अर्थतन्त्रको सकस फुकाउने औजारको खोजी

सरकारी अनुदान, हस्तक्षेप र सस्तो लोकप्रियतावादी वितरणमूखी विनियोजनले मात्र समृद्धि ल्याउन सक्दैन । विधि, नियम र बजार मान्यतामा परिचालित निजी क्षेत्र र दूरदर्शी, स्वच्छ, सक्षम तथा जवाफदेही नेतृत्व हुनुपर्छ । 

पुस १६, २०८१

भानुप्रसाद आचार्य

Searching for tools to stimulate the economy

लोकतान्त्रिक शासकीय प्रणालीबाट व्यक्तिगत स्वतन्त्रता, आत्मसम्मान र समृद्ध समाज निर्माण हुन्छ भन्ने मान्यतामा विश्वव्यापी रूपमा उदारवादी सोच अँगालेर लोकतान्त्रिक पद्धतिको क्रमिक विकास भएको थियो ।

यस क्रममा दोस्रो विश्वयुद्धपछि विश्व अर्थव्यवस्थामा सहज रूपले दीर्घकालीन पुँजी व्यवस्था गर्न र विनिमय व्यवस्थामा स्थायित्व ल्याउने उद्देश्यले बहुपक्षीय अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको स्थापना भएको थियो ।

सन् १९७० को दशकमा पश्चिमी मुलुकहरूले बेरोजगारी, उच्च दरको मुद्रास्फीति र अर्थ–राजनीतिसँग सम्बन्धित समस्या भोगेपछि अर्थतन्त्रमा सरकारी नियन्त्रण तथा हस्तक्षेपको नीति निरन्तरताले राजनीतिक आर्थिक समस्या बढ्दै गएको तथ्य आत्मसात गरेपछि व्यक्तिको स्वतन्त्रता, उत्कृष्टता, व्यावसायिकता र प्रतिस्पर्धी बजारमा आधारित उदारवादी अर्थव्यवस्थाले गति लियो । सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय बहुपक्षीय वित्तीय संघसंस्थाहरूका माध्यमबाट उदार आर्थिक सुधारका नीति तथा कार्यक्रम विश्वभर कार्यान्वयनमा आयो । यसले मुख्यतः अनुशासित आर्थिक नीति, बजार संयन्त्रको प्रतिस्पर्धी उपयोग र वस्तु, सेवा व्यापार तथा लगानी उदारीकरण र खुलापनलाई जोड दियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघको विघटनले उदार तथा खुलापनको विस्तारले थप गति लियो । सन् १९७८ देखि नै व्यापार, लगानी र अर्थनीतिमा चीनले उदारपनको अवलम्बन गरेको थियो । सन् १९९० को दशकमा नेपाल, भारतलगायत विश्वका धेरै मुलुकले उदार आर्थिक सुधार तथा खुलापनको नीति कार्यान्वयन गरे ।

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका वा नियन्त्रित शासन प्रणाली अपनाए पनि आर्थिक नीतिमा उदार तथा खुलापन अँगालेका मुलुकहरूले सुरुका चार दशकसम्म यथेष्ट लाभ प्राप्त गरे । आय बढाउने, गरिबी घटाउने, शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रको विस्तार एवं स्तर बढाउने र बाह्य मुलुकसँग पहुँच बनाएर उत्पादित वस्तु तथा सेवा व्यापार, लगानी, रोजगारी सिर्जनामा उपलब्धि हासिल गरे । युद्धग्रस्त, आन्तरिक द्वन्द्वमा फसेका र राजनैतिक स्थिरता नभएका मुलुकहरूले उदारपन तथा आर्थिक सुधारका कार्यक्रमबाट अपेक्षित लाभ लिन सकेनन् । नेपालकै सन्दर्भलाई लिने हो भने, सन् १९९० मा उदार आर्थिक सुधारको नीति कार्यान्वयन गरेपछि सन् १९९४ मा उच्च ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो । राजनीतिक अस्थिरता, सशस्त्र संघर्ष, संक्रमणकाल र नेतृत्वको जोड–घटाउका कारणले सुधार प्रक्रियाले निरन्तरता नपाउँदा अहिलेसम्म आर्थिक वृद्धिदर न्यून रह्यो । विगत तीन वर्षको आर्थिक वृद्धिदर औसतमा ३ प्रतिशतभन्दा कम छ । 

