नेपालमा पाइने लगभग २४ हजार प्रजातिमध्ये करिब २८ प्रतिशत कृषि आनुवंशिक
काठमाडौँ — दोस्रो विश्वयुद्धताका विश्वव्यापी रूपमा बढ्दै गएको जनसंख्याको मागलाई धान्ने खाद्यान्न उत्पादन हुन नसक्नु लगभग सबै देशहरूको मुख्य चुनौती बनेको थियो । बढ्दो मागलाई सम्बोधन गर्नेगरी उत्पादनमा उल्लेख्य वृद्धि गर्न नयाँ प्रविधिको खोज, अनुसन्धान सुरु भए ।
सन् १९३९ मा डीडीटी नामक विषादीको आविष्कार भयो । दोस्रो विश्वयुद्धमा लडाकु सेनाहरूमा फैलिएको मलेरिया नियन्त्रण गर्न विकास भएको डीडीटी त्यसपछि कृषि उत्पादनमा पनि प्रयोग हुन थाल्यो । डीडीटीको उत्पादन र प्रयोगसँगै सिंचाइ, बालीको हाइब्रिड जातको विकास, रासायनिक मल आदिको प्रयोग व्यापक रूपमा हुन थाल्यो । अनि विश्वभर नै हरित क्रान्ति फैलियो ।
यता उत्पादनमा ज्यामितीय वृद्धि भएसँगै वातावरणीय पक्षलाई पनि ख्याल गर्नुपर्नेमा विश्वको ध्यान आकृष्ट गर्यो, ‘साइलेन्ट स्प्रिङ’ले । अमेरिकी लेखक एवं संरक्षणविद् रचेल कार्सोनले सन् १९६२ मा बसन्त ऋतुमा समेत वातावरण शान्त भएको भनेर लेखेपछि विकास र वातावरणको बारेमा चर्चा सुरु भयो ।
दिवसको सन्दर्भ
हरेक वर्षको मे २२ तारिखको दिन विश्वभरि जैविक विविधता दिवस मनाउने गरिन्छ । सन् १९९२ को मे २२ मा ब्राजिलमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ तारिखका दिन जैविक विविधता दिवस मनाउन सुरु गरियो । जैविक विविधताले पृथ्वीमा जीवजन्तु र वनस्पतिको निकै ठूलो आयामलाई बुझाउने गर्दछ । विकासोन्मुख देशहरूमा कृषि जैविक विविधता अत्यन्त संवेदनशील विषय हुने हुनाले कृषि जैविक विविधतालाई विशेष ध्यानमा राखेर वि.सं. २०७९ देखि नेपालमा राष्ट्रिय कृषि जैविक विविधता वर्ष मनाउन सुरु गरिएको हो ।
जैविक विविधताका हिसाबले नेपाल विश्वमा २३ औं र एसियामा ११ औं स्थानमा छ । नेपालमा हाल ५ सय ५० खाद्यान्न बाली, २ सय तरकारी र ४५ फलफूलका जातहरू रहेका छन् । कृषि जैविक विविधताले दिगो विकास, खाद्य सुरक्षा र गरिबी निवारण गर्न पनि सघाउँछ । कृषि जैविक विविधतामा ह्रास आउनाले रैथाने बालीको खेतीबाटै जीविका चलाउने आदिवासी जनजातिहरू संवेदनशील रहने गर्दछन् ।
परम्परा र कृषि जैविक विविधता
हिन्दु परम्परामा तुलसी, वर, पीपल, काँस, बेल, पैयुँका हाँगा, दतिवन, रुद्राक्ष, बाबियो, दूबो, कुश, पलाँस आदिले कृषि जैविक विविधता र धार्मिक सांस्कृतिक मान्यताबीच गहिरो सम्बन्ध रहेको बुझाउँछ । त्यस्तै अदुवा, बेसार, लसुन, तीतेपाती, चिराइतो आदिले पनि जडीबुटीको धार्मिक र सांस्कृतिक महत्त्व रहेको बताउँछ । विभिन्न भगवान् र तिनको उपासनाका लागि जौ, तिल, टीका, दही, धुप, कुश, पंचामृत, चन्दन, सुपारी आदि प्रयोग हुने गर्दछ ।
