तेल कति मात्रामा प्रयोग गर्ने हो, ध्यान दिनुपर्छ

भोज गर्दै हुनुहुन्छ भने रिफाइन तेल प्रयोग गर्नुहोला । सलाद खाने हो भने ओलिभ तेल प्रयोग गर्नुहोस् । नरिवलको तेल प्रयोग गर्नेहरू पनि हुनुहुन्छ । डिप फ्राई हरेक दिन खानुभयो भने तपाईंको मुटुलाई हानि गर्छ ।

माघ ११, २०८१

सुप्रिया भट्टराई

How much oil to use should be taken care of

खानामा म्याक्रो र माइक्रोन्युट्रियन्स हुन्छ । हाम्रो शरीरलाई म्याक्रो धेरै चाहिन्छ, जसमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याट पर्छ । यससँगै क्यालोरीको कुरा पनि आउँछ । हरेक क्षण हामीले काम गर्दा शरीरको क्यालोरी सकिइरहेको हुन्छ । धेरैजसो क्यालोरी दिने माइक्रोन्युट्रियन्सले हो । तेल क्यालोरी दिने तत्त्वमा पर्छ । कार्बोहाइड्रेट चामलले दिन्छ । 

हामीले प्रयोग गर्ने तेलबारे धेरै अध्ययन–अनुसन्धान भएका छन् । अब कुन तेल खाने र कुन नखाने भन्ने प्रश्न यसमा महत्त्वपूर्ण छ । अहिले मकहाँ ‘म तेल खान्नँ, घिउ मात्र खान्छु’ भन्ने पनि आउनु हुन्छ । घिउमा पनि स्याचुरेटेड फ्याट हुन्छ ।

यसमा २० प्रतिशत ‘मुफा’ हुन्छ । त्यही भएर मात्रा एकदम महत्त्वपूर्ण हुन जान्छ । मैले कुन तेल प्रयोग गरौं भनेर सोध्नेहरू धेरै हुनुहुन्छ । यहाँ गुणस्तर पनि सँगसँगै जोडिन्छ । हामी भनिरहेका हुन्छौं– यो तेल खानू, त्यो नखानू । तर कुन खाने आफ्नो छनोटको विषय हो तर कति मात्रामा खाने भन्ने कुरा महत्त्वपूर्ण हो । राम्रो तेल खानुभयो तर धेरै खानुभयो भने पनि त्यसले राम्रो गर्दैन । 

हाम्रो नेपाली खाना पकाउने तरिकामा झान्ने प्रवृत्ति बढी छ । यसमा ओलिभको तेल राम्रो मानिन्छ । मैले एउटा अध्ययन हेरेकी थिएँ । त्यो अध्ययनमा एक महिनामा ५ सय एमएल तेल प्रयोग गर्नुपर्छ भनेर लेखिएको छ । यो कसरी सम्भव होला हाम्रोमा ? त्यसैले तपाईंहरूले कुन खानेकुरा केमा पकाइरहनुभएको छ भनेर ख्याल गर्नुहोला । 

भोज गर्दै हुनुहुन्छ भने रिफाइन तेल प्रयोग गर्नुहोला । सलाद खाने हो भने ओलिभ तेल प्रयोग गर्नुहोस् । नरिवलको तेल प्रयोग गर्नेहरू पनि हुनुहुन्छ । डिप फ्राई हरेक दिन खानुभयो भने तपाईंको मुटुलाई हानि गर्छ । 

मैले आफैंले प्रयोग गरिरहेको तरिका भनेको ‘रोटेसन अफ आयल’ हो । म तीन–तीन महिनामा प्रयोग गरिरहेको तेल परिवर्तन गर्छु । सानैदेखि तोरीको तेल प्रयोग गर्ने भएकाले सधैं तोरीको तेल हुन्छ । तोरीको तेलमा एउटा एसिड हुन्छ, अमेरिका र युरोपमा त्यही प्रयोग गर्न दिइँदैन ।

हामी यहाँ पहिलेदेखि तोरीको तेल प्रयोग गरिरहेका हुन्छौं । तोरीको तेलको फाइदा भनेको यसलाई फ्राई र झान्न मिल्छ । मैले तीन महिना तोरीको प्रयोग गरें भने अर्को महिना रिफाइन तेल प्रयोग गर्छु । म अब मोटाएँ, स्वस्थ भएन भने ओलिभको तेल प्रयोग गर्छु ।

ट्रान्सफ्याट स्वास्थ्यका लागि ठीक होइन । अब के गर्ने ? सकेसम्म तेलमा पूरै फ्राई भएको खानेकुरा नखानु नै बेस । बाहिर खाजा खाँदा तेलमा तारेको र भुटेको खानेकुरा नखानुहोस् । बाहिर पटक–पटक प्रयोग गरिएको तेलमा पकाइएको खाना खाने र घरमा स्वस्थ खानेकुरा व्यवस्थापन गरेर हुँदैन ।

(कान्तिपुर दैनिकले गत सोमबार आयोजना गरेको ‘राउन्ड टेबल’ मा भट्टराईले राखेको विचारको सम्पादित अंश ।)

सुप्रिया भट्टराई भट्टराई पोषणविद् हुन् ।

Link copied successfully