शौचालयको मर्यादित प्रयोग

शौचालय छ/छैन भनेर मात्र भएन, प्रयोग गर्न सकिने अवस्थामा छ कि छैन अनुगमन हुनुपर्छ । खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएझैं शौचालय प्रयोगका लागि सफा र सुरक्षित छ कि छैन भनेर जाँच भइराख्नु आवश्यक छ ।

पुस २, २०८१

स्नेहा झा

Respectful use of toilets

शरीर स्वस्थ छ भने शौचालयसम्बन्धी दुर्घटना प्रायः हामीले गर्दैनौं । अर्थात्, दिसापिसाब शौचालयमै गर्छौं । तर पनि बेलाबखत मेरो मस्तिष्कमा प्रश्न उठ्छ, के साँच्चै हामीले शौचालय प्रयोग गर्न सिक्यौं त ? फोहोर शौचालय देख्दा तपाईंहरूको पनि मनमा यो प्रश्न आउँछ होला ।

सार्वजनिक शौचालय वा राजमार्गका होटलका मात्र होइन, हामीले काम गर्ने ठूलठूला संस्था र कार्यालयका, विद्यालय र कलेजका, अस्पताल, बसपार्क, विमानस्थलजस्ता सार्वजनिक शौचालयको हविगत उस्तै देखिन्छ ।

सबैभन्दा अचम्म त तब लाग्छ, जब हामी काम गर्ने कार्यालयमै शौचालयभित्र नसोचेको दृश्य देखिन्छ । आफू काम गर्ने ठाउँ, जहाँ सबै आफ्नै साथी छन्, सबै पढेलेखेका, शिक्षित छन् । पानी, ट्वाइलेट पेपर र आवश्यक साधन सम्पन्न छ, अनि नियमित सफाइ पनि हुन्छ । त्यस्तो ठाउँको शौचालय अस्वाभाविक रूपले फोहोर हुँदा किन आश्चर्य नलाग्नु ! दिसापिसाब सकेपछि पानीले नपखालेको वा फ्लस नगरेको, प्यान वा कमोडबाहिरै फोहोर गरेको, सेनिटरी नेपकिन (प्याड) र डाइपर डस्टबिन बाहिरै फालेको दृश्य देखिनु आश्चर्यको कुरा हो । शौचालय प्रयोगसम्बन्धी सिकाइ रहँदारहँदै पनि किन हामीले शौचालय फोहोर छाडिदिन्छौं ? शौचालयको सफा र मर्यादित प्रयोग गर्नमा केले बाधा पुर्‍याएको छ ? शौचालयको सफा प्रयोग मानिसको व्यवहारको विषय मात्र हो वा अन्य कुराको पनि यसमा भूमिका हुन्छ ? शौचालय सफा नहुनु आफैंमा एउटा समस्या हो भने यस समस्याका कारण अन्य समस्या पनि आइरहेका हुन्छन् । ती कस्ता समस्याहरू हुन् ? हामीले दिनहुँ देख्ने र भोग्ने गरेका अनुभवहरूको सहायताले यी प्रश्नको जवाफ खोजौं । 

सुरुवात आफ्नै अनुभवबाट गर्छु । म काम गर्ने एक संस्था, जहाँ लगभग दुई सय कर्मचारी कार्यरत थिए र त्यही अनुपातमा शौचालय संख्या पनि थियो । बिहान साढे १०–११ बजेतिर सधैं जाने शौचालयमा गएँ । ढोका खोल्नेबित्तिकै बान्ता आउला जस्तो भयो र हतारहतार ढोका बन्द गरेर बाहिरिएँ । एकछिनसम्म निसासिएझैं भयो । शौचालय नगई फेरि आफ्नै कुर्सीमा आएर बसें । एकछिनपछि भुइँतलाको शौचालयमा ओर्लिएँ । त्यहाँ पनि टेक्न मन लागेन । अति नै गाह्रो भएर कार्यालय परिसरभित्रकै अर्को शौचालयमा गएँ, त्यो भने सफा थियो । 