कृषि जैविक विविधता र धार्मिक मान्यताहरूबीच अन्तरसम्बन्ध देखाउने अरू विभिन्न उदाहरण पनि देख्न सकिन्छ । चिउरीको रुखसँग चेपाङ जाति, अल्लोसँग कुलुङ राई जातिको छुट्टै विश्वास र मान्यता रहेको छ । पूर्वी तराईका राजवंशीहरूले सिरुवा पर्व मनाउँदा लसुन र प्याज घरबाहिर झुन्ड्याउने गर्दछन् । काठमाडौं उपत्यकामा नेवार समुदायले वर्षा र अन्नका देवता भनेर रातो मच्छिन्द्रनाथलाई पुज्ने गर्दछन् । साउने संक्रान्ति, खिर खाने दिन, जितिया पर्वमा घिरौंलाको पातमा तोरी वा सर्सिउँको तेलसहित सखर र पिना चढाउने चलन, माघे संक्रान्तिमा सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन आदिले कृषि जैविक विविधता र परम्पराहरूबीच घनिष्ट सम्बन्ध रहेको देखाएका छन् ।
कृषि जैविक विविधताको अवस्था
नेपालमा पछिल्लो क्रममा कृषि जैविक विविधता ५० प्रतिशतले र रैथाने बालीको ४० प्रतिशतले क्षय भएको पाइएको छ । त्यस्तैगरी संयुक्त राष्ट्र संघका अनुसार माटोको मरुभूमीकरण हुने दर डरलादो तरिकाले बढ्दै गएको छ । यो दर कायम रहेमा आगामी ६० वर्षपछि कृषि उत्पादनमा भारी गिरावट आउनेछ । अनुसन्धानकर्ताहरूले पृथ्वीमा जीवजन्तु र वनस्पतिको सामूहिक विलुप्तता (मास एक्सटिन्सन)को पनि खतरा बढ्दै गएको बताएका छन् ।
माटोमा अत्यधिक रूपमा रासायनिक मल र कीटनाशक विषादीको प्रयोगले कृषि जैविक विविधतामा ठूलो ह्रास आएको छ । जलवायु परिवर्तनले माटोको संरचना, तापमान र वर्षाको ढाँचामा परिवर्तन आएको छ भने तीव्र सहरीकरण र वन फँडानीले माटोको क्षारीयपना बढाएको छ । संयुक्त राष्ट्र संघले हाल विश्वको ३३ प्रतिशत माटो बिग्रिएको र आगामी वर्षहरूमा यसको मात्रा अझै बढ्न सक्ने भनेर गम्भीर चिन्ता व्यक्त गरेको छ । मानवजाति र प्राणीहरूको खानाको स्रोत माटोको स्वास्थ्य जोगाउनुपर्ने, माटोको निगरानी गर्नुपर्ने र उचित व्यवस्थापनबाट माटोको जीवन बचाउनुपर्छ भन्नेमा जोड दिइएको पाइन्छ ।
कृषि जैविक विविधतामा ह्रास आउनाले कृषि उत्पादन चक्र र प्रणालीलाई असर पुर्याएको हुन्छ । पारिस्थितिकीय पद्धतिअन्तर्गतको जैविक विविधतामा उथलपुथल आउँदा पृथ्वीको पर्यावरणलाई निश्चय नै असर गर्दछ । जीवजन्तु र वनस्पतिको वासस्थान नष्ट हुने, जलवायु परिवर्तन, भूउपयोगमा विविधता, मिचाहा प्रजातिको अतिक्रमण, वनविनाश, अव्यवस्थित सहरीकरण, रासायनिक मल विषादीको प्रयोग गर्नाले कृषि जैविक विविधताको अवस्था बिग्रंदै गएको छ ।
