अटिजम अपांगता ; धेरै चुनौती, थोरै अवसर

पुस ८, २०८१

मधु राई

एलकेजीमा अध्ययनरत संयोग पढाइ–लेखाइमा औसत भए पनि अन्य क्रियाकलापमा चनाखो छ । उसको यस्तो शैक्षिक गतिविधिलगायत क्रियाकलापबाट अभिभावक पनि खुसी छन् । यद्यपि सानो छँदा संयोगले सामान्य बालबालिकाले गर्ने क्रियाकलाप नगरेकाले अभिभावकले उसलाई धेरै पटक चिकित्सककहाँ लगे ।

यसबीच संयोगलाई काठमाडौंस्थित अटिजम केयर नेपाल सोसाइटीमा लगेपछि उसमा एक प्रतिशत अटिजम भएको पत्ता लाग्यो । 

संयोग मात्र होइन, शिशुकक्षामा अध्ययनरत प्रियान्समा पनि अटिजमका लक्षण देखिन्छन् । मेरो विद्यालयमा भर्ना गर्नुअघि अभिभावकले उसलाई दुईवटा विद्यालयमा भर्ना गरेका थिए । त्यहाँ सिक्न–सिकाउन गाह्रो भएपछि उसलाई अभिभावकले मेरो विद्यालयको बाल विकास कक्षामा भर्ना गरे । सुरुवाती वर्षमा संयोगको तुलनामा प्रियान्सलाई अन्य विद्यार्थीसँग घुलमिल हुन धेरै समय लाग्यो । अभिभावकले घरमा शिशुकक्षाका आधारभूत शिक्षण सिकाइलगायत अन्य क्रियाकलाप सिकाउन थालेकाले अक्षर चिनाउन त्यति गाह्रो भएन । पढाइ, लेखाइमा उसलाई त्यति धेरै समस्या नभए पनि नेपालीमा दोहोरो कुरा गर्न भने गाह्रो हुन्छ । उसलाई नेपालीका नयाँ शब्द सिकाउँदा दोहोर्‍याइ तेहेर्‍याइ भन्नुपर्ने हुन्छ । केही महिनादेखि भने अभिभावकले प्रियान्सलाई बोली सुधार्न भनेर दिउँसो विद्यालय सकेर इटहरीस्थित ध्वनि स्पिच एन्ड हेयरिङ रिहाबिलिटेसन सेन्टर लाने गरेका छन् । त्यहाँ लान थालेपछि उसको बोलीमा सुधार हुँदै गएको अभिभावकहरू बताउँछन् । 

खासमा संयोग र प्रियान्सका अभिभावकले उनीहरूलाई सानै छँदा चिकित्सककहाँ लगेर उनीहरूमा अटिजम अपांगता भएको थाहा पाए र सोहीअनुरूप जीवनोपयोगी सीपललगायत शिक्षा हासिल गराइरहेका छन् । कतिपय अटिजम अपांगता भएका बालबालिकाका अभिभावक यी र यस्ता विषयप्रति अनभिज्ञ छन् । यस्ता समस्या भएका विद्यार्थीका अभिभावक चिन्तित मात्र छैनन्, शिक्षकका लागि पनि उनीहरूलाई कस्तो विधि अपनाई सिकाउने भन्ने चुनौतीपूर्ण बन्दै गएको छ । किनभने अटिजम अपांगता भएका विद्यार्थीलाई बहुसंख्यक विद्यालयले भर्ना गर्न चाहँदैनन् अथवा भर्ना गरिहाले पनि सामान्य विद्यार्थीले गर्ने क्रियाकलाप गरेनन् भने राख्न चाहँदैनन् । 