उदार आर्थिक सुधारमा अवरोध

उदारपनको क्षयीकरणको मूल्य नेपालले मात्र होइन, विश्वले नै व्यहोर्नुपरेको छ । विगत डेढ दशकयता विश्वमै उदारपन एवं लोकतान्त्रिक मूल्यमान्यतामा लागेको ग्रहणको आकार बढ्दो छ । विश्वका विकसित तथा अविकसित मुलुकहरूको सत्ता सञ्चालनमा आसीन नेतृत्व स्वार्थ लिप्साबाट प्रभावित र लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भई स्वमूखी नीति कार्यान्वयन गर्दा राजनीतिमा विचलन एवं भ्रष्टीकरणले प्रश्रय पाएको छ । राष्ट्रवाद, लोकप्रियतावादको मुकुन्डोभित्र नेतृत्वको अधिनायकी रबैया, भ्रष्ट क्रियाकलाप र अक्षमतालाई लुकाएर लोकतान्त्रिक प्रणाली नै खराब हो भन्ने भाष्य निर्माणमा पश्चगामी समूह लागिपरेका छन् ।

सन् १९९७ मा पूर्वी एसियाली मुलुक, २००१ मा अर्जेन्टिनालगायत दक्षिण अमेरिकी मुलुक र सन् २००८ मा अमेरिकालगायत विश्वको वित्तीय बजारमा आएको आर्थिक संकटले उदारवादी आर्थिक सुधारमा गतिरोध आयो । द्वन्द्वग्रस्त र संक्रमणकालमा रहेका विकासशील मुलुकहरूले विधि, संस्था, संगठन र श्रमबजारसम्बन्धी नीति सञ्चालनमा ध्यान पुर्‍याउन नसक्दा उदारपनमाथिको आक्षेप बढ्दै गयो । ठूला बहुराष्ट्रिय कम्पनीहरूको एकाधिकारमा वृद्धि, आर्थिक असमानतामा बढ्दो खाडल, अमेरिकालगायत विकसित मुलुकहरूको नीति उदारपनमा भन्दा आत्मपरक सोचमा खुम्चिएका कारण आर्थिक उदारपनका साथै लोकतान्त्रिक अभ्यासमा पनि आशंका हुन थालेको छ । उदार आर्थिक सुधार नीतिमा संकट देखिन थालेपछि विश्वमा लोकप्रियतावादले थप मलजल पायो । लोकप्रियतावादीे क्रियाकलापले शासकीयवृत्त, दलीय कार्यकर्ता र बिचौलियालाई राज्यको लागतमा फाइदा पुर्‍यायो । नेतृत्वको गुणगानमा लोकप्रियतावादले क्षणिक सन्तुष्टि पुर्‍याए पनि दीर्घकालमा वास्तविक परिणाम कल्पनामा सीमित रहने तथ्य विश्वको अनुभवले प्रस्ट गरेको छ । ख्याति आर्जनको लोभमा अल्पायुको ‘लोकप्रियतावाद’ को चक्र घुमीफिरी आइरहने क्रम देखिएकाले मुलुकको दीर्घकालीन हितका लागि यसले निरन्तरता पाउनु हुँदैन । 