नेपालमा रैथाने बालीअन्तर्गत ४० प्रतिशत कृषि जैविक विविधताभित्र पर्ने घाँसे बाली, पशुपन्छी, जलीय, कीरा र सूक्ष्म जीवाणुजन्य आनुवंशिक स्रोतहरू हराइसकेका छन् । कृषि जैविक विविधतासम्बन्धी अनुसन्धान, शिक्षा र विकासमा कमी, रैथाने जातको न्यून उपयोग, बजारीकरणमा समस्या आदि कारणले कृषि जैविक विविधताको ह्रास हुँदै आएको छ । त्यस्तै अन्य कारणहरूमा जलवायु परिवर्तन, आधुनिक खेती प्रणाली, वातावरण प्रदूषण, रोगकीराको प्रकोप, सहरीकरण आदिले कृषि जैविक विविधताको ह्रासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालमा रैथाने जातलाई भन्दा विदेशी जातलाई विशेष महत्त्व दिने चलन रहेको छ । जर्सी गाई, रेन्बो ट्राउट, मेलिफेरा मौरी, बोयर बाख्रा, जापानी च्याउ आदिले गर्दा थुप्रै रैथाने जात हराउँदै गएका छन् ।
नीति र कृषि जैविक विविधता
नेपालको सन्दर्भमा नेपालको संविधान २०७२ ले जैविक विविधतालाई संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहको सरकारको जिम्मेवारी भनेको छ । बीउविजन ऐन, २०४५, बीउविजन नीति, २०५६, कृषि नीति, २०६१, जैविक विविधता नीति, २०६३ लगायत विभिन्न राष्ट्रिय नीति नियमहरूले कृषि जैविक विविधताको संरक्षण गर्न विशेष जोड दिएका छन् ।
वि.सं. २०५२ मा नेपाल जैविक विविधता महासन्धिको सदस्य राष्ट्र बन्यो । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत वि.सं. २०६७ मा राष्ट्रिय जीन बैंकको स्थापना भयो । संघीयता कार्यान्वयन सुरु भएसँगै कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र स्थापना भएको छ ।
वि.सं. २०५१ मा दहचोकीमा पहिलोपटक सामुदायिक बीउ बैंक स्थापना भई स्थानीयस्तरमा बीउ बैंकका कार्यक्रम हुँदै आएका छन् । संघीय सशर्त कार्यक्रम अनुसार प्रदेश र स्थानीय तहमा कृषि जैविक विविधतासम्बन्धी विभिन्न किसिमका कार्यक्रमहरू हुने गर्दछन् ।
कृषि जैविक विविधताको संरक्षण
विकासोन्मुख देशहरूमा कृषि जैविक विविधता र वातावरणीय महत्त्वलाई हलुका विषयका रूपमा लिने चलन रहेको छ । कृषि जैविक विविधता संरक्षणका लागि मिश्रित खेती प्रणालीको अभ्यास, एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम), प्रांगारिक खेती, एकीकृत खेती गर्न सकिन्छ ।
रैथाने बालीको बीउको प्रसार, बजारीकरणमा सहयोग र सहजीकरणसम्बन्धी कार्यक्रम गर्नुपर्दछ । सरकारले वि.सं. २०७९ देखि हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरेको छ । बदलिँदो जीवनशैलीले मानव स्वास्थ्यमा निम्त्याएका गम्भीर समस्याहरूको निदानका लागि मौलिक खाद्य संस्कृति र खाद्य परिकारको पहिचान गरी त्यसको महत्त्व उजागर गर्नुपर्दछ ।
नेपालको संविधानले जैविक विविधताको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिअन्तर्गत राखेको छ । नेपाल जैविक विविधताको हिसाबले धनी भए पनि जलवायु परिवर्तन र आधुनिक खेती प्रणालीले गर्दा नकारात्मक प्रभाव पारेको छ । नेपालमा हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस, असोज ७ गते राष्ट्रिय संरक्षण दिवसलगायत मनाइँदै आएको छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरमा