महिला हिंसाको प्रकृति, प्रवृत्ति र समाधान

पुस ९, २०८१

पार्वती अर्याल

Nature, trends and solutions to violence against women

महिला हिंसा, कुरीति, वञ्चितीकरण, महिला अधिकार हननजस्ता विषय सम्बोधनका लागि राष्ट्रिय महिला आयोगलाई संवैधानिक निकायका रूपमा स्थापना गरिएको छ ।

संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रादेशिक सामाजिक विकास मन्त्रालय मात्र होइन स्थानीय तहका न्यायिक समितिसमेत महिला समानता, सशक्तीकरण र हिंसाविरुद्ध अभियानकै लागि स्थापित छन् । राजनीतिक दल, संघसंस्था, नागरिक समाज, प्रहरी, अदालत, संकट व्यवस्थापन केन्द्रसहितका अस्पताल, शिक्षालय तथा हरेक अभिभावक महिला हिंसाविरुद्धको अभियानमा छन् । तथापि हिंसाका घटना कारुणिक र दर्दनाक रूपमा बढ्दै गएका छन् ।

विगत ६ वर्षको तथ्यांक केलाउँदा कुल महिला हिंसाको ८८ प्रतिशत घरेलु हिंसा भएको पाइएको छ । महिला आयोगको तथ्यांकले यो बताइरहँदा प्रहरीले पनि सोही प्रकृतिको तथ्यांक सार्वजनिक गरेको छ । अंश खान र वंश चलाउन छोरै चाहिने तथा भान्सा, सरसफाइ र हेरचाहका काम महिलाको जन्मजात दायित्वका रूपमा लिइने परम्परागत सोचले यस्ता हिंसा बढाइरहेका छन् । गत वर्षको तथ्यांक हेर्दा नेपालभर भएका १६ हजारभन्दा धेरै घरेलु हिंसामा एकतिहाइ घटना मधेश प्रदेशमा मात्र भएका छन् । दाइजो र तिलकको तौलसहित छोरी दिने र बुहारी लिने मोलतोलको कार्यले मधेशमा महिला हिंसाका घटना उच्च छ । छाउघरमा राख्ने र छोइछिटो गर्ने, बलजफ्ती विवाह, बाल विवाह, बोक्सीको आरोपमा मलमूत्र खुवाउने जस्ता खराब अभ्यासले महिला मानसिक रूपमा विक्षिप्त बन्ने गरेका छन् । घरेलु हिंसाअन्तर्गत मनोवैज्ञानिक, भावनात्मक तथा शारीरिक र यौनजन्य हिंसा हुने गरेको अध्ययनले देखाएको छ । ८० प्रतिशतभन्दा बढी हिंसा श्रीमान्बाटै हुने गरेका छन्, बाँकी २० प्रतिशत परिवारका सदस्य, नातेदार एवं संरक्षकबाटै हुने गरेको छ । गृहिणी र कृषि पेसामा संलग्न महिलामा सबैभन्दा बढी घरेलु हिंसा भएको छ । यौनजन्य हिंसा, जबरजस्ती करणी र बाल विवाहबाट किशोरी बढी प्रभावित देखिन्छन् । कुटपिट, एसिड आक्रमण, जिउँदै जलाउने, ‘ब्याड टच’ तथा यौन शोषण, जबरजस्ती करणी र हत्यासम्मका आपराधिक कार्य घर, बाटोघाटो, विद्यालयदेखि कार्यस्थलसम्म हुने गरेका छन् ।

महिलामाथि हुने घरेलु हिंसाका अत्यधिक घटनामा उजुरी नै गरिँदैन । पितृसत्तात्मक सामाजिक संरचनामा घरेलु हिंसाको उजुरी गर्नुपूर्व माइतीघरमा वा अन्यत्र गाँस, बास, कपासको चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ । उजुरी नै नगरी हिंसा सहेरै दैनिकी चलाउने महिलाको ठूलो संख्या रहेको सहज अनुमान गर्न सकिन्छ । त्यसैले महिला हिंसाको यथार्थ अभिलेख रहँदैन । महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्दै हुर्किएको बच्चाले वयस्क बन्दा परिवार, विद्यालय, समाज र कार्यस्थलमा हुने हिंसालाई सामान्य रूपमा लिन्छ । उसले महिला–पुरुषबीच समानता कायम हुने कुरामा विश्वास पनि गर्दैन, उसको बानी र व्यवहार पढेको भन्दा देखेको कुरामा अभ्यस्त रहन्छ । यसरी, शिक्षक, साथी, श्रीमान्, बुवा, काका, दाजु, ससुरा, सम्धी, जेठाजु, देवर र नातागोता नै भक्षक बनी बालिका र महिला प्रताडित हुनुपर्ने अवस्था रहन्छ । यसको प्रमाणका रूपमा ९२ प्रतिशत यौनजन्य हिंसा आफन्त र चिनजानकै मानिसबाट हुने गरेको तथ्यलाई लिन सकिन्छ । त्यतिमात्र होइन, निजहरूको आत्मतुष्टिका लागि परिवारकै महिला सदस्यसमेत मतियार बनेका घटना पनि देखिन्छन् । 