लोकतान्त्रिक नेतृत्वको विचलन

लोकतन्त्रको मौलिक मान्यता र आदर्शलाई कुल्चेर साख कुसाखका आधारमा चल्ने हैकमवादी नेतृत्वले थिचिने किचिने निर्धो प्राणी जनता नै हो । कमजोर बन्ने लोकतन्त्र नै हो । दूरदर्शी, स्वच्छ तथा सक्षम नेतृत्वले लोकतन्त्रकै माध्यमबाट आर्थिक, सामाजिक र भौतिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई अनदेख गरी अतिरञ्जित कल्पनामा नेतृत्व रमाइरहेका छन् । जननिराशा र अविश्वासको शृंखला बढ्दै जाँदा आगामी निर्वाचनमा लोकतान्त्रिक विधिअनुसार निर्वाचित हुने जनप्रतिनिधिहरूको स्वरूपमा परिवर्तनको संकेत देखा पर्दै छन् । धेरै जनसंख्या भएका र लोकतान्त्रिक पद्धति अवलम्बन गरेका मुलुकहरूको रुझान पनि अन्तर्मुखी, संरक्षणवादी र हैकमवादी स्वरूपतर्फ अग्रसर देखिन्छन् । विश्व राजनीति, अर्थव्यवस्था, शान्ति, भाइचारा र सामूहिक अग्रगमन बिथोलिएर अन्योल सिर्जना हुने आशंका देखा परेको छ । सानो अर्थतन्त्र भएको नेपाल पनि यसको प्रभाववाट अछुतो रहन सक्दैन । यस्तो परिस्थितिमा सनातनी आर्थिक सोचमा परिमार्जन गर्दै परिणाममूलक नीति, कार्यक्रम तथा आयोजना सञ्चालन गर्नुपर्छ । 

विद्यमान विधि, संस्था र प्रक्रियामा सुधार गर्नुका साथै राष्ट्रिय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण, तीनै तहका सरकारमा असरल्ल बेथिति एवं स्रोतसाधनको दुरुपयोगमा नियन्त्रण, बोझिलो तथा खर्चिलो संघीयतामा काँटछाँट र जवाफदेही, चुस्त एवं छरितो कर्मचारी संयन्त्रको व्यवस्थालाई सुधार प्रक्रियाको अंग बनाउनुपर्छ । पुँजी, पुँजीपति, श्रमिक, सीप र सर्वसाधारण जनता समृद्ध लोकतन्त्रका पर्याय हुन् । लोकतान्त्रिक शासन प्रणाली नभएका मुलुकमा पनि यी तत्त्व सक्रिय छन् । फरक यति मात्र हो कि गैरलोकतान्त्रिक मुलुकमा सर्वहाराको नाममा सिमित व्यक्ति, दल र समूहले अपारदर्शी तवरले शासन गर्छन् । नागरिक स्वतन्त्रता, फरक विचार, विरोध र पारदर्शिताले ठाउँ पाउँदैन । स्वार्थको गठजोडले मूल्यमान्यता र नैतिकता गौण बन्न पुग्छन् । लोकतान्त्रिक मुलुकमा पनि सत्ता स्वार्थकै कारणले कतिपय नेतृत्व आत्मपरक, स्वमूखी, अपारदर्शी र अनुदार बन्दै गएको अवस्थाले लोकतान्त्रिक मूल्यमान्यताको क्षयीकरण भएको छ ।

समृद्धिका लागि सरकारको भूमिका मात्र पर्याप्त हुँदैन । सरकारको दानबाट मात्र समृद्धि आउने होइन । सरकार वा निजी क्षेत्रले सार्वजनिक प्राकृतिक स्रोत तथा सम्पत्तिको दोहन, श्रमशोषण र उपभोक्ताको शोषण गरेर आर्जन गरेको धन सम्पत्तिले क्षणिक रूपमा पुँजी निर्माण र आर्थिक वृद्धिमा सहयोग पुग्ला । तर, यसले जन्माउने आर्थिक सामाजिक असमानता र विकृतिको मूल्य दीर्घकालमा नागरिकले चुकाउनुपर्ने हुनाले समृद्धिको यात्रा अधुरो रहन्छ । सरकारी अनुदान, हस्तक्षेप र सस्तो लोकप्रियतावादी वितरणमूखी विनियोजनले मात्र समृद्धि ल्याउन सक्दैन । विधि, नियम र बजार मान्यतामा परिचालित निजी क्षेत्र र दूरदर्शी, स्वच्छ, सक्षम तथा जवाफदेही नेतृत्वको क्रियाकलापले समृद्धि प्राप्त गर्ने हो । 

