१ सय ७५ वर्षअघिको बेलायत भ्रमणमा जङ्गबहादुरले कति खर्च गरेका थिए ? 

माघ ४, २०८१

गजेन्द्र बुढाथोकी

How much did Jang Bahadur spend on his visit to Britain 175 years ago?

नेपालबाट हिँडेको दुई महिनासम्म भारतका विभिन्न सहर हुँदै एक वर्षसम्म युरोपको भ्रमण गरेर फर्केका जङ्गबहादुरले के कति खर्च गरे भन्ने औपचारिक दस्तावेजहरू पाइएका छैनन् । ५ हजार पाउन्डमा जहाज भाडामा लिएर युरोप यात्रामा निस्केका जङ्गबहादुरले एक महिनालाई पुग्ने रसदपानी हिंदुस्तानबाट किनेर लगेका थिए ।

नेपालबाट भारत पुग्नेवित्तीकै जगन्नाथ मन्दिरमा ५ हजार रुपैयााको प्रेमिसरी नोट दान गरेका जङ्गबहादुरले बेलायतमा ४ वटा घोडा, बग्गी केही कोत्स्वोल्ड र लेसेस्ट जातका भेडा, ब्लडहाउ प्रजातिका तीन जोडी कुकुर हाउड ,सफक जातका चार वटा गाई, होर्डरनेस जातका २ र ओल्डर्नी जातका २ गोरु, गिद्दे प्रेस, तेल पेल्ने मेसिनसहितका अन्य उपकरण किनेका थिए । राम्रो प्रजातिको घोडाको मूल्य त्यसबखत ४०० गिनी रहेकोमा एउटा घोडा जङ्गबहादुरले १२५ गिनीमा किनेका थिए ।

लण्डनमा उनले ७०० पाउण्डका महिलाले लगाउने लुगा किनेका थिए भने आफ्नो सुरक्षार्थ २००० पाउण्डका बन्दुक र पेस्तोलहरू किनेका थिए । उनले पेरिसमा ८० लाख फ्र्यांक (४ हजार पाउण्ड)को चिठ्ठासमेत किनेका थिए । पेरिसमा ब्याले नृत्यका महिला कलाकारहरूलाई २५०० फ्र्यााक बराबरीको सुनको सिक्का बक्सिस दिए । फ्रान्सेली चित्रकारहरू एम. ज्याक्वार्टलाई बेलायतमा १० हजार फ्र्याँक र एम. ड्यान्टनलाई पाँच हजार फ्र्यााक दिएका थिए । बम्बे (बम्बई) आइ पुगेपछि पनि जङ्गबहादुरले व्यापक मालसामान किने । १८५० नोभेम्बर ६ देखि चार दिनको समय बम्बैका केही विशिष्ट व्यापारीसाग भेटेर विभिन्न प्रकारका मालसामान किनेर नेपाल पठाए । उनले बम्बेबाट के के सामान किनेर नेपाल पठाएका थिए भन्ने कुनै दस्तावेजमा खुल्दैन ।

नोभेम्बर १४ का दिन उनी हिन्दूको प्रसिद्ध तीर्थस्थल द्वारकाको आकस्मिक दर्शन भ्रमणमा गए । बम्बे सरकारले उनका लागि एटलान्टा नामक जहाजको व्यवस्था गरेको थियो । द्वारकाको पवित्र मठको मर्मत सम्भारका लागि उनले रु ५ हजार रुपियाँको राजर्सी उपहार दिए । जनवरी सन् १८५१ का बनारस पुगेका जङ्गबहादरले त्यहाँको प्राचीन शैक्षिक संस्था किवन्स कलेजको कोषमा जम्मा हुने गरी ४ हजार रुपियाँ प्रदान गरे ।

बेलायतमा भाइ धीरशमसेरसँग कुस्तिमा हारेका कुस्तिवाजलाई एक मुठ्ठी सुनका असर्फी दान दिएका थिए भने आफू बिमारी पर्दा उपचार गर्ने डाक्टर सर बेन्जामिन ब्रोडीलाई ५०० पाउन्ड बक्सिस दिने प्रस्ताव गरेकामा डाक्टरले त्यो निकै बढी भएको भन्दै अस्वीकार गरेका थिए, पछि १०० पाउन्ड मात्रै लिएका थिए ।

पेरिसमा नृत्यङ्नालाहरूलाई १०० पाउन्ड वा २,५०० फ्रयााक बराबरका ब्रिटिस सुनका सिक्का अर्कीलाई हिरापन्ना जडित एक जोडी सुनको बाला दिए ।

लाउरा बेलमाथि खर्च

जङ्गबहादुर बेलायत बस्दा त्यसबेलाकी महागी वेश्या लाउरा बेलको प्रेममा फासेका थिए । उनीमाथि आफूले लगेका ठूलो धनराशि खर्च गरे जङ्गबहादुरले लउरा बेलसँग एक रात बिताउन २ लाख ५० हजार पाउन्ड खर्च गरेका विभिन्न पुस्तकमा उल्लेख छन् । “जङ्गबहादुर इन युरोप”का लेखक जोन हृवेल्पटनले त्यो रकम एकै पटक खर्च गरेको नभइ बेलसँग ९० दिनसम्म बिताउँदा एकपछि अर्को महँगो उपहारमा त्यो रकम खर्च गरेको हुनसक्ने बताएका छन् । केही इतिहासकारहरूले ब्रिटिस इन्डियाले जङ्गबहादुरको भ्रमणमा गरेको खर्च नै उनले लाउरा बेलमाथि लुटाएको उल्लेख गरेका छन् ।

एक वर्ष लामो ब्रिटिस इन्डियाकालीन भारतका विभिन्न सहर हुँदै बेलायत र फ्रान्सको भ्रमणमा करिब १ देखि ३ लाख पाउण्डसम्म

खर्च गरेका थिए । यसमध्ये ३० हजार पाउण्ड उनका सम्धी काजी हेमदल थापामार्फत उपलब्ध गराइएको थियो । बाँकी इङ्ग्ल्याण्ड सरकारले बेहोरेको थियो । उनले रानी भिक्टोरियलाई उपहार दिएका सामानको मूल्य साढे २ लाखदेखि पाँच लाख पाउण्ड बराबर थियो । यसैगरि सयौं पाउण्डका सुनका सिक्का र हिरापन्ना पनि उनले बााडे । यसमध्ये आधाभन्दा बढी रकम नेपालको राष्ट्रिय ढुकुटीबाटै लगेका थिए भने लन्डन पुगेपछिका खर्च प्रबन्ध इंग्ल्यान्ड सरकारले गरेको थियो । 

(पत्रकार बुढाथोकीको शनिबार विमोचन हुने 'जङ्गबहादुर इन इंग्ल्याण्ड' कृतिको अंश) 

गजेन्द्र गजेन्द्र बुढाथोकी पत्रकार हुन् । उनी आर्थिक म्यागजिन टक्सारका प्रधान सम्पादकसमेत हुन् ।

Link copied successfully