त्यागको लगानी, मित्रताको फसल

माघ ६, २०८१

कृष्णहरि बास्कोटा

The investment of sacrifice, the harvest of friendship

काठमाडौँ — मित्रता र शत्रुताका विषयमा पनि विविध पाटा छन् । सुखमा हाँस्ने हजार जना साथीभन्दा दुःखमा साथ दिने एक जना साथी नै प्रिय र आफन्तजस्तो हुन्छ । यसर्थ मित्रता बढाउने र शत्रुता घटाउनेतर्फ उन्मुख हुनुपर्छ । मित्रता बढाउन धेरैले जाने पनि शत्रुता घटाउन नजानेको महसुस गरिएको छ ।

यसमा गौतम बुद्धको एउटा किस्सा निकै उपयोगी छ । 

बुद्ध एउटा गाउँमा शान्तिबारे प्रवचन दिइरहनुभएको थियो । एक जना गाउँलेले बीचैमा उठेर बुद्धलाई सत्तोसराप गर्न थाल्यो । यस्ता आदर्श कुराले खान लाउन दिने होइन ! मलाई फाल्तु कुरा सुन्नु छैन । पाखण्डी प्रवचकलाई बहिष्कार गर्नुपर्छ । यसलाई यो गाउँबाट लखेट्नुपर्छ आदि इत्यादि भन्यो । 

बुद्धलाई शान्त मुद्रामा देखेर त्यो क्रोधित गाउँलेको पारा अझ चढ्यो । उसले बुद्धको मुखमा थुक्यो । यस्ता नकचराको के मुख हेर्नु ? भनी त्यहाँबाट हिँड्यो । बुद्धले शान्त भएरै आफ्नो प्रवचन सम्पन्न गरी त्यहाँबाट बाटो तताए ।

निकै रिसाएर हिँडेको गाउँलेलाई घर पुगेपछि आफूले गौतम बुद्धका विरुद्धमा गरेका सबै कार्य सम्झेर आत्मग्लानि भयो । त्यो व्यक्ति रातभरि निदाउन सकेन । बिहानै उठेर बुद्धको कुटी खोज्दै हिँड्यो । 

बुद्ध अर्कै गाउँमा प्रवचन दिँदै गरेको अवस्थामा भेटिए । उसले बुद्धसँग हिजोको आफ्नो व्यवहारका लागि क्षमा माग्यो । तर बुद्धले पल्लो गाउँको हिजोको कुरा मैले हिजै सोही गाउँमा छोडेर आइसको । तिमी हिजैको कुरामा अड्किरहेका छौ ? यसो नगर ! आजको कर्ममा जुट भनी आफूले उनीप्रति कुनै शत्रुता नलिएको कुरा बताए । यसरी क्षमादानबाट शत्रुता न्यूनीकरण गर्न सकिने बुद्धको सन्देश हो । 

मित्रताका विषयमा डा एपिजे अब्दुल कलाम भन्नुहुन्छ, 'एउटा राम्रो किताब एक सय जना साथीबराबर हुन्छ । तर एउटा राम्रो साथी एउटा पुस्तकालयबराबर हुन्छ ।' 

यसैले भन्ने गरिन्छ – जीवनमा एउटा असल मित्र पाउनु जीवन नै सफल हुनु हो । धेरै मानिसले जीवनमा एक जना पनि असल मित्र नपाउँदै देह त्याग गर्छन् । असल मानिस पहिचान गरेर उनीसँग मित्रता कायम गर्नु जीवनकै एउटा अद्भुत क्षण हो । 

एउटा भनाइ छ, 'असल मित्रहरू जाडोमा हिउँ एकढिक्का भएझैँ सधैँ एकठ्ठा भइरहन्छन्, ती पग्लिँदैनन् । तर स्वार्थी मित्रहरू गर्मी मौसममा हिउँ पग्लिएझैँ छिट्टै विलीन हुन्छन् ।'

