुद्धता आउँदै गर्छ, उसैगरी परिवर्तन, क्रान्ति, कूटनीति र शासनको अनुभव सँगालेका मूलधारका दलहरूबाट शुद्ध बीउबिजन संकलन गर्दै जाने हो भने समुन्नतिको भकारी पनि भरिँदै जान्छ । पोषण र बिजन दुवै नदिने हाइब्रिड अन्न खोज्नै पर्दैन ।