यस्तो अवस्थामा अटिजम अपांगता भएका विद्यार्थीका अभिभावक निराश मात्र होइन हतोत्साहित हुन पुग्छन् । कतिपयले चिकित्सकको परामर्शअनुसार पहलकदमी गर्छन् भने कतिपयले अटिजम अपांगता शब्द नै सुनेका हुँदैनन् र सुने पनि औषधोपचार गर्ने कुरा सोच्न पनि सक्दैनन् । यसको प्रत्यक्ष र परोक्ष नकारात्मक प्रभाव भने फेरि पनि अटिजम अपांगता भएका विद्यार्थीमै पर्छ । किनभने कतिपय यस्ता बालबालिकाले जेनतेन लेख्न, पढ्न सिके पनि लेखाइ सुधार्न सक्दैनन् भने अक्षर, शब्द र वाक्य खुट्याएर पढ्न सक्दैनन् । उनीहरूलाई चिकित्सक अथवा विषयविज्ञको परामर्शअनुसार थप सेवा प्रदान गर्नुपर्ने हुन्छ ।

अटिजम अपांगता भएका बहुसंख्यक बालबालिकामा एकाग्रताको पूर्णतया कमी हुन्छ । त्यति मात्र होइन, यस्ता बालबालिका सामान्य बालबालिका जस्तो आँखा जुधाएर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा उनीहरूलाई थप क्रियाकलाप गराउनुपर्ने हुन्छ । कतिपयको त झन् बोलीसमेत प्रस्ट हुँदैन । यस्ता विद्यार्थीलाई थप स्पिच थेरापीलगायत सहयोगी क्रियाकलाप गराउनुपर्ने हुन्छ । जुन सामान्य विद्यालयमा सम्भव छैन र हुँदैन पनि । मेरो विद्यालयमा खाजा खाएपछिको समयमा छुट्टै कोठामा मैले यस्ता विद्यार्थीलाई मन पर्ने खेल, पजल तथा बौद्धिक क्षमता बढाउने खेलौना खेल्न/खेलाउन प्रोत्साहित गर्दै आएको छु ।

त्यसो त सामान्य विद्यालयमा पनि अटिजम अपांगता भएका बालबालिकाबारे बहुसंख्यक शिक्षक अनभिज्ञ जस्तै छन् । यसबारे शिक्षक स्वयं अनभिज्ञ हुँदा पनि यस्ता बालबालिका र अभिभावकले थप चुनौतीको सामना गर्नुपरेको छ । यी र यस्ता कतिपय कारणले पनि पछिल्लो समय अटिजम अपांगता भएका बालबालिकासँगै अभिभावकले थप समस्या भोगिरहेका छन् । यिनै कुरालाई मध्यनजर गरी यस्ता बालबालिकालाई चाहिने थप सेवा प्रदान गर्न कतिपयले निजीस्तरमा तथा स्थानीय तहले अटिजम केन्द्र स्थापना गरेका छन् । विराटनगर महानगरपालिकामा केही समयअघिसम्म आदर्श माविमा सञ्चालित समावेशी शिक्षाअन्तर्गत प्रदेश र स्थानीय सरकारको सहयोगमा अटिजम अपांगता भएका २२ विद्यार्थी अध्ययनरत थिए । तर, केही महिनाअघि भने ती विद्यार्थीले महानगरपालिका स्वयंले विराटनगर–४ मा स्थापना गरेको अटिजम केन्द्रबाट सेवा पाइरहेका छन् । 

काठमाडौं महानगरपालिकाले पनि छुट्टै केन्द्र स्थापना गरेको छ भन्ने समाचार जनसमक्ष आएका छन् । केही समयअघि सञ्चारका विभिन्न माध्यमहरूले ललितपुर महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले पनि अटिजम अपांगता भएका बालबालिकाका लागि रणनीतिक योजना बनाई बजेटसमेत विनियोजन गरिसकेका समाचार सार्वजनिक भएका थिए ।

