आयुर्वेद ज्ञानलाई महत्त्व दिनुको अर्थ आधुनिक ज्ञानलाई नकार्नु पक्कै होइन । तर, आयुर्वेदिक जीवन पद्घतिबार जानकारी दिने, आमजनतामा यसको फाइदा बुझाउने कसले ?
अमेरिकाका मानसिक स्वास्थ्य चिकित्सक सइदले नेपालबाट नारायणी तेल मगाइरहन्छन् । मैले एकचोटि मजाक गरेर सोधेकी थिएँ, ‘तिमी कति तेल प्रयोग गर्छौ है, कतै व्यापार त गर्दैनौ ?’ उनले भनेका थिए, ‘हेर म प्रत्येक दुई वर्षमा हज गर्न जान्छु । त्यो बेला नांगो खुट्टाले हिँड्नुपर्छ । दिनभर हिँडेपछि पैताला पोल्छ, दुख्छ । त्यतिबेला तेल मसाज गरेपछि भोलिपल्ट त दुखाइ चट हुन्छ ।’
उनको माग पूरा गर्न म सिंहदरबारको वैद्यखाना पुगिरहेँ । जब वैद्यखानामा पाइन छाड्यो, निजी वैद्यखानाबाट किनेर सइदलाई पठाउने गरेकी छु । जनतालार्ई रोगबाट बचाउने बुढो वैद्यखाना अहिले आफैं थला परेको छ । सिंहदरबार वैद्यखानाबाट खदिरादी पनि किन्थेँ । मलार्ई कतै यात्रामा जाँदा, लामो समय बोल्नुपर्दा वा घाँटी दुखेका बेला मुखमा राखेर चुसिरहँदा बढो सन्चो मिल्छ । मेरो ब्यागमा खदिरादी र सुठोको टुक्रा जहिले पनि भइरहन्छ । यस्ता वस्तु ओखतीका रूपमा प्रयोग गर्न सिकाउने मेरा केही आयुर्वेदिक चिकित्सक साथी नै हुन् । मैले उनीहरूबाट क्षारसूत्र नाम सुनेकी थिएँ । मेरी ७४ वर्षकी आमालाई पायल्स हुँदा कीर्तिपुर आयुर्वेद अस्पताल लगेर क्षारसूत्र पद्घतिबाट झन्डै १२ वर्ष अगाडि उपचार गराएकी थिएँ ।
‘आयुर्वेर्द जीवन पद्घति हो, रोगको कसरी रोकथाम गर्ने भन्ने मात्र होइन यसले स्वस्थ भएर कसरी बाँच्ने भन्ने पनि सिकाउँछ । आयुर्वेर्द ५०० वर्ष पहिले आयो । यो हाम्रो संस्कृति हो’ भन्ने आयुर्वेदिक डाक्टरले पनि आयुर्वेद प्रवर्धर्नका लागि आवाज उठाउन नसकेकाले होला वैद्यखाना सुकेनास भएर बिलाउँदै गएको । सिंहदरबार वैद्यखानाले ‘चन्द्र निघन्टु’ नामक एक पुस्तक निकाल्यो । पुस्तक महँगो भए पनि यो ज्ञानको भण्डार हो । त्यसमा नेपालमा पाइने जडीबुटी, फूल आदि बारेमा जानकारी छ । अमला, सिस्नो, असुरो, निम गुलाब, तुलसी, तेजपात, रोजमेरी जस्ता हाम्रा वरिपरि पाइने अनेक वनस्पतिलाई कसरी प्रयोग गर्ने भनेर यसमा वैज्ञानिक अध्ययन पनि भएका रहेछन् ।
नेपालमा हजारौं वर्षदेखिको ज्ञानबाट पुर्खाहरूले सिके होलान् । स्वास्थ्य मन्त्रालयमा सचिव भएर काम गरेकी डा. सुधा शर्माले मलाई केही साताअघि भन्नुभएको थियो, ‘म सचिव हुँदा आयुर्वेद विभागका चिकित्सकसँग मिलेर सिंहदरबार वैद्यखानालाई सुधार्न कोसिस गरेकी थिएँ, सफल भइनँ ।’ उहाँलाई आयुर्वेदप्रति लगाव छ भन्ने कुरा उहाँको आत्मकथा ‘सिंहदरबारको घुम्ने मेच’ बाट थाहा हुन्छ । जहाँ लेखिएको छ, ‘मेरो बुबाले मलाई सुवोध संस्कृतम् भन्ने पुस्तकको ठेली दिँदै भन्नुभएको थियो– तिमीले संस्कृत पढेर आयुर्वेद र एलोप्याथीलाई सम्मिश्रण गर्दै उपचार गर्नुपर्छ । तर, मैले बुबाको यो इच्छाचाहिँ पूरा गर्न सकिनँ ।’