मसँगै काम गर्ने सहकर्मीको अनुभव पनि त्यस्तै रहेछ । उनले धेरै पटक प्रशासन शाखामा गुनासो पनि गरेकी रहिछन् । जस्तोसुकै सूचना टाँसे पनि सम्बन्धित व्यक्तिसम्म त्यो सूचना पुग्यो वा पुगेन, सूचना पुगे पनि सम्बन्धित व्यक्तिले गम्भीरतापूर्वक लिए कि लिएनन्, कसरी थाहा पाउने ? शौचालय यसरी फोहोर गर्ने को रहेछ भनेर उनले पहिलेदेखि ठम्याइरहेकी थिइन् । कुनै एक दिन शौचालयभित्रको फोहोर देखिनसक्नु भएको र उनलाई पनि शौचालय त्यतिबेलै प्रयोग गर्नुपर्ने बाध्यता आइपरेपछि उनको आँखामा आँसु नै आयो । उनले कतै गुनासो नगरी सिधै तिनै व्यक्तिसँग कुरा गरिन् । शौचालय प्रयोग गरेपछि सफा नगरिदिँदा त्यसले अरूलाई पारिरहेको मानसिक प्रभावको पनि कुरा गरिन् । त्यसपछि भने सो शौचालय सफा रहन थाल्यो ।

मेरी साथीले ती व्यक्तिमाथि जानीजानी दुःख दिन खोजेकी थिइनन् । म भने निश्चित छैन, मानिसले जानीजानी यो गल्ती गर्ने हो वा अन्जानमा हुने हो । कसैले जानीजानी यस्ता व्यवहार देखाउँछन् भने यसको पछाडि बलियो मनोवैज्ञानिक कारण हुन सक्छ । कसैले आफूले यस्तो व्यवहार गरिरहेको थाहा नै पाइरहेका छैनन्, सामाजिक मर्यादाको उल्लंघन गरिरहेको हेक्का नै छैन भने यो पनि अध्ययनकै विषय हुन आउँछ । यसका लागि मानवीय व्यवहारको विश्लेषण, हामीले पाइरहेको सिकाइको विश्लेषण, हामीले पाउने गरेको सूचना र जानकारीको प्रभावकारितामाथि छलफल हुनुपर्छ । मानिसको व्यवहारसम्बन्धी एक सिद्धान्तले के बताउँछ भने कुनै पनि व्यवहार आउन त्यसले निरन्तरता पाउन, वृद्धि वा कमी हुन व्यवहारपछिको प्रतिक्रियाको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीले कुनै एउटा व्यवहार देखाइसकेपछि पाउने प्रतिक्रियाले आउने दिनमा त्यो व्यवहारले निरन्तरता पाउँछ वा पाउँदैन, व्यवहारमा क्रमशः वृद्धि हुन्छ वा घटेर जान्छ भन्ने निर्धारण हुन्छ । यसलाई व्यवहारको ‘एबीसी’, अंग्रेजीमा ‘एबीसी अफ बिहेभियर’ भनिन्छ । जहाँ ए भनेको ‘एन्टिसिडेन्ट’, बी भनेको ‘बिहेभियर’ र सी भनेको ‘कन्सिक्वेन्स’ हो । 

सम्भवतः यस विषयमा पनि यो सिद्धान्त लागू हुन्छ । माथि साझा गरिएको अनुभवले यस सिद्धान्तलाई पुष्टि गर्छ । ती व्यक्तिले सधैंजसो शौचालय फोहोर अवस्थामै छोडेर बाहिर निस्किन्थे । त्यस व्यवहारको परिणाममा उनले कसैबाट केही रोकटोक वा प्रश्नको सामना गर्नुपरेको थिएन । उनले आफ्नो व्यवहारका बारेमा दोहोर्‍याएर सोच्नुपर्ने आवश्यक नै ठानेनन् । वा उनलाई आफूले अरूका लागि शौचालय प्रयोग गर्न नसक्ने अवस्थामा छोडेको छु भन्ने कुराको ध्यान नै थिएन । जब एक दिन उनको त्यस व्यवहारमाथि प्रश्न उठाइयो, उनले आफ्नो व्यवहारमाथि काम गरे । शौचालय सफा रहन थाल्यो । हरेक व्यक्तिको सन्दर्भमा यसरी व्यक्तिगत रूपले सिधै प्रश्न सोध्नु सही तरिका नहुन पनि सक्छ । मानव व्यवहारको सामाजिक, मनोवैज्ञानिक र वैज्ञानिक अध्ययनको परिधि निकै ठूलो छ । यसबारे मनोविद्हरूले नै स्पष्टसँग बताउन सक्छन् । उनीहरूले नै यसको समाधान पनि देलान् । हामी यस समस्याका कारण निम्तिने अरू समस्याका कुरा गरौं ।