उच्च शिक्षा हासिल गरेका र प्रविधिमा पोख्त व्यक्तिहरूबाटै ‘साइबर बुलिङ’ र साइबर अपराधमार्फत महिला हिंसा हुने प्रवृत्ति बढेको छ । कतिपय सञ्चारकर्मीबाटै पेसागत मर्यादाविपरीत हिंसापीडित महिलाको गोपनीयता र आत्मसम्मानमा चोट पुग्ने खालका घटना/तस्बिर सम्प्रेषण हुने गरेका छन् । सहमतिको यौनसम्पर्क, लिभिङ टुगेदरका नाममा हुने हिंसा र ‘डेटिङ एब्युज’ का कारण महिला उठ्नै नसक्ने गरी शारीरिक, आर्थिक र यौन शोषणमा पर्ने गरेका छन् । यस्तो सम्पर्कबाट जन्मने बच्चाको जन्मदर्ता राज्यले गर्नुपर्ने कानुनी प्रावधान रहे पनि ती बच्चाको शिक्षा, स्वास्थ्य र नागरिकता प्राप्तिको बाटो सहज छैन । यही संघर्षका लागि आमा जीवनभर प्रताडित हुन्छिन् । हिंसापीडित एकल आमाको अभिभावकत्वबाट हुर्किएको बच्चाको मनोविज्ञान पनि हिंस्रक प्रकृतिको हुने मनोविज्ञानवेत्ताहरूको ठम्याइ छ । यस्तो हिंसाको भार मुलुकले दीर्घकालसम्म नै थेग्नुपर्छ । त्यसैले हिंसा न्यूनीकरणका लागि हामीले केही उपाय अवलम्बन गर्न सक्छौं ।

प्रवर्द्धनात्मक रणनीति

महिलाप्रति सम्मान भाव र संस्कार सिकाउने सबैभन्दा ठूलो विश्वविद्यालय परिवार हो । आमा र बाबुबीचको सहकार्य, बोली बचन र व्यवहारमा सम्मान, सहभूमिका निर्वाहबाट बालबच्चामा जीवनभर नमेटिने अमीट छाप रहेको हुन्छ । बालबालिकालाई दिइने भूमिका, अवसर र निगरानीमा अभिभावकको समान संवेदनशीलता हुनु जरुरी छ । विद्यालय शिक्षा, शिक्षक–अभिभावक अन्तरक्रिया, महिला हिंसाविरुद्ध कथा, कविता, निबन्ध प्रतियोगिता, नाटक मञ्चन, चेतनामूलक कार्यक्रम, सूचनामूलक सामग्री प्रकाशन, कानुनको जानकारी र विवेकको उपयोगका लागि वर्कसप, प्यानल छलफल, पीडितको सुनुवाइ, महिला हिंसाविरुद्धका राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बहस, पैरवी तथा हिंसाविरुद्धका अभियानको स्थानीयकरण गर्नुलाई विशेष प्राथमिकता दिनु आवश्यक छ ।

महिला हिंसामा सरिक हुने व्यक्ति जातीय, वर्गीय, भेगीय, लैंगिक र जुनसुकै प्रकृतिका पनि सरिक हुन सक्छ । त्यसैले बालबालिका र युवालाई मानवीय मर्यादामा आधारित अधिकारवादी दृष्टिकोणको आन्तरिकीकरण गराउनु आवश्यक छ । शिक्षालयमा बालबालिकाले पूर्ववत् जानेको, सिकेको विषयमा केन्द्रित हुँदै सक्रिय विद्यार्थीलाई प्रोत्साहन गरी स्वचालित प्रणालीबाटै सिकाइ गर्न सकिन्छ । त्यसका लागि सिकाइ म्यानुअल र विधिद्वारा महिला र मानवअधिकारको विषयमा विद्यालयस्तरमा प्रस्ट दृष्टिकोण र व्यवहार विकास गर्नुपर्छ ।

समान मानवीय मर्यादा कायम गर्न मानवअधिकारको इतिहास, अवधारणा तथा मानवअधिकारको संरक्षणका मापदण्ड र संयन्त्रको जानकारीका साथै आफ्ना अधिकारको ज्ञान र महिला अधिकारबारे बहस पैरवी गर्ने तागत बालबालिका र युवामा विकास गर्नुपर्छ । समाजमा हुने घटनालाई मानवअधिकारको दृष्टिबाट पर्गेल्न सक्ने, पारिवारिक द्वन्द्व सामना गर्ने तथा रचनात्मक तरिकाले परिवार र समुदायलाई नै रूपान्तरण गर्ने सीपको विकास गर्न सक्नुपर्छ । 