नागरिक स्वतन्त्रता, बहुविचार, बहुमतको सम्मान र स्वस्थ प्रतिस्पर्धा उदार लोकतन्त्रको मौलिक चरित्र हो । केही समयदेखि नेतृत्वमा मौलाएको अनुदार एवं स्वमूखी प्रवृत्तिले लोकतन्त्रको मूल आत्मा मार्न सक्दैन । हैकम, नियन्त्रण र पाखण्डपन लामो समय टिक्दैन । प्रमुख नेतृत्व मुलुक र जनताप्रति निष्ठावान्, निजी स्वार्थबाट टाढा र दूरदर्शी भयो भने वरिपरिका स्वार्थी समूह तथा अन्तर्गतका संस्था एवं संगठनले आघात पुर्‍याउन सक्दैनन् । लोकतन्त्र प्रतिस्थापनको बहस निरर्थक बन्न पुग्छ । स्वस्थ प्रतिस्पर्धा वस्तु तथा सेवा व्यापारमा मात्र होइन, राजनीतिक प्रतिद्वन्द्विता, प्रशासनिक यन्त्र सञ्चालन, संगठन परिचालन र सार्वजनिक सेवा प्रवाहमा समेत आवश्यक छ । ज्ञान, उत्कृष्टता, इमानदारिता र लगनलाई पन्छाएर स्वार्थ, मिलेमतो, भागबन्डा र मूल्य– मान्यताविपरीतका कामले लोकतन्त्रप्रति वितृष्णा एवं चुनौती बढाएको छ । सत्तामा पुगेका नयाँ पुराना सबैजसो दल र दलका नेताको क्रियाकलापले युवावर्गमा निराशा बढाएको हो । 

वास्तवमा नागरिकको स्वतन्त्र अस्तित्व, समानता, समृद्धि र उत्कृष्टताको पक्षपोषण गर्ने लोकतान्त्रिक पद्धतिको खिलाफमा सर्वसाधारण जनता छैनन् । विसंगतिविरुद्ध आवाज उठाउनु नागरिकको कर्तव्य हो । लोकतान्त्रिक मूल्यमान्यता तथा उदारपनमा आएको स्खलन र नेतृत्वको विचलनलाई औंल्याएर लोकतान्त्रिक पद्धतिप्रति उब्जेको उदासिनता चिर्ने कर्तव्य नेतृत्वको हो ।

हत्केलामा ज्यानको बाजी राखेर दिनरात सुकेको रोटी, नुन खुर्सानी, बम, बारुद र जनचेतानामूलक सन्देश एउटै झोलामा बोकेर लोकतन्त्रका लागि कुनाकन्दरामा पुग्ने हजारौं नेपाली सहिद भए । राष्ट्रप्रेम, आर्थिक सामाजिक समानता, महिला अधिकार, पहिचान र समावेशिताको वकालत गर्दै पितृसत्तावाद, वंश तथा शक्तिकेन्द्रको विरोध गर्ने तिनै नेता अहिले शक्तिकेन्द्रमा पुगेपछि सहिदको बलिदान र लोकतन्त्रको मान्यता भुलेर आफ्ना सन्तान, अंशियार र आसेपासेलाई संरक्षण गर्दै शासन सञ्चालन गरिरहेका छन् । शक्ति तथा अधिकार नै सर्वस्व हो, शक्तिकै आडमा निरन्तर बाँच्न सकिन्छ भन्ने नेतृत्वको भ्रमको मूल्य मुलुकले चुकाउनुपरेको छ । दुःखलाग्दो कुरा, त्याग, बलिदान र संघर्षको इतिहास बोकेका दल, व्यक्ति र संस्था जवाफदेहिताबिनाको ठुल्ठूला अभिव्यक्ति तथा कब्जियती व्यवहार प्रकट गरिरहेका छन् । विश्वमा बहुजनले आत्मसात गरेको लोकतान्त्रिक पद्धतिमाथि सत्ताशक्तिको दबदबा, स्वार्थ र मिलेमतोमा स्रोतसाधनको दुरुपयोग भएका कारणले सर्वसाधारण जनता निराशामा जिउन विवश छन् । निराश अवस्थामा पनि आशा बोकेर दुःखकष्टका साथ जीवनयापन गरिरहेका जनताको विश्वास आर्जन गर्ने उपाय जनतालाई सहज सार्वजनिक सेवासुविधा, सुशासन र अर्थतन्त्रमा सुधार नै पहिलो प्राथमिकता हो ।

