१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
स्मृति

प्रिय मित्र तिलकको नाममा

राधाकृष्ण मैनाली

काठमाडौँ — पञ्चायतकालको कुरा हो । त्यसताका हामी झापा आन्दोलनका विद्रोही कार्यकर्ताको हैसियतले २०३० सालदेखि नै जेल जीवनमा प्रवेश गरेका थियौं । कहिले भद्रगोल जेल, कहिले नक्खु जेल हुँदै सरकारले हामीलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्दैसार्दै २०३९ साल मंसिरमा रूपन्देही जेलमा पुर्‍याएको थियो ।

प्रिय मित्र तिलकको नाममा

अलिक पछि २०४१ सालको सुरुआततिरै एक दिन करिब ४–५ बजेतिर ७–८ जना सामान्य हैसियतका मानिसलाई हतकडी लाएर त्यहाँ लिएर आएको देखियो । त्यही सिलसिलामा के थाहा भयो भने नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको देश भ्रमणको क्रममा विभिन्न ठाउँमा बैठक गर्ने क्रममा सूर्यपुरामा एउटा कार्यक्रम राखेको रहेछ । त्यस कार्यक्रममा त्यहाँका लोकल मण्डलेहरूले कार्यक्रम नहुन दिनका लागि हस्तक्षेप गर्ने, गिरिजाप्रसादलगायत सबैलाई तर्साउने, कार्यकर्तालाई ढुंगामुढा गर्ने काम गरेका रहेछन् । त्यही क्रममा मण्डलेहरूले आक्रमण गरेर नेपाली कांग्रेस समर्थक वकिल यादवनाथ आलोकको हत्या गरेका रहेछन् । त्यही बेलामा नेपाली कांग्रेसका ४ जना कार्यकर्ता र नेतालाई रूपन्देही जेलमा ल्याइएको रहेछ ।

त्यसमध्येका अगाडी बेन्चमा बसेका अग्ला कदका कमिज, सुरुवाल, इस्टकोट र टोपी लगाएका पूर्ण रूपमा नेपाली भेषमा सजिएका एक जना व्यक्ति जेलभित्र पस्नुभयो । कुराकानी गर्दा उहाँ तिलकप्रसाद सापकोटा हुनुहुँदोरहेछ । त्यतिखेर तिलकजी नेपाली कांग्रेसको जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो, मैले देखेको तिलकजी एकदमै सादगी विचारधाराको, अनि नेपाली कांग्रेसको खाँटी र सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । सायद यसै कारणले होला, जिल्लामा तिलकजी सबैको प्रिय हुनुहुन्थ्यो । त्यही देखेर होला- उल्टो उहाँमाथि नै सरकारले हस्तक्षेप गर्‍यो, मण्डलेहरूले नै हस्तक्षेप गरेर कुटपिट गरेका व्यक्तिहरूलाई नै उल्टै सरकारले राजकाज मुद्दा लगाएर, उहाँसहित इन्चार्ज इन्द्रज्योति पौडेल, नन्दलाल मिश्र, शक्तिप्रसन्न गिरिलाई जेलभित्र लिएर आएको थियो ।

मलाई लाग्छ- हामी ६–७ महिना जेलमा सँगै बस्यौं । तिलकजीको कुराकानी गर्ने शैली अनि लवाइ–खुवाइमा पनि कुनै बडप्पन थिएन, र बोलीचालीमा पनि एकदमै सादगीपन थियो । हामी जेलभित्र बस्दा कांग्रेस, कम्युनिस्टको विवाद नगरीकन सँगसँगै मिलेर बसेका थियौं । अहिले पनि मलाई के सम्झना छ भने त्यहाँ जेलमा गइसकेपछि बोर्डरमा मारिएका नेपाली कांग्रेसका नेता भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई कोही अरू मान्छे लगाएर के–कसरी मारिएको थियो भनेर मसँग जिज्ञासा राख्नुहुन्थ्यो । ‘श्रेष्ठ र थापालाई अरू मान्छेमार्फत कसरी मारियो ? कस्ता खालका मानिस थिए उनीहरू ? कस्तो स्थिति थियो ?’ भनेर उहाँहरू चारै जनाले बडा जिज्ञासु बनेर प्रश्न राख्नुहुन्थ्यो । ती व्यक्तिहरूलाई त्यहाँ कसरी लगियो र कसरी मारियो भन्ने कुरा मैले सविस्तारमा सुनाएको थिएँ ।

