सामाजिक मूल्य र मान्यताभित्रका नियमलाई केलाउँदा महिलाहरू यसको बढी सिकार भएको पाइन्छ । महिला हरेक सामाजिक मापदण्डको घेरामा परिरहनु समाज विकास अवरुद्ध हुनु पनि हो ।
मानव जीवनका मूल्य, विश्वास, मनोवृत्ति र व्यवहारहरू नै सामाजिक मूल्य र मान्यता हुन् । विशेष गरेर सामाजिक मूल्य र मान्यता नभनिएको नियम हो । जसलाई मानिसको दैनिक व्यवहारबाट नियाल्न सकिन्छ । सामाजिक मूल्य र मान्यतालाई समाजले निर्देशिकाका रूपमा अभ्यासमा ल्याएको हुन्छ ।
यसकारण पनि मानिसले सामाजिक मूल्य र मान्यता पछ्याउँछन् कि उनीहरूलाई आफू वरिपरिका अरू मानिससँग मिलेर बस्नुपर्ने हुन्छ । सामाजिक मूल्य र मान्यता स्थापित समूहका सदस्यलाई मार्गदर्शन गर्ने साझा मापदण्ड वा विचार हो, जसलाई व्यवहारमा उतार्ने गरिन्छ । ती मापदण्ड सामाजिक मूल्यमा आधारित छन्, जसबाट समाजले आफूले चाहेको व्यवहारको अपेक्षा गर्छ । सामाजिक मूल्य र मान्यताले मानव व्यवहारलाई निर्देशित र नियन्त्रण पनि गर्छ । यसभित्र सामाजिक मापदण्ड पनि पर्छ । मापदण्ड हामीले हाम्रो दैनिक जीवनमा पालना गरिने नियम पनि हो । विशेष गरेर यी नियम हाम्रा संस्कृति र मूल्यहरूसँग नजिक छन् । सामाजिक मान्यता समाजपिच्छे अलग हुन्छन् भने कहिलेकाहीं एउटै समाजभित्र पनि फरकफरक हुन सक्छन् ।
आफूभन्दा ठूलालाई आदर, सम्मान गर्नु, सानालाई माया, हेरचाह, सहयोग गर्नु, अतिथिको सम्मान गर्नु, अन्यायमा परेकाहरूका तर्फबाट आवाज उठाउनु, कसैलाई पनि भेदभाव नगर्नु सामाजिक मूल्य र मान्यताको सकारात्मक पाटो हो । समाजलाई चलायमान बनाइराख्न त्यहाँ विभिन्न सामाजिक मूल्य र मान्यताले काम गरिराखेका हुन्छन् । ती मूल्य र मान्यताभित्र विवाह, परिवार पनि पर्छन् । समाज अगाडि बढाउँदा त्यसभित्र संस्कृतिहरू पनि थपिँदै जाने गर्छन् । तिनै संस्कृतिबाट हामीले जुग सुहाउँदो नयाँ, न्यायिक र समानतामुखी सामाजिक मूल्य र मान्यताको पनि खोजी गर्नुपर्ने हुन्छ ।
सामाजिक मूल्य र मान्यतालाई पछ्याउँदै जाँदा कालान्तरमा यो जीवनशैली नै बन्दो रहेछ । कतिपय हानिकारक मूल्य र मान्यता भने मानिसका चेतनाको स्तर र विरोधको स्वरपछि उन्मूलन पनि भएका छन् । उदाहरणका रूपमा नेपालको सती प्रथा । हुन त कुनै समय दास प्रथा, सामन्ती प्रथा पनि विश्वमा नै सामाजिक मूल्य र मान्यताकै रूपमा थियो । केही सामाजिक मूल्य र मान्यता हामी र हाम्रो समाजकै लागि हानिकारक पनि हुन सक्छन् । जसले शक्तिको मिच्याइँ, विभेद र सामाजिक असमानतामा पुनर्बल नै प्रदान गरिराखेको हुन्छ । सामाजिक मूल्य र मान्यता समयसापेक्ष हुनुपर्ने हो तर संसारले विकासको कोसौं दूरीको फड्को मारिसक्दा पनि हाम्रो जस्तो विकासोन्मुख देश भने सदियौं पुराना सामाजिक मूल्य र मान्यता साथमै बोकेर नै हिँडिरहेको छ ।