अहिले कति जना आयुर्वेदिक चिकित्सकले व्यक्तिगत रूपमा क्लिनिक चलाएर योगदान गरिरहनुभएको छ । सरकार भने आयुर्वेदको प्रचारतर्फ उदासीन छ । स्वास्थ्य मन्त्रालयले त आयुर्वेदसम्बन्धी खास कार्यक्रम बनाएको पनि देखिन्न ।
मैले आयुर्वेद र परम्परागत ज्ञानबारे बोल्दा, लेख्दा कति जनाले ‘तपार्इंले आयुर्वेद पढेको हो’ भनेर सोध्छन् । म भन्छु, ‘आयुर्वेद पढेको छैन, तर मेरी आमा र हजुरआमाबाट परम्परागत ज्ञान सिकेकी हुँ ।’ निम र तितेपाती प्रयोग गरेर हजुरआमाले घाउ ठिक पार्नुहुन्थ्यो । फोहोर पानीमा खेलेर खुट्टाभरि घाउ हुँदा बेसार र तेलको मिश्रण लगाएर लगाइदिनुहुन्थ्यो । मेरी हजुरआमा निरक्षर हुनुहुन्थ्यो तर परम्परागत ज्ञानबाट उहाँले हामीलाई ठिक पार्नुहुन्थ्यो । घाउ लाग्दा दूधमा मरीच र बेसार हालेर खुवाउनुहुन्थ्यो । आधुनिक विज्ञानले भन्छ— बेसार छालामा शोषण हुन चिल्लो चाहिन्छ । बेसार प्रयोग गर्दा अलिकता मरीच प्रयोग गर्नुपर्छ । तर यो ज्ञान नै नभईकन पनि निरक्षर मेरी हजुरआमा र ठूलीआमा जीवनमा प्रयोग गर्नुहुन्थ्यो । निम, तुलसी, बेसार, पुदिना, असुरो, अनेक वनस्पतिको प्रयोग गर्नुहुन्थ्यो । अहिले त क्याप्सुलसमेत पाइन्छ । बजारमा महँगा वस्तुको क्याप्सुलको सट्टा खेतबारीमा सहज पाइने वस्तु प्रयोग गर्न सिकाउने काम पनि त परम्परागत ज्ञानले सिकाउँछ ।
वर्षमा एकचोटि ‘धन्वन्तरी दिवस’ का एक दिन सिंहदरबार वैद्यखानामा चहलपहल हुन्छ । आयुर्वेदको गुणगान गाइन्छ । स्वास्थ्यमन्त्री आउँछन् र भन्छन्, ‘हाम्रा पुर्खाको ज्ञानलाई सम्मान दिएर जीवनमा प्रयोग गर्नुपर्छ । हामी स्वास्थ्य मन्त्रालयबाट मद्दत गर्छौं ।’ यी शब्द बोलेको भोलिपल्टदेखि सिंहदरबार वैद्यखाना सुनसान हुन्छ, उदास हुन्छ, सर्प हराएको मणिझैं । कसैले वास्ता गर्दैन आयुर्वेदको ज्ञानलाई ।
आयुर्वेदको ज्ञानलाई महत्त्व दिनुको अर्थ आधुनिक ज्ञानलाई नकार्नु चाहिँ पक्कै होइन । बिफर, पोलियो जस्ता रोग निमिट्यान्न पार्न र क्यान्सर, कुष्ठरोग जस्ता समस्यामा, महिलाको प्रजनन स्वास्थ्य, गर्भावस्थाका कतिपय जटिलतामा शल्यक्रिया पद्धति नै चहिन्छ । तर, जीवनमा स्वस्थ भएर लामो समय बाँच्न परम्परागत ज्ञान, आयुर्वेद र आधुनिक चिकित्सा दुवैले भूमिका खेल्न सक्छन् । अफसोस, यो भूमिका खेल्न सक्ने सिंहदरबार वैद्यखाना पक्षघातको बिरामीझैं भएर बसेको छ ।
