हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र भारतबीचको रोमाञ्चक खेल हेरेपछि हामी क्रिकेट खेलाडी पनि रंगशाला आसपासको एउटा रेस्टुरेन्टमा खाना खाँदै खुसीयाली ‘सेलिब्रेट’ गर्न गएका थियौं ।
निकै नाम चलेको, खाना पनि मीठो पाइने भनेर कहलिएको त्यो रेस्टुरेन्टको शौचालय चाहिँ डुङडुङ गनाउने परेछ । कुनै ठाउँको शौचालय सफा छैन भने त्यहाँको भान्सा पनि सफा हुँदैन भन्ने मैले कतै सुनेकी थिएँ । त्यसकारण, नेपालले गेम जितेको खुसी र खानाप्रतिको मेरो उत्साह त्यो गनाउने शौचालयले कम गरिदियो ।
दिसापिसाब च्यापेर बस्दा स्वास्थ्यलाई असर गर्छ, संक्रमणको जोखिम हुन्छ भन्ने जान्दाजान्दै पनि मलाई काठमाडौंमा यस्तो बाध्यता बारम्बार आइपर्छ । विशेषगरी महिनावारीको समय डस्टबिन नभएको र पानी नआउने वा पहेँलो पानी आउने शौचालय प्रयोग गर्नुपर्दा एकदमै तनाव हुन्छ । त्यसैले, महिनावारीका बेला सकेसम्म बाहिर जानु नपरे हुन्थ्यो भन्ने लाग्छ । तर, ‘आउटडोर स्पोर्टस्’ लाई नै करिअर बनाएको मजस्तो मान्छेलाई घरबाहिर नजाने छुट हुँदैन ।
सार्वजनिक शौचालयको समस्या म मात्रै होइन, हरेक नेपाली महिलाले भोगिरहेका छन् । नेपालमा सार्वजनिक शौचालयको अवस्था राम्रो छैन । बजार वा रेस्टुरेन्ट जाँदा महिलालाई शौचालयको सहज सुविधा हुँदैन । एक त पर्याप्त संख्यामा शौचालय छैनन्, भएका पनि छिर्नै नपरे हुन्थ्यो भन्ने खालका छन् । काठमाडौंमा समेत महिलामैत्री सार्वजनिक शौचालय कम छन् । सार्वजनिक शौचालय प्रयोग गरेकाले बिरामी नै भएको अनुभवसमेत छ । ठुल्ठूला मल र मार्टका शौचालयसमेत फोहोर र घिनलाग्दो देख्दा दिक्क लाग्छ । ठूला भनिएका कतिपय मलका शौचालय पानी र दिसापिसाबले डम्म भरिएका हुन्छन्, अस्पतालको त के कुरा गर्नु ! त्यहाँ गयो भने उल्टै रोग बोकेर आइन्छ कि झैं लाग्छ । सार्वजनिक शौचालय अपांगतामैत्री पनि छैनन् । ह्विलचेयरमा हिँड्ने, आँखा नदेख्ने दिदी–बहिनी फिल्डमा निस्कने दिन बिहानैदेखि पानी नै नपिउने गर्नु हुँदो रहेछ । यो कस्तो विडम्बना हो ? महिला खेलाडीलाई पनि प्रतियोगितामा उपत्यकाबाहिर जाँदा राम्रो शौचालय नभएर समस्या पर्ने गरेको छ ।
अर्को चिन्ताको विषय त शौचालयको पानी पहेँलो र फोहोर हुनु पनि हो । त्यस्तो पानीले कसरी सरसफाइ गर्ने ? महिनावारीको समयमा अचेल कैयौं महिलाले मेन्स्ट्रुअल कप प्रयोग गर्नुहुन्छ । त्यसलाई पटक–पटक धोई–पखाली गरेर लगाउनुपर्छ । भजाइनल क्यानलभित्र जाने भएकाले फोहोर पानीले धुन मिलेन । यस्तोमा के गर्ने ? स्वस्थ जीवन बाँच्न पाउने महिलाको अधिकार शौचालयको फोहोरले खोसिरहेको छ । काठमाडौंका सार्वजनिक शौचालय प्रयोग गरेपछि कैयौं पटक मेरा साथी र मलाई नै पनि पिसाबको संक्रमणजस्ता समस्या भएको छ । यसले हाम्रो खेल जीवनलाई प्रभावित पार्छ ।