हामी घरबाट बाहिर निस्केपछि सकेसम्म शौचालय प्रयोग गर्न चाहँदैनौं । शौचालय प्रयोग गर्नु आवश्यक हुँदा पनि हामी आफूलाई सहन सक्ने हदसम्म रोकेर राख्छौं । यस व्यवहार पछाडिको मुख्य कारण नै सार्वजनिक स्थलका फोहोर शौचालय हुन् । एक त सार्वजनिक स्थलमा शौचालय नहुनु, भएका पनि सबै उमेर, लिंग र फरक शारीरिक र मानसिक क्षमता भएकाहरूका लागि सहज नहुनु, पर्याप्त पानी उपलब्ध नहुनु, सजिलै प्रयोग गर्न सकिने डस्टबिनको व्यवस्था नहुनु जस्ता कुराले शौचालय फोहोर भइरहेको हुन्छ । फोहोर शौचालयका कारण महिलामा ‘युटिआई (युरिनरी ट्रयाक्ट इन्फेक्सन)’ को जोखिम बढ्छ । प्रत्येक मानिसको व्यवहारलाई नियमन र नियन्त्रण गर्न नसके पनि शौचालयभित्रको वातावरण हाम्रो नियन्त्रणमा हुन्छ । कुनै संस्थाको शौचालय होस् वा सार्वजनिक शौचालय, प्रयोगकर्तालाई सहज हुने किसिमको शौचालय भयो र कम्तीमा पानी र डस्टबिन उपलब्ध भयो भने शौचालय प्रयोग गर्न अप्ठ्यारो मान्नुपर्ने अवस्था घट्नेछ ।

दैनिक जीवनको अनुभवले के बताउँछ भने पुरुषको तुलनामा महिला सार्वजनिक स्थलमा शौचालय प्रयोग गर्न बढी हिच्किचाउँछन् । शरीरले कमोड वा ट्वाइलेट प्यानलाई प्रत्यक्ष छुने हुनाले महिला फोहोर ठाउँमा या सार्वजनिक स्थलमा शौचालय प्रयोग गर्न चाहँदैनन् । तर स्वास्थ्यका दृष्टिकोणले यो गलत अभ्यास हो । महिलाका लागि अर्को समस्या भनेको महिनावारी भएका बेला सजिलो हुने शौचालय नहुनु । 

शौचालय सफा गर्ने जिम्मेवारीबोध भए पनि पानी वा आवश्यक अन्य सामग्री नहुँदा शौचालय फोहोर छाडेर हिँड्नुपर्ने बाध्यता हुन्छ । यसका कारण पनि महिनावारी भएका बेला महिला सार्वजनिक स्थल वा कार्यालयमा शौचालय जान हिचकिचाउँछन् । त्यति मात्र नभएर आफ्नो व्यक्तिगत सरसफाइ, जस्तो कि यौनांगको सफाइ र हात धुनका लागि पनि पानी नहुने समस्या हामीले धेरै पटक भोगेका छौं । कतिपय अवस्थामा सेनिटरी प्याड परिवर्तन गर्नुपर्ने आवश्यकता हुन्छ । तर डस्टबिन नहुँदा वा पानी नहुँदा हिचकिचाहट हुन्छ । घरबाहिर रहेका बेला वा लामो यात्रामा रहेका बेला यसै समस्याका कारण महिलाले घण्टौंसम्म सेनिटरी प्याड परिवर्तन नगरी बस्छन् । स्वास्थ्यका लागि यो पनि जोखिमपूर्ण अवस्था नै हो । 

