काठमाडौँ — कुनै पनि देशको विकासका लागि युवा जनशक्ति मेरूदण्ड हो । पछिल्लो समय नेपालको राजनीतिसँगै विभिन्न क्षेत्रमा युवाहरूको नेतृत्व खड्किइरहेको छ । तर नेतृत्वमा पुग्न वा नेतृत्व लिन उमेरले मात्र युवा भएर हुँदैन, नेतृत्वकर्ताका लागि आवश्यक पर्ने क्षमता र गुण चाहिन्छ ।
ब्यारी पोस्नर र जेम्स एम कोउजेसले लामो अनुसन्धानपछि लेखेको पुस्तक ‘द लिडरसिप च्यालेन्ज'मा नेतृत्वकर्तामा नभइ नहुने चार मुख्य गुणबारे व्याख्या गरेका छन् । लेखकद्वयका अनुसार कुनै पनि नेता 'इमानदार, सक्षम, प्रेरणादायक र अग्रगामी' हुनैपर्छ । त्यसका साथै, आफू क्रियाशिल क्षेत्रबारे राम्रो ज्ञान, इच्छाशक्ति र आत्मविश्वास, अभिप्रेरित गर्न सक्ने क्षमता, जिम्मेवारी र उत्तरदायित्वका साथै वाक् क्षमता पनि नेतृत्वका लागि आवश्यक गुण हुन् ।
युवाहरूमा यस्तै गुणहरूको विकास गरी नेतृत्व क्षमतामा निखार ल्याउन लामो समयदेखि क्रियाशिल संस्था हो, नेपाल जेसीज । नेपाल जेसीज अन्तर्राष्ट्रियस्तरमा नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्थाको पहिचान बनाइसकेको जुनियर च्याम्बर इन्टरनेसनल (जेसीआई) को सदस्य हो ।
नेपाल जेसीजसहित १ सय २० राष्ट्रहरूले जेसीआईको सदस्यता प्राप्त गरिसकेका छन् । प्रत्येक सदस्य राष्ट्रलाई नेसनल अर्गनाइजेसन मेम्बर (एनओएम) भनिन्छ । हरेक एनओएम अन्तर्गत रहेका शाखालाई लोकल अर्गनाइजेसन मेम्बर (एलओएम) भनिन्छ ।
सन् १९६४ मा अन्तर्राष्ट्रिय जेसीजको स्थापनाको ४९ वर्षपछि सिनेटर भेष बहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको स्थापना भएको हो । हाल जेसीआई नेपालका १ सय ७८ स्थानीय च्याप्टरमा हाल १५ हजार भन्दा बढी सक्रिय सदस्य छन् । जेसीआई नेपाल जेसीआई इन्टरनेशनलको सातौं ठूलो सदस्य राष्ट्र हो । ६१ औं बर्षमा आइपुग्दा हजारौं युवा नेपाल जेसीजसँग जोडिइसकेका छन् । यसले स्थापनाकालदेखिनै सुगम भूभागमा मात्र नभई, दुरदराजका युवालाई विभिन्न तालिम तथा कार्यक्रममा सहभागि गराउँदै आएको छ ।
संस्थाले १८ वर्ष देखी ४० वर्षसम्मका युवाको नेतृत्व र व्यक्तित्व क्षमताको विकासका लागि विभिन्न प्रशिक्षण लगायतका कार्य गर्दै आएको छ । युवाकेन्द्रीत जेसीजले आफ्ना सदस्यहरूलाई समाज र देशप्रतिको दायित्वबोध गराई समाज र राष्ट्रको विकासमा सहभागी गराउने गर्छ ।
यस अर्थमा, जेसीज अनौपचारिक विश्वविद्यालय नै हो । संस्थाका सदस्य विद्यार्थी हुन भने पढाईको विषयवस्तु 'नेतृत्व र व्यक्तित्व विकास' हो । अनि, विश्वविद्यालयको अध्ययन, अध्यापनको क्षेत्र सम्पूर्ण विश्व । साश्वत सत्य र सजीव विचार कहिल्यै मर्दैन, सत्यवादीहरू प्रस्फूटित विचारलाई जिवन्त राख्न बाँच्ने गर्छन् र प्रस्फूटित विचारको मृत्यु भएपछि जीवनको अर्थ छैन भन्ने जेसीजको स्पष्ट धारणा हो ।