म महिनावारीका बेला ट्याम्पुन प्रयोग गर्छु । यसलाई जथाभावी मिल्काउने कुरा भएन । कतिपय स्कुल, कलेज, मल, रेस्टुरेन्ट, कार्यालय र अस्पतालका शौचालयमा डस्टबिन हुँदैन । कतिपय सार्वजनिक शौचालयभित्र प्याड, टिस्यु पेपर, ट्याम्पुन भुँइमा फालिएका, पर्खालमाथि सिउरिएका हुन्छन् । महिलाले प्रयोग गर्ने शौचालयभित्र डस्टबिन अनिवार्य राखिदिनुपर्छ । तपाईंले जोसुकै महिलालाई सोधे हुन्छ, उहाँलाई जीवनमा एक न एक पटक पिसाबको संक्रमण भएकै हुन्छ । यो आम विषय बनेको छ, जुन बन्नु नपर्ने हो । यो संक्रमण हुँदा पिसाब पोल्ने, छिनछिनमै पिसाब लागेजस्तो हुने, पिसाब गर्दा दुख्ने, औधी चिलाउने, टट्याउने हुन्छ । यसलाई ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ । महिलामा यसको संक्रमण हुने सम्भावना ६० प्रतिशत हुन्छ भने पुरुषमा १३ प्रतिशत । सरसफाइसँगै जोडिएको विषय भएकाले यसबारे जनचेतना आवश्यक छ । शौचालयबाट रोग नसरोस् भनेर म जतिसक्दो टुक्रुक्क बसेर गर्न मिल्ने शौचालय खोजिहिँड्छु, कमोड प्रयोग गर्न डर लाग्छ । हुन त ट्वाइलेट सिटमा लामो समय ब्याक्टेरियाजस्ता किटाणु बाँच्न सक्दैनन् रे तर दिगमिग लाग्छ ।
विशेषगरी राजमार्गका शौचालयमा दुर्व्यवहारको जोखिम मैले महसुस गरेकी छु । महिला शौचालयमा सुनिने गरी पुरुष शौचालयबाट अपाच्य बोल्ने, जिस्काउने जस्ता घटना पनि हुँदा रहेछन् । सामाजिक सञ्जालमा यसबारे कतिपय महिलाले लेखेको/बोलेको सुनिन्छ । मिलेसम्म महिला र पुरुष शौचालय अलि पर–पर बनाउँदा ठीक हुन्छ ।
विदेशतिरका सार्वजनिक शौचालय सफासुग्घर र चिटिक्क हुन्छन्, निर्धक्क भएर प्रयोग गर्न सकिन्छ । दक्षिण एसियाली देशमा चाहिँ शौचालयको हालत लगभग उस्तै छ । सिंगापुर, कोरिया, कुवेत, मलेसियामा गेमका लागि जाँदा त्यहाँका शौचालय देखेर प्रभावित भएकी थिएँ । कस्तो सफा र सुरक्षित ! कतिपय शौचालयमा त ‘ब्रेस्ट फिडिङ’ का लागि पनि ठाउँ छुट्याएको हुन्थ्यो । नेपालमा कहिले यस्तो होला ? यहाँ त मेरा साथीभाइ, आमा, दिदीबहिनी जोकसैलाई सार्वजनिक शौचालय प्रयोग गरेकाले बेलाबखत स्वास्थ्यमा समस्या आइरहेको मैले अनुभव गरेकी छु । यसबारे जति कुरा उठ्नुपर्ने हो, उठेको छैन । सुन्दा सानो लागे पनि यो सारा महिलाले नियमित रूपमा भोग्ने, प्रजनन र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय हो ।