भनिन्छ, सामाजिक चलनहरू मानिसका बाल्यावस्थामा सिकिन्छ र जीवनभर लागू गरिन्छ । लैंगिक मूल्य र मान्यता, हिंसाका मूल्य र मान्यता तथा यौनिकताका मूल्य र मान्यता यसका उदाहरण हुन् । सामाजिक मूल्य र मान्यताले जीवनका धेरै पक्षमा प्रभाव पारेको हुन्छ । हामीले कसरी बोल्ने, कस्तो पहिरन लगाउने र सामाजिक समस्यामा कस्तो विश्वास राख्नेसम्मको अलिखित नीतिको निर्धारण सामाजिक मूल्य र मान्यताले गर्छ ।
वर्तमान समयमा पनि निरन्तरता दिँदै चलिरहेका विभिन्न प्रथा छन्, ती सामाजिक मूल्य र मान्यता बनेर नै चलिरहेका छन् । बालविवाहलाई नै लिऔं । कानुनले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी मानेको छ । नेपालमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुन छ । तर स्वास्थ्य चौकीतिर गएर नजर लगाउने हो भने १६/१७ वर्षका किशोरी हातमा कलिला नानी बोकेर खोप लगाउन आएको जमात ठूलै देखिन्छ । मधेश प्रदेशको कुनै एउटा टोलमा गएर त्यहाँका युवासँग ‘तपाईंहरूको गाउँमा के कस्ता चलन चलिरहेका छन्’ भनेर सोध्यो भने दाइजो प्रथा, बालविवाह, छोरीलाई बार बन्देज, बोक्सी प्रथा, जाति प्रथा भन्ने जवाफ आउँछ । यस्ता प्रथा अन्य प्रदेशमा पनि होलान् । तर तथ्यांकले अझ बढी मधेशमा यस्ता सामाजिक मूल्य र मान्यता झाँगिएको देख्न सकिन्छ ।
सामाजिक मूल्य र मान्यताले निरन्तरता पाइरहेको चलनमध्ये गम्भीर खालको बालविवाह पनि एक हो । उमेर नपुगी गरिने विवाहले स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ । एक त शरीरका अंगको राम्रो विकास भइसकेको हुँदैन, अर्को एक किशोरीले अर्को शिशुलाई जन्म दिँदाको जोखिम पनि त्यत्तिकै हुन्छ । कलिलै उमेरमा विवाह गरेका किशोरकिशोरीको आर्थिक रूपमा संलग्नता पनि न्यून हुने गर्छ । बालविवाहसँगसँगै त्यसैभित्रको दाइजो प्रथाले पनि विवाहपछि किशोरीहरू घरपरिवारविहीन जस्तो जीवन बाँच्न विवश हुने गरेका छन् ।
बालविवाहका कारण देखिएका चुनौतीको विषयमा सम्बन्धित क्षेत्रका जानकारसँग छलफल गर्दा विशेष गरेर ज्ञानको अपरिपक्वता, दाइजोलाई जिम्मेवारीको भरमा हेरिने, छिटो जिम्मेवारीबाट उम्कने अभिभावकको चाहना तथा अभिभावक–छोरीबीचको सामीप्यता तथा भावनात्मक सम्बन्धमा दूरी प्रमुख रहेका छन् । सामाजिक मान्यता त झन् बालविवाहको जरो नै मानिन्छ । समाजका अगुवाहरू नै बालिकाको विवाहमा सरिक भएर भोज खान्छन् । चुनावमा भोट घट्ने भयले प्रतिनिधिहरू नै यसो गर्छन् भन्नेहरू पनि छन् । अर्को महत्त्वपूर्ण कुरा हाम्रो समाजले अझै पनि प्रेम तथा प्रेमविवाहलाई स्विकार्न सकिरहेको पाइँदैन । सामाजिक मूल्य र मान्यताहरूमा सकारात्मक परिवर्तन हुन नसक्नुमा स्थानीय निकायको कार्यशैलीमा सामाजिकभन्दा भौतिक निर्माणलाई जोड दिइनु पनि एक समस्याका रूपमा लिन सकिन्छ । बालविवाह, दाइजो प्रथा जस्ता मूल्य र मान्यताको निरन्तरताको एक कारण शिक्षित जनशक्तिको मौनता पनि हो भनिन्छ ।