मौकामा काम नदिनेको सङ्गत गर्नु बेकार छ । हामी अधिकांशले आफ्नो सक्कली मित्र को हो ? को शत्रु हो ? भन्ने नै खुट्याउन सक्दैनौँ । आफ्नो बढाइचढाइ प्रशंसा गर्नेलाई शुभचिन्तक ठान्छौँ । आफ्नो कमी–कमजोरी बताइदिनेलाई शत्रु । मानिसले यहीँनेर ठूलो भूल गर्छ । कुनै पनि कार्यालयमा अर्काको कुरा लगाउनेलाई हामी आफ्नो मान्छे ठान्छौँ । तर यसले अर्काको कुरा मलाई लगाइरहेको छ भने कतै यही मानिसले मेरो कुरा अर्कोलाई लगाइदिने त होइन ? भनी सोच्न सक्दैनौँ । आँखा भएर पनि नदेख्नेजस्तो हुन्छौँ । यही गल्तीको सिकार भई जीवन बर्बाद गर्दछौँ ।

अधिकांश मानिसलाई आमा–बुबाले पढ् भन्छन् । राति चाँडै घर फर्किनू भनेर सम्झाउँछन् । जथाभावी खर्च नगर भनी सल्लाह दिन्छन् । सबैसँग उचित व्यवहार गर भनी सम्झाउँछन् । तर अधिकांश छोरा–बुहारीका लागि यी सुझाव शत्रुतापूर्ण लाग्ने गर्छन् । जसका कारण आमा–बुबा, छोरा–बुहारी तथा दाजुभाइ एक–आपसमा छुट्टिन्छन् । अंशबन्डा गर्न उद्यत रहन्छन् । आपसमा भद्रता देखिए पनि यथार्थमा सबै जना छुट्टाभिन्न भएर बसेका छन् । यसलाई पाश्चात्य हावाको प्रभाव पनि भनिन्छ । 

गृह मन्त्रालयमा काम गर्नेको शत्रुता सोही मन्त्रालयमा काम गर्नेसँग छ । शिक्षा मन्त्रालयमा काम गर्नेको लडाइँ–झगडा पनि सोही मन्त्रालयभित्र काम गर्नेहरूकै बीचमा छ । जो साथी हुनुपर्ने हो तिनै झगडिया भएका छन् । आपसमा मिलेर, सामूहिक प्रयासका माध्यमद्वारा समूह गतिशीलता प्रदर्शन गर्नुपर्नेमा आपसी मनमुटावमै अलमलिनु विडम्बना नै हो । 

सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ एउटा व्यापारीलाई अर्को व्यापारीले उजुरी गरी कारबाही गराउने गरेका छन् । एउटा न्यायाधीशले अर्को न्यायाधीशले गरेको फैसलामा कमी देख्छ । साहित्यकारहरू एक–अर्काका आलोचक हुने गरेका छन् ।

फिल्मका कलाकार एकले अर्कालाई देखिसहँदैनन् । खेलाडीका शत्रु खेलाडी नै भएका छन् । डाक्टरको कमी–कमजोरी अर्को डाक्टरले देख्ने गरेको पाइन्छ । हरेक राजनैतिक दलभित्र गुट, उपगुट हुने गरेका छन् । यसरी एकढिक्का हुनुपर्नेहरू नै आपसी शत्रुमा रुपान्तरित भएको पाइन्छ । 

सफल हुन सकारात्मक सोच आवश्यक पर्छ । सकारात्मक सोचले सबैसँग मित्रवत् व्यवहार गर्न उत्प्रेरित गर्छ । जुन मात्रामा मित्रताको सङ्ख्या वृद्धि हुँदै जान्छ । सोही मात्रामा केही गरौँ भन्ने व्यक्तिमा हौसला वृद्धि हुन थाल्छ । 