यही जेसीजमा मैले एक वर्षका लागि नेतृत्व गर्ने अवसर पाएँ । २०८० को पुसमा सम्पन्न जेसीजको ५० औं महाधिवेशनबाट जेसीजको वर्ष २०२४ का लागि म अध्यक्ष पदमा निर्वाचित भएँ । तीस वर्ष पनि नपुग्दै जेसीज नेतृत्व गर्न पाउनु मेरा लागि अवसरसँगै चुनौती पनि थियो ।
आफ्नो एक बर्षे कार्यकालमा मैले तालिमको माध्यमबाट कर्तव्यनिष्ठ युवाहरूलाई कुशल नेतृत्व तथा सफल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ राष्ट्रिय उपाध्यक्षहरुको कार्यक्षेत्र विभाजन गरेको थिए । नेपालभरका सबै १ सय ८१ शाखाका सुन्दर बिरूवालाई हुर्काउने र बढाउने काम पक्कै पनि जेसीज प्रेम हो । त्यस्तै नेपालमा पर्यटन क्षेत्रमार्फत आर्थिक क्रान्ति ल्याउन सकिने प्रचुर सम्भावनालाई केन्द्रमा राख्दै मेरो नेतृत्वमा छलफल तथा अन्तरक्रियामार्फत क्षमता अभिवृद्घि, वार्षिक कार्यक्रमको रूपरेखा निर्माण लगायतका कार्यहरू भएका छन् ।
कपिलवस्तुको शुद्धोधन, पर्यटकीय नगरी पोखरालगायत स्थानमा गरिएका कार्यक्रममा युवा व्यवसायी तथा पेशाकर्मीलाई व्यावसायीकता र उद्धमशिलताबारे प्रशिक्षण प्रदान गरियो । जेसीजले यो एक वर्षको अवधिमा कोभिड महामारीपछि सुस्ताएको व्यवसाय र बढ्दो बेरोजगारीका कारण मानसिक तनावमा परेका युवालाई लक्ष्य गरी जेसीजले विभिन्न तालिम तथा परामर्श प्रदान गर्न सक्षम भयो ।
त्यसका साथै, युवाहरूलाई कृषि पेशासँग जोड्ने, कृषिमा नयाँ प्रविधि भित्राउने र कफी व्यवसायको व्यावसायिकता र आधुनिकीकरणका लागि पनि जेसीजले विभिन्न तालिम सञ्चालन गरेको छ । यी लगायत अन्तराष्ट्रिय जेसीजका २० भन्दा बढी योजनाबद्ध कार्यहरू प्रभावकारी रूपमा लागू गरी समाजमा सकारात्मक परिवर्तन ल्यायन सफल भएकोमा नेपाल जेसीजले अन्तराष्ट्रिय जेसीजबाट सम्मानसमेत प्राप्त गरेको छ ।
मुलतः युवाका बिषयमा केन्द्रीत रहँदै आएको भएपनि पछिल्लो एकवर्षमा नेपाल जेसीज सामाजिक कार्यमा पनि क्रियाशिल रह्यो । अबिरल वर्षासँगैको बाढी र पहिरोले मुलुकभर जनजीवन प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भइरहेका बेला जेसीज सदस्यहरूले प्रभावित क्षेत्रमा फसेकाको उद्धार तथा राहत वितरण गरे । बाढीको चपेटामा परेको बेथानचोकमा स्थलगत भ्रमण गरी पीडितहरूलाई सोलर प्यानल सहितको लाइट तथा प्रभावितलाई खानाको व्यवस्था गर्नुका साथै स्वास्थ्य शिविर तथा राहत कार्यक्रममा जेसीजको सक्रिय सहभागीता रह्यो ।
(पोख्रेल नेपाल जेसीज २०२४ का राष्ट्रिय अध्यक्ष हुन् ।)