हानिकारक मूल्य–मान्यता
परम्परागत तथा चलिरहेका हानिकारक सामाजिक मूल्य र मान्यताका अभ्यासलाई शैक्षिक विषयवस्तुमा राखेर पढाइनुपर्छ । हानिकारक अभ्यासको अवस्थाका विषयमा समयसमयमा अनुसन्धान तथा त्यसको रिपोर्टिङ पनि हुनुपर्छ । सामाजिक मूल्य र मान्यताको परिवर्तनका लागि गठित सम्बन्धित निकायलाई प्रभावकारी ढंगले परिचालन पनि गर्नुपर्छ । बेलाबखत धार्मिक अगुवाहरूलाई पनि समयअनुसार परिवर्तन र रूपान्तरणबारे प्रशिक्षित गराउनुपर्छ ।
विभेदकारी नीतिहरूको पहिचान गर्दै त्यस्ता नीति परिवर्तन गर्नु पनि सामाजिक मूल्य र मान्यताको रूपान्तरणको प्रमुख काम हो । महिला शिक्षकहरू हाम्रो समाजका सामाजिक मूल्य र मान्यताका रूपान्तरणका वाहक हुन सक्छन् । तर यसका लागि ती महिला शिक्षक आफैं सचेत र परिवर्तनमुखी अनि रोलमोडल भने हुनुपर्ने हुन्छ । एकातिर बालविवाह जस्ता सामाजिक मूल्य र मान्यतालाई रोक्नुपर्नेछ भने अर्कोतर्फ बालविवाह भइसकेका किशोरीहरूलाई पढाइलगायतका कुराहरूमा पनि जोड्नुपर्ने देखिन्छ ।
सामाजिक मूल्य र मान्यता समाज र समूहका लागि एक आमनिर्देशिका हो । कुनै मूल्य र मान्यता उल्लंघन गर्दा सजाय हुन्छ, यसको अर्थ समाजमा बस्ने व्यक्तिले सामाजिक नियम, चाहे त्यो पुरातन नै किन नहोस्, नाघ्नु हुँदैन भनिएको हो । कतिपय अलिखित नियम जसले हाम्रो समाजलाई नकारात्मक रूपले गाँजिराखेका छन्, ती पनि सामाजिक मूल्य र मान्यताभित्रै पर्छन् । अन्तरजातीय र प्रेमविवाह गर्नेलाई कतिपय समाजले अस्वीकार गर्ने गरेको हामीले देख्दै सुन्दै आएका छौं ।
बालविवाह, दाइजो प्रथा, जात प्रथा, छाउपडी प्रथा, बोक्सी प्रथा त हानिकारका अभ्यास हुन् । छोरीलाई विभेद मात्र होइन विभिन्न देवताका नाममा चढाउने या देवी जस्तै उपनाम दिएर समाजमा प्रतिस्थापित गरिदिनु पनि नकारात्मक सामाजिक मूल्यभित्र पर्छ । सामाजिक मूल्य र मान्यताभित्रका नियमलाई केलाउँदा यसको सिकार भने महिलाहरू बढी भएको पाइन्छ । महिला हरेक सामाजिक मापदण्डको घेरामा परिरहनु समाज विकासको बाधक पनि हो । यसैले हाम्रा समाजमा रहेका विभिन्न सुधार्नुपर्ने मूल्य र मान्यतालाई अगाडि ल्याएर पुराना र विभेदकारी, महिलाको जीवनमा नै असर गर्ने खालका मूल्य र मान्यतालाई छोड्दै जानु अहिलेको समयको माग अनि आवश्यकता हो । यसका लागि पितृसत्तात्मक सोच र संरचना, धार्मिक जडता, रुढिवादीपन, देखासेखी र बजारमुखी चलनमा पनि परिवर्तन आउनुपर्ने देखिन्छ ।
