शेर्पा समुदायको बसोबास हिमाली भूभागमा हुने भएकाले त्यहाँको वातावरण र रहनसहनमा बानी परेका हुन्छन् । यसकारण सुरुका दिनदेखि नै उनीहरूले हिमाल आरोहणमा काम गरे । हुँदा–हुँदा यतिसम्म भयो कि हिमालमा काम गर्ने जोकोहीलाई पनि शेर्पा भन्न थालियो । ट्रेकिङ कम्पनी चलाउँछौं भन्दा अहिले पनि हामीलाई तपाईहरू शेर्पा हो भनेर सोधिन्छ ।
तर, हिमाल जुनसुकै जात, वर्ग, क्षेत्रका मानिस चढ्न सक्छन् । हालै मात्र भारतकी १४ वर्षकी नानीले सात वटै प्रदेशको हिमाल चढेर रेकर्ड राखेकी छिन् । यसकारण जुन क्षेत्रका मानिसले पनि हिमाल चढ्न सक्छन । मात्र अवसर दिनुपर्छ ।
काम गर्ने अवसर दिएमा धेरै महिलाहरूले एड्भेन्चर ट्रेकिङ क्षेत्रमा काम गर्न सक्छन् । अवसर नपाएकै कारण यो क्षेत्रमा महिलाको संख्या कम भएको हो । काठमाडौंमा एउटा तालिम केन्द्र छ । त्यो अन्यन्त्र विस्तार हुन सकेको छैन । गण्डकीमा मनाङमा एउटा तालिम केन्द्र बनाउने भनिएको छ । तर, कहिले हो टुंगो छैन । गोर्खाकी पूर्णीमा श्रेष्ठले पनि त धेरै पटक सगरमाथालगायत हिमाल चढेर रेकर्ड राखेकी छन् ।
नेपालमा कामका लागि विभिन्न क्षेत्र र वर्गको भनेर वर्गीकरण गर्ने गरिएको छ । यो ठीक होइन । नेपालका सातै प्रदेशमा हिमाल जोडिएको छ । यसकारण सबै प्रदेशमा हिमाल आरोहणसम्बन्धी तालिम केन्द्रहरू बनाउनुपर्यो । यद्यपि पोखरामा पर्यटनसँग सम्बन्धी विभिन्न सीप तथा तालिम दिने संस्था केन्द्रहरू छन् ।
नेपालमा पर्यटनको सम्भावना प्रचुर रहे पनि त्यस क्षेत्रको विकास र विस्तार हुन नसक्दा त्यो लाभ राज्यले पाउन सकेको छैन । विकासको मुख्य साँचो पर्यटन हो । यो कुरा सबैलाई थाहा छ । तर यो क्षेत्रलाई विकास र विस्तार गर्न हामी किन कन्जुस्याइँ गरिरहेका छौँ । त्यो बुझ्न सकिएको छैन ? प्राथमिकताका साथ यो क्षेत्रको विकास विस्तार भएमा नेपालको समग्र आर्थिक उन्नतिमा योगदान पुग्छ । पछिल्ला वर्षहरूमा पोखरा क्षेत्रका हिमालहरूमा निकै कम मात्र हिउँ (कालो हिमाल) परिरहेको छ । तर यसो हुनुको कारण नेपाल नेपालीबाहेक अरू बाह्य रहेको बताइँदै आए पनि त्यसमा सत्यता छैन । यसमा हाम्रो पनि जिम्मेवारी छ ।
हामीले हिमाल बिग्रिएकामा हाम्रो दोष छैन भनिरहेका छौं । तर हिमालको नजिकमा गएर ठूला संरचना बनाइरहेका छौँ । यसकारण अहिले हिमाल हिउँविहीन हुनुमा थोरै धेरै गल्ती हाम्रो पनि छ । यसलाई मनन गरौँ ।
पर्यटन क्षेत्रमा धेरै भन्दा महिला दिदीबहिनीलाई पर्यटन क्षेत्रमा रोजगारी दिनका लागि अवसर दिनुपर्छ । अहिले पनि हिमाली क्षेत्रमा भएका हवाई दुर्घटनामा समयमा उद्दार हुन सकेको छैन । अलिअलि भएका पनि काठमाडौंमै केन्द्रित छ । उद्धारका लागि दक्ष जनशक्तिको अभाव छ । भएका स्रोतहरू पनि विकेन्द्रित गर्न जरुरी छ ।
(कान्तिपुरले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको ‘राजनीति र पर्यटन नीति’ विषयक सत्रमा क्षेत्रीले राखेको विचारको सम्पादित अंश)