मनाइने विश्व खाद्य दिवस, वातावरण दिवस र जैविक विविधता दिवसका रूपमा पनि वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा पाइने लगभग २४ हजार प्रजातिहरूमध्ये करिब २८ प्रतिशत कृषि आनुवंशिक स्रोत रहेका छन् । दूध, मासु, मल, छाला तथा रौँका लागि किसानहरूले जीवजन्तुलाई पाल्ने गर्छन् भने बालीनालीमा मित्रु कीरा, आर्थिक दृष्टिले फाइदाजनक कीराहरू पनि कृषि जैविक विविधताकै सम्भागअन्तर्गत पर्दछन् । माकुरा, गड्यौँला, मौरी, कृषि सूक्ष्मजीव, जीवाणुअन्तर्गत च्याउ, लेउ आदिले कृषि जैविक विविधता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
पशु आनुवंशिक स्रोततर्फ स्वदेशी पशुबाट बढ्दो जनसंख्याको माग धान्न नसकेको अवस्था छ । नेपालका रैथाने पशु आनुवंशिक स्रोतको संख्या घट्दै गइरहेको छ । तराई, पहाडी, सिरी, अछामी, खैला लगायत विभिन्न किसिमका रैथाने गाई, रैथाने भैंसी, बाख्रा, भेंडा, कुखुरा, सुँगुर आदिको संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कृषि जैविक विविधताको संरक्षणका लागि विभिन्न प्रयासहरू हुँदै आएका छन् । ठाउँ अनुसार परस्थानीय, स्वस्थानीय, घर, गोठ, खेत स्थलीय र संरक्षित प्रजननसम्बन्धL अभ्यास अपनाउने गरिन्छ । जोखिममा रहेका स्रोतको जातीय मिश्रण, उत्परिवर्तनशील बाली प्रजनन, जातीय सुधारका लागि संरक्षित प्रजनन गर्ने गरिन्छ ।
कृषि जैविक विविधतासम्बन्धी उच्चस्तरीय अध्ययन एवं अनुसन्धान गरी बौद्धिक अधिकार लिने प्रणालीको विकास गरी संरक्षण कार्यमा लाग्नु अहिलेको आवश्यकता देखिएको छ । रैथाने कृषि उपजमा पाइने खाद्य तत्त्वको महत्त्वबारे प्रचारप्रसार गरी ‘हेला गरिएको बाली’ भन्ने भाष्यलाई बदल्नुपर्छ ।
रैथाने बालीसम्बन्धी स्थानीय प्रविधिको विकास र प्रवर्द्धन, अन्तर्राष्ट्रियस्तरमा बजारीकरण, स्थानीयस्तरमा कृषि जैविक मेला, खाद्य मेलामार्फत कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रम गर्नुपर्दछ । विभिन्न बालीका जात तथा पशुपन्छीका नश्लको संरक्षण एवं संवर्द्धन गर्नका लागि खतरा क्षेत्र निर्धारण, खतरा सूचीकरण, विद्यालय, धार्मिक स्थल, सीमसार क्षेत्र आसपास फिल्ड जीन बैंक, बाली विशेष पार्क आदि स्थापना गरी कृषि विविधता संरक्षण गर्न सकिन्छ ।
निष्कर्ष
कृषि जैविक विविधताले हाम्रो खाद्य सुरक्षा र पोषणलाई निकै नै सहयोग पुर्याएको छ । दैनिक खानाको उपलब्धतादेखि औषधिजन्य पदार्थ उत्पादनका लागि कृषि जैविक विविधतामै निर्भर रहनुपर्दछ ।
मानव जातिसँगै सिंगो पृथ्वीमा रहेका हरेक प्राणी र वनस्पतिको वासस्थानको प्रत्याभूति, पारिस्थिकीय पद्धतिको संरक्षण, दिगो विकास र गरिबी निवारणका लागि कृषि जैविक विविधता संरक्षण आजको अपरिहार्य विषय बनेको छ ।