युवालाई मानवीय मर्यादाको संरक्षणका लागि उत्प्रेरित र प्रतिबद्ध गराउनुपर्छ । अरूप्रति समानुभूति र भावनात्मक ऐक्यबद्धता, आफ्नो र अरूको दायित्व एवं जिम्मेवारीप्रति सचेत र आदर गर्ने युवा वर्ग तयार गर्न सकेमा हिंसाका घटना न्यूनीकरण हुँदै जान्छन् । 

निरोधात्मक रणनीति

हिंसाजन्य गतिविधि, असमानता, बहुसांस्कृतिक पुरुषत्वका अभ्यासका विषयमा बालिका र महिलालाई सूचित र सचेत बनाइरहनुपर्छ । जोखिम सम्भाव्य महिलाका लागि सीप, शिक्षा र रोजगारीको बाटो नै महिला हिंसा रोकथामको महत्त्वपूर्ण पक्ष हो । अडियो भिडियो, साक्षी गवाही, मेडिकल रिपोर्ट आदि प्रमाणसहित शोषण एवं हिंसाको यथाशीघ्र रिपोर्टिङ गर्ने, असान्दर्भिक यौनजन्य टिप्पणी, ठट्टाजस्ता विषयमा प्रतिवाद गर्ने, जाहेरी प्रक्रिया र न्यायमा पहुँचको लागि कानुन र प्रक्रियामा सुधारले पनि हिंसाका धेरै घटना निस्तेज हुन सक्छन् । 

नि:शुल्क हेल्पलाइन, मनोसामाजिक परामर्श, प्रमाण जुटाउन सहयोग, पीडितको सुरक्षित बास, परिवार र समुदायमा पुन:स्थापना, हिंसाविरुद्ध क्याम्पेनिङ जस्ता गतिविधि पनि हिंसा रोकथाममा महत्त्वपूर्ण हुन्छन् ।

उपचारात्मक रणनीति 

हिंसापश्चात् पीडितहरू अरूप्रति अविश्वास गर्ने, भय एवं लज्जाबाट ग्रसित हुने, कसैसँग कुरा गर्न नखोज्ने, एकान्तमा रहने तथा डर र चिन्ताग्रस्त अवस्थामा रहन्छन् । यो ‘ट्रमा’ को अवस्था हो । ‘पोस्ट ट्रमा’ को अवस्थामा पीडितले आत्महत्याको प्रयास गर्न सक्छन्, सम्झने शक्ति गुमाउँछन् । यी दुवै अवस्थामा हिंसापीडित बालिका एवं महिलाको शारीरिक वृद्धिसमेत रोकिने तथा निजबाट जन्मिने बच्चाबच्चीसमेत पुड्का, बौद्धिक अपांगता वा अन्य अपांगताबाट प्रभावित हुन्छन् ।

प्रहरी र आयोगमा दर्ता भएका जबरजस्ती करणीका घटनामा समेत पीडकबाटै पीडित र निजको परिवार प्रभावमा पारी जाहेरी फिर्ता लिने, अदालतमा दर्ता भएका मुद्दामा विवाहको बहाना बनाउने र मेलमिलाप भएको जनाई मुद्दा फिर्ता लिनेसम्मका हरकत हुने गरेका छन् । स्थानीय तहका न्यायिक समितिबाट ठूलो भरोसा गरिएकाले महिला हिंसाका घटनाको मुचुल्का उठाउँदासमेत राजनीतिक पूर्वाग्रहको गन्ध र अन्य विषय जोडिनेबाट सचेत हुनुपर्छ । जबरजस्ती वेश्यावृति, जबरजस्ती विवाह, जबरजस्ती गर्भधारण, जबर्जस्ती करणी, जबर्जस्ती गर्भपतन, बाल विवाह, सामूहिक बलात्कार, भ्रूणावस्थामै हत्या, गर्भवती र सुत्केरी अवस्थामा मानसिक सन्तुलन गुमाएकाहरूले स्वयं उजुरी गर्न सक्दैनन् । यस्तो अवस्थामा छिमेकी, आफन्त र स्थानीय सरकारी संयन्त्रको सक्रियता अपरिहार्य हुन्छ । 

यस चरणमा मनोसामाजिक परामर्श दिनुका साथै स्वास्थ्य क्लिनिकदेखि अस्पतालबाट बिरामीको नि:शुल्क उपचार गराइनुपर्छ । अन्तत: हिंसापीडित महिलाको न्यायमा पहुँच पुर्‍याई दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिएमा मात्र न्यायपूर्ण समाजको बाटो तय गर्न सकिन्छ ।

यसर्थ, आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक हैसियत र शारीरिक अवस्था कमजोर भएका महिला हिंसाको उच्च जोखिममा छन् । जसरी परिवार बनाउन र मानव सृष्टि चलाउन महिला–पुरुष दुवैको उत्तिकै दायित्व र जिम्मेवारी रहन्छ, त्यसरी नै हिंसा न्यूनीकरणका लागि दुवैको सहभाव र सहभागिता आवश्यक छ । 

– अर्याल राष्ट्रिय महिला आयोगकी सचिव हुन् ।

पार्वती अर्याल राष्ट्रिय महिला आयोगकी सचिव हुन् ।

Link copied successfully