परम्परागत खानपिनमा फर्किऔं

हरेक व्यक्ति आफ्नो स्वास्थ्यका लागि आफैं जिम्मेवार हो । त्यसपछि मात्र अरू जिम्मेवार हुन्छन् । हाम्रो खानपिनमा कम्तीमा अनस्याचुरेटेड फ्याट भनेको के हो र यो कसरी अस्वस्थकर छ भनेर चर्चा हुन जरुरी छ ।

माघ ११, २०८१

अनिल भट्टराई

Let's go back to traditional food

खाने तेलको गुणस्तर र मुटुको स्वास्थ्यसँग कस्तो सम्बन्ध छ भन्ने विषयमा धेरै अनुसन्धान भएका छन् । नेपालमा भने धेरै अनुसन्धान हुँदैनन्, त्यही भएर त्यति थाहा हुँदैन । फ्याट तीन किसिमका हुन्छन्- स्याचुरेटेड, अनस्याचुरेडेट र ट्रान्सफ्याट । त्यसमा स्वास्थ्यका लागि नराम्रो भनेको स्याचुरेटेड र ट्रान्सफ्याट हुन् । स्याचुरेटेड फ्याट विशेषगरी जनावरको फ्याटमा पर्छ ।

जस्तै, दूधबाट बन्ने उत्पादन । ट्रान्सफ्याटमा तारेको र भुटेको खानेकुरा पर्छन् । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो मुटुलाई असर गरिरहेको हुन्छ ।

किनभने तिनीहरूले हाम्रो शरीरमा एलडीएल कोलेस्ट्रोल बढाउँछन् । यो रक्तनली र मुटुका लागि हानिकारक मानिन्छ । नराम्रो कोलेस्ट्रोल बढेपछि त्यसले राम्रोखाले कोलेस्ट्रोल अर्थात् एचडीएल (हाइडेन्सिटी लिपिड) लाई घटाउँछ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ– मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड । त्यसमा विशेषगरी वनस्पतिबाट बनेको ओलिभ, एभोकाडो र नट्सबाट बनेका तेल स्वास्थ्यका लागि लाभदायक मानिन्छन् ।

जनावरबाट बनेका फ्याटमा हामी धेरै भर पर्‍यौं । यसमा हाम्रो अनस्याचुरेटेड फ्याट खाने बानी बस्यो । हामीले एन्टिअक्सिडेन्ट, भेजिटेबल फ्रुट्स, मासु कम खाने भएकाले सन्तुलन छ । तर अहिले अनस्याचुरेटेड खाने ट्रेन्ड छँदै छ । त्यसमा ट्रान्सफ्याट पनि जोडियो । त्यसले गर्दा खाने तरिका पछिल्लो समय अझ अस्वस्थकर बनेको हो । 

इटालीमा पिज्जालाई जंक फुड मानिँदैन । तर हाम्रोमा पिज्जा जंक फुड हो । किनभने हामीले त्यसलाई कसरी बनाइरहेका छौं, महत्त्वपूर्ण छ । उनीहरूले हरेक खानामा ओलिभ तेल राखेर खान्छन् । त्यो चलन हाम्रोमा छैन । बिस्तारै आउन थालेको छ ।

हरेक व्यक्ति आफ्नो स्वास्थ्यका लागि आफैं जिम्मेवार हो । त्यसपछि मात्र अरू जिम्मेवार हुन्छन् । हाम्रो खानपिनमा कम्तीमा अनस्याचुरेटेड फ्याट भनेको के हो र यो कसरी अस्वस्थकर छ भनेर चर्चा हुन जरुरी छ । त्यसपछि बाँकी कुरामा गुणस्तर नियन्त्रण गर्नुपर्छ । खराब तेलका कारण मुटुमा समस्या हुन्छ । 

हामीले जति पनि मुटुको शल्यक्रिया गर्छौं, ती बिरामीको इतिहास हेर्दा धेरै मासु प्रयोग गर्ने, रातो मासु धेरै खाने, धेरै तारेको र भुटेको खाने गरेको पाउँछौं । मुटुको शल्यक्रिया गर्नेहरूमा कर्नर हार्ट डिजिज देखिन्छ । त्यसमा बढी मासु खाने अर्थात् स्याचुरेटेड फ्याट र ट्रान्सफ्याट खाने पर्छन् । दक्षिण भारतीय शाकाहारी छन् । उनीहरू ८० प्रतिशत शाकाहारी छन् । उनीहरूलाई कर्नर हार्ट डिजिज एकदमै धेरै छ । कारण सुगर र यही ट्रान्सफ्याट हो । उनीहरू फ्राई गरेको र भुटेको धेरै खान्छन् । यी कुरालाई सकेसम्म हटाएर पुरानो परम्परागत खानपिनमा फर्किऊँ । 

तेल शरीरका लागि आवश्यक कुरा हो । हाम्रो शरीरले सबैभन्दा धेरै कार्बोहाइड्रेट र क्यालोरी खपत गर्छ । शरीरले गर्ने नियमित कामका लागि तेल एकदमै आवश्यक हो । यसमा कोही मान्छे तर्सेर तेलै नखाने पनि हुन्छन् । कहिलेकाहीँ कस्तो बिरामी पर्नु हुन्छ भने नुन कम खानुहोला भन्दा नुन नै नखाने हुन्छन् । अनि जँचाउन आउँदा तीन महिना भयो डाक्टरसाप नुन नै खाएको छैन भन्नुहुन्छ । उहाँहरूमा फेरि सोडियम कम देखिन्छ ।

पहिला हामी मासुको झोल बनाएर खान्थ्यौं । बिस्तारै यसलाई तारेर खानेतिर हाम्रो चलन बढेको छ । मासुको बार्बिक्युबमा गएका छौं । यी विविध कारणले स्वास्थ्यमा समस्या निम्त्याएका छन् ।

(कान्तिपुर दैनिकले गत सोमबार आयोजना गरेको ‘राउन्ड टेबल’ मा भट्टराईले राखेको विचारको सम्पादित अंश ।)

अनिल

Link copied successfully