यस्ता कुरा गरिरहँदा तिलकजीले भने, ‘तपाईंले जेजति पनि कुरा सुनाउनुभयो, अलि लिपिबद्ध गरेर भन्दिनुभयो भने अरू धेरै मानिसले सुन्न पाउनेछन्, थाहा पाउनेछन्’ भनेर बलपूर्वक आग्रह गरिरहनुहुन्थ्यो । तिलकजीको त्यही आग्रमा परेर मैले त्यो कुरा टिपोट गरे जुन अहिले ‘लुटिएको दुई थुँगा फूल’ (हाल पाँचौं संस्करण) नाममा बाहिर आएको छ । र, भीमनारायण र यज्ञ थापाका बारेमा सत्यतथ्य के थियो, घटनाले के भन्छ बारेमा यो कृतिमा लेखेको छु । नेपाली कांग्रेसकै पाठ्यक्रममा राख्ने भनेर चर्चा चलेको त्यो किताब तिलकजीकै प्रेरणाबाट लेखेको हुँ । तिलकजीले त्यति ढिपी नगरेको भए ‘लुटिएको दुई थुँगा फूल’ कहाँ लेखिन्थ्यो होला र ?

नेपाली कांग्रेसमा मैले के देखें भने अलि बाठाटाठा, छल गर्न सक्ने र अलि धनी मानिसको बाहूल्य छ । स्वभावतः उनीहरू धेरै माथि पुगेका छन् । तिलकजीजस्ता सही साथीहरू जसले पञ्चायतकालमा दुःख–सास्ती खेपे, र संगठन गर्ने बेलामा स्थानीय तहदेखि लागिपर्नेहरू भने बहुदल आएपछि आफ्नै ठाउँबाट पनि लखेटिनुभएको छ । तिलकजीको स्थान अरू कोही आएर हडपे, अनि तिलकजीजस्ताको अघि बढ्ने र माथि जाने सबै बाटाहरू बन्द गराइए । मलाई अहिले पनि के लाग्छ भने तिलकजीप्रति नेपाली कांग्रेसका केन्द्रीय नेताहरू नै पूर्वाग्रही बनेका थिए । म स्वास्थ्य मन्त्री हुँदा मैंले उहाँलाई चितवन क्यान्सर अस्पतालको बोर्डमा मनोनीत गराएको थिएँ । त्यति दुःख पाएको मान्छे र त्यति सोझो, इमानदार मान्छेलाई कतै पनि त्यति सम्मान गरेको र मद्दत गरेको वा विगतका दिनमा दुःख गरेका कार्यकर्तालाई सम्झेको अवस्था त मैले देखिन ।

तिलकजीलाई पछि गएर एक–दुईचोटि त भेटें, तर त्यति बाक्लो भेटघाटचाहिँ भएन । किनकि हाम्रो राजनीतिक चिन्तन नै अलि फरक थियो । जो मान्छे एकदम असल, सहज अनि सरल हुन्छ, उसको राजनीतिमा त्यति कदर हुँदैन, उसले स्थान पाउनै मुश्किल हुन्छ । हाम्रै कारणले जुन बहुदलीय व्यवस्था आयो, त्यहाँ पनि इमानदार र सोझासाझा कार्यकर्ताभन्दा बढी छट्टुहरूको नै कदर हुन्थ्यो । अलिकति खेल्न र घुमाउन सक्ने मान्छेकै राजनीतिमा बढी महत्त्व हुने रहेछ, त्यसैले धेरै इमानदार साथीहरू हराए, नयाँ अनि अलि साँघुरो सोच राख्ने छट्टु खालका साथीहरूको मात्रै पहुँच बढ्दै गयो ।