मानिस स्वभावैले स्वार्थी हुन्छ । यो आंशिक सत्य हो कि, यसअनुसार कसैबाट आफ्नो इच्छा पूरा गर्न सर्वप्रथम उसको इच्छा बुझेर काम गर्नुपर्छ । यसरी अर्को व्यक्तिको भावनाअनुसार कार्य गरेपछि निजबाट अपेक्षित परिणाम हासिल गर्न सकिन्छ । त्यसैले दिन नखोज्ने, तर लिन खोज्ने प्रवृत्ति स्वयम्का लागि घातक हुन्छ । कसैलाई पनि केही दिएपछि स्वतः उसबाट प्राप्ति भइहाल्छ । यसैलाई मानिस स्वभावैले स्वार्थी हुन्छ भनिएको हुनुपर्छ । 

अस्फतालमा बिरामी कुरवाको ताँती हुन्छ । तथाफि सबै बिरामी कुरवा शौचालय जानसमेत मौकाको ताकमा रहन्छन् । त्यसमध्येका केही फरासिला मानिसले एक–अर्कासँग बोलचाल गर्छन् । 'यहाँको बिरामीलाई म कुरिदिन्छु, चिया पिउन जानुस्, शौचालय जानुस् !' भन्छन् । यसबाट अर्कोले राहतको महसुस गर्छ । केही क्षणमै यसको परिणाम देखापर्छ । ती व्यक्तिले 'अब म फर्किएँ, यहाँको बिरामीलाई म कुरिदिन्छु, यहाँ बाहिर जान सक्नुहुन्छ' भनिहाल्छ । 

यसै गरी चौबाटोमा गाडी जाम भएका बेला कुनै भद्रले 'यो मोटर यता, त्यो मोटर उता जाऊ, उहाँलाई पहिलो पालो देऊ !' भन्दा प्रायः सबै अवस्थामा सबैले मान्छन् । जाम खुल्छ । त्यसपछि बल्ल ती भद्र पनि आफ्नो गन्तव्यमा पुग्छन् । 

अर्कोको भलाइमा काम गरेमा स्वतः आफ्नो भलाइ हुन्छ । यसैलाई स्वार्थत्याग भनिन्छ, जसले अतिरिक्त लाभ नै पुग्छ, हानी हुँदैन । यो नै त्यागको लगानी हो ।

परिवारमा एकले अर्कोलाई 'यो खानू' भनी जोड गर्छन् । “त्यो नखानू” भनी निषेध गर्छन् । जबकि, मित्र ठानिएको स्वार्थवश बनेको सम्बन्धले मदिरा पिउन, चुरोट तान्न, तमाखु खान, पानपराग,खैनी र सुर्ती सेवन गर्न तथा लागू पदार्थमा झुम्न प्रेरित गर्छन् । यसैबाट हामीले को मित्र ? को शत्रु ? भनी छुट्याउन सक्छौँ । 

परिवारभित्र समझदारी, आपसी भावना, अनुशासन, आदर, माया, विश्वास र भरोसा तथा समर्पण हुन्छ । यिनै तफ्व मित्रताका प्रतीक हुन् । यस्तै पक्ष र क्षेत्रलाई जगेर्ना गर्न सक्नु नै जीवनमा सुखी र खुसी भिरुयाउने सूत्र हो ।

एक दिन एक साधुलाई स्वर्ग र नर्कको भेद जान्न मन लागेर भगवान्सँग पुकार गरेछन् । उनको कठोर तपस्याबाट प्रसन्न भई भगवान् उपस्थित भएछन् । साधुको कुरा सुनेपछि भगवान्ले पहिला साधुलाई नर्कमा लिएर गएछन् । त्यहाँ पाकशालामा खाना पाकिरहेको थियो । सबैको हातमा डाडु बाँधिएकाले ती खाना झिक्न सक्थे तर खान सक्दैनथे । ती दुःखी थिए । सबै दुब्ला–पातला थिए । डाडुले खाना झिकेर खाँदा मुखमा भन्दा भुइँमा ज्यादा पोखिन्थ्यो । जसका कारण चारैतिर झिँगा भन्किएका थिए । सन्तले नर्कमा निकै दुःख पाइने रहेछ भन्ने बुझे । 