कोही महिनावारी भएकै कारण विद्यालय जान नपाउने अवस्था हुनु साह्रै विडम्बना हो । महिनाको तीन–चार दिन विद्यालय नजाँदा छात्रको तुलनामा छात्राहरू पढाइमा पछि पर्ने हुन सक्छ । समाजमा महिला–पुरुष दक्ष, बराबर र सचेत भएनन् भने समाज सधैं पिछडिएको हालतमा रहन्छ । त्यसैले यो विषयलाई सानोतिनो समस्या, महिलाको दुखेसो, महिला हुनुको ‘दुर्भाग्य’ भनेर अब पन्छाउनु हुँदैन ।
कुनै पनि सार्वजनिक स्थल वा कार्यालय, शैक्षिक संस्थाका साझा शौचालयको अवस्था सुधार्ने कुरा त्यति गाह्रो पनि होइन । एक पटक काठमाडौं महानगरपालिकाले ‘पब्लिक ट्वाइलेट’ को अवधारणा ल्याएको थियो, त्यो निकै राम्रो पहल थियो । त्यो घोषणापछि कतिपय रेस्टुरेन्टले शौचालय सुविधा ल्याए, अझै पनि कतिपयले कायम गरेका छन् । तर यो अवधारणा बीचमै सेलायो । यसलाई निरन्तरता दिनुपर्छ । कमसेकम महिलाले घरबाहिर निस्किँदा निर्धक्क भएर पानी त पिउन पाऊन् । सार्वजनिक शौचालयको अर्को राम्रो उदाहरण पाटनढोकामा देखेकी थिएँ । त्यहाँको शौचालय सफा, तातो पानीसमेत आउने, महिलामैत्री छ भन्ने समाचारमा हेर्दा खुसी लागेको थियो ।
म बुटवलको एपेक्स स्कुल र मनी मुकुन्द कलेजमा पढ्दा शौचालयसम्बन्धी त्यति धेरै समस्या भएन । हाम्रो स्कुल/कलेजमा शौचालयको अवस्था राम्रो थियो । मेरो पहिलो महिनावारी स्कुलभित्रै भएको थियो । छात्राहरूको हेरविचार गर्ने एकजना सहयोगी दिदी हुनुहुन्थ्यो । उहाँले सरसफाइबारे सिकाउनुभयो । स्कुलमा निःशुल्क प्याड पाइन्थ्यो । शैक्षिक संस्था र कार्यालयहरूमा प्याड अनिवार्य राखिनुपर्छ । यो अतिरिक्त सुविधा होइन, आभारभूत आवश्यकता हो ।
अझै पनि गाउँघरतिर कैयौं बहिनीहरू महिनावारीको समयमा विद्यालय नजाने गरेको समाचार बेलाबखत सुनिरहिन्छ । शौचालयको राम्रो व्यवस्था नहुनु, प्याडको पहुँच नहुनु पनि यसको कारण हो । महिनावारीलाई अझै पनि ‘ट्याबु’का रूपमा लिने चलन छँदै छ । अहिलेको जमानामा पनि यस्तो हुन्छ र भनेझैं लाग्छ तर यो सत्य हो । ‘मेन्स्ट्रुअल हाइजिन’बारे नेपालमा निकै कम जनचेतना फैलिएको छ । यसबारे महिला–पुरुष दुवै शिक्षित हुन आवश्यक छ । सफा शौचालयको विषय ‘मेन्स्ट्रुअल हाइजिन’ सँग सिधै जोडिन्छ । मितिनी भन्ने संस्थाले पहिले महिलाको शौचालयमा प्याड हाल्ने बाकस राखिदिने गरेको थियो, अचेल त्यो पनि बन्द भएजस्तो छ । यस्तो पहल हाम्रो स्थानीय निकाय, महिला तथा बालबालिका मन्त्रालय वा स्वास्थ्य मन्त्रालयले अघि बढाउन सक्छ ।
हालै सम्पन्न लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिलामाथि हुने विभेद र अप्ठ्याराका कुरा हुँदै गरेको सन्दर्भमा महिलाले भोग्नुपर्ने यस्ता समस्याका बारेमा पनि गम्भीर रूपमा सोचिनुपर्ने बेला भएन र ?
– बर्मा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान हुन् ।