तिलकजी लगायत हामी सबै मिलेर जेलमै एउटा बन्दी जागृति पुस्तकालय खोल्यौं । किताबहरू त्यहीं संग्रह गर्न थाल्यौं, त्यहाबाट बन्दी–चेतना भन्ने एउटा हस्तलिखित पत्रिका पनि निकालिन्थ्यो । हप्ताहप्तामा जेलभित्र साहित्यिक गोष्ठी हुन्थ्यो । तिलकजी कहिले कविता अनि कहिले कथाका साना टुक्राहरू लेख्नुहुन्थ्यो । म जेल बस्दा मेरो घर बर्बाद भयो भन्ने कुनै प्रकारको चिन्ता र पछुतो उहाँमा थिएन । त्यसैले पनि होला- कला, साहित्यमा सधैं अभिरुचि राख्नुहुन्थ्यो । निरंकुश कालमा राजनीतिक काममा जेल पर्नु,, संघर्ष गर्नु सामान्य कुरा हुन् । त्यसैले यस्ता कुराहरूलाई पछार्दै जानुपर्छ भन्ने खालको उच्च मनोबल थियो तिलकजीमा ।

तिलकजी कुनै बडप्पन नभएको उच्च शिर भएको व्यक्ति लाग्थ्यो सधैंसधैं । उहाँ राजनीतिक विवाद वा झगडामा कहिल्यै पर्नुहुन्नथ्यो । जबकि मेरो यही विषयमा अरूसँग कहिलेकाहीँ विवाद हुन्थ्यो तर, उहाँसँग कहिल्यै विवाद भएन । हामी जति पनि समय सँगै बस्यौं, एकदमै मिलेर सरल र सहज जीवन बितायौं । उहाँको सबैभन्दा राम्रो पक्ष भनेको तडकभडक नगर्ने, एकदम सरल र सादगीपना थियो । बहुदल आउनेबित्तिकै घरजग्गा जोड्ने, पैसा र शक्तिका पछाडि लाग्नेहरू धेरै देखिए, तर तिलकजी जहीँको तहीँ रहनुभयो ।

उहाँको नेपाली भाषा राम्रो थियो, त्यसैले लेख्ने गर्नुहुन्थ्यो । के–के लेख्ने गर्नुहुन्थ्यो भन्ने कुरा त त्योबेला थाहा भएन, तर कहिलेकाहीँ कविता अनि कथा भन्नुहुन्थ्यो गोष्ठीमा । ठूलो कथा–कविता नभए पनि स–साना टुक्का भन्ने अनि हामी १५–१६ जना कैदीबन्दी बसेर रमाइलो गर्ने गर्थ्यौ ।

हिजो हामी जोजसले सामाजिक–राजनीतिक रूपान्तरणको परिकल्पना ग¥यौं, आज धेरैले त्यो समयको इतिहास भुलिसकेका छन् । सामाजिक रूपान्तरणको कुरा गर्ने हामी सबै कहाँ हिँडेका रहेछौं र खोइ ? किनभने तिलक सापकोटाजस्ता प्रतिबद्ध र अठोटयुक्त मान्छेलाई हरेक बाटोमा तगारा लगाएर रोकियो । सामाजिक रूपान्तरणका मुख्य अभियन्ता भनेकै तिलक सापकोटाजस्ता स्थानीय तहका कार्यकर्ता हुन् जो कहिल्यै माथि पुग्नै पाएनन् । तैपनि पार्टीको साखलाई जोगाउन भनेर काँध थापेर बसिरहे, बसिरहेकै छन् । आजभोलि पनि सुनिरहेको हुन्छु- तिलक सापकोटाले समाज रूपान्तरणका लागि पु¥याएको लामो फेहरिस्त । यो सुन्दा मात्र पनि मेरो मनमा उमंग छाउँछ ।

तपाईंको मित्र

(स्वतन्त्रता सेनानीका रुपमा समेत परिचित राजनीतिकर्मी तिलकप्रसाद सापकोटाको कृति ‘यात्रा निरन्तर’ माथि नेता राधाकृष्ण मैनालीले लेखेको टिप्पणी । राजनीतिकर्मी सापकोटाको ८० बर्षको उमेरमा मंगलबार भरतपुर, चितवनमा निधन भयो ।)

प्रकाशित : कार्तिक २४, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?