भूराजनीतिक चुनौती एवं अवसरको संयोजन, उपयोग र छिनोफानो चुड्की बजाएर सुल्झने स्थितिमा हुँदैन । तर लामो समयसम्म चुनौतीको सेरोफेरोमा राजनीति रुमल्लिँदा अवसरको रूपमा उपयोग गर्न सकिने आर्थिक कूटनीतिको पाटो गौण बन्न पुगेको छ । भारतको छिमेक पहिलो, अमेरिकाको एमसीसी तथा इन्डो–प्यासिफिक स्ट्रेटेजी र चीनको बीआरआई लामो समयदेखि हाम्रो राजनीतिको वरिपरि घुमिरहेको छ । केही वर्षदेखिको कूटनीतिक गतिविधिहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित रूपमा हिँड्न नसकेको आभास दिइरहेको छ ।

सुशासन र अर्थतन्त्र सुधार

विधिको शासन, सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र स्वच्छ नेतृत्व सुशासनका प्रमुख आधार हुन् । अर्थतन्त्र सुधार र सुशासनको प्रत्यक्ष एवं सकारात्मक सम्बन्ध रहेको छ । सार्वजनिक सेवाप्रवाह, विकास निर्माण, जनताको जीवन निर्वाहमा सुधार र उच्च आर्थिक वृद्धि तथा समृद्धिका लागि सुशासन अपरिहार्य छ । राज्यशक्ति आफ्नो हातमा राख्ने सोच, सार्वजनिक साधनस्रोत संकलन, विनियोजन तथा उपयोगमा स्वार्थसमूहको प्रभाव, नियमनकारी संस्थाहरूको न्यून अनुगमन एवं कार्यान्वयन र दण्डहिनताले प्रश्रय पाएको कारण भ्रष्टाचार बढेको र सुशासन खस्केको हो । सरकारले तात्कालिक सुधारको एजेन्डामा सुशासन प्रवर्द्धनका लागि भ्रष्टाचार नियन्त्रणमा प्राथमिकता दिनुपर्छ । 

विदेशी सहयोग आश्रित विकास सोच, सार्वजनिक प्राकृतिक स्रोतसाधन उपयोग एवं आन्तरिक स्रोत परिचालनमा उदासिनता, राजस्व संकलन, विनियोजन तथा उपयोगमा बेथिति र संघीयताको बोझले थिचिएको विद्यमान परिस्थितिमा सुशासन र अर्थतन्त्र सुधारको पहल सत्तासीन नेतृत्वले दृढतापूर्वक लिनुपर्ने आवश्यकता छ । सुधारको एजेन्डा लोकप्रियतावादको पृष्ठपोषण गर्ने उपायका रूपमा होइन, अर्थतन्त्रको वास्तविक सकस फुकाउने औजारका रूपमा ल्याउनुपर्छ । संविधानको कमीकमजोरीमा संशोधन, विदेश सम्बन्ध र तात्कालिक सामयिक विषयमा टीकाटिप्पणी हुनु स्वाभाविक हो । 

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग कार्यरत रहे पनि अन्तिम प्रतिवेदन तयार गर्न केही समय लाग्न सक्ने हुनाले अर्थतन्त्रको सुधारमा तत्काल कार्यान्वयन गर्न सकिने सुझाव अन्तरिम प्रतिवेदनको रुपमा सरकारले आयोगबाट प्राप्त गरि अर्थतन्त्रको सुधारलाई पहिलो प्राथमिकता दिनु पर्दछ । छिटो आर्थिक सुधार जनतालाई नेतृत्वको उपहार हुनेछ ।

भानुप्रसाद आचार्य आचार्य पूर्वमहालेखापरीक्षक र पूर्वसचिव हुन्

Link copied successfully