उद्योगीहरूले मिहिनेत गरेर एउटा ब्रान्ड बनाएका छन्, उनीहरूले न्यून प्रकारका तेल बजारमा पठाएर आफ्नो ब्रान्ड खराब गर्न चाहन्नन् । बजारमा पठाउँदा राम्रो तेल नै पठाउँछन् । बजारमा हुने सानो गल्तीको दोष उद्योगीलाई आउँछ ।
हामीले उत्पादन गरेको खाने तेल अन्तर्राष्ट्रियस्तरको छ । हामीले कच्चा पदार्थ ल्याउँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण गर्छ । भन्सारमा पनि परीक्षण हुन्छ । आयात भएपछि उद्योगीले रिफाइन गर्छन् । बजारमा पठाउनुअघि तेल खाद्य प्रविधिमा परीक्षण गराउँछौं । त्यसैले हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा उत्पादन हुने तेलसरह छ ।
तेल उत्पादनका क्रममा सम्झौता गरेका छैनौं । तेल उत्पादन गर्ने उपकरण नयाँ प्रविधियुक्त राखेका छौं । गुणस्तरमा पनि कहिल्यै सम्झौता गरेका छैनौं, गर्दैनौं पनि । उद्योगबाट तेल उत्पादन भएपछि तेलको पेरोक्साइड भ्यालु १ प्रतिशतभन्दा कमै हुन्छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भण्डारण हो । घाममा स्टोर गर्नु भएन । सुक्खा ठाउँमा भण्डारण गर्नुपर्छ । हामीले हरेक प्याकिङमा त्यो उल्लेख गरेका छौं ।
सही तरिकाले भण्डारण गरे ९ महिनासम्म पेरोक्साइड भ्यालु बढ्दैन । उत्पादन खाद्य प्रविधिबाट परीक्षण गरेर मात्रै पठाउँछौं । हाम्रो मेसिन पनि अन्तर्राष्ट्रियस्तरकै छ । हामीले बजारमा कसरी पठाउँछौं र कसरी भण्डारण हुन्छ, त्यसले मुख्य भूमिका खेल्छ । त्यसकारण हरेक प्याकेटमा जानकारीमूलक सूचना राखेका हुन्छौं । त्यो हेर्दा संघमा आबद्ध सबै साथीहरूले गुणस्तरीय तेल नै उत्पादन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारबाट क्रुड तेल (कच्चा तेल) आयात गर्दा परीक्षण गरेर मात्र भन्सारबाट निस्कन्छ ।
कच्चा पदार्थमा पनि समस्या भएन । हामीले रिफाइन गरेर बजारमा पठाउँदा पनि परीक्षण गरेरै बजारमा निस्कन्छ । गुणस्तर नभए बजारमा पठाउँदैनौं । सबै तेल उद्योगको आफ्नो ल्याब पनि छ । उत्पादन भएपछि उद्योगमा पनि परीक्षण गरिन्छ । गुणस्तर नभए बजारमा जाँदैन ।
उद्योगीहरूले मिहिनेत गरेर एउटा ब्रान्ड बनाएका छन्, उनीहरूले न्यून प्रकारका तेल बजारमा पठाएर आफ्नो ब्रान्ड खराब गर्न चाहन्नन् । बजारमा पठाउँदा राम्रो तेल नै पठाउँछन् । बजारमा हुने सानो गल्तीको दोष उद्योगीलाई आउँछ । केही ठाउँमा भण्डारणको समस्या हुन सक्छ । हरेक क्षेत्रमा उद्योगी जान सक्दैनन् ।
तेल उद्योगमा अर्बौं रुपैयाँ लगानी छ । रोजगारी दिएका छौं । हामी पनि न्यून गुणस्तरको तेल उत्पादन गरेर बिक्री गर्न चाहन्नौं । कुनै दिन कसैले परीक्षण गरिहाल्छन् । गलत उत्पादन भए ब्रान्डलाई असर गर्छ । उत्पादन भएको मितिले ९ महिनासम्म तेल ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।
(कान्तिपुर दैनिकले गत सोमबार आयोजना गरेको ‘राउन्ड टेबल’ मा दुगडले राखेको विचारको सम्पादित अंश ।)