त्यसपछि भगवान्ले साधुलाई स्वर्गको भ्रमण गराए । त्यहाँ पनि पाकशालामा खाना पाकिरहेको थियो । त्यहाँ पनि सबैको हातमा डाडु बाँधिएको थियो । ती पनि खाना झिक्न सक्थे तर आफैँ खान भने सक्दैनथे । तर त्यहाँका मानिस डाडुले खाना झिकेर एकले अर्कालाई खुवाउँथे । हट्टाकट्टा थिए, खुसी पनि देखिन्थे । आपसमा प्रेमभाव भएकाले सबैको ओठमा खुसियाली भरिएको थियो । एकले अर्कालाई खाना खुवाउँदा खाना पोखिएको पनि देखिएन । वातावरण सफा थियो । यसरी बसौँ–बसौँ लाग्ने खालको थियो स्वर्ग । 

यस भ्रमणबाट साधुले प्रस्टसँग बुझे । आखिर स्वर्ग र नर्कमा एउटै व्यवस्था थियो । फरक केवल मानिसको सोचमा थियो । व्यहारमा थियो । नर्कमा मानिस आफैँ खान खोज्थे भने स्वर्गमा अरुलाई खुवाउन खोज्थे । यो सोच र व्यवहार नै आपसी शत्रुता र मित्रताको कारक तफ्व थियो ।

कसले कुन समयमा के भन्छ र कसले के बुझ्छ भन्ने कुराले आपसी मित्रता प्रगाढ हुने र मित्रता शत्रुतामा रुपान्तरित हुने गर्दछ । 

एक जना मानिस बैँकमा ऋण लिन गएछन् । उनको प्रस्ताव सुनेर बैँकका म्यानेजर खुसी भएछन् । ती म्यानेजरले “हामीले तपाईंजस्तै ऋणी खोजिरहेका हौँ, ऋण मिलाइदिन्छु” भनेछन् । दुवै जना प्रसन्न भएछन् । उनीहरूबीच क्षणभरमै प्रगाढ मित्रता कायम भएछ । 

म्यानेजरले उनलाई ऋणबापतको चेक दिँदा उनको खुसीको सीमा नै रहेन । उनले भने, 'म्यानेजर साहेब ! मैले तपाईंको यो ऋण कहिल्यै पनि तिर्न सक्दिनँ ।' 

त्यो कुरालाई म्यानेजरले उल्टो बुझेछन् । म्यानेजरले ऋण नपाउन्जेल राम्रो कुरा गर्ने तर तत्कालै ऋण तिर्न सक्दिनँ पो भन्न थाले भन्ने बुझेछन् । अनि त म्यानेजरले ऋणीको हातबाट हत्तपत्त चेक खोसेर ऋण दिने कागज तत्कालै रद्द गरिदिए । यसबाट ऋण लिन खोज्ने व्यक्ति आक्रोशित भए । उनीहरूबीचको शत्रुता एकाएक सीमा नाघेर हात हालाहालमा पुग्यो । 

वास्तविकता त्यस्तो थिएन । ऋणीले खुसी हुँदै सहयोगरुपी ऋण कहिल्यै तिर्न सक्दिनँ भनेका थिए । तर म्यानेजरले बैँकको ऋण नै नतिर्ने घोषणा गरेको बुझे । यस्तो सञ्चारप्रवाहको दरार जीवनमा कहिल्यै आउन दिनुहुँदैन । 

बोल्दा निकै ख्याल गर्नुपर्छ । बोलीले नै मित्रता र शत्रुता बढाउँछ । घटाउँछ पनि ।

(बास्कोटाको 'खुसीकाे गाेरेटो' पुस्तकबाट)

कृष्णहरि लेखक बास्कोटा नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त हुन् ।

Link copied successfully