खासमा घण्टौंसम्म फिल्डमा खटिनुपर्ने वा लगातार यात्रा गरिरहनुपर्ने महिला सबैभन्दा धेरै समस्यामा पर्छन् । एउटा राजनीतिक दलको विरोधसभा कभर गर्न टिमसहित फिल्डमा खटिएकी एक पत्रकारले फिल्डमा रहेकै बेला महिनावारी भएको महसुस गरिन् । झोलामा सेनिटरी प्याड त थियो, तर छेउछाउ शौचालय थिएन । लगातार रक्तश्राव भइरहेको महसुस गरेपछि उनी काम छोडेर त्यहाँबाट निस्किनुपर्‍यो । सबैभन्दा नजिकको रेस्टुरेन्टमा पसेर उनले शौचालय प्रयोग गरिन् । महिलाका यस्ता भोगाइ त कति छन् कति । चाहे आमसभा र विरोधसभा आयोजना गर्ने राजनीतिक दल होऊन् वा कुनै सांस्कृतिक, सांगीतिक, धार्मिक र व्यापारिक कार्यक्रमका आयोजक, सहज, सुलभ र सुरक्षित शौचालयको उपलब्धता कसैको प्राथमिकतामा पर्दैन । शौचालयको अनिवार्यता र आवश्यकताका बारेमा सबैलाई थाहा छ, तर पनि शौचालयको उपलब्धतालाई कसैले गम्भीरतापूर्वक लिँदैनन् । जहाँ शौचालयको उपलब्धता नै प्राथमिकताको विषय हुँदैन, त्यहाँ सफा र संसाधनयुक्त शौचालयबारे के कुरा गर्नु ? विशेष गरेर जब खुला स्थानमा कुनै कार्यक्रम गरिन्छ, त्यतिबेला शौचालयको विकल्पमा पनि खुला स्थान नै राखिन्छ । शौचालय प्रयोगलाई लिएर हामी निकै उदार छौं । यी कुराहरूले पनि हाम्रो शौचालय प्रयोगसम्बन्धी सिकाइलाई प्रभाव पारिरहेको हुन्छ । शौचालयको प्रयोग त जसरी गर्दा पनि हुने रहेछ भन्ने मानसिकता गढिरहेको हुन सक्छ । 

शौचालय सफा नहुनुको अर्को कारण सञ्चालकसँग स्रोत र साधनको अभाव पनि हुन सक्छ । त्यस्तै, पर्याप्त संख्यामा शौचालय नहुनु पनि हुन सक्छ, राजमार्गमा वा लामो यात्रामा यो विशेष रूपले लागू हुन्छ । नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र घोषणा भयो । यस अर्थमा नेपालमा शतप्रतिशत घरमा शौचालय छ भनेर हामी भन्न सक्छौं । शतप्रतिशत नेपालीले शौचालयमै दिसापिसाब गर्छन् पनि भन्न सकिन्छ । तर शतप्रतिशत नेपालीले शौचालयको प्रयोग गर्नु मात्रले सामुदायिक स्वास्थ्य र सामाजिक प्रतिष्ठासम्बन्धी विषयको सम्बोधन गर्दैन । 

आवश्यकता शौचालयको प्रयोगको मात्र होइन, सफा, स्वच्छ र मर्यादित प्रयोगको हो । शौचालयको सफा, स्वच्छ र मर्यादित प्रयोग गर्नबाट जेजस्ता कुराहरूले हामीलाई रोकिरहेको छ, ती सबै विषयमाथि बहस हुनु आवश्यक छ । हाम्रो सिकाइ र व्यवहारमा सुधार गर्नुपर्ने हो भने त्यसको पनि योजना हुनुपर्छ । हाम्रा पाठ्यपुस्तकहरूमा शौचालय प्रयोगसम्बन्धी सम्पूर्ण जानकारीहरू झनै परिष्कृत रूपमा ल्याउनुपर्ने हो वा जानकारीमूलक सामग्री तथा सन्देश प्रसारण गर्नुपर्ने हो, यसबारे विमर्श हुनुपर्छ । त्यस्तै, शौचालय छ वा छैन भनेर मात्र भएन, शौचालय प्रयोग गर्न सकिने अवस्थामा छ कि छैन भन्ने अनुगमन हुनु पनि आवश्यक छ । खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएझैं शौचालय प्रयोगका लागि सफा र सुरक्षित छ कि छैन भन्ने कुराको पनि जाँच भइराख्नु आवश्यक छ ।

स्नेहा लेखक झा सञ्चारकर्मी हुन् ।

Link copied successfully