हामी पर्यटन क्षेत्रमा के गर्नेभन्दा पनि के नगर्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ । मैले ३४ वर्षसम्म खाना बिक्री गरे । अहिले होटल चलाउन थालेको १९ महिना भयो । तर अहिले होटल चलाउन थालेपछि म नयाँ कुरा सिकिरहेको छु ।
पैसा लिने कुरा ठूलो होइन, सेवा दिनु ठूलो हो । आउने पाहुनाले चाहे १५ सय तिरुन्, २० हजार, चाहे १ लाख नै तिरुन् । तर, राम्रो सेवा दिने विषय ठूलो हो । मैले देखेको र भोगेको कुरा नेपाल जहाँ गए पनि राम्रो छ । एउटै मात्र समस्या हामी अलि असंगठित छौं । हामीले धेरै जस्तो गल्तीका दोष सरकारलाई दिन्छौं । हामीले आ–आफ्नो ठाउँबाट पनि जिम्मेवारी लिने काम गर्नुपर्छ । हामी आफ्नो व्यवसायप्रति धेरै गम्भीर र संवेदनशिल छैनौं । तर, छोटो माध्यमबाट छिटो धेरै पैसा कमाउनुपरेको छ । सरकारी निकायमा पनि छिटो निर्णय गर्ने क्षमता नहुँदा पनि पर्यटन व्यवसायीले समस्या खेप्नुपरेको छ ।
हाम्रो प्रतिस्पर्धा नेपाल होइन । नेपालभन्दा बाहिर हो । भुटान, थाइल्यान्ड, कम्बोडिया, भियतनाम हामीभन्दा धेरै अगाडि पुगिसकेका छन् । उनीहरूसँग प्रतिस्पर्धा गरेर काम गर्नुपर्छ । सेवा दिनुपर्छ । युवाजनशक्ति विदेसिरहेको छ । यसरी विदेसिने युवाहरूलाई फरक–फरक क्षेत्रबारे राम्रोसँग तालिम दिन पाए यहीँ बस्न सक्थे । अवसर खोज्थे । व्यवसाय गर्न बैंकमा सस्तोमा ब्याज लिँदा पनि पछि बढाइन्छ । त्यसैले नेपाललाई पैसा मात्र होइन, राम्रो दिमाग पनि चाहिएको छ । हामीले अन्तर्राष्ट्रिय बजारले के खोजिरहेको छ, त्यो हेर्न जरुरी छ । किन कि हामीसँग प्रोडक्ट छ । तर बिक्री गर्न सकेका छैनौं । अहिले सबैका हातहातमा स्मार्टफोन छन् । सबैले सामाजिक सञ्चाल चलाउँछन् । नेपाल धेरै सुन्दर छ भन्ने कुरा बुझाउन सक्नुपर्छ ।
२०७२ सालमा भूकम्प आयो, युरोप गयो, कोभिड–१९ आयो अस्ट्रेलिया गयो, यहाँ त कोही पनि छैन । कहिलेकाहीँ त हामी विदेश मात्र बनाउन जन्मिएको हो कि जस्तो पनि लाग्छ । पर्यटकलाई लक्षित गरेर विमानस्थल बनेका छन् । तर त्यहाँ जाँदा शौचालयमा पानी आउँदैन । सबै विमानस्थलमा यस्तो समस्या छ । साना–साना कुरामा सरकारले ध्यान दिनुपर्छ । हामीले राम्रो सेवा दिँदैनौं । तर चार चोटि नमस्कार गरेर भए पनि पैसा मात्र लिन खोज्छौं । तर अब सेवा राम्रो दिनुस् । एक चोटि नमस्कार गरे पुग्छ ।
(कान्तिपुरले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ विषयक सत्रमा लामाले राखेको विचारको सम्पादित अंश)