विषम परिस्थितिका बावजुद पनि अटिजम अपांगता भएका बहुसंख्यक बालबालिकाका अभिभावकमा आफ्ना छोराछोरीलाई जसरी पनि पढाउनुपर्छ भन्ने सचेतना बढ्दै गएको देखिन्छ । जुन त्यस्ता बालबालिकाका लागि अवसर पनि हो भने शिक्षकका लागि चुनौतीका बीच अवसर । किनभने सामान्य बालबालिकालाई शिक्षण सिकाइ गर्न त्यति धेरै चुनौतीको सामना गर्नु नपरे पनि अटिजम अपांगता भएका विद्यार्थीलाई गरिने शिक्षण सिकाइका लागि शिक्षक स्वयंले पनि यसबारे आधारभूत जानकारी हासिल गर्न जरुरी छ । कतिपय निजी केन्द्रहरूले अटिजम अपांगतासम्बन्धी सचेतना फैलाउन अभिभावक तथा सञ्चारकर्मीलाई सूचना पुस्तिका उपलब्ध गराउने गरेका छन् । पुस्तिकामा उल्लिखित जानकारीमूलक कुराले हामीलाई अटिजम अपांगता भएका बालबालिकाका बारेमा बुझ्न र सोहीअनुरूप शैक्षिक सामग्री तयार गर्न मद्दत पुग्छ जुन हामीजस्ता शिक्षकका लागि अवसर पनि हो ।

खासमा सामान्य बालबालिकालाई शिक्षण सिकाइ गर्दै आएका शिक्षकलाई पनि अटिजम अपांगतासम्बन्धी आधारभूत जानकारी नहुँदा अटिजम अपांगता भएका बालबालिकाको शिक्षा प्राप्त गर्न पाउने मौलिक अधिकार हनन भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि अटिजम अपांगता भएका बालबालिकाको शिक्षा हासिल गर्ने मौलिक अधिकारको पैरवी गर्दै आएको विभिन्न अध्ययनले देखाएका छन् । सन् २०१४ मेमा सम्पन्न डब्लूएचओको ६७ औं सभामा विश्वका ६० देश सहभागी थिए । अटिजम अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत उनीहरूको मानवअधिकारको रक्षा तथा पैरवीका लागि विभिन्न कार्यक्रम गर्न ती देशलाई सुझाएको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै, विभिन्न अध्ययनले पनि हाल विश्वमा कुल जनसंख्याको एक प्रतिशतमा अटिजम अपांगताको लक्षण देखाएको छ । खासमा अन्यत्र अटिजम अपांगतासम्बन्धी अध्ययन अनुसन्धान भइरहे पनि हामीकहाँ यस्तो अध्ययन हुन सकेको छैन । सञ्चारका विभिन्न माध्यमले पनि यससम्बन्धी जानकारीमूलक सामग्री त्यति धेरै प्रकाशित तथा प्रसारित गरेको देखिँदैन तथापि शिक्षक मासिकले मंसिर महिनाको अंकमा ‘कोही किन सिक्दैन ?’ भन्ने सिकाइका अदृश्य अक्षमताबारे खोजमूलक सामग्री प्रकाशित गरेको छ । यसमा भारतमा विशेष शिक्षा अध्ययन गरेकी अर्पिता यादवले आफ्नो अनुभवसहितको सामग्रीमा अटिजम अपांगताअन्तर्गत ६× प्रकारका सिकाइ अक्षमता हुने उल्लेख मात्र गरेकी छैनन्, यी समस्याका समाधानबारे पनि लेखेकी छन् ।

विडम्बना भन्नुपर्छ, हामीकहाँ अटिजम अपांगताबारे त्यति धेरै चर्चा परिचर्चा हुन सकेको छैन । यसले गर्दा पनि यसबारे सचेतना फैलन सकेको छैन । केही दिनअघि भने धरान उपमहानगरपालिकाले यसबारे कार्यक्रम गरेको श्रव्यदृश्य सामाजिक सञ्जालमार्फत आएको थियो । खासमा धरानले जस्तै अन्यत्र पनि यससम्बन्धी सचेतना फैलाउन तथा अटिजम अपांगता भएका बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक अधिकारको पैरवी गर्न स्थानीय तहले शिक्षकहरूलाई पनि आधारभूत तालिम दिन जरुरी छ ।

मधु राई मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully